काठमाडौंका रैथाने गायक योगेश्वर अमात्य शनिबार बिहानै राजधानीको टुँडिखेल पुगे। अतिक्रमित टुँडिखेललाई खुला सार्वजनिक स्थान बनाउन सुरू भएको अभियानमा योगेश्वरको तगडा साथ छ। छातीमा 'टुँडिखेल विक्रीका लागि हैन' भन्ने नारा टाँसेका योगेश्वर खुलामञ्च अतिक्रमणको साक्षी हुन्।
उनको टुँडिखेलको संस्मरण पनि गज्जब छ। योगेश्वरले तीन कक्षासम्म राजधानीको सेन्ट जेभियर स्कुल पढे। उनलाई स्कुल जान मन पर्दैन थियो। उनी स्कुल छल्ने बहाना खोजिरहन्थे।
'ज्वरो आयो भने त बिहानै पढ्न जान पर्दैन भनेर एकदिन काखीमा प्याज राखेर सुतेँ। तर भोलिपल्ट ज्वरो आएन', योगेश्वरले भने, 'सिनियर साथीहरूले प्याज काखीमा राखेर तीन पटक टुँडिखेल घुम्यो भने ज्वरो आउँछ भने। बिहान ६ बजे आएर तीन पटक घुमेँ तर ज्वरो आएन।’
योगेश्वर त्यतिबेला सफा र हरियालीयुक्त टुँडिखेल भएकै कारण आफूलाई ज्वरो नआएको सम्झन्छन्।
'हाम्रालागि टुँडिखेल भनेको सफा ठाँउ थियो', योगेश्वर भन्छन्, 'अहिले कब्जा भएको छ।’
टुँडिखेलमै भाषण गरेर नेताहरु नै नेतृत्वमा भएका बेला टुँडिखेल अतिक्रमण भएको टुलुटुलु हेर्नुपर्दा उनलाई अपमानको महशुस भएको छ।
'खोला तर्यो लौर बिर्सियो', योगेश्वरले भने, 'टुँडिखेल र खुलामञ्च ठ्याक्कै त्यस्तै भयो।’
योगेश्वर टुँडिखेलकै कारण भूकम्पका बेला मानिसहरूको जीवन जोगिएको स्मरण गर्छन्।
'विकसित सहरको पहिचान खुला ठाउँ हो', योगेश्वरले भने, 'नभए त्यो अविकसित सहर हो।’
टुँडिखेललाई सार्वजनिक स्थल बनाउन र अतिक्रमणमुक्त राख्न राजधानीमा हजारौंले शनिबार हाते साङ्लो बनाएर मुक्त टुँडिखेलको पक्षमा वकालत गरे।
अभियानमा सहभागी पूर्वप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले काठमाडौंवासी निस्सासिएर मर्ने अवस्था बनिसकेको बताए।
'खुला ठाउँ भनेको सहरको फोक्सो हो', भट्टराईले भने, 'त्यसैले टुँडिखेल पुनर्स्थापित गरिनुपर्छ। पुरानै स्थानमा ल्याउनुपर्छ।’
सहरी विकास योजनाकै विषयमा विद्यावारिधी गरेका भट्टराई सहरमा कम्तीमा चालिसदेखि ५० प्रतिशत खुला स्थान हुनुपर्ने बताउँछन्।
'त्यस्तो खुला स्थानमध्ये ३० देखि ४० प्रतिशतमा सडक हुन्छ', भट्टराईले सेतोपाटीसँग भने, 'त्यसबाहेक १५ देखि २० प्रतिशत हरियाली खुला स्थान हुनुपर्छ। यो सहरीकरणको मापदण्ड हो। तर काठमाडौंमा खुला हरित स्थान ०.४८ प्रतिशत मात्र छ।’
उनी खुला टुँडिखेल बनाउन सैनिक मञ्च हटाउन सकिने तर्क गर्छन्।
'सेना पनि सरकारको अंग हो', भट्टराईले भने, 'ऐतिहासिक रूपमा रानीपोखरीदेखि दशरथ रंगशालासम्म जुन खुला मैदान थियो त्यसलाई खुला मैदानका रूपमा कायम गरिनुपर्छ।’
मुक्त टुँडिखेल अभियानमा जुटेका नेपाली कांग्रेसका सांसद गगन थापा विगतमा सबै मिलेर खुला ठाउँ भर्ने गल्ती गरेको तर्क गर्छन्।
'टुँडिखेल मुक्त गराउने अभियान भनेको गल्ती सच्याउने अभियान हो', थापाले भने, 'म कसैलाई दोष दिन्नँ। यो हामी सबैले गरेको गल्ती हो। हामीलाई विगतमा के लाग्यो भने अग्लो अग्लो भवन र फराकिलो सडक भनेको विकास हो भन्ने लाग्यो। अहिले हामी सबैलाई त्यो गल्ती भयो भन्ने महशुस भएको छ। त्यो गल्ती सुधारको प्रारम्भ टुँडिखेलबाट गरिएको हो।’
उनी त्रिचन्द्र कलेजमा पढ्दै गर्दा आफूले खुला टुँडिखेलको परिकल्पना गरेको सुनाउँछन्।
'त्यो कागजी सपना थियो। तर त्यो परिकल्पना समेत पछिल्लो समय बिग्रँदै गयो', थापाले भने, 'अहिले नागरिक स्तरबाट अभियान सुरू भएको छ।’
थापा आफ्नो निर्वाचन क्षेत्रको चारखालमा चिल्ड्रेन पार्क बनाउने अभियानमा जुटेको बताउँछन्।
'चाबहिल क्षेत्रमा धेरै अस्पताल छ', थापाले भने, 'त्यहाँ ९ रोपनी जग्गा गुठी संस्थानले प्राप्त गर्यो। खुसी भएको एक सातामा उसले भवन बनाउन ठेक्का गर्यो। हामी त्यो ठाउँ खाली राखिदिन संघर्षमा छौं।’
थापा खाली जमिन देख्नासाथ संरचना बनाउनुपर्ने सोच गलत भएको तर्क गर्छन्।
त्यसो त थापासहित कांग्रेसमाथि राजधानीमा खुला ठाउँ बनाउने नाममा राजनीति गरेको आरोप छ। तर थापा आरोपबाट बेखुसी भने छैनन्।
'कुनै दलले काठमाडौंमा खुला स्थान बनाउन राजनीति गरेछ भने त्यो राम्रो गरेछ भन्नुपर्छ', थापाले भने, 'प्रतिस्पर्धा नै गरौं न काठमाडौंमा कसले खुला ठाउँ बढी राख्ने, खुला ठाउँ राख्न कति लाग्ने भनेर प्रतिस्पर्धा नै गरौं। यस्तो राजनीति त राम्रो हो।’
उनी आफूलाई काठमाडौंको मेयरले रानीपोखरीमा राजनीति गरेको आरोप लगाएको स्मरण गर्छन्।
'के त्यहाँ खराब भयो त', थापा भन्छन्, 'अब हामी कमलपोखरीमा लागेका छौं। हो त्यो राजनीति गरेको हो। त्यसलाई त सकारात्मक लिनुपर्छ।’
काठमाडौंका उपमेयर हरिप्रभा खड्गी खुला ठाउँका जनता लागेका कारण आफू त्यसमा सहभागी भएको तर्क गर्छिन्।
उपमेयरका रूपमा आफ्नो क्षेत्राधिकार धेरै नभएको तर जनताको आवाजसँगै आफू लागेको खड्गीले बताइन्।
'मेरो भूमिका मैले खेलेको छु', खड्गीले भनिन्, 'काठमाडौं महानगरपालिका वडा नं ६ मा वडा अध्यक्ष कांग्रेस छन्, सांसद भिमसेन दास प्रधान पनि यही क्षेत्रको हुनुहुन्छ। अनि म उपमेयर पनि यही वडाको छु। त्यही भएर मेयरसाबले राजनीति भयो भन्ने सोच्नु भएको छ। तर यहाँ जनताको भावना हेरेर हामी हिँडेको हो।’
मुक्त टुँडिखेल अभियानमा सहभागी हुन पुगेका सञ्चारकर्मी रवि लामिछाने खाली ठाउँ देख्ने बित्तिकै व्यापार देख्ने प्रवृतिले काठमाडौंले सास फेर्ने ठाउँ गुमाएको बताउँछन्।
'खुलामञ्चमा आज मञ्च मात्र छ, खुला कहीँ छैन,’ लामिछानेले भने, 'टुँडिखेललाई मुक्त अभियान पहिल्यै चल्नुपर्थ्यो।’
लामिछाने काठमाडौंमा जनसंख्या बढेसँगै उचित ढंगले योजना नबनेका कारण अहिले समस्या देखिएको बताउँछन्।
'खाली ठाउँ देख्ने बित्तिकै त्यहाँ सल्बलाउने र बिल्डिङ बनाइ हाल्नुपर्ने त्यहाँबाट भाडा उठाइहाल्नुपर्ने, निजी क्षेत्रलाई भाडामा दिइहाल्ने प्रचलन छ', लामिछानेले भने,'यहाँ कंक्रिट सिटी मात्र बनाउने हो भने सास फेर्ने ठाउँ पनि हुँदैन।