रामबाबु ठकुरी (नाम परिवर्तन) ७० वर्ष कटे। कहिल्यै बिहे गरेनन्। सम्पन्न परिवारमा हुर्केकाले युवा अवस्थामा पैसा कमाउने दबाब पनि भएन।
आमाबुबाको माया र आर्थिक स्थिति राम्रो भएकाले रामबाबुको दिनचर्या सुखमै बित्यो। पुलपुलिएका छोरा थिए। जिम्मेवारी नभएपछि कमाउने बाध्यता ठानेनन्।
सुरूका केही वर्ष सजिलै बिते। समय सधैं उस्तै रहेन। आमाबुबा बुढा भए। एकपछि अर्को गर्दै उनीहरूको साथ हरायो। रामबाबु एक्लिए। उनको फुक्काफाल जीवन कठिन हुँदै गयो। उनी दाइको परिवारसँग बस्न थाले। आमाबुबाको मायामा हुर्केका थिए, वेपरबाह उनी दाइको घरमा सहज भएनन्।
काम गर्ने सीप थिएन। कहिल्यै नगरेकाले सायद जाँगर र आँट पनि भएन। उनी सबै हेपाइ सहन बाध्य थिए। अन्ततः रामबाबु परिवारका सदस्यबाट बहिस्कारै भए।
ज्यान पाल्न उनले डकर्मी काम सिक्न थाले। बुढेसकालमा शरीरले धेरै बोझ उठाउन कहाँ सक्थ्यो र! एक्लो जीवनमा साथ पनि कसको थियो र!
आलिसान घरबाट एकाएक सडकमा आइपुगे रामबाबु। तै, उनको भाग्य बलियो रहेछ। जीवनको अन्तिम समय नजिकिँदै गर्दा उनको भेट उज्ज्वल अधिकारीसँग भयो। उज्ज्वलसँगको पहिलो भेटमै रामबाबुको जीवनले नयाँ मोड लियो।
रामबाबुलाई बस्ने घर र बिहान–बेलुका खानपिनको व्यवस्था गरिदिए उज्जवलले। त्यसमा पनि रामबाबु आफू जस्तै साथी पाएपछि बढी खुसी भए। उनी पुगेका थिए- कीर्तिपुर, नगाउँको 'बाआमा घर'।
रामबाबुलाई यो कुनै वृद्धाश्रम जस्तो लागेन रे। उनका लागि यो ठाउँ घर नै बन्यो। त्यहाँका साथी एक परिवार। बाटोमा असरल्ल हिँडिरहेका उनलाई यहाँसम्म ल्याइदिने उज्ज्वल केबल एउटा 'सेवक'को नाममा आफूलाई चिनाउन चाहन्छन्।
६ महिनाअघि खुलेको 'बाआमा घर'का सञ्चालक उज्ज्वल रामबाबुजस्तै अलपत्र बेसहाराका उद्धारमा लागि परेका छन्। बिहे नगरेका र आफन्तबाट हेपिएका थुप्रै व्यक्तिका बुढेसकालमा सहारा बनेका छन्।
'उद्धार भएकालाई घरकै भावना झल्काउन संस्थाको नाम बाआमा घर राखेको हुँ,' उज्जवलले भने।
पेसाले इञ्जिनियर भएको बताउने उज्जवललाई यस्तो संस्था खोल्ने ध्याउन्न कसरी आयो त? जवाफमा उनले आफ्नी आमालाई श्रेय दिए। सानैदेखि आमाबाट प्रभावित उनले कुनै दिन परोपकारी काम गर्ने अठोट लिएका थिए रे। त्यही अठोटको नतिजा 'बाआमा घर' भएको उनी बताउँछन्।
'परोपकार नै सबभन्दा ठूलो पूण्य हो,' आमा भन्नहुन्थ्यो। उहाँका भनाइले दीनदुःखीको मद्दत गर्ने चाहना पलायो। विस्तारै काम गरेर पूरा गर्दैछु,' उनले सुनाए।
सामाजिक काम गर्ने इच्छा पहिल्यैदेखि भए पनि पढाइ र जागिरको अलमलमै उनको समय बित्यो। घरपरिवार र रोजीरोटीमा व्यस्त उनले केही वर्ष आफ्ना योजना सोच्न पनि भ्याएनन्। समयक्रममा आफू सामाजिक कामबाट हराउँदै गएको महशुस भयो। अनि जागिर छाडेर संस्थाको काममा पूरा समय दिन थालेको उनले बताए।
सामाजिक काम अघि बढाउने सोच त बन्यो। के गर्ने, निधो गर्न मुश्किल भयो।
'अहिले वृद्ध र अनाथ बालबालिकाका लागि धेरै आश्रम सञ्चालनमा छन्, राम्रो हो। तर समाजमा अरू थुप्रै समस्या छन् जुन सधैं देखिरहे पनि समाधान गर्न सकिरहेका छैनौं,' उनी भन्छन्। समाजमा बाहिरबाट नदेखिएका समस्या खोज्न थाले उनी। त्यहीक्रममा बाटोमा अलपत्र परेका एक्ला बेसहाराको उद्धार गर्ने सोच बनाएका हुन्।
उनी भन्छन्, 'जिन्दगीभर एक्लै रहे पनि अन्तिम दिनहरूमा नजिकै कोही नहुनु धेरै पीडादायी हुन्छ। त्यस्तो बेला न आफूले आफ्नो हेरचाह गर्न सकिन्छ, न अरू कोही हुन्छ।'
तीन वर्षअघि 'उज्ज्वल फाउन्डेसन' अन्तर्गत दर्ता भएको 'बाआमा घर' अहिले रामबाबुजस्तै व्यक्तिहरूको हेरचाह गर्दै छ। उज्ज्वलका अनुसार उद्धार भएकामध्ये कोही परिवारबाट भागेका वा हराएका पनि हुन्छन्। तिनलाई परिवारसँग सम्पर्क गराएर आफ्नै घर पठाउने गरिएको छ।
२४ लाखको लगानीमा खाने, बस्ने सुविधासहित सञ्चालन भएको संस्थालाई उद्धार भएकाहरूले घरको रूप दिएको उज्ज्वलको भनाइ छ।
'स्वयंसेवक हुँदाहुँदै पनि यहाँ बस्नेहरू आफैं घर सफाइ, खाना पकाउने र बारीको काम गर्नुहुन्छ,' उनले भने, 'केही समस्या आइपर्यो भने पनि उहाँहरू मद्दत गर्न हात बढाउनु हुन्छ। यसले हामीलाई सजिलो बनाएको छ भने उहाँहरूको मनोबल र सक्रियतामा पनि सुधार भएको छ। जुन यो उमेरमा अति आवश्यक छ।'
सुरूआती दिनमा आफ्नो योजना सफल नहुने डर पनि थियो उनलाई। पछिल्ला दिनमा भने सबैले सहयोग गरिरहेको बताउँछन्। आफ्नो आधिकारिक फेसबुक पेजमार्फत अलपत्र परेका एकल व्यक्ति उद्धार गर्नुको साथै आर्थिक सहयोग पनि पाइरहेको उनले बताए। आगामी दस वर्षमा कम्तीमा सय जना आमाबा राख्ने ठाउँ बनाउने सोच उनको छ। निर्भर वा स्वतन्त्र दुवै तरिकाले बस्न चाहनेका लागि सुविधा व्यवस्ता गर्न लागेको उनले बताए।
पाका उमेरका आमाबाको सहजताका निम्ति भत्ता दिनु मात्र समस्याको हल नहुने उनको भनाइ छ। उपयुक्त सुविधा व्यवस्थापनमा उनी जोड दिन्छन्।
'कसैसँग पैसा छ, पैसा तिरेर एक्लै बस्ने मन हुनसक्छ। उहाँहरू जस्ताका लागि सुविधाजनक ठाउँ छैन,' उज्ज्वल भन्छन्, 'यदि उहाँहरूले चाहेका सबै सुविधा सशुल्क दिइयो भने त्यही पैसाले केही नभएकाहरूको हेरचाह गर्न सकिन्छ। यसले दुवै पक्षलाई सजिलो हुन्छ र संस्थालाई बाहिरी सहयोगबिना आर्थिक रूपमा आत्मनिर्भर बनाउँछ।'
वृद्ध पार्क र आश्रयस्थल पनि बनाउने उनको योजना छ। सामाजिक काममा नयाँ परिवर्तन ल्याउने कोशिश गरिरहेका उज्ज्वल आफ्ना योजनामा आशावादी देखिन्छन्। रामबाबुजस्ता धेरैलाई 'घर'मा राखेर तन र मनको न्यानो दिने आफ्नो सपना रहेको उनले बताए।
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी