कोसी टप्पु वन्यजन्तु आरक्षण केन्द्रबाट मानव बस्तीमा आहाराका लागि पसेका हात्तीले शनिबार राति सप्तरीको अग्नि साईर कृष्णासवरन गाउँपालिका–६ मा आधा दर्जन घर भत्काएको छ।
हात्तीले पाक्न लागेको धानवाली कुल्चिएर सखाप पारेको छ।
यस्तै, सिजनको तरकारीबाली पनि हात्तीले खाइदिएको स्थानीय दुर्गाप्रसाद भट्टराईले बताए।
हात्ती गाउँ पसेलगत्तै स्थानीय कोलाहलका साथ भागाभाग भएका थिए।
छ वटाको समूहमा आएको आरक्षण केन्द्र हात्तीले मञ्जु कार्की, कमानसिंह मगर, सत्यनारायण मण्डल, आनन्द सदा, पाञ्चु सदा, तिलकबहादुर खत्री र रमा परियारको घर भत्काएको छ।
हात्ती गाउँ पसेको थाहा पाएर रमा परियारको परिवार नानी काखी च्यापेर भागेको थियो।
हात्तीले उपद्रो सकेर पुनः कोसी टप्पु फर्किएपछि घर पुगेकी रमाले भनिन्, ‘बस्ने र खाने ठाउँ नराखी हात्तीले सत्यानाश गरिदिएछ।’
सो गाँउपालिकाको वडा नम्बर ४ का वडा अध्यक्षसहित गएको एक टोलीले हात्तीले पुर्याएको क्षतिको विवरण संकलन गरेको थियो।
टोलीमा सहभागी नेपाली कांग्रेसका स्थानीय नेता दुर्गा भट्टराईले भने, ‘एकै रातमा स्थानीयको कम्तीमा २० लाख क्षति भएको छ।’
स्थानीय सरकारले क्षतिको अवस्था हेरेर तत्काल पाँच हजार रुपैयाँ पीडित परिवारलाई राहत दिने गरेको भए पनि त्यो राहत ‘हात्तीको मुखमा जीरा’जस्तो भएको पीडित तिलकबहादुर खत्रीले बताए।
हात्तीपीडित खत्रीले भने,‘क्षति लाखौंको छ, राहत पाँच हजार?’ हात्तीको आक्रमणबाट छिमेकी कञ्चनपुर नगरपालिकामा गएको बैशाखदेखि ७ महिनामा ९ जनाको ज्यान गएको छ भने ७ जना हात्ती आक्रमणबाट अंगभंग भएका छन्।
अग्नि साईर कृष्णासवरन गाउँपालिकामा हालसम्म एक जना घाइते छन्।
अन्य प्रभावित क्षेत्रका मानिस अहिलेसम्म भागेरै ज्यान जोगाइरहेका छन्।