घन्टाघरबाट अलि अगाडि मीनाबजार। मीनाबजारबाट अझै अगाडि गहवा। सहरको त कुरै भएन, टोलमै पनि अनजान।
डेढ दशकअघिसम्म उनकै झुपडी रहेको गहवास्थित घरैछेउ पुगेर सोध्दा पनि छिमेकीहरू कपाल कन्याउन थाल्छन् र भोजपुरीमा सोध्छन्– 'को श्यामप्रसाद?'
उनीहरू तरकारी बेच्ने श्यामप्रसादलाई चिन्छन्। ठेकेदार श्यामप्रसाद पनि उनीहरूको टोलैका हुन्। तर, त्यही घरमा बसेर नेपाली पाठक घेरालाई वर्गविहीन चेतनाको टलकले सिँगार्ने श्यामप्रसाद शर्मालाई चिन्ने मान्छे मुश्किलै भेटिन्छन्।
जति बेला राजधानीमा नेपाल कम्युनिस्ट पार्टीका प्रधानमन्त्रीले मिडियामा 'तँ, तिमी, तपाईं, हजुर' को आवश्यकता औंल्याउँदै थिए, त्यतिबेलै छ दशकअघि 'तँ, तिमी, तपाईं, हजुर' किताब लेखेर यस्ता वर्गीय सम्बोधनलाई गिज्याउँदै तिनै प्रधानमन्त्रीलाई सत्तामा उक्लिने खुड्किलो बनाइदिएका श्यामप्रसाद बिहीबार घरछेवै अपरिचित पाइए।
बिक्रम सम्वत् १९८६ असार ६ गते मकवानपुरको मन्थली गाविसमा उनी जन्मिएका थिए। पिता जोगनाथ लामिछानेले वीरगन्जमा राणाहरूको खेती रेखदेख गर्ने जागिर पाएपछि उनको परिवार यो सहरमा बसाइ सरेको थियो। जन्मनेबित्तिकै आमा गुमाएका श्यामप्रसादले १३ वर्षमै पिता पनि गुमाए।
त्यसपछि सुरू भए संघर्षका दिन। उनले 'सेवा सदन' नामक पत्रपत्रिका तथा पुस्तक पसल खोले जुन यो सहरकै पुरानो पुस्तकालय बन्यो। सेवा सदनमा भारतबाट खुलेआम बेच्न मिल्नेदेखि रातको अन्धकारमा ढोका थुनेर मात्रै पढ्नुपर्ने राजनीतिक चेतका पुस्तकसम्म आइपुग्थे।
वीरगन्जलाई 'घामका पाइलाहरू' बाट परिचित गराउने धनुषचन्द्र गौतमले आफ्नो संस्मरणमा जताततै श्यामप्रसाद र सेवा सदनको उल्लेख गरेर राणाकालमै आफूमा चेतना भरिदिने स्थानको गुन सम्झेका छन्।
उनै श्यामप्रसाद सेवा सदन चलाउनुका साथै स्कुलका सहपाठी धनुषचन्द्रसँग मिलेर राणाविरोधी गतिविधिमा लाग्न थाले। २००२ सालमा क्रान्तिकै लागि रक्सौल आएर बस्न थालेका कृष्णप्रसाद भट्टराईसँग सानिध्य भयो। २००४ सालको राणाविरोधी सत्याग्रह आन्दोलनमा पक्राउ परेर श्यामप्रसाद जेल गए। वीरगन्ज जेलमै संगत भयो युद्धप्रसाद मिश्रसँग।
२००९ सालमा श्यामप्रसाद, धनुषचन्द्र र केवलपुरे किसान लगायतको सक्रियतामा वीरगन्जमै सम्मेलन गरेर स्थापना गरिएको थियो 'प्रगतिशील लेखक संघ'। त्यो बेला श्यामप्रसादले जन्माएको र उनैले नेतृत्व दिएको यो संघ आजसम्म प्रगतिशील विचार राख्ने लेखक तथा साहित्यकारको केन्द्र बनिरहेकै छ।
'श्यामप्रसाद र एमालेबीचको सम्बन्धबारे एमालेसँग संस्थागत स्मरण नहुन पनि सक्छ,' लेखक कोमल भट्टराई एक ठाउँमा उल्लेख गर्छन्, 'तर, एमालेले साहित्य जगतको अंश पाएकै श्यामप्रसादबाट हो।'
उनै श्यामप्रसादले एमालेलाई राजनीतिक रूपले पनि बलियो बनाइदिए।
यो बुझ्न पाँच दशक अघिदेखिको चर्चा गर्नुपर्छ, जति बेला नेकपा एमाले होइन, अझ अघिको माले पनि होइन, 'कोअर्डिनेसन केन्द्र' भन्ने संगठन थियो।
राजा महेन्द्रले पञ्चायती संविधान जारी गरेलगत्तै २०२४ सालमा श्यामप्रसादले आफूलाई भूमिगत बनाए। अनेक नाम फेर्दै काठमाडौं बस्न थाले।
२०२८ सालताका काठमाडौंमा महेशमान श्रेष्ठ नामका चिनियाँ भाषा पढाउने गुरु देखिए।
'भन्नका लागि त हामी चिनियाँ भाषा सिक्न गएका थियौं,' नेकपा नेता अष्टलक्ष्मी शाक्यले एक ठाउँमा लेखेकी छन्, 'हाम्रो मुख्य उद्देश्य भने विद्वान अनि मिलनसार महेशमान सरको सानिध्यमा रहेर वामपन्थी राजनीतिमा होमिनु थियो।'
त्यस्ता आदर्श गुरुले अचानक आफूहरूलाई अलपत्र पार्दै अध्ययन गर्न भनेर चीन गइदिएको शाक्यको भनाइ छ।
यसरी अध्ययन गर्न गएका गुरु अर्थात् महेशमान श्रेष्ठ नै श्यामप्रसाद थिए भन्ने शाक्यलगायतका विद्यार्थीहरूले पछि मात्र थाहा पाए। छद्म नाममै सक्रिय श्यामप्रसादले तयार पारेका राजधानीका टन्नै रैथाने चेलाचेली उनका विचारबाट दीक्षित भइसकेपछि आफूहरूका जमातको नामै 'अति गोप्य समूह' राखेका थिए।
नेपालको वामपन्थी राजनीतिमा चर्चित काठमाडौंका रैथाने तन्नेरीहरूको 'अति गोप्य समूह' २०३६ सालको आन्दोलनमा नेकपा (माले) सँग जोडियो। आजको काठमाडौंको माले (हाल नेकपा) को संगठन तयार पार्ने जननी नै त्यही क्षणको त्यो जोड थियो भनेर एकथरि लेखकहरूले उल्लेख गरेका छन्।
'एकातिर ०३६ सालको आन्दोलनपछि अनेरास्ववियु र संकल्प परिवारको सांगीतिक गतिविधिले मुलुकभर मालेलाई फैलाइरहेको थियो, त्यही बेला श्यामप्रसादबाट प्रशिक्षित कार्यकर्ता, विशेषगरी जुझारू महिलाहरू पाएको यो पार्टीले काठमाडौंमा मालेको संगठन विस्तार गरिदिएका थिए,' कोमल भट्टराई लेख्छन्।
तिनै जुझारू महिलामध्ये अर्की सदस्य हुन् लेखिका सुलोचना मानन्धर।
'उहाँले छाडेर गएपछि हामी ०३३ सालबाट नजिकिँदै ०३६ सालको आन्दोलनसँगै मालेमा मिसियौं,' मानन्धरले सेतोपाटीसँग भनिन्, 'तर, एमालेमा रूपान्तरण भएपछि मात्रै हामी संलग्न पार्टीको श्यामप्रसादसँग पनि पार्टीगत सानिध्य बढ्यो।'
'अति गोप्यवादी' पार्टीका जन्मदाता श्यामप्रसादले आफूलाई २०४७ सालमा मात्रै भूमिगत जीवनबाट मुक्त घोषणा गरेका थिए।
वीरगन्जबाट काठमाडौं आएपछि श्यामप्रसाद आफ्नै टोलमा भूमिगत बस्न थालेको बताउने मानन्धर एसएलसी दिएपछिको छुट्टीमा पढेको उनको पुस्तक 'बहिनीलाई चिठी' ले महिला हकहितको चेतनासँगै वामपन्थी राजनीतितर्फ आफूलाई डोर्याएको सुनाउँछिन्।
'त्यो बेला काठमाडौंमा उहाँका विचार फैलाउने अष्टलक्ष्मी, पूर्णशोभा, मजस्ता थुप्रै महिला अनि मंगलसिद्धि मानन्धरलगायत पुरुष साथीको ठूलो समूह थियो,' उनले भनिन्, 'थुप्रै हस्तलिखित पत्रिका पनि निकालेका थियौं।'
आफूहरूलाई विचार दिएका श्यामप्रसादले उति बेला लेखेको 'तँ, तिमी, तपाईं, हजुर' को भावना र अहिले पार्टीकै प्रधानमन्त्रीले मिडियाले सम्मानपूर्वक सम्बोधन नगरेको गुनासो गरिरहेको विरोधाभाषी परिस्थितिलाई मानन्धरहरूले कसरी हेरिरहेका छन्?
उत्तर दिन सुलोचना मानन्धरले सुरूमा त केही संकोच मानिन्।
'प्रधानमन्त्रीले बोलिरहनुभएको कार्यक्रममा म प्रत्यक्षदर्शी थिएँ,' उनले भनिन्, 'प्रधानमन्त्रीले यो कुरा बोलिरहनु सान्दर्भिक नभएजस्तो लागेको थियो। उहाँको बोलिरहने बानी भएकैले मुखबाट निस्केको हो जस्तो लाग्छ।'
यति भन्दाभन्दै उनले आफू चिनियाँ साहित्यकारहरूलाई लिएर चन्द्रागिरि घुमाउन आएको र उकालो चढिरहेको जानकारी दिँदै कुरा टुंग्याउन खोजिन्।
अर्का वामपन्थी लेखक खगेन्द्र संग्रौला भने यस विषयमा निर्धक्क बोल्न तयार भए।
श्यामप्रसादलाई आफ्नो वैचारिक पाठशालाको 'आदि जनक' बताउँदै संग्रौलाले उनका 'लेखक कसरी बन्ने' र 'तँ, तिमी, तपाईं, हजुर' गरेर दुइटा लेख आफूलाई सबभन्दा मनपरेको उल्लेख गरे।
'अत्यन्त सानो मुलुक भइकन पनि 'तँ' देखि 'मौसुफ सरकार' सम्मलाई समेटेको यो असाध्यै धेरै जात र वर्गका सम्बोधनले जेलिएको मुलुक थियो,' उनले भने, 'यस्तो जटिल विषयमा श्यामप्रसादले जुन सरलतामा त्यो किताब लेखेका थिए, त्यस्तो उदाहरण आजसम्म पनि नेपाली साहित्यमा छैन।'
संग्रौलाका विचारमा, आकार अत्यन्तै सानो भए पनि नेपाली निबन्धको इतिहासमै उल्लेख्य उक्त किताबको शीर्षकले नै सबथोक विस्तारमा भनेको छ। किताब पाँचवटा निबन्धको संग्रह हो। पाँचै निबन्धमा सामान्य मान्छेलाई पात्र बनाएर सामाजिक संरचना र संस्कृतिले जन्माएका विभेद छरपष्ट देखाइएको छ।
'श्यामप्रसादजस्ता विचारकलाई खड्गप्रसाद र पुष्पकमलजस्ता नेताहरूले सम्झेका होलान् भन्ने मलाई लाग्दैन,' संग्रौलाले भने, 'बरु, कदाचित उनीहरूको सपनामा त्यो आदर्श आएर तर्साइदियो भने पनि आपत् आइलाग्ला भन्ने पो डर छ।'
प्रधानमन्त्रीले आफूलाई 'तपाईं' नभनिएको भनेर गुनासो गर्नु एउटा 'दुःखी आत्मा' को रोदन भएको उनले बताए।
'सत्कर्म गर्न थाल्ने हो भने मिडियाले तपाईं नभनेरै पर्याप्त आदर झल्काइदिन सक्छ,' उनले थपे, 'अहिले सरकारको अस्तित्व देखाउनकै निम्ति केही न केही भनिरहनुपर्ने बाध्यताका रूपमा पनि यो भनाइ आएको हो।'
श्यामप्रसाद जुन सहरका थिए, त्यही सहर वीरगन्जका किताब पसलदेखि पुस्तकालयहरू चहार्दासम्म उनले लेखेका कुनै किताब पाइएनन्। प्रगतिशील लेखक संघले उनका दस दर्जनभन्दा बढी कृति रहेको जनाएको छ।
'बाँचुन्जेल आफ्ना किताब आफैं बोकेर ल्याएर हामीकहाँ बेच्न छाडेर जानुहुन्थ्यो,' पुराना किताब बिक्रेता सुरेश जोशीले भने, 'त्यसयता हाम्रा पसलमा उहाँका किताब पाइँदैनन्।'
२०७४ सालमा निधन भएका श्यामप्रसादलाई वीरगन्जमा अरूले नचिने पनि उनकै झुप्रो उभिएको जग्गा किनेर भवन ठड्याउने किराना पसले मुन्ना साहले चिनेका रहेछन्।
करिब पन्ध्र वर्षअघि ३२ लाख रूपैयाँमा यो जग्गा किनेर घर बनाएको मुन्नाले सेतोपाटीलाई जानकारी दिए। तर मुन्नालाई पनि श्यामप्रसाद के गर्थे भन्ने थाहा रहेनछ।