‘पर्यटन भ्रमण वर्ष, २०२०’ लाई लक्षित गरी नेपालमा पहिलोपटक गौ संरक्षणका लागि आयोजना गर्न लागिएको कोटिहोमको प्रचार–प्रसार तीब्र पारिएको छ। आगामी कात्तिक २७ देखि मंसिर ९ सम्म आयोजना हुन लागेको १०८ कुण्डको कोटिहोमकोे प्रचारप्रसारलाई तीब्रता दिइएको हो।
झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित माहाभारत इतिहाससँग जोडिएको धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधाममा पहिलो पटक गौ संरक्षणका लागि १०८ कुण्डको कोटिहोम हुन लागेको हो। अन्तर्राष्ट्रिय
विद्धत परिषदका प्रवक्ता आचार्य घनश्याम खनालले नेपालसहित भारत, सिङ्गापुर, अमेरिका, जर्मन, मालदिप्स, अफ्रिकालगायत अन्य मुलुकमा सताक्षीधाममा आयोजना हुने कोटिहोमको प्रचारप्रसार तीब्र पारिएको बताए।
पोष्टर, पम्लेट, माइकिङ, ठाउँ–ठाउँमा काटिहोमको महत्व र यसको आवश्यकताका विषयमा जानकारी दिएर अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसारलाई तीव्र बनाइएको प्रवक्ता खनालले जानकारी दिए। भारतको दिल्ली, वृन्दावन, मथुरा, गुजरात, हरिद्वार, मुम्बई, कलकत्ता, बनारस लयात पश्चिम बंगालमा प्रचार–प्रसारका लागि सयांै नेपालीभाषी र स्थानीय हिन्दुवादी स्वयमसेवक परिचालन गरिएको छ।
आयोजकले नेपालबाहेक विश्वका बीस हजार पर्यटक कोटिहोममा सहभागी हुने दाबी गरेको छ। यस्तै, नेपालका डेढ लाख आन्तरिक पर्यटक सताक्षीधाम आएर कोटिहोममा सहभागी हुने आयोजकले बताएको छ।
सताक्षीधाममा पाँच वर्षअघिमात्र स्थापित गोलोक गोवद्र्धन गौशालाले गाईको महत्व, आवश्यकता र शास्त्रीय गुणको बारेमा चेतना दिनुका साथै पर्यावरणीय शुद्धीका लागि कोटिहोमको आयोजना गर्न लागिएको बताएको छ।
गौशालाका पिठाधीश आचार्य नन्दकिशोर भारद्वाजले कोटिहोमसँगै श्रीसताक्षी अष्टोत्तरशत्कुण्डीय श्री गोपाल महायज्ञ (कोटिहोम) एवम् श्रीमद्देवीभागवत कथा महोत्सव समेत आयोजना हुने बताएका छन्। गौशाला स्थापनापछि सताक्षीधाममा वर्षेनी धार्मिक महोत्सव आयोजना हुँदै आएको छ।
सडकमा यत्रतत्र रहेका, घर गाँउका स्थानीयले पालनपोषण गर्न नसकेका, रोगी, बृद्ध गाईको संरक्षण गर्न, गाईको महत्व र अर्थ बुझाउनका साथै सताक्षीधामको पर्यटन प्रवद्र्धनका लागि कोटिहोम हुन लागेको पिठाधीश भारद्वाजले बताए।
कोटिहोममा नेपाललगायत विश्वका ५५१ जना ब्राह्मणले दैनिक होम गर्ने आयोजक गोलोक गोवद्र्धन गौशालाले जनाएको छ। यो संख्यामा पोल्याण्ड, सिंगापुर, भारत, अमेरिका, जोर्डन र जर्मनका चर्चित धार्मिक वक्ता रहने छन्।
कोटिहोममा आउने अतिथिका लागि करिब ३५ वटा कुटी निर्माण सुरू भएकोे छ। एउटा कुटीमा बढीमा चार जनासम्म विदेशी पाहुना अटाउन सक्नेछन्। बाँसका किला, खर र टाटीको बेरामा कुटी निर्माण गरिएको छ।
कोटिहोमका लागि गजुरसहित नौ तलाको बाँसजन्य वस्तुबाट जडित यज्ञकुण्ड निर्माण थालिएको छ। सोमबारसम्म तीन तलाको यज्ञ मण्डपको छाना निर्माण भइसकेको आयोजक गौशालाले जनाएको छ।
यसअघि झापाको कनकाई नदीको पूर्वीतटिय क्षेत्रमा स्वर्गीय योगी नरहरिनाथले २०४२ सालमा पाँच कुण्डको कोटिहोम आयोजना गरेका थिए। अहिले सो क्षेत्रको नाम कोटिहोम रहन गएको छ।