ब्रह्माण्डमा सबभन्दा बढी चन्द्रमा (उपग्रह) भएको ग्रह कुन हो? केही दिनअघि मात्र यसको जवाफ बृहस्पति थियो। तर अब शनिले उछिनेर सबभन्दा धेरै चन्द्रमा भएको ग्रह बनेको छ।
अमेरिकी अनुसन्धाताहरूका अनुसार शनिका २० वटा नयाँ उपग्रह फेला परेका छन्। बृहस्पतिलाई सन् १९९० को अन्त्यदेखि नै अत्यधिक उपग्रह भएको ग्रह मानिँदै आएको थियो। पहिले बृहस्पतिको वरिपरि चारै दिशामा चक्कर लगाउने ७९ उपग्रह थिए भने शनिका ६२ वटा। थप फेला परेसँगै शनिसँग अब ८२ वटा उपग्रह भएका छन्।
यही आधारमा अत्यधिक चन्द्रमा समेट्दै शनि धनी भएको हो।
नयाँ चन्द्रमाहरूको खोज अमेरिकाको हवाइ राज्यमा रहेको सुबारू टेलिस्कोपको मद्दतले भएको हो। शनिको चक्कर लगाउने हरेक नयाँ उपग्रहको व्यास कम्तिमा ५ किलोमिटर भएको खोजकर्ताहरूले जनाएका छन्।
फेला परेका २० नयाँ उपग्रहमध्ये तीन वटा शनि घुम्ने दिशामै घुम्छन् भने १७ वटा विपरीत दिशामा घुम्छन्। मूल ग्रहको विपरीत घुम्नेलाई वैज्ञानिक भाषामा 'रेट्रोग्रेड' र एकै दिशामा चक्कर लगाउनेलाई 'प्रोग्रेड' भनिन्छ। समान दिशामा घुमिरहेका तीन नयाँ उपग्रहमध्ये दुइटाले दुई वर्षमा शनिको एक चक्कर पूरा गर्छन्। एकै दिशामा घुम्ने एउटा र विपरीत घुम्ने १७ वटा उपग्रहले भने तीन वर्ष लगाउँछन्।
वासिङटन डिसीस्थित 'कार्नेगी इन्स्टिट्युशन फर साइन्स'मा आवद्ध र यो खोजका अगुवा डा.स्कट सेफर्डका अनुसार उपग्रहहरूको कक्षका बारेमा अध्ययन गरेपछि तिनीहरूको विकास कहिलेबाट भएको भन्ने पत्ता लगाउन सकिन्छ। साथै शनिको सृष्टिक्रममा के–कस्तो रूप वा स्थिति थियो भन्नेबारे पनि जान्न सकिने उनको भनाइ छ।
वैज्ञानिकहरूका अनुसार यी सुल्टो र उल्टो दिशामा घुम्ने उपग्रहहरू तीन वटा ठूला पिण्ड फुटेर बनेका हुनसक्छन्। यी ठूला पिण्ड आपसी ठक्करबाट ध्वस्त भएका उनीहरूको अनुमान छ।
नयाँ पत्ता लागेका १७ वटा विपरीत चक्कर लगाउने उपग्रहमध्ये एउटा शनिको सबभन्दा टाढा छ।
डा.सेफर्डले भनेका छन्, 'यो चन्द्रमा शनिको कक्षतर्फ झुकेको छ र शनिबाट धेरै टाढा छ। त्यसैले हामी यी उपग्रह ग्रहबाटै टुक्रिएका हुन् भन्ने मान्न सक्दैनौं। यी उपग्रह अरू नै तरिकाबाट बनेर पछि शनिको गुरुत्वाकर्षणले तानेका हो।'
यो अनुसन्धान सुबारू टेलिस्कोपको प्रयोगमार्फत् सन् २००४ देखि २००७का बीचमा गरिएको थियो। सम्भावित उपग्रह चिन्नका लागि नयाँ प्रविधिबाट गरिएको अनुसन्धानबाट प्राप्त तथ्यांकहरूलाई पुराना तथ्यांकसँग मिलाएर हेरिएको थियो।
डा. सेफर्ड भन्छन्, 'हामीले पहिल्यै सोचेका थियौं ती उपग्रह शनिकै हुन् भनेर। तर सुनिश्चित गर्न पूरै कक्षको बारेमा जानकारी लिनु आवश्यक थियो। यो नयाँ कम्प्युटर प्रणालीबाट २० वटा नयाँ उपग्रहको कक्ष सुनिश्चित गर्न सफल भयौं।'