कीर्तिपुर अस्पताल, साइमन्स वार्ड, कोठा नम्बर ५।
ढोकामा सूचना टाँसिएको छ — अनुमतिबिना प्रवेश निषेध। आसपासका अरू कोठामा यस्तो सूचना छैन। यहाँ भने सञ्चारमाध्यम र अरू व्यक्तिहरू तारन्तार भेट्न आउँदा बिरामीलाई 'डिस्टर्ब' भयो भनेर यस्तो सूचना टाँसिएको अस्पतालका नर्सले बताइन्।
हामीले ड्युटीमा खटिएका उनै नर्सलाई सोध्यौं, 'भित्र पनि जान पाइन्नँ?'
'परिवारको सहमति भयो भने पाउनुहुन्छ,' यति भन्दै तिनै नर्सले बिरामीकी आमालाई फोन गरिन्, 'दिदी तपाईंलाई भेट्न मान्छे आउनुभएको छ।'
केही बेरमै कोठा नम्बर ५ को ढोका घरक्क खुल्यो। फिक्का सुन्तला रङको कुर्ता सुरूवाल लगाएकी महिला थकित र निराश मुद्रामा मेरो अगाडि उभिइन्। मैले आफ्नो परिचय दिएँ। उनको परिचय त मलाई यसै थाहा थियो।
उनी हुन्, एक महिनाअघि तेजाब प्रहार गरिएकी मुस्कान खातुनकी आमा शहनाज खातुन अन्सारी।
वीरगन्ज- ३, छपकैयाकी १४ वर्षीया मुस्कानलाई गत भदौ २० गते शुक्रबार स्कुल जाँदै गर्दा गाउँकै केही केटाहरूले तेजाब प्रहार गरेका थिए।
तेजाब हान्ने दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्ने शमसाद मिया र माजिद आलम दुवै १६ वर्षका स्थानीय हुन्। शमसादले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेको झोंकमा तेजाब हानेको बयान दिएका छन्। मुस्कानको निम्ति प्रदेश नम्बर २ सरकारले पाँच लाख रूपैयाँ आर्थिक सहायता गर्ने घोषणा गरेको छ।
जीउको दाहिने भाग पूरै तेजाबले जलेको मुस्कानको एक महिनादेखि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। एकादशीको दिन बुधबार हामी उनको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर गएका थियौं।
मुस्कानकी आमाले परिचय थाहा पाएपछि कोठाको ढोका खोलिन्, 'अहिले बोल्न त सक्दिनन्, तपाईं भेट्न सक्नुहुन्छ।'
कोठाभित्र मुस्कानको ड्रेसिङ भइरहेको थियो। उनको अनुहार र हातहरूमा धेरै दिनसम्म बाँधेर राखिएको सेतो पट्टि खुलेछ। चोट भने आलै छ। दायाँ कानको घाउ छोप्न निधारमा फनफन्ती सेतो पट्टि बेरिएको छ।
मुस्कानको दायाँ कानदेखि खुट्टासम्मै तेजाबले जलेको छ। अनुहार र बायाँ हातमा पनि छिर्का परेका छन्। अन्तको घाउ निको हुँदै गए पनि कानको चोट निको हुन समय लागेको नर्सले बताइन्। अझै कम्तिमा एक महिना उनलाई अस्पतालमा राख्नुपर्छ।
बुबा रसुल अन्सारी मुस्कानका हात र जीउमा नरिवलको तेल लगाइदिँदै थिए। मुस्कानलाई पीडा भएको अनुहारमै देखिन्थ्यो। ‘ड्रेसिङ गर्दा उनलाई एकदमै दुख्छ। बोल्न पनि सक्दिनन्,’ बाहिर निस्केर हातमा लागेको तेल पुछ्दै रसुलले भने, ‘विस्तारै ठीक हुँदैछ, तर सबै निको हुन त दुई–चार वर्ष लाग्ला।’
रसुल वीरगन्जमा आल्मुनियमको झ्यालढोका बनाउने काम गर्छन्। उनको सात जनाको परिवार छ। मुस्कान माइली छोरी हुन्।
रसुल र शहनाजले घाइते मुस्कानलाई काठमाडौं ल्याएको ३२ दिन बितेको छ। सुरूका दिनमा मुस्कान निकै छट्पटाउँथिन्। पट्टिले बेरिएको उनको अनुहारबाट मुस्कान हराएको थियो। विस्तारै पट्टि खुल्दै गए पनि उनको आत्मविश्वास फर्कन समय लाग्यो।
अहिले पनि मुस्कानको पीडा कम भइसकेको छैन, तर चौतर्फी रूपमा प्राप्त माया र समर्थनले हौसला बढेको पिता रसुल बताउँछन्।
‘कहिल्यै नचिनेको, नभेटेको मान्छे पनि मुस्कानलाई खोज्दै आउनुहुन्छ, माया देखाउनुहुन्छ र हौसला बढाउनुहुन्छ,' रसुलले भने, 'यसले पनि होला, केही दिनदेखि मुस्कान अलि फिर्दै गएकी छे।’
बलिउडका सेलेब्रेटीहरूले शीघ्र स्वास्थ्य लाभको सन्देश पठाउन थालेपछि मुस्कानको हौसला झनै बढेको उनले बताए।
बलिउड अभिनेता अमिताभ बच्चनले गत साता मुस्कानलाई भिडिओ सन्देशमार्फत् शुभकामना पठाएका थिए। उनले भिडिओमा भनेका छन्, ‘मुस्कान, तिमीमाथि जे भयो, त्यो कसैलाई हुनु हुँदैन। तिम्रो देशको कानुनले अभियुक्तहरूलाई पक्राउ गरी सजाय दिनेछ।’
त्यसअघि वरुण धवन र क्रिती सनोनले पनि उनलाई भिडिओ सन्देश पठाएका थिए। वरुण र क्रिती मुस्कानलाई मनपर्ने कलाकार हुन्। रसुलका अनुसार बलिउड कलाकारका यी सन्देशले मुस्कान र उनीहरू सबैलाई दुःखसँग लड्ने हिम्मत दिएको छ।
नेपाली फिल्मका अभिनेता प्रदीप खड्काले पनि उनलाई शुभकामना सन्देश पठाएका थिए। गायक राजु लामाले उनलाई भेट्न जाँदा गीतै गाएर सुनाए- तिमीलाई देखेर हिमाल हाँसेको ...
‘बलिउड र नेपालका कलाकारहरूले यसरी सम्झनु भनेको ठूलो कुरा हो। उसलाई (मुस्कान) मनपर्ने कलाकारहरूले नै माया गरेर शुभकामना पठाउँदा निकै खुसी भएकी छे,’ रसुलले छोरीको मुस्कान सम्झिँदै भने।
मुस्कानका नाममा आएको पछिल्लो सन्देश शाहरूख खानको हो। शाहरूखले मंगलबार ट्वीटरमार्फत् पठाएको सन्देश मुस्कानले हेर्न भ्याएकी छैनन्। उनलाई यसको जानकारी भने भइसकेको छ।
यी सन्देशहरू कतिपय रसुलले सुनाउँछन्, कति मुस्कान आफैं मोबाइल मागेर हेर्छिन्। आफ्ना लागि आएका प्रार्थना देख्दा शरीरको दुखाइ पन्छाएर उनी मुस्काउँछिन्।
‘बलिउडको यस्तो ठूल्ठूलो मान्छेले मेरो छोरीलाई सम्झिएका छन्, कति खुसी लागेको छ,’ रसुल भावुक भए, ‘मुस्कान पनि खुसी छे।’
रसुलसँग केही बेर कुरा गर्दागर्दै मुस्कानको ड्रेसिङ सकियो। तर उनी बोल्ने अवस्थामा थिइनन्। भर्खर ड्रेसिङ गरेकाले उनी राम्ररी मुस्काउन पनि सकेकी थिइनन्। मैले रसुललाई सोधेँ, 'के भन्छिन् त मुस्कान?'
'सबैले मलाई माया गरेका छन्। हिरोहिरोइनले पनि सम्झेका छन्। मेरो लागि भनेर कहाँ-कहाँबाट सन्देश पठाएका छन्। म चाँडै निको हुन्छु,’ छोरीको यति भनाइ सुनाउँदा रसुलका आँखा रसाउँदै थिए।