दुई साताअघि एप्पलले नयाँ आइफोनहरू सार्वजनिक गर्यो। भाउ हामी आमनेपालीको वर्ष दिनको खर्च होला! तै पनि किन्नेहरूको जमात कम छैन।
पछिल्ला मोडलका र नयाँ 'फिचर'ले पनि हाम्रो ध्यान खिचिनैहाल्छ। हामीमध्ये धेरैले चलाइरहेको राम्रै मोबाइल छाडेर नयाँ किन्छौं। अरू धेरैले सामान्य बिग्रेका मोबाइल पनि यसै थन्क्याउँछौं।
अर्कोतिर धेरैले महँगा मोबाइल किन्न पनि सक्दैनौं।
यी दुवै पक्षको समस्या समाधान गर्ने विकल्प हुनसक्छ— 'सबको फोन'। अर्थात् सबैको फोन।
पुरानो मोबाइल मर्मत गरी नयाँ सामग्री र वारेन्टी कार्डसहित 'सबको फोन' को प्याकेजिङमा बिक्रीका लागि तयार मोबाइल। तस्बिरः निशा भण्डारी/सेतोपाटी कसरी?
तपाईंसँग चलिरहकै पुरानो मोडलको वा केही खराबी आएको मोबाइल छ। यसै फाल्न मन नलागेर राखिराख्नु भएको छ। नयाँ किन्ने क्षमता पनि छ।
हो, यस्तो मोबाइल तपाईं 'सबको फोन'लाई बेच्न सक्नुहुन्छ। बिग्रेको मोबाइल बनाएर आफैं चलाउन पनि सक्नुहुन्छ। वा तपाईंले बेचेको यही मोबाइल धेरै पैसा हालेर किन्ने क्षमता वा इच्छा नभएकाहरूका लागि उपयोगी हुनसक्छ।
राम्ररी मर्मत गरिएका र 'वारेन्टी'सहित 'सबको फोन'बाट धेरै कम मूल्यमा किन्न सकिन्छ। सानेपास्थित 'सबको फोन' सँग फेसबुक पेज र वेबसाइटबाट सम्पर्क गर्न सकिन्छ।
यो पुनःप्रयोगको अवधारणा हो।
मोबाइल बदल्ने क्रममा घरघरमा पुराना मोबाइल थुप्रिएका छन्। महँगा फोन बच्चाका खेलौना बनेका छन्। कति फोहोरमा परिणत हुन्छन्। ती फोन मर्मत गरेर नयाँ जस्तै काम गर्ने बनाउने र बिक्री–वितरण गर्ने काम 'सबको फोन' ले गर्दै आएको छ।
यो धारणालाई मूर्तरूप दिन तल्लीन छन् ३० वर्षे युवाद्वय शुभेक्षा तिवारी र उत्तम काफ्ले।
'सबको फोन' की को-क्रिएटर शुभेक्षा तिवारी। तस्बिरः निशा भण्डारी/सेतोपाटी 'बिग्रेको फोन कहाँ राम्ररी बनाउने भन्ने दुविधा एकातिर छ, अर्कोतिर फोन बिग्रेपछि नयाँ नै खोज्ने हाम्रो बानी। फोनले निम्त्याउने समस्यातिर त चासो नै छैन,' कुराकानीको सुरूआतमै शुभेक्षाले बताइन्।
कम्पनीको प्रयासमा बिग्रिएर थन्किएका मोबाइल पुनः चलायमान भएका छन्। फोनको आयु लम्बिएको छ। नयाँ किन्दा लाग्ने खर्च कटौती भएको छ। हजारौं खर्च गरेर किनेको मोबाइल बिग्रिन्छ कि भनेर उति तनाव पनि लिनुपर्दैन।
'ब्रान्डेड कम्पनी' का पछिल्ला मोबाइल बजारमूल्यको आधा रकममा नै पाइने शुभेक्षाले जानकारी दिइन्। आफूहरूको सेवाबाट ग्राहक पनि निकै सन्तुष्ट भएको उनको भनाइ छ।
'पहिलो महिना त हामी निरास नै थियौं। हाम्रो काम सही छ भन्ने थाहा थियो तर बुझाउन चुक्यौं कि झैं लाग्यो,' कार्यअनुभव सुनाउँदै शुभेच्छा थप्छिन्, 'विस्तारै सेवाग्राहीबाटै नेटवर्किङ भइरहेको छ। एकपटक आएको व्यक्ति अर्कोपटक साथीहरू लिएर आउनुभएको पाएका छौं।'
सबको फोन खुलेको झन्डै छ महिना भयो। पुराना वा बिग्रिएका मोबाइल किन्ने, मर्मत गर्ने र अर्को ग्राहकलाई बेच्ने मात्र यसको काम होइन। कम्पनीले मोबाइल मर्मतपछि चार्जर, इयरफोनका साथै ३ देखि ६ महिनासम्मको वारेन्टी कार्डसहित बेच्छ। कम्पनीकै लोगो र नाम अंकित बक्समा प्याक गरेर नयाँ फोनझैं उपलब्ध गराउँछ।
'सबको फोन' का को-क्रिएटर उत्तम काफ्ले। तस्बिरः निशा भण्डारी/सेतोपाटी 'जसरी हुन्छ हामी नयाँ फोन किने बराबरको सन्तुष्टि दिन चाहन्छौं। कसैलाई पुरानो भएको फोन अरू कोहीलाई नयाँ हुनसक्छ भने त्यो काम किन नगर्ने,' कम्पनीको उद्देश्यबारे शुभेक्षाले स्पष्ट पारिन्।
त्यसो त सबको फोन सेवा अरूभन्दा राम्रो, भरपर्दो र छिटो–छरितो पनि भएको उनको दावी छ। मोबाइल बनाउन दिएपछि नबनुन्जेलसम्म काम चलाउन कम्पनीले आफैं अर्को मोबाइल दिन्छ। सेवाग्राहीले बिना हिच्किचाहट फोन छाडेर जाऊन्, मोबाइलविहीन बस्नुपर्ने अवस्थाबाट मुक्ति पाऊन् भनेर उपाय निकालिएको उनी बताउँछिन्।
'ग्राहक कहिले मेरो फोन बन्छ भनेर हतारो लगाउन पनि आउँदैनन्। ढुक्क भएर, समय लगाएर सेवाप्रवाह गर्न कम्पनीलाई सजिलो भएको छ,' उनले भनिन्।
ग्राहक आकर्षित गर्ने नयाँनयाँ काइदा पनि उनीहरूले अपनाउन थालेका छन्।
'सेवाग्राहीको समय बचोस् भनेर हामीले ल्याउने र पुर्याउने काम पनि गरिदिन्छौं,' उत्तमले भने, 'सेवाग्राहीको स्रोतसाधन, समय, पैसा गरी तेहेरो खर्च किन गराइदिनु?'
उत्तमका अनुसार कम्पनीले मोबाइलमा के कस्ता समस्या छन्, कति खर्च लाग्छ, सबै जानकारी पहिल्यै दिन्छ।
'सबको फोन' को कार्यथलो। तस्बिरः निशा भण्डारी/सेतोपाटी यसरी अनेक झन्झट उठाउनुभन्दा नयाँ मोबाइलकै कारोबार गरे भयो नि! उनीहरूले कहिलेकाँही यस्तो सुझाव पनि पाउँछन्।
उत्तम भन्छन्, 'हाम्रो उद्देश्य मर्मत गर्नु र नयाँ जस्तो बनाएर बेच्नु मात्रै होइन। फोनको आयु बढाउनु र विद्युतीय फोहोर व्यवस्थापनमा थोरै भए पनि टेवा पुर्याउने हो। कार्बन उत्सर्जनमा कमी ल्याउन सघाउनु हो।'
शुभेक्षाले यसलाई प्रस्ट्याइन्– २३ वटा फोन बनाउन र एउटा गाडी एक महिना चलाउँदा निस्कने प्रदूषण (कार्बन)को मात्रा बराबरजसो हुने अध्ययनले देखाएको छ। मोबाइलले हाम्रो पर्यावरण कसरी कमजोर पारिरहेको छ, सोच्नुस त!
सन् २०२० मा जापानमा हुन लागेको ओलम्पिक खेलका ५ हजार वटा पदक तयार गर्न ७८ हजार टन विद्युतीय सामाग्री 'रिसाइकल' गरिएको छ। जसअन्तर्गत ६० लाख पुराना फोनहरू पनि पर्छन्। यसले वातावरणीय असर न्यूनिकरण त गर्छ नै, विश्व रंगमञ्चको त्यति ठूलो फोरमबाट 'प्रयोगमै नआउने' ठानिएका विद्युतीय फोहोरको पुनः प्रयोगबारे सन्देश जानेछ।
यस्ता प्रयोग सिको नेपालले पनि गर्नुपर्ने बताउँदै उत्तम भन्छन्, 'मोबाइलको ब्याट्रीमा प्रयोग हुने एक किसिमको रसायन पाइने ठाउँ अफ्रिकाको कंगो मात्रै हो। अध्ययनअनुसार ४० वटा फोन पुनः प्रयोगमा ल्याउँदा त्यहाँको एउटा गोरिल्ला (वन्यजन्तु) संरक्षण हुन्छ।'
मोबाइलले पर्यावरणमा कस्तो असर पुर्याएर हाम्रो हातमा आइपुगेको छ, यो तथ्यबाट अनुमान गर्न सकिन्छ।
पुराना र बिग्रेका मोबाइल मर्मत गरिँदै। तस्बिरः निशा भण्डारी/सेतोपाटीअन्तर्राष्ट्रिय कानुन विषय पढेकी ललितपुर निवासी शुभेक्षालाई यही तथ्यले गम्भीर बनाएको थियो ।
'प्रकृतिको भण्डार रित्तिँदै छ। यसको दोहन रोक्न हामीले आफ्नो ठाउँबाट सानो पहल गर्न सक्छौं,' उनले भनिन्।
शुभेक्षासँगै यो पहलमा जोडिनुपूर्व उत्तम दिगो विकासका अवधारणामाथि काम गरिरहेका थिए। मोबाइलजन्य विद्युतीय सामग्रीमा उनको लगाव पनि उत्तिकै।
'म यस्तो काम गर्न चाहन्थेँ जुन सामाजिक काम पनि होस्, पैसा कमाउन पनि सकियोस्। वातारणलाई पनि टेवा पुगोस्,' उत्तम भन्छन्।
शुभेक्षा र उत्तमका पहल र चाहनाको स्वरुप हो 'सबको फोन'।
विद्युतीय फोहोरका विकराल समस्यामध्ये सहजै सल्टाउन सकिने सानो प्रयास मोबाइल नै थियो। काम थाल्नुअघि उनीहरूले आफैं अध्ययन गर्दा करिब ४० प्रतिशतले प्रयोग गरिसकेको फोन बच्चालाई खेल्न दिएको, बिग्रिए पनि जम्मा गरेर राखेको पाइयो। बर्सेनि यस्ता फोनको संख्या बढ्दै जाने देखियो।
यसरी बिग्रेका फोनहरू फाल्नुको साटो 'सबको फोन'ले बनाएर बिक्री गर्छ । तस्बिरः निशा भण्डारी/सेतोपाटी 'यो काम हामीले नै गर्ने हो भन्ने लाग्यो। हामी मोबाइलको आयु बढाउन र पुनः प्रयोगमा ल्याउने वातावरण बनाउन प्रयासरत छौं,' दुवै एउटै स्वरमा भन्छन् ।
सबको फोनले अहिले सामान उपलब्ध भएसम्म टुटेफुटेको, पानीमा डुबेको, भित्री सामान बिग्रिएको जस्ता समस्या भएका फोन किनेर मर्मत गर्दै आएको छ। विदेशबाट ल्याइएका तर कम्पनीले कुनै कारणवश् 'लक' गरिदिएका आइफोन भने उनीहरू बनाउँदैनन्।
पुराना फोन मर्मत गर्दा प्लास्टिक, धातुजन्य, सिसालगायत सामग्री निस्कन्छन्। उनीहरूसँग तत्काल यी सामान पुनः प्रयोगमा ल्याउन मिल्ने प्रशोधन गृह छैन। नेपालमा त्यस्ता ठाउँ पनि भेटेका छैनन्।
त्यसैले उनीहरूले अहिले यस्ता सामग्री संकलन गरेर राखेका छन्। उनीहरूको लक्ष्य छ– दीर्घकालमा यस किसिमको सम्भाव्यता खोजी गर्ने।