शंखमुल पुलमा बीचतिर बरन्डाजस्तो भाग छ। यामअनुसार रूप फेर्ने बागमतीको सौन्दर्य हेर्न बनाइएको यस्तै बरन्डा टेकु पुलमा पनि छ।
तपाईंहरू शंखमुलको बाटो हिँड्ने गर्नुभएको भए एक महिनाअघिसम्म त्यो बरन्डामा खुट्टा टेक्ने ठाउँ थिएन। फोहोरको थुप्रोले नजिक जाँदा पनि नाक पिरो हुन्थ्यो। मान्छेहरू दुर्गन्ध छेक्न मास्क वा स्कार्फले नाक-मुख ढाकेर हिँडिरहेका हुन्थे। गजगजी हिलोबाट बच्न बीच्चबीच्चमा राखिएका इँटामाथि फड्किरहेका देखिन्थे।
बर्खा बेला यही बरन्डामा बसेर बागमती उर्लिएको हेर्न कम्ता रमाइलो हुन्थेन। यसपालि फोहोर र दुर्गन्धले कसैले यसको कल्पनासम्म गरेनन्।
उर्लिएको बागमती हेर्ने सिजन त गयो, तर अझै पनि यहाँबाट साँझको दृश्य मनोरम देखिन्छ। तपाईं पनि यो आनन्द लिन चाहनुहुन्छ भने कुनै साँझ शंखमुलतिर बरालिन जानुस्। अहिले यहाँको बरन्डामा फोहोरको डुंगुर पनि छैन।
एक महिनाअघिसम्म फोहोर फाल्ने कुनो बनेको बरन्डा सानो बगैंचामा रूपान्तरण भएको छ। फूलका तीन-चारवटा गमला भुइँमा टुसुकटुसुक सजाइएका छन्। गमला भलै थोरै हुन्, यिनले पुलको सुन्दरता निखार्न ठूलो काम गरेको छ। सबभन्दा ठूलो कुरा त, गमला राखेपछि यहाँ फोहोर फाल्न बन्द भएको छ। फोहोर लिएर आउनेहरू पनि गमला देखेर ङिच्च पर्दै फर्कने गरेका छन्।
यो सानो तर प्रभावकारी 'आइडिया' कसको होला? बुझ्दै जाँदा थाहा भयो, 'पहिलो पाइला' भन्ने संस्थाको रहेछ।
केही समययता बागमती सफाइमा युवाहरूको उपस्थिति बढेको छ। त्यही क्रममा बागमती सफाइ अभियानअन्तर्गत 'पहिलो पाइला' संस्थामा आबद्ध युवाहरूले शंखमुल पुल सफाइ गरेर फूलसहितका गमला राखेका हुन्।
थुप्रै सामाजिक कार्यमा सक्रिय यो संस्थाले यसअघि पनि सफाइमा आफ्ना हात बढाइसकेको छ। २०७४ सालमा स्थापित संस्थाले विशेषगरी युवाहरूलाई सामाजिक कार्यमा संलग्न हुन जागरुक बनाउँदै आएको संस्थापक अध्यक्ष विजय खड्काले जानकारी दिए।
'हामी बागमती सफाइमा सक्रिय थियौं। त्यही क्रममा शंखमुल पुलमा फ्याँकिने फोहोर देख्यौं,' उनले भने, 'बागमती दुर्गन्धित हुनुका कारणमध्ये यस्तो फोहोरमैला पनि एक हो। त्यसैले केही समययता हामीले खोलासँग वरिपरिका क्षेत्रको सरसफाइमा पनि ध्यान दिँदै आएका छौं।'
शंखमुल पुलमा धेरै मानिसको ओहोरदोहोर हुन्छ। फोहोरले हिँड्नेलाई त सास्ती भयो नै, सफा गर्दै आएको बागमतीमा फोहोर थपिँदै जाने भयो। यही समस्या देखेर स्थानीयको सहयोगमा गमला अभियान सुरू गरेको उनले बताए।
'पुलनजिकै बस्ने स्थानीय आफैंले फूलबिरूवाको हेरचाह गरिरहनुभएको छ,' उनले भने, 'हामीले गमला लगेर राखे पनि फूलमा पानी हाल्ने र रेखदेख गर्ने काम स्थानीय नै गरिदिनुहुन्छ।'
पुलमा गमला राखेपछि फोहोर जथाभाबी फाल्ने क्रम कम भएको उनले बताए। झट्ट गमला देखेपछि मान्छे हच्किएका छन्। गमला वरिपरि प्लास्टिकका टुक्रा फाल्ने क्रम भने रोकिएको छैन। मान्छेको सोच र बानीमा एकैपटक परिवर्तन ल्याउन मुश्किल त हुन्छ नै! तर, 'पहिलो पाइला' पछि हटेको छैन।
उसले ललितपुर महानगरको सरसल्लाहमा पुलमा रङ लगाउनेदेखि झिलिमिली बत्ती राख्ने योजना बनाएको छ। साथै, पर्यटन बोर्डसँगको सहकार्यमा बानेश्वरस्थित पानीट्यांकीमा रंगरोगन गरेर 'थ्रिडी' चित्र देखाउने उसको योजना छ।
नेपाल भ्रमण २०२० लाई ध्यानमा राखेर काठमाडौंका पर्यटन सम्भावित क्षेत्रको सुधार र उत्थानमा काम गर्न थालेको विजय बताउँछन्। काठमाडौंबाहेक लमजुङमा पनि संस्थाले स्थानीयको सहयोगमा वृक्षरोपण गरेको छ।
'सामाजिक सुधारमा स्थानीय सहभागी हुनु आवश्यक छ,' उनले भने, 'एउटा संस्थाले मात्र अघि बढेर काम हुँदैन।'
हुन पनि हो, नभए शंखमुल पुलका गमलाको के हालत हुन्थ्यो होला!
सबै तस्बिर सौजन्यः पहिलो पाइला