चोरी आरोपमा पक्राउ परेका एक युवकलाई मोरङ उर्लाबारी प्रहरीका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुवास राईले कुटपिट गरेका छन्। तर, ती व्यक्ति निर्दोष रहेको भनी प्रहरीले छोडिसकेको छ।
चोरी अनुसन्धानका क्रममा उर्लाबारी–४ खोर्सानीबारीका २२ वर्षीय सुजन खत्री शनिबार पक्राउ परेका थिए। पक्राउ परेलगत्तै प्रहरी निरीक्षक राईले कुटपिट गरेको आरोप उनले लगाएका छन्।
उनको कम्मरमा प्रहरीले कुटेको नीलडाम छ। चोरीको आरोपमा आफूलाई पक्राउ गरी यातना दिएको पीडित खत्रीले पत्रकार सम्मेलन गरी मंगलबार जानकारी दिए।
उर्लाबारी स्कुलडाँडामा एउटा पसलमा शनिबार दिउँसो चोरीको घटना भएको थियो। शनिबार स्कुलडाँडामा बिहान एउटा स्टिल आल्मुनियमको पसलमा साढे दुई लाख रुपैयाँ चोरी भएको थियो।
सिसी क्यामेरामा ‘तेरोजस्तै अनुहार देखिएको भन्दै’ उनका साथीले सुनाएपछि उक्त क्यामेराको फुटेज हेर्न चोरी भएको पसलमा शनिबार बेलुका प्रहरी पुगेका थिए। त्यसैबखत साधा पोशाकका प्रहरीले आफूलाई पक्राउ गरी लगेर कुटपिट गरिएको उनले दाबी गरे।
खत्रीले शनिबार बेलुकी स्कुलडाँडा चोकबाट पक्राउ गरी कुटपिटपछि रातभर थुनामा समेत राखेको बताए। सुरुमा प्रहरी निरीक्षक राईले चार सय पटक उठबस गर्न लगाएको उनले दाबी गरे। छातीमा र गालामा मुक्का, डढेल्लामा पाइपले हिर्काएको उनले बताए।
चोरी गरेको पुष्टि नभएपछि खत्री आइतबार छुटेका छन्। ‘म गरी खाने मान्छे, कसको चोरी भएको हो, त्यो समेत थाहा दिइएन। पक्रेर कुटपिट गर्ने काम भयो। मेरो शरीरभरि निलडाम छ,’ उनले भने, ‘मैले न्याय पाउनु पर्छ।’
प्रहरी निरीक्षक राईले भने सोधपुछका क्रममा खत्रीलाई उठबस गराएको र सामान्य कुटपिट भएको स्वीकार गरे। सेतोपाटीसँग कुरा गर्दै उनले भने, ‘सोधपुछ गर्ने क्रममा सामान्य त्रुटि भयो मैले स्थानीयबासी र पत्रकारसँग गल्ती स्वीकार गरिसकेको छु।’ सिसिटिभी फुटेजका क्रममा खत्रीसँगको हुलिया मिलेकाले पक्राउ गरेर सोधपुछ गरेको उनले बताएका छन्।