झापास्थित ईलाका प्रहरी कार्यालय झिलझिलेले दुई सय तयारी घरेलु मदिरा नष्ट गरेको छ। जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० टेक्रा स्थित गाँउबाट प्रहरीले तयारी घरेलू मदिरा र त्यसमा प्रयोग हुने चार सय कच्चा पदार्थ नष्ट गरेको हो।
शुक्रबार बिहान जनप्रतिनिधी, पत्रकार र वाणिज्य संघका प्रतिनिधिको रोहबरमा बिहीबार बरामद गरिएको तयारी घरेलू मदिरा नष्ट गरिएको हो।
कनकाई नदीमा नुहाउने क्रममा बेपत्ता भएकाको खोजी गर्ने क्रममा प्रहरीले उक्त पदार्थ फेला पारेको स्थानीयबासीले बताएका छन्। बेपत्ता भएकाको अवस्था अझै अज्ञात रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
कनकाई नदीको पुर्वमा रहेको टेक्रा बस्तीबाट प्रतिबन्धित घरेलू मदिरा बरामद भएको हो। बिहीबार कनकाई नदीमा नुहाउने क्रममा बेपत्ता भएका साहेव सतारको खोजी गर्ने क्रममा गन्ध आएपछि घरेलु मदिरा फेला परेको प्रहरीले जनाएको छ।
केही स्थानीयले मदिरा सेवन गरी शान्ति शुरक्षामा खलल पुर्याएको भन्दै स्थानीयको गुनासो गरेपछि प्रहरीले सो क्षेत्रमा निगरानी बढाएको थियो। ईलाका प्रहरी कार्यलय झिलझिले मातहतको उक्त क्षेत्र प्रहरी र शिवसताक्षी नगरपालिकाको लागि दुर्गम क्षेत्र हो।
टेक्रा पश्चिम कनकाई नदी रहेकाले त्यहाँका स्थानीयले नगरपालिका र प्रहरीको सहयोग माग्न सुरुङ्गा हुँदै झिलझिले आईपुग्नु पर्ने बाध्यता रहेको वडा अध्यक्ष कर्णबहादुर थापाले बताए।
दुरीका हिसाबमा टेक्रा नजिक परे पनि आफ्नो क्षेत्र नपरेको भन्दै ईलाका प्रहरी कार्यालय सुरुङ्गाले सो क्षेत्रलाई बेवास्ता गर्ने गरेको वडा अध्यक्ष थापाकाे गुनासो छ।
‘नेपाल प्रहरी जहाँकाे भए पनि सर्वसाधरणको सुरक्षाको लागि यो क्षेत्र र त्यो क्षेत्र भनेर उम्किन्छन्, यो ठिक भएन’, उनले भने।
घरेलू मदिराका कारण समाजमा विभिन्न खालका अपराध हुने गरेको गुनासो बढेपछि किनबेच तथा उत्पादनमा सरकारले कडाइ गरेको छ।
‘घरेलू मदिरा सेवनकै कारण दैनिक झगडा तथा विभिन्न खालका विकृति हुन थाले’, ईलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरले भने, ‘घरेलू मदिरा नियन्त्रण गर्दा मात्र पनि अपराध कमी हुन्छ।’