चार वर्षअघि।
२०७२ साल साउन तेस्रो साता दलहरूले देशको संघीय खाका कोरे। मेचीदेखि महाकालीसम्म छ वटा प्रदेश बनाए। पहिलाको सुदूरपश्चिमसँग मध्यमपश्चिमको धेरै भाग मिसाइदिए।
मध्यपश्चिमका नागरिकलाई त्यो चित्त बुझेन। विकास क्षेत्र हुँदा क्षेत्रीय सदरमुकाम रहेको सुर्खेतवासीलाई त झन् चित्त बुझ्ने कुरै भएन। सीमांकनविरूद्ध आन्दोलनको योजना बन्यो।
२०७२ साउन २१ गते सुर्खेतका प्रध्यापक, विद्यार्थी र अन्य सरोकारवालाले अखण्ड मध्यपश्चिम वा यताको भागलाई छुट्टै प्रदेश बनाउनुपर्ने मागसहित आन्दोलन गर्ने निर्णय गरे।
साउन २२ गते शिक्षा क्याम्पसको हलमा अखण्ड मध्यपश्चिमको मागसहित आन्दोलनमा जान तेजविक्रम बस्नेतको संयोजकत्वमा संघर्ष समिति बनाइयो।
आन्दोलन सुरू भयो। नागरिक समाजले अगुवाइ गर्यो।
पहिलो दिन आन्दोलन नआएका राजनीतिक दल तथा अन्य सरोकारवाला पनि अन्ततः आन्दोलनमा होमिए।
०७२ साउन २५ गते आन्दोलन हिंसात्मक भयो।
नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको वीरेन्द्रनगरस्थित घरको सुरक्षामा खटेका सुरक्षाकर्मीले गोली चलाए।
आन्दोलनमा गएका यामबहादुर बिसी, टिकाराम गौतम र गोपाल रजवारले ज्यान गुमाए। दर्जनौं घाइतेसमेत भए।
यही माग राखेर जुम्लामा पनि आन्दोलन भयो। जुम्लामा प्रहरीको गोली चलायो। आन्दोलनकारी हरिबहादुर कुँवरको मृत्यु भयो।
चार जनाको मृत्युपछि दलहरूले हार माने। भदौ ४ गते प्रदेश नम्बर ६ बन्यो। जसको नाम अहिले कर्णाली प्रदेश राखिएको छ।
त्यही आन्दोलनमा बनेको कर्णालीमा अहिले छुट्टै सरकार छ। महेन्द्रबहादुर शाही मुख्यमन्त्री छन्। मन्त्री छन्। प्रदेश सभा सदस्य छन्। नेताहरूका मात्र प्रदेश राजधानी बनेको वीरेन्द्रनगरको स्वरूप पनि बदलिएको छ।
छुट्टै प्रदेशका लागि ज्यान गुमाउनेहरूका आफन्तको जीवन भने जस्ताको तस्तै छ।
‘रोगले थला परेकी छु, खाना पकाएर पनि खान सक्दिनँ,’ सहिद टीकाराम गौतमकी श्रीमती दुर्गादेवीले सेतोपाटीसँग भनिन्, ‘जग्गा जमिन पनि आफूसित छैन, सरकारले हामीलाई केही व्यवस्थापन गर्न सकेकै छैन।’
गौतमका कान्छा छोरा उत्तम गौतम आन्दोलनका क्रममा भएका सम्झौतासमेत सरकारले कार्यान्वयन नगरेको बताउँछन्।
‘एलएलबी पढ्छु, वार्षिक १ लाख बढी पैसा लाग्छ,’ उनले भने, ‘प्रदेश सरकारले छात्रवृत्तिका नाममा १० हजार दिन्छ, यसले कसरी पुग्छ?’
सहिद गोपाल सिंह रजवारका छोरा दीपेन्द्रले प्रदेश सरकारले आफूहरूलाई रोजगारीको व्यवस्था गरिदिनु पर्ने बताए।
सहिद यामबहादुर बिसीकी आमा बाली बुढाले आफ्नो सन्तान गुमाउँदाको पीडाभन्दा धेरै प्रदेश सरकारले यस्ता पीडितलाई नसम्झेकोमा दु:ख लाग्ने गरेको बताइन्।
‘प्रदेश सरकारकारले यी सहिदहरुलाई वास्ता नगरेकोमा दु:खी छु, मेरा अन्य सन्तान पनि पढेलेखेका छन् तर बेरोजगार छन्। यसमा प्रदेश सरकारलाई निवेदन गर्दासमेत वास्ता भएन,’ उनले भनिन्।
सहिद याबहादुर बिसीका बुवा शेरबहादुरले आन्दोलनका बेला गरिएका सहमति कार्यान्वयन गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन्।