भक्तपुरका स्कुलमा विद्यार्थीहरू अहिले नयाँ विषय पढ्न थालेका छन्। पाठ्यक्रमअनुसार कक्षा ६ मा समावेश विषय साताको पाँच घन्टी पढाइ हुन्छ। र, यो विषय पढाउन शिक्षक-शिक्षिकाका साथै भक्तपुरका स्थानीयले विद्यार्थीलाई सघाउनेछन्। विद्यार्थीहरूको अधिकांश कक्षा टोल—टोलमा हुनेछन्।
गाउँ घुमेर स्थानीयसँग पढ्ने कस्तो विषय भन्नुहोला?
यो विषय हो, जुजुधौ बनाउने।
भक्तपुरको परम्परागत शैलीमा दही बनाउने कला सिकाउने विषय नगरपालिकाले आफ्नो स्थानीय पाठ्यक्रममा राखेको छ। पाठ्यक्रम नेतृत्वमा रहेका जेन्युन स्कुलका प्रधानाध्यापक योगेन्द्रमान बिजुक्छेँका अनुसार लोप हुँदै गएको भक्तपुरका क्रियाकलापहरू सम्बन्धी विषय पाठ्यक्रममा थपिएका छन्। यिनैमध्ये जुजुधौ एक हो।
‘जुजुधौको मौलिक अस्तित्व गुम्दै गएको छ। नयाँ पुस्ताले यसको परम्परागत शैली र स्वाद नै भुल्ने अवस्था आइसक्यो,’ बिजुक्छेँले भने, ‘जुजुधौ भक्तपुरको पहिचान हो, संस्कृति हो। यसको जगेर्ना गर्न नयाँ पुस्तामा हस्तान्तरण होस् भनेर विषयका रुपमा अघि बढाइएको हो।’
उनका अनुसार यसरी विषयमै समावेश गरिएपछि मौलिक कला र सीपहरू सबै विद्यार्थीले सिक्दै जान्छन्। भोलिका दिनमा उनीहरूका लागि यिनै सीप जीवन निर्वाह गर्ने बाटा पनि हुनसक्छन् भन्ने विश्वास उनलाई छ।
केही समयअघि भक्तपुरको बाल विकास स्कुलले कक्षा ६ का विद्यार्थीलाई जुजुधौ बनाउने प्रशिक्षण दिएको थियो। स्थानीय डेरी–पसलमा विद्यार्थीहरू लगेर उनीहरूलाई परम्परागत शैलीमा जुजुधौ बनाउने तरिका सिकाइएको थियो।
पकाएको दूध माटाको भाँडामा हाल्ने र त्यसमा ‘जोरन’, अर्थात् दहीको बीउ मिसाएर भाँडालाई भुसमाथि राखेर कपडाले छोपी जुजुधौ बनाउने तरिका प्रशिक्षण कक्षामा देखाइएको थियो। विद्यार्थीहरूले यसरी जुजुधौ बनाउने तरिका सिक्दा धेरै उत्साहित देखिने गरेका बिजुक्छेँले बताए।
प्राचीन इतिहास, परम्परागत कला, संस्कृति र पर्वको धनी मानिने भक्तपुरको अर्को पहिचान जुजु धौ पनि हो। यसले अन्तर्राष्ट्रिय पर्यटकसँगै स्थानीय पर्यटक वृद्धि गरेको छ।
‘दहीहरू’को राजा मानिने जुजुधौ सामान्य तरिकाले बनाएको दहीभन्दा फरक र स्वादिलो भएकाले बेग्लै पहिचान बनाएको छ। अहिलेसम्म पनि भक्तपुरमा बन्ने जुजुधौको स्वाद नेपालभरी कहीँ भेट्टाउन नसकिएको संस्कृतिविद ओम धभौडेल बताउँछन्।
त्यसैले मान्छेहरू जुजुधौ खानै भनेर धाएर पनि भक्तपुरसम्म पुग्छन्।
तर, केही वर्षयता जुजुधौ बनाउने शैलीलाई आधुनिकीकरणले छोप्दै आएको छ। यसकारण स्थानीय पहिचानमा संकट आइरहेको प्रधानाध्यापक बिजुक्छेँ बताउँछन्।
‘जुजुधौको मौलिक अस्तित्व र स्वादसँगै यसबारे ज्ञान पनि हराउँदै गयो,’ प्रधानाध्यापक बिजुक्छेँले भने, ‘यस्तै रह्यो भने त भोलि यसको नामोनिसान मेटिन्छ नि।’
उनका अनुसार पहिचान मासिएसँगै जुजुधौको नाममा कमसल दही बेचिने चलन बढ्नेछ। माटोकै भाँडामा जमाइनु पर्ने जुजुधौ अचेल प्लास्टिकका कपमा बिक्री हुन थालेको छ। तातो कोठामा जमाउनुपर्ने दही फ्रिजमा राख्न थालिएको छ। दही गुलियो बनाउन पहिले–पहिले दूधमा सख्खर पकाएर हाल्ने चलन थियो। अचेल चिनी र चिनीजन्य रसायनले सख्खर विस्थापित गरेको छ।
यसले जुजुधौको स्वाद फेर्दै लगेको र मौलिकता मासिँदै गएकाले स्कुले केटाकेटीदेखि नै यो कला सिकाइन थालेको प्रधानाध्यापक बिजुक्छेँले बताए।
‘बालबालिकामा स्थानीय विषयवस्तुको ज्ञान हुन निकै आवश्यक छ’, उनी थप्छन्, ‘यसले उनीहरूलाई भोलि व्यवसायमा जोडिनदेखि पर्यटनमा समेत मद्दत गर्छ। स्थानीय ज्ञान पढाउनु व्यवहारिक हुन्छ।’
संस्कृतिविद् ओम धभौडेलका अनुसार जुजुधौ भक्तपुरको पहिचान मात्र नभइ यहाँको सँस्कृति, जीवनशैली र औषधिजन्य खानेकुराको रुपमा पनि प्रयोग हुने चिज हो।
परम्परागत रुपमा बनाइएको दही मिठो र स्वास्थ्यको लागि फाइदाजनक हुन्छ। प्रायः मानिसले दहीलाई चिसो पर्दाथको रुपमा हेरे पनि यसले शरीरलाई न्यानो बनाउने धौभडेल बताउँछन्।
‘पहिले घाँटी दुखेको र रुघाखोकी लागेको बेला दही नै औषधीको रुपमा खाने चलन थियो,’ धौभडेलले भने, ‘अचेल चिसो बनाउने निहुँमा फ्रिजमा राख्दा रोग निवारण गर्नु साटो उल्टो रुघाखोकी लगायत समस्या बढाउँछ।’
हाम्रो खानकीमा दहीले जति स्थान लिएको छ, उत्तिकै महत्व पूजाआजामा छ। विशेषगरी नेवार समुदायका धेरै पर्व र भोजभतेर दहीबिना पूरा मानिँदैन। यसलाई हरेक काजक्रियामा सगुनका रुपमा प्रयोग गरिन्छ।
जुजुधौ र भक्तपुरको प्रसंग धार्मिकग्रन्ध रामायणमा पनि उल्लेख भएको संस्कृतविद् धौभडेलको भनाइ छ।
तर भक्तपुरका बालबालिका यी तथ्यबाट वञ्चित छन्। किताबमा भएका विषयमा मात्र घोक्ने र व्यवहारिक ज्ञान नजान्नाले पढाइको भरपूर उपयोग नहुने प्रधानाध्यापक बिजुक्छेँ बताउँछन्।
‘यिनै समस्यालाई मध्यनजर गर्दै स्थानीय पाठ्यक्रम सुरू गरिएको हो,’ उनले भने, ‘अन्य मौलिक प्रविधिको प्रयोगात्मक शिक्षा पनि सञ्चालन भइरहेको छ।’
कक्षा १ देखि कक्षा ८ सम्म नयाँ पाठ्यक्रम समावेश गरिएका उनले बताए। राष्ट्रिय पाठ्यक्रम स्थानीय विषयवस्तु समावेश गर्ने भक्तपुर पहिलो नगर हो। यसबाहेक आधिकारिक रुपमा अरु कुनै नगरले स्थानीय पाठ्यक्रम समावेश गरेका छैनन्।
नगरपालिकाले पाठ्यक्रम लागू गरे पनि यसका बेग्लै किताब भने छैनन्। शिक्षक–शिक्षिका आफैंले स्थानीय विषयबारे अध्ययन गरी बुझाउन सक्नुपर्छ। यसले किताबभित्र मात्र सीमित रहेको पूर्वीयकालीन शैक्षिक प्रणाली हटाउने बिजुक्छेँको भनाइ छ।
‘ख्वपको पहिचान’ नामकरण गरी तयार पारिएको भक्तपुरको स्थानीय पाठ्यक्रम ११ भागमा वर्गीकरण गरिएको छ।
पोहोर मागदेखि सुरू भएको प्रशिक्षण कक्षामा भक्तपुर नगरको पहिचान, इतिहास, विभिन्न स्थानीय जातजाति, विविध संस्कृति, स्थानीय बोलीचाली र लिपी, कला र सम्पदा, स्थानीय व्यवसाय, बालगीत, खेलहरु, सीप, प्रविधि र पर्यटन समावेश गरिएको छ।
भक्तपुर नगरपालिकाको स्थानीय पाठ्यक्रम अन्तर्गत सुरु भएको यो प्रशिक्षण कक्षा भक्तपुरका ९२ वटा स्कुलमा लागू भएकाे हो। यी कक्षाको प्रयोगात्मक परीक्षा हुने पनि बिजुक्छेँले जानकारी दिए।