हजुरआमाका कथा
राधादेवी पाटनका गणेशबहादुर र मोतीलक्ष्मी श्रेष्ठकी छोरी हुन्। उनका आमाबाबुका सात छोरी थिए। विभिन्न रोगले राधादेवीका पाँच दिदीबहिनीको कलिलैमा मृत्यु भयो। बाँच्नेमध्ये उनी र एक जना बहिनी 'रुक्मिणी' थिए।
उनको नाम 'राधा' र बहिनीको 'रुक्मिणी' राख्नुको पनि कारण रहेछ।
'मेरो घर (माइती) कृष्णमन्दिर पछाडि हो,' ९७ वर्षीया राधादेवीले सुनाइन्, 'त्यही भएर बाले राधा नाम राखिदिएको। बहिनी त कृष्णाष्टमीकै दिन जन्मिएको भएर 'रुक्मिणी' नाम राखेको थियो।'
उनकी यी बहिनीको पनि पछि निधन भएछ।
राधालाई आफू जन्मेको ठ्याक्कै साल याद छैन। भन्छिन्, '९० सालको भुइँचालोमा १० वर्षकी थिएँ।'
भुइँचालो बेला उनका बाबुले माथिल्लो तलाबाट भाइलाई लिएर ओर्लिएछन्। उनी पनि पछि-पछि लागेर ओर्लँदा भर्याङ ढलेछ। भर्याङले किचेर फुटाएको उनको निधार अहिलेसम्म पनि पुक्क परेको छ।
'टाउको माथिसम्मै चिरिएको थियो। घाउ ठीक हुन महिनौं लाग्यो,' उनले सुनाइन्।
पाटन, मंगलबजारमा जन्मिएकी राधादेवीको बाल्यकाल घ्वाइँकासा र गट्टा खेल्दै बित्यो। आलु, प्याज र अन्य सामग्री बेच्ने बाबुको पसलमा कहिलेकाँही बस्थिन्। त्योबाहेक भाइ हेर्ने काम पनि थियो।
करिब १३ वर्षकी थिइन्। खेल्दै गरेको ठाउँमा उनकी आमाले एक जना महिला लिएर आइन् र भनिन्, 'बिहे गर्ने भनेकी केटी यिनै हुन्।'
त्यो दिन सम्झिँदा राधादेवीलाई अहिले पनि लाज लाग्छ। भन्छिन्, 'यत्तिकै खेलेर बसेको ठाउँमा आमाले ल्यायो। म कस्तो फोहोरी देखिन्थेँ।'
त्यो सुन्नेबित्तिकै लाज लागेर उनी भागिछन्। भागेर के हुने थियो र ! बिहे हुनै थियो। १४ वर्षमा उनको बिहे बखुम्बहाल निवासी शंकरराज र नोगलदेवी जोशीको छोरा सत्यमोहन जोशीसँग भयो। राधादेवीभन्दा सत्यमोहन तीन वर्ष मात्रै ठूला थिए।
'गुफै नराखी बिहे गरेको नि,' उनले थपिन्, रजश्वला नै भएको थिएन। अनि त बिहे भए पनि श्रीमान-श्रीमती बेग्लै सुत्नपर्थ्यो।'
गुफा नराखेसम्म त उनीहरूबीच धेरै बोलचाल पनि हुन्थेन रे।
किन नि?
'लाज मानेर के। नजिक हुने समय नहुने। दिउँसो उहाँ पढ्न जाने,' उनले भनिन्, 'साँझ उहाँ आफ्नो बा र भाइसँग सुत्ने। म सासूआमा र उहाँको बहिनीसँग सुत्ने। गुफा राखेपछि पहिलोपटक उहाँसँग कोठामा पठाइदियो अनि बल्ल बोल्यो नि।'
राधादेवीसँग भेट्न जाँदा उनका श्रीमान सत्यमोहन आगन्तुकसँग फोटो खिचाउँदै थिए। पाहुना विदा गरेपछि मलाई आउनुको प्रयोजन सोधे।
'हजुरबारे हामीले धेरै जान्यौं-पढ्यौं तर म्याडमबारे केही थाहा छैन। म उहाँको अनुभव लेख्न चाहन्छु,' मैले भनेँ।
सत्यमोहनले हौसिँदै आफूलाई राधादेवीको जीवनी नै लेखाउने मन भएको बताए।
'चीनमा हामी बसेकै घरमा अंग्रेज, श्रीलंकाली र फिलिपिन्सका मान्छे पनि थिए। यिनले (राधादेवी) क्वाँटी पकाएर खुवाएकी थिइन्। तिनीहरूले 'ओहो, यस्तो कहिल्यै खाएकै थिएन' भन्दै तारिफ गरे।'
जिम्बु झानेको क्वाँटीको स्वादले धेरैलाई लोभ्याएछ। अहिले कुरा गरिरहँदा पनि त्यो स्वाद आफ्नो जिब्रोमा महशुस गरेझैं देखिन्थे सत्यमोहन।
राधादेवीले 'अष्टसाहस्रिका प्रज्ञापारमिता' पाठ गर्दा गर्व महशुस हुने उनले बताए।
'आजभोलि कमजोर भएर छाड्यो,' उनले सुनाए।
सत्यमोहनका अनुसार यति ठूलो किताब बोकेरै उनीहरू चीन गए। एक दिन तत्कालीन राजदूत यदुनाथ खनाललाई जोशी दम्पत्तिले खाना खान बोलाएका थिए। 'अष्टसाहस्रिका' देखेर उनले 'त्यो के किताब हो?' भनेर सोधेछन्।
'शास्त्री पास गरेका खनालले पनि 'मैले कहिल्यै देखेको छैन यो किताब' भनेका थिए,' उनले सुनाए। राधादेवीले पढ्न सक्ने हुँदा उनी दंग रहेछन्। यति बताइसकेपछि उनले राधादेवी भएतिर लगे। नेवार भाषामा आफ्नी श्रीमतीलाई केही अर्थ्याए।
राधादेवीले पटक पटक भनिरहिन्, 'म, केही जान्दैन है। नेपाली बोल्न राम्रोसँग आउँदैन।'
राधादेवी बिरामी छन्। हिँडडुल गर्न सक्दिनन्। अरूको सहारामा बाहिर-भित्र गर्नुपर्छ। नसासम्बन्धी रोगका कारण आफूलाई यस्तो समस्या भएको उनी बताउँछिन्।
उनको संसार एउटा कोठामै फैलिएको छ भन्दा फरक पर्दैन। भित्तामा सुत्ने खाट, खाटको खुट्टातिर 'कमोड' रूप दिइएको मेच, सिरानतिर भुइँमा थर्मसमा तातो पानी र अरू आवश्यक सामान।
बिहे गरेर आएदेखि नै राधादेवीको यही घरमा छिन्।
'यो घर ९० सालको भुइँचालो अघिको हो,' कम्पाउन्डभित्रकै अर्को घर देखाउँदै उनले भनिन्, 'बिहे गरेर म यही घरमा भित्रिएको।'
उनी अहिले बसिरहेको घरमा पहिले बारीमा काम गर्ने 'ज्यापू'हरूलाई बहाल नलिई राखेको उनले बताइन्। आफू बिरामी भएर भर्याङ चढ्न नसक्ने भएपछि यहीँ बस्न थालिछन्।
'कतै जान सक्दिनँ, लडिहाल्छु। यहाँ एक्लै सुत्छु। उहाँ अर्को कोठामा सुत्नुहुन्छ। बाहिर जाने बेला थर्मसमा तातो पानी र बिस्कुट राखिदिएर 'गएँ है' भन्नुहुन्छ। फर्केपछि फेरि यहाँ आउनुहुन्छ। म 'खाजा खाने?' भनेर सोध्छु। कोठामा फलफूल, बिस्कुट जे छ, 'लेऊ खान' भन्नुहुन्छ। भात खाने बेलामा 'खाऊ है' भनेर भान्सामा जानुहुन्छ। म यहीँ ढोकाबाहिर खान्छु।'
पोहोरको लक्ष्मी पूजामा श्रीमानले पूजा गरेर प्रसादको फूल लिन बोलाएछन्। माथिल्लो तला उक्लिएर प्रसाद लिइवरि ओर्लने बेला राधादेवी भर्याङबाट लडिछन्। त्यसपछि आफू कतै जान छाडेको उनले बताइन्।
उनका श्रीमान सत्यमोहनले 'शताब्दी पुरुष' उपाधि पाएका छन्। उनका किताबले तीन पटक मदन पुरस्कार पाए। नेपाली भाषाका दसवटा अनुसन्धात्मक कृति, दुइटा काव्य, पाँचवटा कथा संग्रह र नेवार भाषाका ५० कृति प्रकाशित छन्।
२०७६ साल वैशाख ३० गते पाटनले राधादेवीका श्रीमान एक सय वर्ष पुगेकोमा हर्षोल्लास मनायो। स्कुल विदा दिइयो। सत्यमोहनसँगै रथमा बसेर नगर परिक्रमा गर्ने रहर उनलाई पनि थियो। नगरपालिकाका मेयर चिरिबाबुले महर्जनले पनि 'बोकेर, ह्विलचेयरमा राखेर जसरी भए पनि सहभागी गराऊँ' भनेका रहेछन्। तर दिसा-पिसाब गर्न सकस हुने भएकाले श्रीमान-श्रीमती दुवैले सल्लाह गरेर राधादेवी नजाने सहमति भएछ।
'यही टिभीमा हेर्यो नि,' कोठाको एक छेउमा राखेको टिभी देखाउँदै भनिन्, 'खुसी लागेको थियो।'
राधादेवी र सत्यमोहन ८३ वर्षदेखि सँगै छन्। तर श्रीमान धेरैजसो बाहिरै हुँदा घरका कामको बोझले उनलाई थिचेको थियो।
'उहाँ वर्षको ७/८ महिना बाहिर जानुहुन्थ्यो। चिठ्ठी आउँदैनथ्यो। एक्लैले बच्चा स्याहार्नुपर्थ्यो। बिरामी पर्थ्यो। रातभर रुन्थेँ,' उनले सुनाइन्, 'फेरि बिहान चारै बजे उठेर काममा लाग्थेँ।'
सबेरै बढार्ने, लिप्ने, इनारबाट पानी तानेर ल्याउने काम सकेपछि खाना बनाउनुपर्थ्यो। खाना बनाउन्जेल सासूले बच्चा हेर्दिने रहिछन्।
'माइतीमा यस्तो धेरै काम गरेकै थिएन। केटी माग्न आएपछि बल्ल काकीले भात पकाउन सिकाएको,' उनले भनिन्।
सत्यमोहन अमेरिकन संस्थामा जागिरे हुँदा बिहान सातै बजे गाडी घरमा आउँथ्यो रे।
'त्यति बेलासम्म उहाँको लागि खाना तयार बनाइसक्ने। पछि फेरि अरूका लागि पकाउने,' उनले भनिन्, 'बेलुकी छ बजे आउँदा खाजा ठिक्क पार्नुपर्थ्यो।
कुराकानीकै क्रममा राधादेवीकी बहिनीकी छोरी देवकी श्रेष्ठ आइपुगिन्। ताहाचलबाट आएकी उनले घरमै बनाएको चिकेन सुप र फ्रेन्च टोष्ट ल्याएकी थिइन्। 'तमा:' र 'तवा:' (ठूलीआमा र ठूलाबा) लाई खान दिइन्।
'मेरो दाँत छैन, प्वाकप्वाक गरेर खानुपर्छ। अहिले खान्नँ,' राधादेवी भन्दै थिइन्। उनले खाउञ्जेल मैले कुर्ने भएपछि खाइन्।
राधादेवीका श्रीमान् गइसकेकाले अब उनीसँग संवाद सहज बनाइदिने काम देवकीले नै गरिदिइन्। देवकी उनकी प्रिय व्यक्ति रहिछन्। सञ्चो/विसञ्चोदेखि लिएर तमा:लाई परेका बेला हरेक कुरामा सघाउने उनै रहिछन्।
'मेरी बहिनीकी छोरी हो। बहिनी मरेपछि मैले यही घरबाट उसको बिहे गरिदिएँ,' राधादेवीले सुनाइन्।
बहिनीको निधन भइसकेपछि राधादेवी केही समय निराश भइछन्। कहीँ जान पनि नपाउने गरी घरमा कामकाज। यस्तैले उनलाई दिक्क लाग्न थाल्यो। निराशाले छोप्यो। रुन मात्र मन लाग्थ्यो रे।
'आमाबा पनि बित्यो। बहिनी पनि बित्यो। बच्चाहरू स-साना। मेरो जाने ठाउँ कहीँ छैन। अनि दिक्क मात्र लाग्ने,' उनले सुनाइन्।
यो देखेर सत्यमोहनले, 'लौ, तिमी दिक्क मान्नु पर्दैन' भन्दै घुमाउन लगेछन्। पहिले स्वयम्भू र पछि पाटन नजिकैको विहार लगे। गुरूहरूसँग कथा सुनिन्। गुरूले भनेछन्, 'त्यस्तो सोच्नुहुन्न। मन शान्त पार्नुपर्छ।'
तीन महिनापछि सत्यमोहनले घरमै गुरू बोलाएर राधादेवीको एकाकी चिर्न 'नाम संगीति' कार्यक्रम सुरू गराए। उनले बौद्ध धर्मबारे अनुसन्धान गर्न थालेपछि घरको कम्पाउन्डमै 'पारावत विहार' स्थापना गरे। यही विहारमा करिब ३० वर्षदेखि हरेक सोमबार 'नाम संगीति' कार्यक्रम हुन्छ।
उनीहरूको घरमा १५/२० जना भेला भएर गरिने 'नाम संगीति' मा राधादेवीको प्रमुख भूमिका हुन्छ। राधादेवीको बाहिरी संसार चिहाउने झ्याल त्यतिमात्रै हो भन्दा फरक नपर्ला।
राधादेवी घरभित्रै खुम्चिएर बस्नुपरेको करिब १० वर्ष भयो। दुई वर्षयता त उनलाई शौच जानै हम्मे छ। जिउ नथामिने, सास फुलेर स्वाँस्वाँ हुने समस्या बढेको छ। उनका डाक्टर छोरा र नर्स छोरीले उनको परीक्षण गर्थे रे।
'अब त ठीक हुने उपाय पनि छैन,' उनी भन्छिन्।
पहिलो सन्तान १९ वर्षमा जन्माएकी उनले जम्मा आठ जना जन्माइन्। यीमध्ये एक छोरी र एक छोराको निधन भएछ।
जेठा छोरा अनुराज परिवारसहित ताहाचल बस्छन्। माइला हेमन्तराज क्यानडा र कान्छा पूर्णराज लन्डन बस्छन्। जेठी छोरी कावेरी काठमाडौंमा, माइली गंगा भिमफेदीमा र कान्छी खड्गलक्ष्मी अमेरिका बस्छिन्।
व्यस्त भएर हो वा त्यो बेलाको चलन, श्रीमानले सन्तानहरू कहिल्यै नबोकेको उनी सुनाउँछिन्।
'उहाँ बिहान ७ बजे नै तल बैठकमा ओर्लियो, दिनभर बाहिर गयो। रातिमात्रै हो भेट्ने। बच्चाहरू च्याँच्याँ कराउँछ। काम गर्ने कि बच्चा हेर्ने? सासू, नन्द-देवरले बोक्दिन्थ्यो कहिलेकाँही,' उनी सम्झिँदै भन्छिन्।
'श्रीमान बाहिर गएका बेला केही ल्याइदिनुहुन्थ्यो?'
'ल्याउनुहुन्नथ्यो। मलाई मात्र ल्याएर भएन। सबैलाई ल्याउन गाह्रो नि। एकपटक हिन्दुस्तानबाट आमा, देवरानी र मलाई सारी ल्याइदिनु भयो। त्यत्ति हो,' उनले सुनाइन्, 'तलब आमाबालाई दिनुहुन्थ्यो। मलाई कहिलेकाँही ५/१० रुपैयाँ दिने हो। त्यसैले मन लागेको कुरा किन्थेँ।'
'अष्टसाहस्रिका प्रज्ञापारमिता पढ्नु हुने रैछ?' सोद्धै उनको पढाइबारे जान्न चाहेँ।
उनी स्कुल जान पाइनन्। बिहेअघि पढेकी पनि होइनन्। ससुराले आफ्ना नातिहरूलाई पढाउँदा छेउमा बसेर सिकेको उनी बताउँछिन्।
'ससुराले 'ऊँ वागिश्वराय नम:' भनेर नातिलाई लेख्न लगाउनुहुन्थ्यो। सिकाइसकेर तल मुख धुन जानुहुन्थ्यो। म त्यो लेखेको कुरा हेर्थेँ। यसरी नै आफ्नो नाम लेख्न सिकेँ,' उनले सुनाइन्, 'पढ्न पनि त्यसैगरी सिकेको।'
'श्रीमानले पढ भन्नुभएन त?'
'अहँ। नन्दले अलि-अलि सिकाउँथ्यो। उहाँ त भर्खरै सिक्दै थियो नि। यहाँ स्कुल थिएन, घण्टाघर गएर पढेको। तीनचोटि मदन पुरस्कार पाएको छ,' उनी गर्वसाथ सुनाउँछिन्।
यी पुरस्कार किन दिइएको हो भन्ने यकिन उनलाई छैन। आफ्नै शैलीमा भन्छिन्, 'सधैं पढिराहुन्थ्यो। पहाडतिर यताउता गर्थ्यो। त्यही भएर पाएको नि।'
उसो त राधादेवीलाई श्रीमान सत्यमोहनले कति किताब लेखेका छन् भन्ने पनि थाहा छैन।
'मैले सम्झेको छैन। घर हुँदा दिनभरि लेख्थ्यो। किताब भएपछि देखाउन ल्याउँथ्यो। हातमा लिएर एकपटक ढोगेर राख्थेँ। उपहार र पुरस्कार पाएको कुरा पनि देखाउँछ। हिजो पनि एउटा मन्दिर उपहार ल्याएको थियो। उ त्यहीँ छ,' कोठाको छेउमा देखाउँदै उनले भनिन्।
श्रीमान सत्यमोहन कहिलेकाँही रिसाएर गाली गरेर बाहिर जान्छन् रे। फर्केर आउँदा रिस मरिसकेको हुने बताउँदै उनी भन्छिन्, 'ठूलो स्वरले बोल्यो भने म त रोइदिन्छु। अनि केही भन्दैन। पछि 'तिमीले काम राम्रो गरे त गाली गर्नै पर्दैन' भन्छ।'
अहिलेसम्म झगडा गरेर बोलचालै बन्द भने नभएको उनी सुनाउँछिन्।
राजा महेन्द्रले १७ सालमा 'कू' गर्नेताका सत्यमोहन पुरातत्व तथा संस्कृति विभागका निर्देशक थिए। राजाले सत्ता लिएपछि उनलाई पदबाट हटाइयो। त्यति बेलै चीनको 'रेडियो पेकिङ'मा नेपाली पढाउने मान्छे खोजी भयो। सत्यमोहन छानिए।
उनीहरू आफ्ना सबभन्दा साना दुई सन्तान लिएर चीन पुगे।
'चीनको सम्झना छ?'
'जहाज चढ्न डर लागेर मुख छोपेर गएँ। पहिले क्यान्टनमा लग्यो। त्यहाँबाट लगेर पाकिस्तानमा तीन दिन बस्यो,' उनले भनिन्।
पाकिस्तान कि भारत?
'पाकिस्तान नि। त्यहाँबाट सांघाइ अनि जहाजमा पेकिङ लगे। ८/९ बजे पेकिङ पुग्दा होटल बन्द भइसकेको थियो। तै पनि खाना बनाएर ल्याइदिए। त्यहाँ बस्दा खुब सुख भयो। काम गर्न नपर्ने,' उनले सुनाइन्।
राधादेवी चार वर्ष चीन बसिन्। सत्यमोहन छ वर्ष बसे। आमाबुबा बिरामी भएकाले राधादेवीलाई यहीँ छाडेर दुई सन्तानसँग सत्यमोहन बसेको उनले बताइन्।
चीन बस्दा उनले चिनियाँ पनि छिटपुट सिकिन्।
'अलि अलि जानेको है। 'हाउमा' भनेको 'सञ्चै', पानीलाई, 'स्वय' भन्छ,' उनले सुनाइन्।
चीन भ्रमण जीवनकै सुमधूर क्षण बनेको उनी बताउँछिन्। त्यहीँ हुँदा सत्यमोहनलाई 'कहाँ घुम्न जान मन छ?' भनेर सोधिएको रहेछ। उनले, 'कोरिया' भनेछन्। राधादेवीका अनुसार २/३ दिन रेल चढेर कोरिया गएर उनीहरू एक महिना बसे।
'है कति रमाइलो भाथ्यो कोरियामा। उता पार्क हेर भन्छ, उता के हेर भन्छ,' जीवनकै रमाइलो लागेको घटना उत्साहित हुँदै सुनाइन्। करिब पाँच दशक अगाडिको सम्झना!
अधिकांश आमा/हजुरआमाका कथा यस्तै त हुन्।
राधादेवीसँग कुराकानी टुङ्ग्याएर उनका श्रीमान सत्यमोहनँसग विदा मागेँ। उनले फेरि भने, 'उनको जिवनी लेखिदिनूस् है।'