मंगलबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीले कर्णाली राजमार्गअन्तर्गत तल्लो डुंगेश्वर–सियाकोट सडकखण्ड अवरूद्ध भएको छ।
वर्षासँगै रतिखोलामा आएको बाढीका कारण सडकको तल्लो भाग भासिएकाले सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।
उनका अनुसार सडक सुचारु गर्न अझ कम्तीमा २४ घण्टा लाग्न सक्छ।
‘सडकको तल्लो भाग भासिएकाले सियाकोट र तल्लो डुंगेश्वरबीचको भाग बन्द छ,’ पोखरेलले भने, ‘सडक खुलाउने काम भइरहेको छ, सम्भवतः भोलिसम्म सडक खुल्छ होला।’
सडक सुचारु गर्नका लागि दुइटा एक्साभेटरसहित मानिसहरू लागेको उनले जानकारी दिए।
उक्त खण्ड हुँदै सुर्खेतदेखि दैलेखका केही भाग, अछाम, कालिकोट, जुम्ला मुगु जिल्लामा सवारी साधन चल्ने गर्छन्। सडक अवरूद्ध भएपछि सवारी साधनले वैकल्पिक बाटो प्रयोग गर्नुपरेको छन्।
उक्त खण्ड बाहेक दैलेखको सदरमुकाम हुँदै कर्णाली राजमार्ग मिसिने र सुर्खेतको पूर्वी क्षेत्र बड्डीचौर हुँदै राजमार्गमा मिसिने दुइटा बाटा छन्। ती बाटा जाँदा समय भने धेरै लाग्छ।
बाटो अवरूद्ध भए पनि सवारी साधन ठप्प हुने अवस्था नरहेको डिएसपी पोखरेलले बताए।
उनका अनुसार अहिले सुर्खेतदेखि दैलेख हुँदै गएका सवारी साधन सदरमुकाम हुँदै कर्णालीका जिल्ला जाने गरेका छन्।