दैलेखको गुराँस गाउँपालिकाको एक सामुदायिक वनमा तेह्रथुमबाट गुराँसका बिरूवा ल्याएर रोपिएको छ।
गुराँस–८ मा पर्ने पञ्चकोशी सामुदायिक वनभित्र पर्ने सवलाखोरियामा तेह्रथुमबाट ल्याएर २८ प्रजातिका गुराँसका बिरूवा रोपिएको हो।
सामुदायिक वनभित्र पर्ने उक्त क्षेत्रलाई ‘वनस्पति पार्क’का रूपमा विकास गर्ने उद्देश्यका साथ थरिथरिका फूल फुल्ने गुराँस ल्याएर रोपिएको पञ्चकोशी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामबहादुर वलीले जानकारी दिए।
उनका अनुसार खाली २.३ हेक्टर क्षेत्रफल खाली चउरमा गुराँस लगाइएको हो।
गुराँस फुल्ने सिजनमा आन्तरिक तथा बाह्य पर्यटकहरू आइरहने हुँदा विभिन्न प्रजातिका गुराँस फुलाएर ठाउँलाई रमणीय बनाउन लागिएको उनले बताए।
उक्त क्षेत्रमा पर्यटकहरूलाई आराम गर्न मिल्ने खालको पार्कअन्तर्गत संरचना निर्माण गरिने वलीले बताए।
‘गुराँस फुल्ने समयमा थुप्रै मानिसहरू यता गुराँस हेर्न आउने गरेका छन्,’ अध्यक्ष वलीले भने,‘हामीले यसरी धेरै प्रकारका गुराँस फुलाउन सक्यौं भने यस पश्चिम क्षेत्रका धेरै मानिसको पर्यटकीय केन्द्रका रूपमा बन्न सक्ने अपेक्षा छ।’
उक्त क्षेत्रमा ३ हजार ५०० बोट गुराँसका बिरूवा लगाइएको छ। जसमध्ये १ हजाार ९३० वटा बिरूवा तेह्रथुमबाट ल्याइएको हो।
तेह्रथुमको चैतन्य सामुदायिक वन उपभोक्ता समितिको सहयोगमा त्यहाँको हिमाली क्षेत्रमा फूल्ने गुराँसका बिरूवा ल्याइएको वलीले बताए।
प्रतिबिरुवा ७० रुपैयाँका दरले किनेर बिरूवा ल्याइएको हो।
गुराँस रोप्ने कार्यमा ३३ हजार बराबरको स्थानीयको श्रमदान रहेको वलीले जानकारी दिए।