‘बालबालिकालाई सधैं जेब्रा क्रसिङबाट बाटो काट्न सिकाउनुहोस्।’
महानगरीय ट्राफिक महाशाखाले सामाजिक सञ्जाल र सडकमा बोर्डहरू टाँगेर यस्तो सूचना दिँदै आएको छ। तर, सूचनामा उल्लेख भएअनुसार बाटो काट्न सडकमा जेब्रा क्रसिङ खोइ त?
ट्राफिक प्रहरीको सूचना पढ्दा यस्तो लाग्छ, हाम्रा अभिभावकले जानी-जानी आफ्ना बालबालिकालाई जेब्रा क्रसिङबाट बाटो काट्न नसिकाएका हुन्। तर, सहरको परिस्थिति भिन्न छ।
राजधानीका मुख्य सडकबाहेक अन्यत्र जेब्रा क्रसिङ देख्नै मुश्किल छ। मुख्य सडकमा पनि रङ खुइलिएर खुट्टयाउन गाह्रो पर्छ। सबभन्दा हेलचेक्र्याइँ त, हामीकहाँ जेब्रा क्रसिङमा लगाइने रङ एकाध महिना पनि टिक्दैन। चर्को घाम र बर्खा दुवै अवस्थामा ती खुइलिएर सफाचट भइहाल्छन्।
सहरभरि पर्याप्त जेब्रा क्रसिङ नै नभएपछि र भएका ठाउँमा पनि रङ खुइलिएर देखिनै छाडेपछि यात्रुले चाहेर पनि कसरी बाटो काटून्? अनि अभिभावकले आफ्ना बालबालिकालाई बाटो काट्दा जेब्रा क्रसिङ प्रयोग गर्नुपर्छ भन्ने ज्ञान कसरी दिऊन्?
बल्खुको उदाहरण लिऊा। यहाँ केही महिनाअघि मात्र जेब्रा क्रसिङ बनाइएको थियो। आज त्यहाँ फाट्टफुट्ट सेतो रङ देखिन्छ। टाढाबाट त पहिल्याउनै मुश्किल पर्छ। गाडी चालकहरूमा त्यसै त जेब्रा क्रसिङ देखेर सवारी गति कम गर्ने बानी छैन, त्यसमाथि संकेत चिह्न देखिँदै नदेखेपछि उनीहरूलाई के दोष दिनु!
यसले रिङरोडको त्यो आठलेन फराकिलो बाटोमा हुत्तिँदै आएका गाडीको ताँतीबीच यात्रुहरू जथाभाबी बाटो काट्दै मृत्युसँग लड्न बाध्य छन्।
भर्खरै निर्माण सम्पन्न भएको रिङरोडको त यो हालत छ भने भित्री सडकको अवस्था कस्तो होला?
यसरी रङ लगाएको केही दिनमै जेब्रा क्रसिङ मेटिनुको कारण के हो? के कमसल कामले यस्तो भएको हो?
सडक विभाग, ट्राफिक इकाई प्रमुख दीप बाराही काठमाडौंको असीमित धूलोधुँवा र गाडीहरूको घुइँचोका कारण जेब्रा क्रसिङ चाँडो मेटिएको बताउँछन्।
अन्तर्राष्ट्रिय अभ्यासअनुसार बढीमा छ महिनाको अन्तरालमा जेब्रा क्रसिङ रङरोगन गर्नुपर्छ। नेपालमा भने ट्राफिक लाइट भएका ठाउँमा छ महिनाको एकचोटि र अन्यत्र वर्षको एकचोटि मात्र रङ लगाइन्छ।
बल्खुका सन्दर्भमा चक्रपथ सडक विस्तार आयोजना प्रमुख निराजन शर्मा खुइलिएका ठाउँमा आवश्यकताअनुसार रङरोगन गरिने बताउँछन्।
‘हामीले मेटिएका ठाउँमा पुन: रङरोगन गर्दै आएका छौं,' उनले भने, 'बल्खुमा पनि छिट्टै गरिनेछ।’
जेब्रा क्रसिङ मेटिँदै जानुबाहेक यसको संख्याको अभावले पनि यात्रुलाई असुविधा भइरहेको छ। जेब्रा क्रसिङ अभावमा जथाभाबी बाटो काट्दा दुर्घटना बढ्ने गरेको ट्राफिक बताउँछन्। रिङरोडमा यसको प्रभाव अझ बढी देखिन्छ।
रिङरोडमा करिब पाँच सय मिटर दुरीमा जेब्रा क्रसिङको आवश्यकता छ, तर कलंकीदेखि कोटेश्वरसम्म बाह्रवटा मात्र छन्। तिनमा पनि आधाजतिको रङ खुइलिएको छ। यसले पैदल यात्रु र चालक दुवैलाई जोखिममा पारेको छ।
यति मात्र होइन, त्रिपुरेश्वर, लाजिम्पाट, कलंकी, कालिमाटीजस्ता व्यस्त ठाउँमा पनि जेब्रा क्रसिङका रङ खुइलिएका छन्। यहाँ पैदलयात्रुलाई बाटो काट्न कुनै सुविधा छैन। दुर्भाग्यवश कसैको दुर्घटना भए उल्टै जेब्रा क्रसिङ प्रयोग नगरेको कारण देखाइन्छ।
‘सडकमा हुने ४० प्रतिशत दुर्घटना जेब्रा क्रसिङ अभावले हुन्छ,’ पूर्व ट्राफिक प्रहरी तथा 'ट्राफिक भोलेन्टियर' सीताराम हाछेथू भन्छन्, ‘जेब्रा क्रसिङ नहुँदा मानिस लापरबाहीसँग बाटो काट्छन्। हुइँकिएर आएका गाडीलाई पनि कहाँ स्पिड कम गर्ने भनेर अलमल हुन्छ। यसले दुर्घटना सम्भावना बढ्छ।’
जेब्रा क्रसिङ भएको बाटोमा हिँड्दा केही हदसम्म सुरक्षित महशुस हुने उनले बताए। रङ खुइलिएका जेब्रा क्रसिङमा पुन: रङरोगन गर्नुभन्दा नयाँ बनाउन बढी ध्यान दिइने गरेको उनले बताए।
काठमाडौंमा जेब्रा क्रसिङ चाँडै मेटिने भएकाले बढीमा तीन महिनाभित्रै रङ लगाउनुपर्ने उनको सुझाव छ।
महानगरीय ट्राफिक प्रहरीले दुई वर्षअघि जेब्रा क्रसिङ वा आकासे पुलबाट बाटो नकाट्ने पैदलयात्रुलाई दुई सय रूपैयाँ जरिवाना वा तीन घन्टाको सडक सुरक्षासम्बन्धी कक्षामा उपस्थित हुनुपर्ने नियम राखेको थियो।
पैदलयात्रुको सुरक्षालाई ध्यानमा राखेर लागू गरिएको यस नियममाथि थुप्रै आलोचना भए, जसको कारण थियो– जेब्रा क्रसिङको कमी।
विभागले जथाभाबी बाटो काट्नेलाई जरिवाना तिराउँदा सहरमा पर्याप्त जेब्रा क्रसिङ नै नभएको तथ्य याद राखेको थिएन। एउटा ठाउँमा बाटो काट्नुपर्ने मान्छे जेब्रा क्रसिङ खोज्दा खोज्दा अर्कै ठाउँ पुग्नुपर्ने अवस्था रहेसम्म यो नियम लगाउन सम्भव छैन।
‘जेब्रा क्रसिङ पाँच सय मिटर दुरीमा हुनुपर्छ। अनावश्यक ठाउँमा बनाउँदा पैदलयात्रुलाई सास्ती हुन्छ,’ हाछेथू भन्छन्, ‘अस्पताल, विद्यालय, पसल र धेरै मान्छे ओहोरदोहोर हुने ठाउँमा पर्याप्त जेब्रा क्रसिङ हुनुपर्छ। यसले सवारी गति नियन्त्रण गर्न सघाउँछ।'
सबै तस्बिर: निशा भण्डारी/सेतोपाटी