भारी वर्षाका कारण नदी नालामा आएको बाढीले झापाका आधाभन्दा बढी स्थानीय तहका गाउँ डुबानमा परेका छन्। किसानले रोपेको धान डुबानमा परेको छ भने नदी तटिय क्षेत्रमा कटान र डुबान सुुरू भएको छ।
झापाका ठूूला नदी कनकाई, विरिङ, कमल बनियानी, रतुवा, मेची, निन्दामा पानीको सतह बढेको छ। साना नदी गेउरिया, झिलभिले, दुधे, भालुखोला, सुरुङ्गा, देउनिया लगायतका खोलामा बाढी आएको छ।
कमल बनियानी नदीमा आएको बाढीले शिवसताक्षी नगरपालिका वडा नम्बर ५ स्थित दुुबै नदीको दोभानमा पर्ने जतनाको तटबन्ध बाढीले भत्काएको छ। जनताको तटबन्धले यसै वर्ष बाँधेको बाँध भत्काएपछि वडाको सालमारा जोखिममा परेको छ। नदीको भंगालो सालमाराको गाउँमा पस्ने खतरा बढेको वडा नम्बर ५ का वडा अध्यक्ष सत्यनारायण राजवंशीले बताए।
उनका अनुसार कनकाई नदीमा आएको बाढीले सोही वडाको हात्तिसार क्षेत्रको बस्ती डुबानमा परेको छ। भेलामुनी, शिवमन्दिर, बालकल्याण आधारभुत विद्यालय, किच्चक डाँगी, विश्वडुवा र कनकाई प्राथमिक विद्यालय पनि जोखिममा परेका छन्।
यस्तै, गौरीगञ्ज गाउँपालिका–१ कुञ्जिबारी बजार पश्चिममा रहेको सन्थाल बस्ती पूूरै डुबानमा परेको छ। त्यहाका १२ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको स्थानियबासीले बताएका छन्। गौरीगञ्ज–१ कै भन्सारस्थित बालुवाढी बस्तीका ७ परिवार पनि डुबानका कारण सुरक्षित स्थानमा सरेको वडा अध्यक्ष कार्तिकलाल राजवंशीले सेतोपाटीलाई बताए।
यता पुरानो सदरमुकाम झापा गाउँपालिका ५ मा ५३ घर डुबानमा परको गाँउपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिएका छन्। उनका अनुसार कनकाई नदीमा आएको बाढीले वडा नम्वर १, २, ४ र ५ का अधिकांश वडा डुबानमा परेका छन्। यता, प्रधानमन्त्रीको गृहनगर दमक पनि डुबानमा परेको छ। पानीको निकास नहुँदा दमक नगरपालिकाको बजार क्षेत्र डुबानमा परेको हो।
गौरीगञ्ज, गौरादह, दक्षिणी शिवसताक्षी, झापा गाउँपालिका, बाह्रदशी गाँउपालिका, विर्तामोड नगरपालिका, कचनकवल लगायत डुबानमा छन्। झापामा २०२ मिलिलिटर पानी परेको कनकाई सिँचाइ परियोजनाको जल तथा मौसम मापन केन्द्रले जनाएको छ।