पाटनको 'भीमकाय' भीमसेन मन्दिर लामो समयदेखि दुई कारणले ढलपल अवस्थामा रह्यो।
एउटा, चार वर्षअघिको भुइँचालोले मूल खाँबो नै तेर्सो पारिदिएपछि संरचनागत ढलपल। अर्को, 'टाइम बम' बनेको मन्दिर भारतले बनाउने कि नेपालले भन्ने ढलपल।
रुग्ण मन्दिरका भित्ताले कुन दिन धर्म छाड्लान् र धेरै मान्छे हताहत होलान् भन्दै चिन्तित पाटनेहरूको बेग्लै ढलपल थियो।
अन्तिममा यहाँका साहुहरू जागे। आफ्नो अगुवाइमा जनस्तरबाटै पुनर्निर्माण गर्ने अठोट कसे। परिणाम, गत बिहीबार क्षमापूजा गरेर मन्दिरको गजुर निकालेपछि निर्माणको बिगुल बजेको छ।
भुइँचालोपछि भारत सरकारका हातमा सुम्पिएकाले अड्किएर बसेको मन्दिर पुनर्निर्माण सहजै सुरू भएको थिएन। जटिलता सुल्झाउने अगुवाइ गरेका थिए, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले। कूटनीतिक विषय भएकाले पनि हुनसक्छ, मन्दिरबारे बोलिरहँदा महर्जन विनम्र देखिन्थे।
'भारत सरकारले हामीलाई पहिलेदेखि सम्पदा क्षेत्रमा सहयोग गर्दै आएको हो,' उनले भने, 'भुइँचालोपछि नेपालले नै अनुरोध गरेर ललितपुर दरबार क्षेत्रको भीमसेन मन्दिर र अदालत भवन पुनर्निर्माण जिम्मा भारतलाई सुम्पेको थियो।'
जिम्मा दिने-लिने काम सकिएपछि दुवै पक्ष ढुक्क बसे। तर, मन्दिर आसपास बस्नेको निद्रा खलबलिँदै थियो।
'मन्दिरभित्र जानेको कुरै छाडौं, वरिपरि सवारीसाधन चलिरहने सार्वजनिक सडक र दिनभर बजार लाग्ने मन्दिर नै काल बनेर उभिएको थियो,' महर्जनले भने, 'मध्यरातमै भत्के पनि वरपर बस्ने कम्तीमा दस जनाको ज्यान लिने पक्का थियो।'
महर्जनका अनुसार यतिका वर्ष बित्दा पनि मन्दिरको खतरा कम गर्न 'माखो मार्ने' काम थालिएन। मन्दिर वरपरको समाज अर्थात् 'मंगल टोल सुधार समिति' ले मन्दिरलाई थेगेको खाँबो झनै ढल्किएको र भित्तामा परेका धाँजा धेरै चौडा भएको रिपोर्ट लिएर मेयर भेट्न गए। यसलाई प्राविधिक तवरबाट अर्थ्याइयो।
'मन्दिरको पूर्वी भाग थेगेको खाँबो धागो राखेर हेर्दा लगभग आठ इन्च बाहिर धकेलिएको पायौं,' प्राविधिक जिम्मेवारी सम्हालिरहेका डा. रोहित रञ्जितकारको भनाइ सुनाइयो, 'त्यसैगरी चिरा परेको प्वाल मुठ्ठी नै पस्ने गरी चौडा भइसकेका छन्।'
प्राविधिज्ञ रञ्जितकार काठमाडौंका थुप्रै सम्पदा क्षेत्र पुनर्निर्माणमा संलग्न 'काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट' का प्रमुखसमेत हुन्।
समिति प्रतिनिधिका कुरा सुनेपछि मेयर महर्जन दौडादौड मन्दिर हेर्न पुगे। उनलाई मन्दिरमाथि चढ्नसमेत मुश्किल पर्यो। जुनसुकै बेला ढल्न सक्छ भन्ने भएपछि उनले तत्काल पहल अघि बढाउने अठोट गरे।
'अठोट त लिएँ, भारतले बनाउने सूचीमा चढिसकेको मन्दिर छुन पनि कूटनीतिक जटिलता थियो,' उनले भने।
जनस्तरबाटै बनाउन तम्सिरहेको मंगल टोल सुधार समिति र ललितपुर उद्योग वाणिज्य संघको टोली लिएर मेयर महर्जन आफैं भारतीय राजदूत भेट्न पुगे। त्यो बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोश्रो नेपाल भ्रमणमा आउन १६ दिन बाँकी थियो। तै राजदूतलाई भेटेर टोलीले आफ्नो सरोकार राख्यो।
'महामहिमज्यू, भारतले काम अघि बढाउन कति समय लगाउला?' प्रश्न सोधियो।
'प्रधानमन्त्रीको भ्रमण नसकिएसम्म केही गर्न सक्दैनौं,' राजदूतले भने, 'त्यसपछि कुरा उठाउन सक्छौं।'
प्रक्रिया सकेर काम सुरू हुन कति समय लाग्ला भन्ने अर्को जिज्ञासा टोलीले राख्यो।
'भारतीय कर्मचारीतन्त्र पनि नेपालभन्दा खास फरक छैन,' राजदूतले भने, 'प्रक्रियामै १४ देखि १६ महिनाभन्दा कम लाग्दैन।'
त्यतिबेलै मेयर महर्जनले भीमकाय मन्दिरका कारण स्थानीयमा सम्भावित खतराबारे अवगत गराए।
'अन्यथा लिनुहुन्न भने पुनर्निर्माण हामी आफैं गर्न अनुमति चाहन्छौं,' मेयर महर्जनले भने, 'चन्दा उठाएर बनाउँछौं।'
राजदूतले 'यो राम्रो कुरा हो' भन्दै सहमति जनाए। टोली फर्कियो।
कयौं दिन बिते, दूतावासबाट खबर आएन। टोलीले फेरि परराष्ट्र मन्त्रालयमार्फत् पत्र पठाउन लगायो। बल्ल भारत सरकारको सहयोग सूचीबाट मन्दिर हटाइएको औपचारिक जानकारी आयो।
भारतको हातबाट त झिकियो, अब नेपाल सरकारकै अनुमति चाहिन्थ्यो। मेयर महर्जनका अनुसार अनुमति लिन अर्को 'महाभारत' झेल्नुपर्यो।
'न आफू गर्ने, न अरूलाई दिने भनेजस्तो भयो,' महर्जनले सुनाए, 'धेरै प्रयास गर्दा पनि प्रतिफल निस्केन।'
यस्तैमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस पारेर गत माघ २ गते प्रधानमन्त्री केपी शर्मा ओली पाटन दरबार क्षेत्रको पुनर्निर्माण हेर्न आइपुगे। प्रधानमन्त्रीलाई अर्थ्याउने काम उनै रोहित रञ्जितकार र मेयर महर्जनले गरेका थिए।
'भीमसेन मन्दिर पुगेपछि प्रधानमन्त्रीज्यूलाई हल्का धकेलेर 'अलि पर जाउँ हजुर' भनेँ,' महर्जनले सुनाए, 'मेरो त्यस्तो व्यवहार देखेर प्रधानमन्त्री हच्किनुभयो।'
प्रधानमन्त्रीले सम्हालिँदै छेउ लागेर सोधे, 'किन मेयर साहब?'
महर्जनले मन्दिर जुनसुकै बेला ढलेर धेरैको ज्यान लिनसक्ने अवस्था बयान गरिदिए।
'उसो भए बनाउनुपर्यो नि,' प्रधानमन्त्रीले भने।
महर्जनले त्यतिबेलै छेउमै उभिएका पुरातत्व विभाग महानिर्देशकतिर आँखीभौंको इसारा गरे।
'हामीले सबै कुरा मिलाइसक्यौं,' महर्जनले प्रधानमन्त्रीलाई सुनाए, 'पुरातत्व विभागबाट अनुमतिपत्र पाएका छैनौं।'
प्रधानमन्त्रीले उतैतिर हेर्दै भने, 'ए किन किन... ल ल ल। दिनुस् न यस्तो कुरा त...।'
'पत्र तयार छ,' महानिर्देशकले पनि तत्कालै जवाफ फर्काए, 'मेयर साहबलाई बुझाउन मात्र बाँकी छ।'
त्यसको चार दिनमै आफूले पत्र पाएको महर्जनले सुनाए।
विभागबाट अनुमति पाए पनि निर्माण जनस्तरबाटै अघि बढाउनुका पछाडि अर्को बाध्यता रहेको मेयर महर्जन प्रस्ट्याउँछन्।
'सरकारी पैसा लिएर बनाउनेतिर लाग्यौं भने ठेक्का प्रक्रियामा जानुपर्छ,' उनले भने, 'तत्कालै थालिहाल्नुपर्ने काममा हामीकहाँ ठेक्काले अर्को महाभारत झेलाउँछ।'
जनस्तरबाटै बनेको समितिमार्फत् रोहित रञ्जितकारको प्राविधिक पहलमा काम थाल्न आफूहरूले सहयोग गरेको उनले बताए। सुरूमा मन्दिरलाई सुरक्षा घेराबन्दी, त्यसपछि 'स्काफोल्डिङ' हुँदै बिहीबार गजुर निकालिएको हो।
महाभारतका पाँच पाण्डवको मन्दिर कतै छैन। तीमध्ये एक भाइ भीमसेनको काठमाडौं उपत्यकाका नेवारहरूले अत्यन्त श्रद्धासाथ पूजाआजा गर्दै आएको संस्कृतिविद् सत्यमोहन जोशी बताउँछन्।
नेवार समुदायले पूजा मात्र होइन, आफू नेपालभर जहाँ-जहाँ पुगे, त्यहाँ-त्यहाँ भीमसेन लगेका छन्। मन्दिरै बनाउन नसके पनि आफू बसेको गाउँ-ठाउँको नाम 'भीमसेन टोल' राखेर चित्त बुझाएका छन्।
जोशीका अनुसार भीमसेन पुजिनुका पछाडि एउटा लोककथा प्रचलित छ।
मच्छिन्द्रनाथले ललितपुरलाई समृद्ध बनाउन सबैलाई कामको जिम्मेवारी बाँडफाँट गरेछन्। भीमसेनलाई भने यसबारे केही भनिएन।
'मच्छिन्द्रनाथले पाटनमा यत्रो काम गर्न लाग्दा मलाई वास्ता गरेनन्' भन्दै भीमसेन जंगिए।
'तपाईंसँग के छ?' मच्छिन्द्रनाथले सोधे।
भीमसेन असाध्यै बलियो भएको कुरा महाभारतमै छ। उनले मच्छिन्द्रनाथसामु भने, 'म एकलाई तीन र तीनलाई नौ बनाइदिन सक्छु। त्यत्ति शक्ति छ।'
'ओहो, मैले बुझ्न सकिनछु,' मच्छिन्द्रनाथले भने, 'ल, आजदेखि एकको तीन बनाउने देवताका रूपमा तपाईंको पूजा हुनेछ।'
यसरी मच्छिन्द्रनाथले भीमसेन पूजा हुने परम्परा चलाए भन्ने लोककथा प्रचलित छ।
एकको तीन बनाउने कुराले सबभन्दा आकर्षित व्यापारी वर्गलाई गर्यो। पाटनवासीले पूजाआजा सुरू गरे। नेवार व्यापारीले आफ्ना पसल-पसलमै भीमसेन स्थापना गरे। पाटनको हगल र काठमाडौंको नगलका बाँडाहरूले सुनचाँदी पसल खोल्दा भीमसेन पूजापछि मात्र काम थाल्ने परम्परा बसाले।
भीमसेनको यो महात्म्य नेपालभर मात्र फैलिएन। तिब्बतमा व्यापार गर्ने बत्तीसकोठी महाजनहरूले पनि भीमसेन लगे। आज पनि ल्हासामा भीमसेन मन्दिर रहेको जोशी बताउँछन्।
'बत्तीसकोठी महाजनले ल्हासा छाडिसके पनि सरकारले भीमसेन पूजा परम्परा जिम्मेवारीसाथ चलाइरहेको छ,' जोशी भन्छन्, 'म ल्हासा गएको बेला नेपाली महावाणिज्यदूतावासमै भीमसेनको विधिवत् पूजा भएको देखेँ।'
उनका अनुसार पुरानो भत्किएको मन्दिरबाट मूर्ति ल्याएर कार्यालयभित्रै स्थापित गरिएको छ। विधिवत पूजा गर्न परराष्ट्र मन्त्रालयले पूजारी दरबन्दी राखेरै उता लगेको पनि जोशीले जानकारी दिए।
'नेपालको व्यापार प्रवर्द्धन गर्न आज पनि ल्हासामा भीमसेन पूजा हुन्छ,' जोशीले भने, 'नेवार समुदायले भीमसेन पूजा परम्परा विस्तार गरेका छन्।'
भीमसेनको पूजा खुट्टामा गरिन्छ।
'त्यो खुट्टाले शनिलाई कुल्चिरहेको हुन्छ,' उनले भने, 'शनि दशा लागेपछि मान्छे बर्बाद हुन्छ र जे गरे पनि उँभो लाग्दैन भन्ने भनाइ छ। भीमसेन पूजा गर्दा शनि परास्त हुन्छ भन्ने विश्वासले काम गरिरहेको हुन्छ।'
ग्रहदशा आइनलागोस् भनेर लक्ष्मीभन्दा भीमसेन पूजामा नेवार व्यापारीले आफूलाई केन्द्रित पारेको उनको भनाइ छ।
'शनिलाई कुल्चिरहेको भीमसेनको अनुहार र शरीरको भाव असाध्यै अर्थपूर्ण हुन्छ,' उनले भने, 'भीमसेनको अनुहार र शरीरको ढल्काइमा आक्रोश देखिएन भने त्यो पक्का भीमसेन मूर्ति मानिन्न।'
यस्ता महत्वको भीमसेन मन्दिर ललितपुरमा राजा योगनरेन्द्र मल्लले स्थापना गरेका थिए। ललितपुरकै दिलेन्द्रराज श्रेष्ठ मन्दिर पुनर्निर्माण सरोकार समितिका सदस्य हुन्। दिलेन्द्रका अनुसार यसको स्थापना राजा योगनरेन्द्र मल्लभन्दा पनि पुरानो समयतिर पुगेको पाइएको छ।
'सन् १६२७ मा राजा सिद्धिनरसिंह मल्लले यो ठाउँमा चपाः बनाएका थिए,' दिलेन्द्रले भने, 'कालान्तरमा त्यो आगोले ध्वस्त पारेपछि नाति योगनरेन्द्रले त्यही स्थानमा अहिलेको भीमसेन मन्दिर बनाएका हुन्।'
चपाःको अर्थ हुन्छ, सामुदायिक भवन। नेवार समुदायमा चपाः, दिगी र सतः गरेर तीन किसिमका सामुदायिक भवन हुने दिलेन्द्र बताउँछन्। सन् १६६२ मा त्यो भवनमा आगलागीले नराम्रोसँग क्षति पार्यो। २० वर्षपछि मन्दिरकै रूपमा उभ्याइयो।
उनका अनुसार पाटनको इतिहास इशापूर्व ३०० वर्षभन्दा पुरानो छ। त्यसको केन्द्र पाटन दरबार क्षेत्र हो। यही क्षेत्रमा आज पनि मल्लकालीन विभिन्न धरोहर बहुमूल्य सम्पत्तिका रूपमा उभिएका छन्।
'पूर्खाबाट पाएको यति महत्वपूर्ण विरासत बारम्बारका भुइँचालोबाट प्रभावित हुँदै आएको छ,' उनले भने, 'पछिल्लो भुइँचालोले निरन्तरता दियो।'
भुइँचालोले विशेषगरी हरिशंकर मन्दिर, चारनारायण मन्दिर, दरबार स्क्वायरको मूलचोकमा रहेका दुइटा तलेजु मन्दिर र सुन्दरी चोकको पूर्वतर्फको घर पूर्ण ध्वस्त भएको उनले जानकारी दिए।
'ध्वस्त सम्पदाहरूको पुनर्निर्माण सरकारको मुख नहेरी निजी क्षेत्रबाटै सहयोग जुटाएर वा सामाजिक रूपमा संकलन गरेर लगभग सकिन लागेको छ,' उनले भने, 'तर, जुन संरचना उभिएरै बस्यो, त्यसमा हत्तपत्त कसैको ध्यानै गएन।'
उनका अनुसार अन्य मन्दिरजस्तै भीमसेन मन्दिर पनि ध्वस्त भएको भए चाँडै ध्यान तानिन्थ्यो होला। उभिएकै देख्दा कसैले ध्यान दिएनन्। बाहिरबाट हेर्दा दुरुस्त देखिने मन्दिर भित्रभित्रै कुनै पनि बेला ढल्न सक्ने थियो। एक त व्यस्त चोकको मन्दिर, अझ जात्रा पर्व बेला वरिपरि भिडै हुन्छ। पुनर्निर्माण तुरून्तै नगर्ने हो भने दुइटा नोक्सानी हुने उनी बताउँछन्।
'संरचना भत्किँदा मान्छे थिचिने खतरा भइहाल्यो,' उनले भने, 'अर्को, काम लाग्ने मूल्यवान सामग्री पनि ध्वस्त भइदिन्छ।'
ध्वस्त मन्दिरका कलात्मक टुँडाल बनाउनुपर्दा असाध्यै महँगो पर्ने उनी बताउँछन्।
'१९९० को भुइँचालोमा ध्वस्त भाइदेगा मन्दिर अहिले बन्दैछ। १४ फिटे एउटा टुँडालको ज्याला मात्र पाँच लाख रुपैयाँ पर्ने रहेछ,' उनले भने, 'भनेका बेला चाहिएको आकारप्रकारको काठ पनि काठमाडौंमा पाइँदैन।'
यस्तो अवस्थामा भीमसेन मन्दिर ध्वस्त हुने समय नपर्खौं भनेरै आफूहरू जुर्मुराएको दिलेन्द्रले बताए। पुनर्निर्माण गर्न अहिलेलाई करिब चार करोड ९३ लाख रुपैयाँ लागत पर्ने अनुमान समितिको छ। यसमा छानोमा हुने सुनलेपन खर्च जोडिएको छैन। त्यसैगरी 'स्काफोल्डिङ' मा पनि करिब १९ लाख रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिए।
'ललितपुर उद्योग वाणिज्य संघले 'बीउ' रकमका रूपमा दस लाख रुपैयाँ दिइसकेको छ,' उनले भने, 'बाँकी खर्चका लागि विभिन्न प्रक्रियाबाट चन्दा उठाउने काम सुरु गर्दैछौं।'
मन्दिरको गजुर झिकेकै दिन ललितपुरको कमलमणि सभागृहमा व्यापारीहरूको जमातमाझ अमेरिकी प्राध्यापक ब्रुस मक्वोय ओवन्सको प्रवचन पनि थियो। रातो मच्छिन्द्रनाथमा अध्ययन गरेका मानवशास्त्री ब्रुसले नेवारी र अंग्रेजी भाषा प्रयोग गर्दै 'नेवा परम्परामा सम्पदाका निम्ति दान-दातव्यको महत्व' विषयमा आफ्नो प्रस्तुति दिएका थिए।
'नेवार परम्परामा अन्तजस्तो पुगिसरी आएका मान्छेले भन्दा सबैखाले आर्थिक पृष्ठभूमि भएकाहरूले संस्कृतिकै रूपमा समाजका निम्ति दान गर्ने प्रचलन छ,' ब्रुसले भनेका थिए, 'त्यसैले यहाँका मठ-मन्दिरको शिलालेखमा ठूला सामन्तदेखि सामान्य व्यक्तिसम्मका नाम अटाएका हुन्छन्।'
कसले कति दियोभन्दा आफ्नो हैसियतअनुसार सबैले दान गर्ने र संकलित रकमले यस्ता परम्परा अघि बढाउने मान्यतामै नेवार संस्कृति आधारित रहेको ब्रुसले सुनाए।
'अध्ययन सिलसिलामा प्राचीनकालदेखि हरेक निर्माण वा परम्परा दान-दातव्यबाटै चल्दै आएका पर्याप्त प्रमाण भेटेको छु,' उनले भने, 'यसले हरेकको सहभागिता मात्र होइन, हरेकमा आफ्ना सम्पदाप्रति स्वामित्व पनि विकास गर्छ।'
भाइदेगा मन्दिर र लामपाटी जनस्तरबाटै बनेको ब्रुसले सुनाए।
'मल्लकालमा मच्छिन्द्रनाथको रथ बिग्रँदा राजपरिवारदेखि अतिसाधारण व्यापारीसम्मले मिलेर निर्माण गरेको उदाहरणै छ,' ब्रुसले आफ्नो अध्ययन विषय फुकाउँदै भने, 'त्यही भावनाले अहिले पनि उपत्यकाका सम्पदा जोगाउन सक्छ।'
भीमसेन मन्दिर विशुद्ध जनस्तरबाटै बनाउने भनेपछि धमाधम सहयोगीहरू आउन सुरू भइसकेको सरोकार समितिका दिलेन्द्र बताउँछन्।
'गजुर निकाल्नेदेखि नयाँ राख्नेसम्मको जिम्मा हौगल टोलका कल्याणकृष्ण ताम्राकारले लिएका छन्,' उनले भने, 'मन्दिरमा चाहिनेजति डाँची इँटा हिराकाजी र तीर्थलाल अवालेले उपलब्ध गराउने कबुलिसकेका छन्।'
ललितपुरका वासिन्दामा परापूर्वकालदेखि पछिल्लो समयसम्म पनि आफ्नो सम्पदाप्रति अगाध प्रेम देखिएको दिलेन्द्र सुनाउँछन्। उनले दिने सबभन्दा सजिलो उदाहरण भुइँचालो बेलाकै हो।
'मन्दिर भत्किनेबित्तिकै पाटनका थुप्रै तन्नेरी भेला भएर दिनरात नभनी एक-एक सामग्री सुरक्षित गर्न खटिए,' उनले सुनाए, 'त्यो भावनाले पनि पूर्खाले छाडेको सम्पत्ति अब हामी जोगाउन सक्छौं भन्ने सन्देश दिन्छ। यसले पर्याप्त आर्थिक श्रोत जुटाउन मुश्किल पर्ने छैन।'
भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिका तथा पाटन उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनको प्रयासमा जनस्तरबाट निर्माण पहल भएको हो।
'ढल्ने समय कुरेर बसेजस्तो देखिएपछि कार्यसमिति बैठकमा एजेन्डा बनायौं,' उनले भने, 'साथीहरूको सहमतिसहित मन्दिर बनाउने पहल थालेका हौं।'
यसमा ललितपुर महानगर र मंगल टोल सुधार समितिबाट महत्वपूर्ण सहयोग मिलेको महर्जन बताउँछन्। ललितपुर महानगरले एक करोड रुपैयाँ दिने भएको महर्जनले सुनाए। त्यसैगरी प्रदेश नम्बर ३ ले पनि पचास लाख रुपैयाँ दिने भएको छ।
प्राविधिक जिम्मेवारी सम्हालेका रोहित रञ्जितकारका अनुसार मन्दिर बनाउने क्रममा पहिले प्रत्येक हिस्साको बेग्लाबेग्लै दस्तावेजीकरणसहित अध्ययन गरिनेछ। त्यसपछि आवश्यक खण्ड मात्र भत्काएर पुनर्निर्माण गरिनेछ। बाँकी भाग जस्ताको त्यस्तै अवस्थामा सजाउने काम हुनेछ।
'कतिपय ठाउँमा 'रिइन्फोर्समेन्ट' वा 'रेट्रोफिट' बाटै काम चलाउन सकिन्छ,' उनले भने, 'पुरानो र ऐतिहासिक संरचनाको आफ्नै महत्व हुने भएकाले सकभर कम नोक्सान गरेर काम अघि बढ्छ।'
भुइँचालोको दुई वर्षअघि मात्र छानो मर्मत गरिएको र अधिकांश काठ काम लाग्ने देखिएको रञ्जितकारले बताए। उनका अनुसार सर्सर्ती हेर्दा १५ देखि २० प्रतिशत मात्र नयाँ काठ प्रयोग गर्नुपर्नेछ। मन्दिर पुनर्निर्माण बढीमा दुई वर्षमा सकाउने लक्ष्य छ।
सबै तस्बिर: नारायण महर्जन/सेतोपाटी