डेंगुको संक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ।
कमल गाउँपालिका वडा नम्बर ४स्थित फोनिक्स ईंलिस वोर्डिङ्ग स्कुल कक्षा ९ का छात्र रिजेन राईको डेंगु संक्रमणवाट मृत्यु भएको कमल गाउपालिका स्वास्थ्य साखाले जनाएको छ। यद्यपी डेंगुबाटै मृत्यु भएको कुरा सरकारी तवरबाट भने पुष्टी हुन बाँकी छ।
ईलामको साक्फारा घर भएका रिजेन कमल गाउँपालिकास्थित मामा घरमा बसेर अध्ययन गर्दै आएका थिए। विद्यालयका प्रमुख वदी साम्पाङ्ग राईका अनुसार रिजेन गएको वुधबार विद्यालय आएका थिए। कक्षा कोठामै टाउको, हार्ड जोर्नी दुख्यो भनेपछि उनलाई विद्यालयले घर पुर्याएको थियो।
बिहीबार रिजेनको स्वास्थ्यमा सुधार नआएपछि उनलाई दमकको नमस्ते अस्पतालमा उपचारका लागि लगिएको पारिवारिक स्रोतलाई उदृत गर्दै विद्यालय प्रमुख राईले जानकारी दिए।
नमस्ते अस्पतालले रिजेनको स्वास्थ्य परीक्षण गर्दा पेटेलेट्सको मात्रा ६८ हजार मात्र रहको जनाएको छ । सो अस्पतालका अनुसार सामान्यता स्वस्थ मानिसमा पेटेलेट्को मात्रा १ लाख ५० हजार देखि ३ लाख सम्म हुन्छ। नमस्ते अस्पतालका अनुसार डेगुको संक्रमण भयो भने पेटेलेट्स ओरालो लाग्छ।
नमस्ते अस्पतालले धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि रेफर गरेको अस्पतालले जनाएको छ। तर, रिजेनलाई त्यसदिन अर्थात बिहीबार घर ल्याएर शुक्रबार मात्रै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि लगिएको थियो। प्रतिष्ठानले अस्पतालमा आईसियु कक्ष पूर्ण भएकाले विराटनगर रेफर गरेको जनाएको छ।
उनको आज बिहान सो अस्पतालमा मृत्यु भएको कमल गाउँपालिकाका स्वास्थ्य साखाका कर्मचारी राम चन्द्र मिश्रले जानकारी दिए। रिजेनको शवलाई मोरङ्गको मंगलवारे स्वास्थ्य केन्द्रमा राखिएको छ। केन्द्रले रोग नियन्त्रण महासाखामा जानकारी गराएको छ।