पोखराको पृथ्वीचोकमा ढलले बगाएर एक जना बेपत्ता भएका छन्।
शुक्रबार साँझ पानी परेपछि पोखराको प्रवेशद्वार पृथ्वीचोक नजिकैको बाटो काट्ने क्रममा ढलले बगाएर एक जना बेपत्ता भएको स्थानीयले बताए।
साँझ ७ बजेतिर सेतो सर्ट, कालो पाइन्ट र पछाडि झोला बोकेका एक युवालाई बगाएको स्थानीय माछा पसलका सञ्चालक किशोर शाहले बताए।
शुक्रबार साँझ ठूला वर्षापछि बाटो र ढलसम्मै भएको अवस्थामा पानीले बगाएर बेपत्ता भएको उनले बताए।
ढलमा परी बगाएको अवस्थामा एक स्कुटर चालक र दुई जनाको उद्धार गरेको उनले बताए। युवा ढल हुँदै सेतीमा खेसेर बेपत्ता भएको उनले बताए।
ढलमा रेलिङ वा ढकन नहुँदा ठूलो पानी परेर ढलसम्मै हुँदा पैदलयात्रु र मोटरसाइकल चालक बढी मात्रामा ढलमा परी बगाउने गरेको सवारी चालक हरिचन्द्र नेपालीले सुनाए।
शुक्रबार साँझै एक जना मोटरसाइकल चालक र अर्का एक जना युवा पनि ढलमा परेर बगेका थिए।
उनीहरूलाई बगाउँदा बगाउँदै उद्धार गरिएकोले बचाउन सकिएको उनले बताए।
ढलले बगाएर सेतीमा खसेर बेपत्ता भएकाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।
साँझ बगाएको खबर पाउना साथ प्रहरी उद्धारमा खटिए पनि फेला पार्न नसकेको बताए।
शनिबार पृथ्वीचोकस्थित सेती नदीको खोच र अन्य सम्भावित ठाउँमा खोजी गरिरहेको उनले बताए।
पोखरामा ठूलो पानी पर्दा सडक नै खोला जस्ता बन्ने गरेका छन्।
घरहरू थपिँदै जाँदा बाटो मै पानी फाल्दा समस्या बढ्दै गएको हो। गत वर्षहरूमा पनि पानी र ढलकै कारण पोखरामा तीन जनाको मृत्यु भएको थियो।
ठूला पानी पर्दा पोखराको पृथ्वीचोक, सिद्धार्थ चोक, सृजना चोक, बिरौटा चोकलगायतका सडकमा खोला झै पानी बग्ने गर्दछ।