झापामा २७ जनामा डेंगुको संक्रमण फेला परेको छ। एक महिनाअघि सुनसरीको धरानमा देखा परेको डेंगुको प्रकोप विस्तारै पूर्वी तराईका जिल्लामा फैलन थालेको छ।
झापाको विर्तामोडमा ९ जना, दमकमा ७ जना, मेचीनगरमा ७ जना, अर्जुनधारामा २ जना, भद्रपुर नगरपालिकामा एक जनामा डेंगुको सक्रमण देखा परेको जिल्ला स्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए।
उनीहरुको दमकस्थित दमक अस्पताल, विर्तामोडको बिर्तासिटी, बिएण्डसी टिचिङ र मनमोहन अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
वैज्ञानिक वर्गीकरण अनुसार टाइप वान, टाइप टु, टाइप थ्री र टाइप फोर गरी चार प्रकारका डेंगु रोग हुने चिकित्सकले बताएका छन्। डेंगु संक्रमणले शरीरका संवेदनशील अंगबाट रक्त श्राव भई बिरामीको मृत्यु गराउँछ। झापा सबै प्रकारका डेंगु फैलिने जोखिम जिल्ला रहेकोले संक्रमण फैलने सक्नेमा स्वास्थ्य कार्यलय सचेत रहेको र्यालयका कार्यक्रम अधिकृत पौडेले बताए।
एडिस एगेप्टी नामक पोथी लामखुट्टेले टोकेपछि डेंगु संक्रमण हुन्छ। चिकित्सकका अनुसार उक्त संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिँदैन। ज्वरो आउनु, टाँउको दुख्नु, हाड तथा जोर्नी दुख्नु, आँखा दुख्नु, वाकवाकी, लाग्नु डेंगुका प्रारम्भिक लक्षण भएको कार्यक्रम अधिकृत पौडेलले बताए। जुलाइदेखि सेप्टेम्बरसम्म यो रोग देखापर्ने चिकित्सकहरुको बताएका छन्। ‘जमेको सफा पानीमा यस्ता जीवाणु देखा पर्ने भएकाले हाल निर्माणाधीन अवस्थामा रहेका सडक किनारका खाल्डो तुरुन्त नपुर्ने हो भने त्यहाँबाटै डेंगुले लार्भा उत्पादन गरेर आफ्नो संक्रमणलाई फैल्याउन सक्छ,’ कार्यक्रम अधिकृत पौडेलले भने।
सरकारले डेंगु नियन्त्रणका लागि सचेतना लगायतका कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई एक लाखका दरले बजेट दिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालय झापा र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले मंगलबार झापाको अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानको अनुगमन गर्दै डेंगु संक्रमित स्थानमा लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ।झापामा डेंगुको संक्रमणका कारण बिरामीको संख्या बढ्दै गएकाले स्थानीय तहले डेंगु नियन्त्रण अभियानलाई प्रभावकारी रुपमा अघि बढाउनु पर्ने स्थानीयले बताएका छन्।
यसैबीच, स्वास्थ्य कार्यालय झापाका डेंगु फोकल पर्सन जीवन चौंलागाईंले यो वर्ष बुधबारसम्मको तथ्याङ्कमा २७ जना डेंगु ज्वरोका कारण प्रभावित भएको बताए। स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले विर्तामोड नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्यहरु तथा विभागीय प्रमुखहरुका लागि आयोजित अभिमुखीकरणमा यस्तो तथ्याङ्क प्रस्तुत गरेको हो।
डेंगु सार्ने लामखुट्टेहरु विशेषगरी सहरी क्षेत्रका उत्पन्न हुने भएकाले विर्तामोडसहित अर्जुनधारा, दमक, भद्रपुर, शिवसताक्षी र कनकाई नगरपालिकाका बढी प्रभावितको सूचिमा रहेका चौंलगाईंको भनाइ छ। महाशाखाका जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले डेंगु सार्ने लामखुट्टे कसरी नेपाल छिर्यो र तिनले कस्तो ठाउँमा सन्तान उत्पादन गर्दछन् भन्ने बारे सहजीकरण गरेका थिए।
उनका अनुसार जलवायु परिवर्तनको प्रभावले पृथ्वीमा तापक्रम बढ्नु, मानिसहरुको बाक्लो जमघट र आवतजावत हुनु, यातायातको पहुँच बढेसँगै सरुवा रोगहरु थपिने गरेको छ ।
महाशाखाका जनस्वास्थ्य अधिकृत कोइरालाले डेंगु नियन्त्रण गर्न विषादी छर्किने तत्कालीन उपाय उपयुक्त नभएको पनि सुनाएका छन्। विषादी छर्किएर रोगका जीवाणुहरु नष्ट गर्न सकिन्न बरु उल्टै मानव स्वास्थ्यका लागि वातावरणीय हानी पुगेको निश्कर्षपछि विषादी छर्न छाडिएको उनले बताए।
डेंगुको संक्रमणका कारण हालसम्म झापामा तीन जनाको मृत्यु भएको छ। दुई हजारबढीमा यसको संक्रमणदेखिएको र रोगलाई पूर्ण रुपमा नियन्त्रणमा ल्याउन निकै समय लागेको स्वास्थ्य कार्यालयले जनाएको छ। विगतका वर्षहरुमा पनि झापामा डेंगुको संक्रमण देखा परेकाले बेलैमा सचेतना अपनाउने विभिन्न चेतनामुलक कामहरु गर्न उनले स्थानीय तहलाई सुझाव दिएका छन्। एक महिनाअघि धरानमा देखिएको डेंगु नियन्त्रणका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्दै एक साताभित्र पूर्ण रुपमा नियन्त्रण गर्ने जनाए पनि डेंगुको सक्रमण फैलने क्रम बढ्दै गएको छ।