संविधानले नागरिकलाई राज्यबाट माध्यामिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क गरेको छ। तर झापाका कतिपय सामुदायिक विद्यालयले मनपरी शुल्क लिएर पढाउने गरेका छन्।
सामुदायिक विद्यालयमा कुनै पनि बाहनामा विद्यार्थी र अभिभावकबाट शुल्क लिन पाइँदैन तर, केही सामुदायिक विद्यालयले अंग्रेजी शिक्षाको नाममा मनपरी शुल्क लिने गरेको पाइएको छ।
सामुदायिक विद्यालयले निजी विद्यालय सरह नै अंग्रेजी माध्यममा पठनपाठन गराउने नाममा शुल्क लिएका हुन्। शिवसताक्षी नगरपालिकामा रहेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले नर्सरीदेखि कक्षा १० सम्म शुल्क लिने गरेको छ।
नर्सरी, एलकेजी र युकेजी (प्री प्राइमरी) मा वार्षिक सात हजार पाँच सय रुपैयाँ विद्यालयले शुल्क लिने गरेको अभिभावकले गुनासो गरेका छन्। नजिकै रहेको ध्रुवतारा आवासीय मावि संस्थागत विद्यालय हो। त्यहाँ नर्सरीमा पढेको १५ हजार शुल्क छ।
‘सामुदायिक विद्यालयमा ७ हजार पाँच सय संस्थागत विद्यालयको तुलनामा आधा भएपनि त्यो चर्को हो। गरिबले छोराछोरी पढाउन सक्दैनन्,’ एक अभिभावकले भने।
राष्ट्रिय रमणीय आदर्श माध्यामिक विद्यालयले कक्षा १ र २ मा आठ हजार, कक्षा ३ र ४ मा आठ हजार पाँच सय, कक्षा ५ मा नौ हजार, ६ मा नौ हजार पाँच सय लिँदै आएको छ।
कक्षा सातमा ११ हजार, आठ मा १२ हजार ५ सय, ९ मा १४ हजार र कक्षा १० मा १५ हजार पाँच सय रुपैयाँ लिन्छ।
विद्यालयले भने यो रकमलाई शुल्क नभनी चन्दा भनेको छ। प्रधानाध्यापक कालीप्रसाद रिजाल भन्छन्, ‘सरकारबाट आएका अनुदान बाहेकको खर्च अभिभावकले व्यहोर्ने भनेपछि विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउन थालेको हो।’
अभिभावकको निर्णयलाई विद्यालय व्यवस्थापन समितिले अनुमोदन गरेपछि शुल्क निर्धारण गरेको उनले दाबी गरे। ‘विद्यार्थीबाट शुल्क लिएका छैनौं, अभिभावकबाट चन्दा लिएको हो,’ उनले भने। अभिभावकको माग अंग्रेजी शिक्षा भएकाले निजी स्रोतबाट तलव खुवाउने गरी शिक्षक राखिएको उनले बताए।
यस्तै बाल निकुञ्ज माविले पनि अभिभावकबाट विना रसिद रकम लिन्छ। शुल्क लिने सामुदायिक विद्यालयले मनलाग्दी शुल्क लिने गरेका छन्, एकरुपता छैन। ‘रजिष्टरमा नाम र कक्षा लेखेर रकम लिन्छन् रसिद दिँदैनन्,’ अर्का अभिभावकले भने।
शिवसताक्षी नगरपालिका भित्र १२ वटा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुन्छ। पाठ्यपुस्तक पनि विद्यार्थी आफैंले किन्नुपर्छ। सरकारले पाठ्यपुस्तक सहित माध्यमिक तहसम्म निःशुल्क शिक्षा लागू गरेपनि व्यवहारमा कार्यान्वयन भएको छैन।
शिवसताक्षी नगरपालिकाले कक्षा १ देखि ५ सम्मका लागि ७५ हजार, कक्षा ६ देखि ८ कक्षासम्म एक लाख रुपैयाँ र कक्षा ९ र १० लागि एक लाख ५० हजार रुपैयाँ प्रशासनिक खर्चका नाममा दिने गरेको छ।
नगरका शिक्षा अधिकारी सुरेन्द्र दाहालले सामुदायिक विद्यालयलाई दामासाहीले रकम पठाइने बताए। विद्यार्थी र अभिभावकहरुबाट शिक्षाको नाममा शुल्क लिन नपाउने भन्दै उनले ‘शुल्क लिएको भेटिएमा कारवाही हुने’ जनाए।