झापाको शिवसताक्षी नगरपालिकामा खानेपानीको समस्याले वर्षौंदेखि स्थानीय पीडित छन्। वडा नम्बर ९ र १० का तीन वटा गाउँका स्थानीय अहिले पनि ‘काकाकुल’ छन्।
स्थानीय नहर, कुवा तथा खोलाको धमिलो पानी प्रयोग गर्न बाध्य छन्। खानेपानीको भरपर्दो व्यवस्था नहुँदा नगरका संगम बस्ती, दोमुखा र श्रीजंघा बस्तीका हजारौं स्थानीयले वर्षौंदेखि पिउने पानीको समस्या भोग्दै आएका छन्।
गाउँमा धारा छन् तर पानीबिनाका। संगम बस्तीका २५० घर परिवार स्थानीय दिलबहादुर खड्को घरमा गाडिएको ट्युबेलमा घन्टौं पर्खिरहेका हुन्छन्।
संगम बस्तीमा पिउने पानीको समस्या हिमाल-पहाडका दुर्गम बस्तीको भन्दा कम छैन। यहाँका सयौं स्थानीय डोको, साइकल, मोटरसाइकल, ठेलाजस्ता साधनमा गाग्रा, बोत्तललगायतमा पानी ओसार्छन्।
हातगोडा लागेका सबै बिहान-बेलुका पानी ओसार्न तँछाडमछाड गर्छन्। स्कुले बालबालिका होमवर्क नगरी बिहान-बेलुका पानी बोक्न दौडिन्छन्। अभिभावक दिउँसो काम छोडेर। ट्युबेलमा पानी थाप्दै गरेकी स्थानीय जेनिशा राईले भनिन्, ‘दैनिक एक घन्टा हिँडेर पार्न थाप्न आउनुपर्छ।’
कतिले त बटुवाले पानी मागे दही मोही दिने गरेको बताए। ‘घरमा भनेको बेला पानी हुँदैन, पानी माग्ने बटुवालाई मोही दिने गरेका छौं,’ स्थानीय हरिप्रसाद मिश्रले भने, ‘प्रधानमन्त्रीको गृह जिल्ला भनेर के गर्नु, धारामा पानी छैन।’
हिउँद लागेसँगै पूर्व-पश्चिम राजमार्गसँग जोडिएको संगम बस्ती, श्रीजंघा बस्ती र पर्यटनीय दोमुखामा खानेपानी समस्या चर्किने गर्छ। ०४२ सालमा स्थापना भएको सतासीधाम खानेपानीका धारा सो बस्तीमा लथालिंग छ।
डेढ सय परिवारलाई लक्षित गरी बनाइएको धारामा झार उम्रिएको छ। समितिले मैनाचुली सामुदायिक वन हातामा निर्माण गरेको रिजर्भ ट्यांकीका लागि त्यहाँका उपभोक्ताबाट प्रतिघर एक हजार रुपैयाँ उठाएको थियो ।
समितिका कार्यालय सचिव राजेन्द्र खड्काले भने, ‘२०७३ सालको बाढी-पहिरोले पानीको मुहान क्षतविक्षत भयो। त्यसपछि पानी बन्द भएको हो।’
एक परिवारको पानी २ सय ५० घरका करिब १२५० जनाले बाँडेर खानुपरेको स्थानीय दलबहादुर न्यौपानेले बताए। उनले भने, ‘धारामा पानी छैन। गाउँमा नौ महिना पानीको हाहाकार हुन्छ। यो भन्दा बिकराल समस्या के होला?’
अन्य घरमा ट्युबेल छन्। हिउँद लागेपछि ट्युबलमा पानी सुक्छ। असार अन्तिम अर्थात् मनसुन सक्रिय भएपछि गाउँका अन्य ट्युबेलमा पानी आउँछ।
पानी सुक्नुको कारण पत्ता लागेको छैन। खानेपानीका लागि स्थानीयले प्रयास गरेका छन्। तर, ती प्रयास काम लागेनन्। ‘पानीका लागि बजारबाट ट्युबेलको हेड किनेर ल्यायो, सय मिटर गहिराइसम्म खन्दा पनि पानी भेटिन्न,’ राष्ट्रिय रमणीय आदर्श मावि दुधेका शिक्षक समेत रहेका न्यौपाने भन्छन्, ‘निर्वाचनताका राजनितिक दलका नेता र उम्मेदवारको मुख्य मुद्दा संगम बस्तीको खानेपानी समस्याको समाधान गर्ने हुन्छ, निर्वाचन जितेपछि खानेपानीको समस्या हराउँछ।’
झापाको साबिक सतासीधामको यो समस्या २०४८ सालदेखिको हो। जतिबेला तत्कालीन एमालेमा यहाँबाट सिपी मैनालीले निर्वाचन जिते। २०५१ सालको मध्यावधि निर्वाचनमा मैनालीका दाजु राधाकृष्णले पनि एमालेबाटै खानेपानीको समस्या समाधान गर्ने आश्वसन दिँदै निर्वाचन जिते।
स्थानीयबासी समेत रहेका तारासम याङ्गया एमालेबाटै २०५६ सालको आमनिर्वाचनमा निर्वाचित भए। सबैको मुद्दा खानेपानी थियो। संगम बस्तीको खानेपानीको समस्या निर्वाचन जितेपछि समाधान गर्छु तर समस्या ज्यूँका त्यूँ छ।
संविधानसभाको दुबै निर्वाचनमा जितेका केशबकुमार बुढाथोकीले त ‘खानेपानीको समस्याले मलाई पर्खिएको’ समेत भनेर ठाउँ-ठाँउमा भाषण नै गरेका थिए। उनले पनि माखो मारेनन्।
२०७४ सालको आम निर्वाचनमा तत्कालीन एमालेबाट एलपी साँवा लिम्बूले अघिल्ला उम्मेदवारले जस्तै भाषण ठोके। उनले निर्वाचन जितेको पनि दुई वर्ष भयो। समस्या जस्ताको तस्तै छ। गाउँले भएकैले पनि साँवाबाट स्थानीय खानेपानीको समस्या टर्नेमा विश्वस्त थिए। तर, उनले पनि केही गरेका छैनन्।
खानेपानी हाहाकार भएको बस्तीमा पिउने पानीका दुई वटा योजना सञ्चालनमा छन्। तीमध्ये एउटा सम्पन्न भएको छ भने अर्को निर्माणाधीन छ। संगम बस्ती खानेपानी योजना ४४ लाख खर्चेर दातृ संस्था फन्ड बोर्डले निर्माण गरेको थियो।
तर, सो योजनाको पानीमा नौ प्रतिशत आइरन फेला परेपछि उक्त योजना योजनाको ट्याङ्की प्रयोगविहीन छ। पहिले नै पानीको परीक्षण नगरी ट्याङ्की निर्माण गरिएको थियो। निर्माण समितिका सचिव दलबहादुर न्यौपानेले भने, ‘फन्ड बोर्डले झुक्याएर स्थानीयलाई पिउने पानीको कामै नदिने योजना निर्माण गर्यो।’
त्यसैको नजिकै अहिले संगम टोलमा नौ करोडको खानेपानीको योजना निर्माणाधीन छ। केन्द्रीय सरकारको अनुदानमा प्रदेश सरकारमार्फत उक्त योजना निर्माण भइरहेको स्थानीयले बताए। यो खानेपानी निर्माण भएपछि समस्या केही कम हुने सांसद एलपी साँवाले बताए।