हुम्लाको खार्पुनाथमा भएको जीप दुर्घटनामा बेपत्ता खार्पुनाथ गाउँपालिकाका उपाध्यक्षको झोला र अन्य कपडा फेला परेको छ।
नेपाली सेना र प्रहरीले कर्णाली नदीमा पसेर खोजतलास गर्ने क्रममा झोला र कपडा फेला परेको घटनास्थलमा खटिएका याङ्चु प्रहरी चौकीका ईन्चार्ज सन्तबहादुर पालले सेतोपाटीलाई जानकारी दिए।
मंगलबार दिउँसो १२ बजे खार्पुनाथ गाउँपालिका–५ स्थित कैलाबालुमा जीप नदीमा खसेको थियो। जीप चालकसहित १० जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा गाउँपालिका उपाध्यक्ष सिन्धु शाही, खार्पुनाथ गाउँपालिका–५ की १८ वर्षीया वसन्ती शाही, खार्पुनाथ–४ की २७ वर्षीया डुकु भण्डारी, २४ वर्षका चन्द्र हमाल, सिमीकोट गाउँपालिका–८ का जीप चालक मणिजंग शाही, खार्पुनाथ–५ का १३ वर्षीया नन्दादेवी सिंह, १२ वर्षका गोकुल सुनार, खार्पुनाथ–१ की २४ वर्षीया कौडा परियार, उनका दुई वर्षका छोरा (नाम नखुलेको) र काठमाडौंबाट आएका राजु श्रेष्ठ छन्।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब निरीक्षक ठाकुरकुमार राईका अनुसार श्रेष्ठको बारेमा एकिन भने हुन सकेको छैन।
‘फोन आएको आधारमा हामीले उहाँको नाम थाहा पाएका हौं,’ उनले भने, ‘वेल्डिङ गर्ने मानिस हो भन्ने थाहा भयो, कहाँबाट आउनुभएको, कसले बोलाएको थाहा भएको छैन। हामी खोजबिन गर्दैछौं।’
सई राईका अनुसार स्थानीय सुरक्षाकर्मीले बेपत्ता जीपको खोजी गर्न नसकेपछि काठमाडौंबाट नेपाली हेलीकप्टरमार्फत् गोताखोरको टोली आउन लागेको छ। पानीको वहाव धेरै भएकाले काठमाडौंबाट तालिमप्राप्त गोताखोर ल्याउन लागिएको उनले जानकारी दिए।