छोरी बलात्कार गरेको आरोपमा शिवसताक्षी नगरपालिका झापा वडा नम्बर ७ ब्याङडाँडामा बस्ने एक युवा पक्राउ परेका छन्।
असार १ गते आफ्नै छोरी बलात्कार गरेको आरोपमा ३८ वर्षीय बाबु पक्राउ परेका हुन्। ११ वर्षीय छोरीलाई करणी गर्ने बाबुलाई प्रहरीले तत्काल पक्राउ गरी अनुसन्धान थालेको छ।
असार १ गते दिउँसो १२ बजे काम सकेर बालिकाका बाबु खाना खान घर गएका थिए। उनी मजदुर हुन्। उनी अपराह्न ४ बजेसम्म घरमा थिए। त्यसपछि घर नजिकैको ब्याँङडाडा बजारको एउटा पसलमा गएर मदिरा पिएका थिए।
मदिरा पिएर उनी घरमा आए। बालिकाकी आमाका अनुसार साँझ छ बजेतीर बाबुले छोरीलाई खेलाउँदै गर्दा करणी गरेका थिए।
घटनापछि छोरी चिच्याउन थालेको सुनेर आमा के भयो भन्दै छोरीसँग गएकी थिइन्। आमाले फकाउँदै बोकेपछि छोरी रुन छोडेकी थिइन्।
बालिकाकी आमाले प्रहरीमा भनिन्, ‘मैले त्यतिबेला पनि थाहा पाइनँ, रातभरि छोरी रुन, कराउन र चिच्याउन थालेपछि मैले छोरीको यौनाङ्ग हेरें, छोरीमाथि करणी भएको रहेछ।’
त्यसपछि श्रीमान् श्रीमतीबीच झगडा भयो। गाउँका सबै भेला भए। घटनाको बेलीविस्तार सुनेका छिमेकीका पाहुनाले गोपेटार पुगेर इलाका प्रहरी कार्यालय शिवगञ्जलाई जानकारी गराएका थिए। प्रहरीले बाबुलाई खोजी गर्यो। त्यतिबेला उनी फरार भइसकेका थिए। इलाका प्रहरी कार्यालय झिलझिलेको चलाखीले उनी सोमबार बेलुका पक्राउ परेका छन्। प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ।
घटनापछि प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गरेको छ। प्रहरीका अनुसार बालिकाको यौनाङ्ग च्यातिएको छ।