हुम्लाको खार्पुनाथ गाउँपालिका यात्रुवाहक जीप दुर्घटना भएको छ।
गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही, उनका छोरा, भाइसहित परिवारका सदस्यसहित १५ जना सवार जीप मंगलबार दिउँसो कर्णाली नदीमा खसेर बेपत्ता भएको हो।
उक्त जीप मंगलबार दिउँसो करिब साढे १२ बजे बाटोबाट कर्णालीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सहायक प्रहरी निरीक्षक मुरारी खरेलले जानकारी दिए।
हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालका अनुसार नदीमा खसेको जीप खोजीका लागि गोताखोर परिचालन गरिएको छ।
सिमिकोटबाट गाउँपालिका कार्यालय आउने क्रममा जीप नदीमा खसेको हो। दुर्घटनामा परेको जीपको नम्बर खुलेको छैन।
दुर्घटनामा परेकाहरूको खोजीका लागि १६ जना गोताखोर पठाएको प्रजिअ ढकालले बताए।
‘चार वटा हेलिकप्टरमा सेना राखेर परिचालन गरिएको छ,’ उनले भने, ‘नदीमा कतै जीप देखिन्छ कि भनेर दुइटा हेलिकप्टर खोजीमा छन्। दुइटा हेलिकप्टर गोताखोर बोकेर उडे।’
जीप दुर्घटना भएको ठाउँमा प्रहरी टोली पुगेको र जीप र यात्रु भने फेला नपरेको सहायक प्रहरी निरीक्षक खरेलले जानकारी दिए।
‘त्यहाँ हाम्रो टोली खटिइरहेको छ, दुई जना प्रहरी साथीहरूले पौडिएर पनि खोजेका छन् तर केही भेटिन सकेको छैन,’ उनले भने ।