झापाको विर्तामोडस्थित कनकाई हस्पिटलमा उपचारका लागि ल्याइएकी युवतीको मृत्युपछि अस्पतालमा तनाव भएको छ।
कनकाईमा भर्ना भएकी इलामको सूर्योदय नगरपालिका- ९ फिक्कलकी २१ वर्षीया देविका तामाङको मृत्यु भएपछि शव राखेर आफन्तले बिरोध गरेपछि तनाव भएको हो।
गत बुधबार एपिन्डिसको अप्रेसनका लागि अस्पताल भर्ना गरिएकी तामाङको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ।
एपेन्डिसाइड भएकी तामाङ सुरुमा कनकाई अस्पताल भर्ना भएकी थिइन्। आइतबार बिहानसम्म डाक्टरहरुको टिमले बिरामीको स्थिति सामान्य छ भने पनि बिहान ८ बजे एक्कासि डाक्टरले अवस्था खराब भएको भनी विराटनगर लैजानु भनेको थियो।
बुबा दावा तामाङका अनुसार आइतबार बिहान कनकाई हस्पिटलकै एम्बुलेन्समा राखेर विराटनगरको नोबेल अस्पताल लैजाँदा देविकाको मृत्यु भइसकेको थियो।
सोही विषयलाई लिएर अहिले मृतकका आफन्तले उपचारमा संग्लन डाक्टर सन्तोसकुमार मिश्रलाई कारबाहीको माग गर्दै विराटनगरबाट फिर्ता ल्याएको शवलाई अस्पतालमै राखेर प्रर्दशन गरिरहेका छन्।
हाल कनकाई हस्पिटलको अवस्था तनावग्रस्त रहेको छ भने कनकाईका सम्पूर्ण डाक्टरहरु अन्यत्र गएकाले बिरामीहरुको उपचार हुन सकेको छैन। कनकाई हस्पिटलमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। घटनाबारे अस्पतालले आधिकारिक जानकारी दिएको छैन।