कर्णाली प्रदेशका प्रत्येक टोलमा शान्ति, सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम हुने भएको छ।
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘शान्ति, सुरक्षा अभियान’ अन्तर्गत सबै तहमा सचेतनामूलक कार्यक्रम गर्ने भएको हो।
महिला हिंसा, लागु औषध दुव्र्यसनी, मादक पदार्थ सेवनलगायतका विषयमा प्रदेशका ७९ वटै स्थानीय तहका सबै वडा र टोलमा सचेतनामूलक कार्यक्रम गरिने प्रदेश प्रहरी कार्यालय कर्णालीका प्रमुख प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहले जानकारी दिए। त्यसका लागि अहिले दुई जना प्रहरी र दुई जना नागरिक समाजका प्रतिनिधि गरी १० जिल्लाबाट ४० जनालाई प्रशिक्षकका रुपमा खटाउनेगरी प्रशिक्षण दिने काम भइरहेको उनले जानकारी दिए।
शाहका अनुसार ती ४० जना प्रशिक्षक आ–आफ्नो जिल्लामा गएर १८२ जनालाई प्रशिक्षण दिने छन्। ‘अहिले नागरिक समाज र प्रहरीसहित ४० जनालाई प्रशिक्षकका रुपमा तयार पार्न सुर्खेतमा बोलाएका छौँ’ उनले भने, ‘उहाँहरु गएर जिल्लामा अरु १८२ जना प्रशिक्षक तयार पार्नुहुन्छ, सबै ठाउँमा पुगेर स्थानीयलाई शान्ति, सुरक्षाका विषयमा जागरुक गराउनुहुन्छ।’
अभियनअन्तर्गत प्रदेशका ७९ स्थानीय तहका ७१८ वडाहरुमा महिला हिंसा, लागु औषधका विषयमा सचेतनामूलक कार्यक्रम गरिने डिआईजी शाहले जानकारी दिए। वडाहरुमा भने एक/एक दिने कार्यक्रम सञ्चालन गरिने छ। ‘कर्णाली अपराधका घटना कम हुने प्रदेश हो, तर पछिल्लो समय बढिरहेको छ,’ उनले भने ‘न्यूनीकरणका लािग पहिलो कुरा सचेतना नै चाहिन्छ।’
यही अभियानअन्तर्गत सडक सुरक्षा कार्यक्रम पनि प्रहरीले सञ्चालन गरिरहेको छ। समुदाय प्रहरी साझेदारीअन्तर्गतको सडक सुरक्षा कार्यक्रम विशेषगरी कर्णाली राजमार्गलाई लक्षित गरी सञ्चालन गरिएको छ। जिल्ला सदरमुकामहरुमा पनि सडक सुरक्षा कार्यक्रम चल्ने डिआईजी शाहले जानकारी दिए।
सामाजिक सुरक्षा अभियानअन्तर्गत समुदायलाई सचेत गराउन सञ्चालन गरिने यो कार्यक्रमका लागि सबै ठाउँमा गरी २ हजार ८५५ वटा समिति बनाइएको छ। समुदाय प्रहरी साझेदारीअन्तर्गत जिल्ला समिति, सबै स्थानीय तहमा एक/एक वटा समिति, ७१५ वडा समिति, १ हजार ४८१ टोल समिति र ५७१ विद्यालय समिति बनाइएको शाहले जानकारी दिए। सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत हालसम्म ८ हजार ६१७ वटा शान्ति, सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
विद्यार्थीबीच वक्तृत्वकला
शान्ति, सुरक्षा अभियाअन्तर्गत विद्यार्थीहरुलाई महिला हिंसा, लागु औषध, मादक पदार्थ सेवन लगायतका विषयमा जागरुक गराउन प्रदेशका सबै विद्यालय सहभागी हुनेगरी वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
सबै स्थानीय तहका विद्यालयका विद्यार्थी प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था मिलाइएको शाहले बताए। त्यसका लागि विद्यालयहरुले विद्यार्थी छनोट गरेर पठाउनेछन्। उनका अनुसार स्थानीय तहभरीका विद्यालयबाट छनोट गरी पठाइएका विद्यार्थीबीच शान्ति, सुरक्षाका विषयमा शिर्षक दिएर वक्तृत्वकला गर्न लगाइनेछ।
हिंसाजन्य घटना बढ्दो क्रममा
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार महिला हिंसा, घरेलु हिंसा, लागु औषधसम्बन्धी घटना, मादक पदार्थ सेवनका कारण हुने घटनाहरु बढ्दो क्रममा देखिएका छन्।
आर्थिक वर्ष २०७५/७६ मा २६९ वटा घरेलु हिंसाका घटना भएका छन्। ०७३/०७४ मा १५२ घरेलु हिंसासम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएका थिए भने ०७४/०७५ मा १५४ मुद्दा दर्ता भएका थिए।
लागु औषध दुव्र्यसनीसम्बन्धी आर्थिक वर्ष ०७३/७४ मा ३२, ०७४/७५ मा ३५, ०७५/७६ मा ८५ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यस्तै, मादक पदार्थ सेवनका कारण घटित घटनाहरुमध्ये ०७३/७४ मा ५९०, ०७४/७५ मा ६१२ र ०७५/७६ मा ७४८ घटना दर्ता भएको कार्यालयको तथ्यांक छ।
कार्यालयका अनुसार आर्थिक वर्ष ०७५/७६ मा ६०२ वटा घरेलु हिंसााको घटना दर्ता भएका छन्। घरेलु हिंसाका घटना ०७३/७४ मा ४९७, ०७४/७५ मा ५०२ वटा दर्ता भएको छ।