नेपाली सिनेमाका कालजयी गीतहरू 'के सोचेँ मैले, के भयो अहिले' देखि 'मायाप्रितीको चोखो कथा' र रेडियोका 'भूल हो तेरो भागी हिँड्नु जीवनदेखि डराएर', 'बिर्सूँभन्दा सम्झना पो बल्झेजस्तो छ' वा 'पत्थरको मुटु बोकेर मान्छे तिमी बनी नदेऊ' - गायक किरण प्रधानलाई सम्झने हो भने अनेकानेक सुमधुर गीत छन्।
तर, लामो समयदेखि आफैं हराएर बसिरहेका यी गायक अहिले के गर्दै छन्?
एकदिन अचानक भेट हुँदा उनै किरणले आफ्नो व्यस्तताबारे रोचक जानकारी दिए।
'हामी कलाकारहरू गीत बजुञ्जेल चिनिने र थामिनेबित्तिकै हराउने प्रवृत्तिविरुद्ध काम गर्दैछु,' उनले भने, 'आजसम्मका नेपाली गायक-गायिकाको संग्रहालय बनाउन म आफैंले उनीहरूका मूर्ति तयार पार्दैछु।'
त्यो भेटमै प्रधानले दर्जनभन्दा बढी गायक-गायिकाका मूर्ति आफूले बनाइसकेको जानकारी दिए।
मैले ती मूर्ति हेर्ने इच्छा राखेपछि उनले घर बोलाए।
बालाजु चोकबाट थोरै उत्तर लागेपछि चक्रपथमै एउटा फराकिलो स्कुल देखिन्छ, 'होली गार्डेन बोर्डिङ हाइस्कुल'।
अगाडि स्कुलका साना भवन छन्। भित्र पसेपछि केही अग्ला। तीमध्ये एउटाको माथिल्लो तलामा प्रधान परिवारको बसाइ छ।
'बुबाले २०३३ सालमा यो स्कुल स्थापना गर्नुभएको थियो,' उनले भने, '०४७ मा बुबा बित्नुभएपछि यसलाई मैले नै चलाइरहेको छु।'
दार्जिलिङका जगतनारायण प्रधान शिक्षण पेसामा थिए। उनले त्रिभुवन विश्वविद्यालयमा पढाउने अवसर पाएसँगै त्यो परिवार काठमाडौं आइपुग्यो। साथमा थिए, जेठा छोरा किरण प्रधान।
किरणको गाउने लत पहिलेदेखिकै थियो। काठमाडौं आएपछि झनै बढ्यो। गायन प्रतियोगिता हुँदैछ भन्ने थाहा पाएपछि घरमा कसैलाई जानकारीसमेत नदिई सुटुक्क भाग लिँदा किरण प्रथम भए। सात सय रुपैयाँ पुरस्कारसमेत लिएर आए।
त्यति बेला त्यो ठूलो रकम थियो। आफूलाई डाक्टर बनेको देख्ने इच्छा प्रकट गरिरहेका बुबा त्यो समाचारबाट रिसाउलान् भन्ने किरणलाई लागेको थियो। उनी त उल्टो दंग परे।
किरणको मनोबल झनै बढ्यो।
लगत्तै उनी २०२७ सालमा स्वर परीक्षा दिन रेडियो नेपाल पुगे। उनी आफैंले बनाएको 'मलाई त मेरो डम्फुको ताल मनपर्छ' रेडियो स्टुडियोमा गाउँदै थिए, बाहिर बसेका संगीतकार नातिकाजीले अर्को कुनै चल्तीको गीत गाएर सुनाउन लगाए।
उनले धर्मराज थापाले संकलन गरेको 'कालीपारे दाइ कति राम्रो' गाउन थाले। पहिलो अन्तरा सकिएकै थिएन, नातिकाजीले बाहिरैबाट हात उठाएर 'भयो भयो' भनेर रोकिदिए।
उनलाई गीत बिग्रिएछ भन्ने लाग्यो र अब परिणाम पनि बिग्रने भयो भन्दै बाहिर निस्के।
'आकुल ब्याकुल भएर स्टुडियो बाहिर निस्कँदा त नातिकाजीले ग्वाम्लाङ्ग अँगालो पो मार्नुभयो,' उनी भन्छन्, 'स्वर परीक्षा पास हुनु त छँदै थियो।'
रेडियोमा रेकर्ड 'डेट' पाएपछि पहिलो रेकर्ड पनि त्यही 'मलाई त मेरो डम्फु' भयो।
त्यो बेला रेडियोमा गीत बजेपछि चर्चा सुरु भइहाल्थ्यो। त्यति बेलै एउटा अर्को प्रतियोगितामा किरणले गोपाल योञ्जनको 'लौ सुन म भन्छु मेरो राम कहानी' गाएर सुनाउँदा प्रथम भए। मितज्यू नारायण गोपालले गाएको त्यो गीतलाई यति मिठोसँग गाउने अर्को को रहेछ भनेर खोजी गर्दै योञ्जनले उनलाई घरमै डाकेछन्।
यो २०२९ सालको कुरा। योञ्जनको सन्देश लिएर अर्का गायक पूर्ण नेपाली आएका थिए।
त्यति बेला योञ्जनले गीतको डायरी नै अगाडि राखेर छान्न लगाएको किरण सुनाउँछन्।
किरणलाई 'मायालु हजार हुन्छन्' मनपरेको थियो, तर ध्रुव केसीले गाइसकेका थिए। त्यसपछि उनले छानेको गीत थियो 'भूल हो तेरो'।
त्यो गीतपछि किरण प्रधान स्थापित नाम बन्यो। त्यसबाहेक उनी गोपाल योञ्जन क्याम्पका बलिया सदस्य पनि बने। त्यसपछि 'भञ्ज्याङको डिलमा बसी तिम्रै बाटो हेर्छु म त', 'पत्थरको मुटु बोकेर मान्छे तिमी बनी नदेऊ' जस्ता गीत लगालग आए।
त्यसैगरी 'सम्झना', 'मायाप्रिती'देखि 'अर्को जन्म' सम्मका फिल्ममा पनि उनले गीत गाए।
उनले आफ्नै निर्माण र निर्देशनमा 'कस्तुरी' फिल्मसमेत बनाएका थिए, जसको सुटिङकै दौरान बेलायत पुग्दा नायिका करिश्मा केसी र उनका पति विनोद मानन्धरको भेट भएको थियो।
यसरी गीत, संगीत र फिल्म क्षेत्रमा सक्रिय रहँदै आएका किरणको जीवनमा एउटा घटनाले नयाँ मोड ल्यायो।
२०४७ सालमा बुबाको निधनपछि घरपरिवारको सम्पूर्ण जिम्मेवारी उनको काँधमा आयो। त्यसपछि उनको पूर्णकालीन काम भयो बुबाले छाडेर गएको स्कुल सम्हाल्नु। त्यो बेलादेखि अहिलेसम्मै उनी प्रिन्सिपल छन्।
स्कुलको काममा अल्झिएपछि सांगीतिक क्षेत्रमा उनको सक्रियता घट्दै गयो। फाट्टफुट्ट मात्र उता समय दिन सके, जसले आमश्रोता बीचबाट उनी हराउँदै गए।
२०७१ सालमा उनले फेरि आफूलाई अर्को मोडमा घुमाए।
त्यति बेला लोडसेडिङ चलिरहेको थियो। मैनबत्ती अत्यधिक खपत हुन्थ्यो। मैनको एउटा ठूलो डल्लो हातमा परेपछि प्रिन्सिपल किरणले अफिसमै बसेर त्यसलाई कोतर्न थाले। यसरी कोतर्दै गएको मैनले एउटा चिरपरिचित आकृति पो पायो!
उनले त्यो आकृति अरू शिक्षकलाई देखाए। नभन्दै शिक्षकहरूले पनि ठ्याक्कै चिनिदिए। त्यो आकृति थियो शिर्डी साइबाबाको।
'त्यसअघि मैले मूर्ति बनाउने तालिम त परको कुरा प्रयास पनि गरेको थिइनँ,' उनले भने, 'यसरी मूर्ति बनाउन सक्छु भनेर झन् सोचेको पनि थिइनँ।'
किरणलाई अझ ध्यान दिएर बनाउने हो भने त झनै राम्रो बनाउन सक्छु जस्तो लाग्यो।
अब भने उनले मैनको भन्दा माटोको बनाउने विचार गरे। दुइटा अलग हिस्सालाई जोर्नी नदेखिने गरी जोड्न मिल्ने सुविधा माटोले दिन्थ्यो।
तर, कुनै माटो बनाइसकेपछि विस्तारै थेच्चिँदै पिँधमा थुप्रिएर आकृति बिग्रने हुन्थ्यो भने कुनै माटो सुक्दै चर्कन्थ्यो।
उनले मूर्ति बनाउन उपयुक्त माटोको खोजी गरे। पश्चिमतिरबाट ल्याइएको माटो किलोको छ रूपैयाँका दरले सानोठिमीमा पाइयो। अहिले त्यही माटो पनि किलोको २५ रुपैयाँभन्दा बढी भइसकेको उनले बताए।
यो माटो ल्याएपछि मुछ्नु पनि परेन। ल्याउनासाथ मूर्ति बनाउन मिल्ने गरी गिलो थियो। त्यो माटोमा बनाउन थालेपछि भने आकार अडिन थाल्यो र चर्किने समस्या भएन।
सुरुमा देवीदेवताको मूर्ति प्रयास गरेपछि उनले बनाएको पहिलो कलाकारको मूर्ति उस्ताद साहिँलाको थियो।
त्यहाँबाट सुरु भएको गायक-गायिकाको मूर्ति बनाउने सिलसिला पछिल्लो समय अम्बर गुरुङसम्म पुगेको छ।
यसबीच उनले जनार्दन सम, रानु देवी, नारायण गोपाल, दिव्य खालिङ, तारादेवी, मेलवादेवी, शरण प्रधान, अरुणा लामा, मित्रसेन, सेतुराम र भैरव थापाका मूर्ति बनाइसकेका छन्। गोपाल योञ्जन लगायत कतिपयको मूर्ति भने भुइँचालो बेला क्षति भयो।
यसरी मूर्ति बनाउने बेला ती गायक-गायिकाको अनुहारमा भएको विशेषतालाई ध्यान दिने गरेको किरण बताउँछन्।
'भैरव थापा दाइको पहिचान नै दाहिनेतर्फ थोरै खुम्चिएको आँखामा छ,' उनी भन्छन्, 'त्यसैले उहाँको आँखालाई विचारेर नै मूर्ति बनाएको थिएँ।'
यी मूर्ति बनाउने आधार एउटा संस्थाले केही वर्षअघि तयार पारेको गायक-गायिकाको क्यालेन्डर बन्न पुग्यो।
पहिलो खेपमा सबै दिवंगत गायक-गायिकाको मात्र मूर्ति बनाउने अभियानमा उनी छन्। त्यसअनुसार हाललाई यसरी मूर्तिमा ढालिने एक सय आठ जनाको चयन भइसकेको छ। यो सूचीमा काठमाडौं आएर रेडियो नेपालमा गाउँदै चर्चित भएका मात्र नभई बाहिर जिल्लामा बसेर साधना गरेकाहरूको नाम पनि आफूले संकलन गरिरहेको उनले जानकारी दिए।
मूर्ति बनाइसकेपछि त्यसै राख्ने उद्देश्य किरणको छैन। यसको व्यापक प्रयोग होस् भन्ने उनी चाहन्छन्।
'अहिलेलाई मेरो स्कुलका समारोहमा यसलाई प्रदर्शनीमा राखेर देखाउँदै आएको छु,' उनी भन्छन्, 'पछि यी सबैको एउटा बेग्लै संग्रहालय बनाउने योजना छ।'
संग्रहालयमा मूर्ति मात्र नराखेर ती गायक-गायिकाका परिचय पनि विस्तारमा उल्लेख गर्ने उनी बताउँछन्।
त्यसो त संग्रहालयमै राख्ने भएपछि व्यावसायिक मूर्तिकारलाई नै बनाउन लगाएर अझ परिस्कृत मूर्ति पनि राख्न सकिन्थ्यो। तर, एउटा गायकले आफ्नो मनबाट प्रेरित भएर तयार पारेका गायक-गायिकाको मूर्तिमा बढी भावना जोडिने उनलाई लाग्छ। यसकारण उनी आफैं तयार पार्न चाहन्छन्।
ती मूर्तिमा उनीहरूप्रतिको आफ्नो सम्मान देखियोस् भन्ने उनको चाहना छ।
'नयाँ पुस्तालाई यी पुराना गायक-गायिका को हुन्, कस्तो गाउँथे र के महत्व छ भन्ने न थाहा दिइएको छ, न मतलबै छ,' किरण भन्छन्, 'संग्रहालय खोलेर कलिला विद्यार्थीलाई मूर्तिसहित विस्तृत परिचय दिन सकियो भने सिकाउँदै हुर्काउन सकिन्छ।'
यस्तो सोचाइ किरणमा कसरी विकास भयो?
उनी स्कुलका प्रिन्सिपल। मुड चलेको बेला केटाकेटीलाई लहरै राखेर गीत सुनाउँदा रहेछन्। उनका विद्यार्थी भने तत्काल नाम चलेका भर्खरका गायक-गायिकाको मात्र सिफारिस गर्थे।
'मैले आधुनिक नेपाली संगीतमा संलग्न भएर जे-जस्ता महान गायक-गायिका देख्ने बुझ्ने मौका पाएँ, उनीहरूबारे त अहिलेका केटाकेटीले जानकारीसमेत राख्दा रहेनछन्,' उनले थपे, 'यस्तो अवस्थामा मैले मूर्ति बनाएर संग्रहालयमा राख्ने सपना देखेको हुँ।'
संग्रहालय बनाउँदा मूर्ति र परिचय मात्र नभई सकभर अडियो र भिडियो पनि राख्न सकिने उनी सुनाउँछन्।
'यो सब गर्न ठूलो लगानी जरुरी पर्छ भन्ने थाहा छ,' किरण भन्छन्, 'तर, म गर्छु।'
त्यस निम्ति बालाजुमै यो स्कुलभन्दा अलि पर आफ्नै अर्को जग्गा रहेको उनले सुनाए।
अन्य देशमा यस्तो कामका लागि राज्यले नै ध्यान दिएको हुन्छ। त्यसमाथि अहिले त संगीतको बेग्लै एकेडेमीसमेत छ।
'मेरो योजनामा सरकारी तवरबाट कुनै सहयोग हुनसक्छ भने एकपटक प्रयास चाहिँ गर्छु,' उनले भने, 'भएन भने म आफैंले संग्रहालय तयार पार्ने अठोट लिएको छु।'
गायक किरण प्रधानको आवाज एक-दुई वर्षअघि आयोजित सांगीतिक कार्यक्रममा पनि उत्तिकै मिठासपूर्ण सुनिएको थियो।
उनीभित्रको गायकलाई फेरि जगाउने कुनै योजना छ कि?
'एउटा विन्दुमा पुगिसकेपछि मान्छे त्यो ठाउँबाट विस्तारै पछाडि सर्नुपर्ने संसारकै नियम हो,' उनले भने, 'मैले स्वयंलाई विस्तारै सहज बनाउन थाम्दै लगेको हुँ।'
यति हुँदाहुँदै गायनलाई चटक्कै नछाडेको उनले सुनाए।
'पछिल्लो समय अम्बर गुरुङले कम्पोज गरेका गीतमा काम गर्ने कुराकानी चलिरहेको छ,' किरणले थपे, 'गुरुङका छोरा किशोर र म भएर त्यसको तयारी गरिरहेका छौं।'
त्यसबाहेक अन्य गीत पनि रेकर्डिङ हुने तयारीमा रहेको उनले जानकारी दिए।
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी