चौकीदार र दाइनाइकेको सरूवा गर्नु पर्ने माग गर्दै जिल्ला कारागार सुर्खेतका कैदीबन्दीले कारागारभित्रै आन्दोलन गरेका छन्।
कैदीहरूले मूलगेट भित्रबाट तालाबन्दी गरेका छन्। चौकीदार धिरज पराजुली र दाइनाइकेहरु केशव सारु, नवराज देवकोटा र इन्द्र पुलामीलाई कैदीबन्दीहरूले भित्र पस्न दिएका छैनन्।
चौकीदार र दाइनाइकेले सञ्चालन गरेको मेसमा महंगोमा खाना खुवाउने गरेको, बासी र सडेको भात खुवाउने गरेको, मदिरा सेवन गरेर कैदीबन्दीमाथि कुटपिट गर्ने गरेको उनीहरूको आरोप छ। कैदीबन्दीलाई कुटपिट गर्ने एकजना चौकीदार र तीन जना दाइनाइकेलाई सरूवा नगरेसम्म आफूहरूको आन्दोलन नरोकिने उनीहरूले बताएका छन्।
कैदीबन्दीहरूले शनिबार मध्यरातसम्म नाराबाजी गरेका थिए। कारागारका कैदीबन्दीहरूले आन्दोलन सुरू गरेपछि जिल्ला प्रहरी कार्यालयबाट डिएसपी प्रदीप क्षेत्रीको कमाण्डमा कारागार पुगेको प्रहरी टोलीले समस्या समाधानका लागि वार्ता भइरहेको बताएको छ।
कैदीबन्दीका माग एकिन नभएको जेलर लक्ष्मी खरेलले बताएकी छन्। ‘हामी उनीहरूका मागमाथि छलफल गर्न तयार छौं, अहिलेसम्म माग स्पष्ट छैनन्,’ उनले भनिन्, ‘माग आएपछि वार्तामा बसेर समाधान गर्छौं।’
जेलर खरेलले केही कैदीबन्दीहरुले चौकीदार र दाइनाइकेहरुले सञ्चालन गरेको पसल र मेसमा सामान र खाना महंगो भएको गुनासो गर्ने गरेको बताइन्।
‘शुक्रबार नै मेस सञ्चालक र पसल सञ्चालकलाई मूल्यसूची राख्न कारागार प्रशासनका तर्फबाट निर्देशन दिइएको छ,’ जेलर खरेलले भनिन्, ‘त्यसबाहेकका मागबारे कारागार प्रशासनलाई जानकारी छैन्।’