काठमाडौं, बाफलस्थित ज्ञानोदय स्कुलले केही महिनाअघि स्यानिटरी प्याड झर्ने भेन्डिङ मेसिन राख्यो। एक रूपैयाँको डबल हालेपछि खुत्रुक्क प्याड खस्ने यो मेसिनले छात्राहरूलाई निकै सुविधा भयो।
दुई साताअघि मात्रै तनहुँको आदिकवि भानुभक्त क्याम्पसमा यस्तै मेसिन राखियो। प्याड वितरण गरिरहेका अरू थुप्रै सामुदायिक स्कुलले पनि यो मेसिन राख्न पाए धेरै सुविधा हुने बताउँदै आएका छन्।
ज्ञानोदयले राखेको यो मेसिन कहाँबाट आयो? कसले ल्यायो? कति पर्छ?
यसबारे हामीले ज्ञानोदयमै मेसिन राख्न सहयोग गर्ने गान्धी इन्टरनेसनल मिसन नेपालसँग सोध्यौं।
संस्थाकी स्वास्थ्य संयोजक डा. अंकिता अग्रवालले यो मेसिन भारतबाट ल्याएको जानकारी दिइन्। उनका अनुसार राजस्थान राज्यले सन् २०१६ देखि विभिन्न अस्पतालमा यस्तो भेन्डिङ मेसिन राख्न सुरू गरेको थियो। एक वर्षपछि केरलाका सबै स्कुलमा राज्य सरकारले नै भेन्डिङ मेसिन जडान गर्यो।
यो वर्ष ६९ औं गणतन्त्र दिवसको छेको पार्दै पश्चिम रेल्वे स्टेसनले यस्तै भेन्डिङ मेसिन जडान गरेको छ। स्टेसनले आफ्ना ६ वटा शाखामा पनि राखेको छ।
छिमेकी देश भारतले महिलाका निम्ति यो सुविधा दिँदै आएको डा. अग्रवालले युट्युबबाट थाहा पाएकी थिइन्।
'मलाई यसबारे थाहा थिएन। एकदिन युट्युब चलाइरहेका बेला मेसिनको भिडियो हेरेँ। भारतमा व्यापक प्रयोग भइरहेको रहेछ,' अग्रवालले भनिन्, 'पछि साथीहरूलाई सुनाएँ। उहाँहरूले पनि हेरेपछि त्यसैलाई आधार बनाएर मगाएँ।’
अग्रवालआबद्ध संस्थाको काम स्त्री रोगबारे गाउँगाउँमा सचेतना कार्यक्रम गर्नु हो। उनीहरूले स्वास्थ्य शिविर र महिनावारी बेला आवश्यक प्याड, साबुन, पेन्टी लगायत वितरण गर्दै आएका छन्।
'यही क्रममा मैले प्याड भेन्डिङ मेसिन ल्याउने निर्णय गरेँ,' संस्थाकी स्वास्थ्य संयोजक अग्रवालले भनिन्, 'मेसिन त ल्यायौं। तर के गर्ने, कहाँ राख्ने भयो। सजिलो हुने स्कुल खोज्यौं। साथीको ममी ज्ञानोदयमा पढाउनु हुन्थ्यो। त्यहीँ राख्यौं।'
उनीहरूलाई मेसिन कसरी चलाउने थाहा थिएन। 'युजर म्यानुअल' हेरेर सिके।
'अहिले राम्रो प्रतिक्रिया पाइरहेका छौं,' उनले भनिन्।
ज्ञानोदयले मेसिन राखेको पाँच महिना भयो। प्याड र मेसिन राखेपछि स्कुलको अनुभव फेरिएको छ। महिनावारीकै कारण छात्राहरू स्कुल नआउने क्रम घटेको छ। अरू स्कुलले पनि मेसिन माग्न थालेको उनले बताइन्।
'मेसिन राखेपछि हामी आफैं प्रतिक्रिया लिन स्कुल गएका थियौं,' डा. अग्रवालले भनिन्, 'सबै केटीहरू खुसी थिए। महिनावारी हुँदा कुनै समस्या नभएको बताए।'
अग्रवालले अहिलेसम्म आफैं पैसा तिरेर चारवटा मेसिन किनिसकेकी छिन्। थुप्रै ठाउँबाट माग आए पनि व्यक्तिगत रूपमा किनेर दिन सहज छैन। यो मेसिनको मूल्य झन्डै ५० हजार रूपैयाँ पर्छ।
उनका अनुसार भारतमा ४० हजार रूपैयाँ परे पनि नेपाल आइपुग्दा ५० हजार हाराहारी पुग्छ। भन्सार कर लगायतले मूल्य बढ्ने उनी बताउँछिन्।
'भन्सार मात्र दस हजार पर्छ। महिलाको स्वास्थ्य र सुविधासँग जोडिएको आधारभूत कुरामा भन्सार तिर्न नपर्ने भए सहज हुन्थ्यो,' उनले भनिन्, 'अलिकति सस्तो पर्छ भनेर अब चीनबाट मगाएकी छु। ४० हजार जति पर्छ। केही दिनमै आइपुग्दैछ।'
ज्ञानोदयपछि उनले भैरहवाको रोटरी क्लबको आग्रहमा मेसिन पठाइसकेकी छिन्। तनहुँको आदिकवि भानुभक्त क्याम्पसमा लायन्स क्लब अफ काठमाडौंको समन्वयमा राखिएको हो। विशेषगरी स्कुलहरूले मेसिन राखिदिन आग्रह गर्दै फोन गरिरहेका उनले सुनाइन्। आफ्नो पहलमा अहिलेसम्म दस ठाउँमा मेसिन राखिएको उनले बताइन्।
‘हामी सबैतिर राख्न त सक्दैनौं। किनेर राखिदिने सहयोगदाता खोजिरहेका छौं,' उनले भनिन्।
मेसिन सहुलियत दरमा उपलब्ध गराउन पाए धेरैले फाइदा लिनसक्ने उनको भनाइ छ। नेपालमै यस्तो मेसिन बनाउन सकिन्छ कि भनेर इलेक्ट्रोनिक इञ्जिननियर साथीहरूसँग छलफल गरिरहेकी छन्।
‘स्कुल, चोक, बस स्ट्यान्ड, सपिङ मल, फिल्म हल, विमानस्थल लगायत ठाउँमा राख्ने हो भने धेरै सहज हुन्थ्यो,' उनले भनिन्, ‘मेरा केही इञ्जिनियर साथीहरूले यसलाई सस्तो बनाउने प्रयास गर्दै हुनुहुन्छ।'
उनका अनुसार चीनबाट मगाइएको मेसिन कसरी बनेको छ भनेर उनीहरूले हेर्नेछन्। कुन-कुन पार्टपूर्जा कहाँ-कसरी जोडिएका छन् भन्ने निश्चित गरेपछि यहीँ बनाउन सकिने उनका साथीहरूले बताएका छन्।
'भारतमा पनि चीनबाट पार्टपूर्जा लगेर जोड्ने हुन्। एसेम्बल मात्र गर्न सकियो भने सस्तो पर्ला भन्ने अनुमान हो,' अग्रवालले भनिन्, 'तर धेरै मात्रामा यसरी बनाउन पनि ठूलै लगानी चाहिन्छ। कसले गरिदिएला भन्ने सोचिरहेका छौं।'
गाउँका मात्र होइन, सहरकै स्कुलमा यो आवश्यक रहेको उनी बताउँछिन्। काठमाडौंका ठूला निजी स्कुलमा मेसिन राख्न कुनै समस्या नहुने उनको भनाइ छ।
'जहाँका भए पनि छात्राको समस्या उही हो,' उनले भनिन्, 'मुखले भनेर माग्नुभन्दा मेसिनबाट प्याड झिक्नु उनीहरूलाई सुविस्ता हुन्छ। निजी स्कुलका लागि यो लागत धेरै पनि होइन। आफैं राख्न सक्छन्।'
आम्दानी भएका सामुदायिक स्कुलले पनि आफैं पहल गरेर छात्राहरूलाई स्वस्थ्य र सफा महिनावारी अनुभूति दिन सक्छन्। आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा स्कुले छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने घोषणा भएको छ। योसँगै मेसिन पनि हुने हो भने महिनावारी समयमा छात्राहरू गयल हुने समस्या रोकिनेमा विश्वस्त रहेको डा. अग्रवाल बताउँछिन्।
'उनीहरू शारीरिक र मानसिक दुवै रूपमा सफा र स्वस्थ्य रहन सक्छन्,' अग्रवालले भनिन्।