हुम्लाबाट दुई जना सुत्केरी महिलाको उद्दार गरी सुर्खेत ल्याइएको छ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा बुधबार चंखेली गाउँपालिकाको मेल्छम स्वास्थ्य चौकीमा कार्यरत ३३ वर्षीया अनमी निशा नेपाली र ३५ वर्षीया राजकला महतारालाई हेलिकप्टरमार्फत् उद्दार गरिएको हो।
बिहान निशालाई र दिउँसो महतारालाई हेलिकप्टरमार्फत् सुर्खेत ल्याइएको हो। घोराही नगरपालिका–१५ निवासी निशा हुम्लाको चंखेली गाउँपालिकास्थित मेल्छाम स्वास्थ्य चौकीमा अनमीको रूपमा कार्यरत छिन्। उनको गर्भपतन गराउँदा अत्यधिक रक्तश्राव भएको थियो।
राजकला महतारालाई बुधबार हिजो साँझ सुत्केरी व्यथा लागेको थियो। तर उनको ‘सालनाल’ पहिले खसेका कारण बच्चा जन्माउन सकेकी थिइनन्।
राजकला र निशाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । साविकको कर्णालीका जिल्लाहरूबाट गत आर्थिक वर्षमा ७ जना सुत्केरीको हेलिकप्टरमार्फत् उद्दार गरिएको थियो। यस वर्ष हालसम्म १६ जनाको उद्दार गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।