खानी मजदुरको पहिरनले संसारको फेसन इतिहासमै क्रान्ति ल्याउला भन्ने कसले सोचेको थियो?
हामी कुरा गर्दैछौं, जिन्सको।
सन् १८५३।
जर्मनमा एक जना कपडा व्यापारी थिए– लेभी स्ट्रेस। उनी कपासबाट बनेका कपडा कारोबार गर्थे।
उनका नियमित ग्राहकमध्ये एक थिए, अमेरिकाको नेभाडाका ज्याकब डेभिस। दर्जी पेसा गरिरहेका ज्याकब त्रिपाल र कम्मलजस्ता सामान बनाउँथे।
त्यही समय ज्याकबलाई सान फ्रान्सिस्कोमा खानी मजदुर निम्ति बलियो प्यान्ट बनाउने अर्डर आयो। उनले लेभी स्ट्रेसले उत्पादन गर्ने कपासको कपडा प्रयोग गरेर बाक्लो प्यान्ट बनाए।
नभन्दै खानी मजदुरहरूमा त्यो प्यान्ट लोकप्रिय भयो। उनीहरूले लगाउन सजिलो माने।
नयाँ ढाँचाको प्यान्ट लोकप्रिय भएपछि ज्याकबले कपडा उत्पादक लेभीलाई चिठी लेखेर आपसी साझेदारीमा कारखाना खोल्ने प्रस्ताव राखे।
लेभी र ज्याकबको यही साझेदारीबाट जिन्सको व्यावसायिक उत्पादन सुरु भयो।
आज डेढ सय वर्षपछि पनि जिन्सको लोकप्रियता घटेको छैन, बरु बढेको बढ्यै छ।
हामी जिन्सबिना फेसनको परिकल्पना गर्न सक्दैनौं। युवायुवती होस्, प्रौढ वा केटाकेटी– सबै उमेरमा जिन्सका पहिरन लोकप्रिय छन्। बच्चादेखि बूढासम्म यसको ‘क्रेज’ छ।
‘डेनिम’ कपडाबाट बन्ने जिन्सको नाम इटालीको ‘जेनोवा’ सहरबाट राखिएको हो।
डेनिम कपडा टिकाउ र नरम हुन्छ। लगाउन सजिलो हुन्छ, जता पनि फिट रहन्छ र कहिल्यै पुरानो देखिन्न। त्यही भएर जिन्स संसारभरिको सदाबहार पहिरन बनेको छ।
पहिरन जति सदाबहार हुन्छ, यसमा प्रयोग हुने डिजाइन उति फेरिइरहन्छ।
जिन्स पनि त्यस्तै छ। बढ्दो मागसँगै यसमा प्रयोग हुने स्टाइल क्रमिक रूपले परिवर्तन भइरहेको पाइन्छ। वर्षैपिच्छे डिजाइन फेरिनु नै जिन्सको विशेषता हो।
यसको डिजाइन यति विशिष्ट हुन्छ, हामी त्यही आधारमा वर्ष छुट्टयाउन सक्छौं।
जस्तो– सुरुमा जब जिन्स लोकप्रिय हुँदै गयो, ‘बक्सी जिन्स’ फेसनमा थियो। सन् १९५० दशकभरी यो डिजाइन ‘हिट’ रह्यो। १९६० दशकमा आएर जिउमा टपक्क टाँसिने जिन्सले बजार लियो। खासगरी हिप्पीहरूले यो डिजाइन लोकप्रिय बनाए।
यही क्रममा ‘बुटकट’, ‘बेलबटम’, ‘फ्लार्ड' र ‘ब्यागी’ जिन्सले पूरै ९० दशक ओगट्यो। हलिउडका चर्चित कलाकारहरू यही डिजाइनमा सजिएर रेड कार्पेटमा ओर्ले।
जिन्स डिजाइनको अन्तर्राष्ट्रिय लहरबाट नेपाल पनि अछुतो रहँदैन।
विदेशमा आउने नयाँ ट्रेन्ड सिनेमा, टेलिशृंखला, म्युजिक भिडिओ र पछिल्लो समय फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालहरूबाट तुरुन्तै नेपालमा फैलिन्छ।
हामीले नेपालकै बजारमा जिन्सको ट्रेन्ड हेर्ने हो भने यसको डिजाइन समयक्रममा दोहोरिने गरेको पाउँछौं।
कुनै बेला ‘बुटकट’ र ‘बेलबटम’ जिन्स सर्वाधिक चलेका बेला ‘स्किनी’ जिन्सले तिनलाई प्रतिस्थापन गर्यो। तर, दस–पन्ध्र वर्षको अन्तरालमै ती दुवै जिन्स फेरि फेसनमा छाउन थालेका छन्।
कुनै समय लोकप्रिय रंगीन जिन्स पनि बीचमा केही समय हराएर फेरि ट्रेन्डमा आएको छ।
त्यस्तै, पहिले पुरुषले खुकुलो र महिलाले टाइट जिन्स लगाउने चलन थियो। अहिले त्यो उल्टिएको छ।
संगीतकर्मीहरूले पुराना गीतमा नयाँ धुन भरेर रिमिक्स बनाएजस्तै पुराना डिजाइनको लुगामा हल्का परिवर्तन गरेर नयाँ शैली दिनु फेसन ट्रेन्ड नै हो। जिन्सका डिजाइनर यसलाई नियमित रूपले पछ्याइरहन्छन्।
‘मानिसहरू हरेक कुरामा परिवर्तन देख्न चाहन्छन्, सँगसँगै नयाँ डिजाइनमा पुरानो शैलीको झलक पनि खोज्छन्,’ फेसन डिजाइनर तरुनिका महतो भन्छिन्, ‘लुगामा मात्र नभई गाडी र जीवनशैलीमा पनि ‘भिन्टेज लुक’ को माग बढ्दो छ।’
मान्छेको यही चाहनाले समयक्रममा पुराना डिजाइन फर्कने गरेको उनले बताइन्।
फेसन डिजाइनिङमा तरुनिकाको बीस वर्ष लामो अनुभव छ। उनले थुप्रै चर्चित कलाकारसँग काम गरिसकेकी छन्। नेपालको फेसन र त्यसमा आएको परिवर्तनलाई नजिकैबाट नियालेकी छन्।
उनका अनुसार लुगाको डिजाइन कहिल्यै हराएर जाँदैन, एक न एकदिन फर्केर आउँछ।
जसरी जिन्सका डिजाइन घरिघरि फर्केर ट्रेन्डमा आउँछन्, अन्य लुगामा पनि त्यही लागू हुने उनको भनाइ छ।
यही आधारमा फेसन जगतलाई सधैं अन्यौलपूर्ण मानिन्छ। आज ‘हिट’ डिजाइन कतिबेला ‘फ्लप’ हुन्छ, कसैले भन्न सक्दैन। फेसन पारखीहरूको रुचि र बजारको लहर पक्रेर आफूलाई त्यसमा ढाल्नु डिजानरहरूका निम्ति सधैं चुनौतीपूर्ण हुने तरुनिका बताउँछिन्।