उनको तस्बिर नेपालको इतिहासमै पहिलो 'प्रेस फोटो' हो भनेर सर्वत्र जानकारी फैलियो।
फोटो प्रकाशन भएको झन्डै सय वर्ष पुग्न लाग्दा पनि गोरखापत्रको क्याप्सनमा उल्लिखित वीरगन्जकी 'सूर्यमती श्रेष्ठेनी' को हुन् भन्ने अझै सार्वजनिक भइसकेको थिएन।
गोरखापत्रमा उक्त तस्बिर प्रकाशन भएको मिति अर्थात् विक्रम सम्बत १९८४ वैशाख १३ गतेलाई आधार बनाएरै बर्सेनि ‘राष्ट्रिय फोटो पत्रकारिता दिवस’ मनाइन्छ। यसपालि पनि तीन दिनअघि त्यो दिवस मनाइने बेला 'श्रेष्ठेनी'को तस्बिरसहित थुप्रै समाचार विभिन्न पत्रपत्रिकामा प्रकाशित भए।
तस्बिरकी नायिकाबारे भने यसपालि पनि सबै मौन थिए। किनभने, उनको परिचय अझै पत्तो लाग्न बाँकी थियो।
सन्तान नभएकी सूर्यमतीबारे अगाडि आएर बोलिदिने पनि कोही भएनन्।
यसैबीच वीरगन्जस्थित मेरै घरका ९५ वर्षीय छिमेकी शम्भुबहादुर श्रेष्ठको फेसबुक म्यासेन्जरबाट दुई दिनअघि सन्देश प्राप्त भयो। श्रेष्ठ लामो समय अमेरिका बसाइपछि नेपाल आएका हुन्। उनले एक अनलाइन पत्रिकामा छापिएको उक्त समाचारको लिंक राख्दै मलाई लेखेका थिए–
‘यो फोटो मेरी ठूली दिदी सूर्यमती श्रेष्ठको हो। बुबाले चर्खा प्रचारको सिलसिलामा त्यतिखेर गोरखापत्रमा पठाउनुभएको फोटो हो। तुल्सीमेहरज्यू पनि त्यतिबेला चर्खा प्रचारमा हुनुहुन्थ्यो। त्यतिबेला म तीन वर्षको थिएँ। महात्मा गान्धी रक्सौल आउनुभएको थियो। यो फोटो हाम्रो बारीमा खिचेको हो। बुबाले आफ्नो डायरीमा लेख्नुभएको कुरासँग पनि यो त्यतिबेला छापिएको समाचारसँग मिल्न आउँछ।’
जसको आँगन र छतमा खेलेर मेरो बाल्यकाल बित्यो, त्यो परिवारमै यस्तो रोचक कथा छ भन्ने मैले भेउसमेत पाएको रहेनछु।
म तत्काल शम्भुबहादुर श्रेष्ठलाई भेट्न पुगेँ। यसबीच मेरा टोले हजुरबुबाको आवाजसमेत फेरिएर आधा ध्वनी र आधा स्वास मिसिएर निस्कन थालिसकेको रहेछ।
‘नौ वर्ष पुगेकै बेला बेलविवाह पनि नगराई बाले दिदीको बिहे र मेरो पास्नी एकसाथ गराउनुभएको थियो,’ शम्भुबहादुरले सम्झे, ‘यसरी विक्रम सम्बत १९८१ सालमा बनारसको धनाढ्य मानिने बनारसी दास साहु खलकमा दिदीको बिहे भएको थियो।’
यति भनिसकेपछि श्रेष्ठले आफ्ना पिता तुलसीबहादुरले लेखेको डायरी अघि सारे। कतै अक्षर देखिने त कतै फिक्का भइसकेका डायरीमा उनका पिताले लेखेका रहेछन्–
‘१९८१ साल माघ महिनामा वेद शास्त्रअनुसार प्रथम पुत्री सूर्जमतीको कन्यादान गरेँ। जात परमीनहरूलाई भोज खुवाउँदा अघिको चाला मासु रक्सी खुवाउन माफी लिई साधारण देवभोज गराइयो।’
यसरी बिहे गरेर बनारस पठाएकी दिदी उता पुगेलगत्तै विधवा भइन्। त्यतिबेला बालखै रहेका शम्भुबहादुरलाई त्यसबारे विस्तारमा थाहा छैन। न त पिताको डायरीमा यसबारे उल्लेख छ।
‘विधवा हुनेबित्तिकै ठूलोबुबाको छोरालाई बनारस पठाएर दिदीलाई माइती ल्याइयो,’ श्रेष्ठले भने, ‘त्यसपछि दिदीको बसोबास वीरगन्ज रेशमकोठीस्थित हाम्रो तत्कालीन घरमै भयो।’
हाल गोश्वारा रोडमा बसोबास रहेको श्रेष्ठ खलकको भक्तपुरदेखि वीरगन्जसम्मको यात्रा पनि संघर्षपूर्ण रहेछ।
वीरशमशेर प्रधानमन्त्री रहेकै बेला भक्तपुर थांला छेँका पुनवीर ख्वाँयजु विसं १९४८ मा मधेस झरेका रहेछन्। पुनवीर शम्भुका बाजे हुन्। उनी सुरूमा पर्सा जिल्लाको जगरनाथपुर पुगे। त्यसपछि जसौली रामपुरमा खेतीपाती गर्न थाले। पुनवीरभन्दा पहिल्यै उनका जेठा दाजु धीर्जवीर यता आएर उक्त गाउँको जिम्दारी सम्हालिसकेका थिए। पल्टनका सुवेदार धीर्जवीर नापीको सिलसिलामा मधेस आएर यतै बसेका थिए।
‘हजुरबा पुनवीरसँगै मधेस झर्दा मेरा बा तुलसीबहादुर केवल एक वर्षको हुनुहुन्थ्यो,’ शम्भु भन्छन्, ‘उहाँ गाउँमै हुर्किनुभयो।’
विसं १९६१ मा पुनवीरले छोरा तुलसीबहादुरलाई पढाउन वीरगन्ज रेशमकोठीमा घरजग्गाको बन्दोबस्त गरेरै पठाए।
‘हाम्रो घरकै पछाडि उतिबेलाको प्रसिद्ध दुईतले लालघर थियो,’ शम्भु सम्झन्छन्, ‘रेशमको बजारै लाग्ने यस स्थानमा आउने बंगालीहरू त्यसै घरमा बस्थे।’
वीरगन्ज आएर बसोबास थालेका शम्भुका पिता तुलसीले आफ्नो थर ख्वाँयजु छाडेर श्रेष्ठ लेख्न सुरू गरे।
रेशमकोठीमा बस्दाबस्दै तुलसीको बिहे १५ वर्षको उमेरमै भएछ। कुनै समस्या आएरै उपत्यकाबाट दार्जिलिङको खर्साङ पुगेको नेवार परिवार फर्केर वीरगन्ज पुगेका रहेछन्। अलखियामठस्थित हाल केडिया निवास भएकै स्थानमा बसोबास गर्दै आएको त्यसै परिवारसँग तुलसीको लगनगाँठो जोडिएको थियो।
वीरगन्जमा तुलसीले कचहरीको काम गर्न थाले। माल कचहरीमै नोकरी लागेपछि एकपटक हेटौंडा रसद गोदाम पनि पुगेका थिए। त्यहाँ नौ महिना बसेपछि बिरामी परे र बयलगाढामा वीरगन्ज फर्के। त्यसपछि कलैया मालमा सरुवा भई गएका थिए।
त्यतिबेला भारतमा महात्मा गान्धीको प्रभाव फैलिसकेको थियो। अझ विशेषगरी नील सत्याग्रहका कारण बिहारको चम्पारण गान्धीमय बन्दै थियो।
यस्तो अवस्थामा गान्धीको प्रभाव परेका तुलसीबहादुरले चर्खा प्रचार अभियानमा आफूलाई होम्ने निधो गरे। उनी सबैथोक छाडेर यसैमा लागे। कपासको खेती गर्ने, चर्खा चलाउने, विभिन्न ठाउँमा प्रदर्शन गरेर यसको प्रचारप्रसार गर्ने र चन्दा उठाउने।
तुलसीबहादुरको डायरीमा लेखिएको छ–
‘१९८२ सालमा देश तर्फबाट चर्खा प्रचारको काम सिकी आउने मेरा सजातीका सुपात्र भाइ तुलसीमेहरजी आउनुहुँदा हामी अघिदेखि चर्खाको काम गर्दै आएको भएता पनि निज चैत्र मासमा २५–२६ दिन बस्दा चर्खा धनुको केही काम बताई नेपाल (काठमाडौं) जानुभयो।’
ललितपुरका तुलसीमेहर श्रेष्ठलाई तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले राजनीति गरेको अभियोगमा दुई हजार रुपैयाँ जरिवानासहित डाँडा कटाउने फैसला गरेका थिए। जरिवाना तिर्न नसक्ने भनेर श्री ३ सँग माफी मागेपछि तुलसीमेहरकै इच्छाअनुसार उनलाई सीप सिक्न उपत्यका छाडेर जाने अनुमति दिइयो। यसरी बाहिरिएका तुलसीमेहर भारतको गुजरातस्थित महात्मा गान्धीले स्थापना गरेको सावरमती आश्रम पुगे।
शम्भुलाई केटाकेटी छँदा तुलसीमेहरले सुनाएअनुसार सावरमती आश्रममा धेरै दिन ढुकेर बसेपछि उनलाई कपडा धुने काम दिइएको थियो।
यसरी कपडा फिट्दै गर्दा एकदिन गान्धीको नजर उनीमाथि परेछ। एकाग्र भएर काम गरिरहेका तुलसीमेहरले फिटेको कपडामा एकसुरले तालबाजाको प्रभावजस्तो आएको देखेपछि गान्धीले उनीमाथि रुचि राख्न थालेछन्। त्यसपछि विस्तारै गान्धीको विश्वास जित्दै गएका उनलाई गान्धीले आफ्नो अन्यत्र भ्रमणमा पनि समावेश गराउन थाले।
त्यसै क्रममा विक्रम सम्बत १९८२ मा नेपाल गई चर्खा प्रचार गर्न गान्धीले दिएको आदेशमुताबिकै तुलसीमेहर वीरगन्ज आइपुगेका थिए। त्यहाँ चर्खा प्रचारकै काम गर्दै आएका तुलसीबहादुरको परिवारसँग केही दिन बसे।
तुलसीबहादुरले नै तुलसीमेहरलाई काठमाडौं प्रवेश निम्ति बिन्तीपत्र लेखिपठाए। अनुमति आएपछि राहदानी बनाउने काम पनि तुलसीबहादुरले नै गरिदिए। त्यसपछि तुलसीमेहर काठमाडौं पुगे र चर्खा प्रचारको काम सुरू गरे।
‘यो भ्रमणसँगै तुलसीमेहर र हाम्रो परिवार एउटैजस्तो बन्न पुग्यो,’ शम्भु सम्झन्छन्, ‘उनी जतिपटक ओहोरदोहोर गर्दा पनि वीरगन्ज आउँदा हाम्रै घरमा बस्थे, काठमाडौं जाँदा बुबा उनकै आश्रममा बस्नुहुन्थ्यो।’
काठमाडौं पुगेका तुलसीमेहरले १९८३ वैशाख १ गते ‘श्रीचन्द्रकामधेनु चर्खा प्रचारक महागुठी’ को विधिवत स्थापना गरे। यसरी यो कामले वैधानिकता पाएपछि यता वीरगन्जमा तुलसीबहादुरको पनि आँट बढ्यो।
‘काठमाडौंबाट बेलाबेला महाराजहरूको हात्तीमा वीरगन्ज सवारी हुन्थ्यो,’ शम्भु सम्झन्छन्, ‘मेरा बा आफ्ना कार्यकर्ताहरू समेत लिएर बाटैमा चर्खाले कपास कात्दै प्रदर्शन गर्ने र चन्दा सहयोग संकलन गर्ने कामसमेत गर्नुहुन्थ्यो।’
यसरी तुलसीबहादुरको चर्खा अभियानले गति लिइरहेकै बेला बनारसबाट विधवा भई आएकी छोरी सूर्यमतीले पनि चर्खा प्रचारमार्फत् समाज सुधारको काममै आफूलाई लगाउने निधो गरिन्।
तुलसीबहादुरका कुल सात सन्तानमध्ये जेठी सूर्यमतीपछिका दुई छोरीको जन्मनासाथ मृत्यु भएको थियो भने चौथो सन्तान शम्भु भर्खर तीन वर्षका थिए।
त्यसपछि जन्मिएकी छोरी शारदाको मुम्बईमा बिहे भएको थियो। छैठौं सन्तान अर्थात् छोरा रामका सन्तानको वीरगन्जमै बसोबास छ। सबैभन्दा कान्छी छोरी महालक्ष्मीको भने हालै दिवंगत कम्युनिस्ट आन्दोलनकै वरिष्ठ नेता कृष्णदास श्रेष्ठसँग बिहे भएको थियो।
बनारसबाट छोरी विधवा भई माइत आउँदा तुलसीबहादुरका दुई सन्तान अर्थात् सूर्यमती र शम्भु मात्र थिए।
यस्तोमा एकदिन तुलसीबहादुरलाई चर्खा प्रचार निम्ति एउटा अनौठो उपाय दिमागमा आयो।
‘त्यो ताका अहिलेका जस्ता क्यामरा हुँदैन थिए,’ शम्भु सम्झना गर्छन्, ‘भारततिरबाट ठूल्ठूला बाकसजस्ता क्यामरा बोकेर घुमुवाहरू डुल्दै सहरमा आइपुग्थे।’
ठीक त्यतिबेलै अर्थात् विक्रम सम्बत १९८३ मंसिर २७ गते तुलसीबहादुरको डायरीमा यसो लेखिएको छ–
‘बिहान ९ बजे भात खाई निस्की पहिले जुगेश्वरप्रसादको दोकानमा गै निजसँग श्री चन्द्रकामधेनु चर्खाका बारेमा चन्दाको विषय कुरा गरी तहाँबाट जनार्दनको छोरा जगतमोहनकहाँ गएँ। तहाँ कुरा गरी सरासर घर आएँ। घर आई कपासको बारी सफा गराई सडक र कपाससमेतमा पानी छर्न लगाई फोटो खिचनेलाई बोलाउन लगाई छोरी सूर्यमती देवीलाई चर्खा चलाउन लगाई कपाससमेतको फोटो खिचाई सो काम तामिल भै सक्दा तहाँबाट हुलाकमा चिठ्ठी राख्न गै चिठ्ठी राखी घर फर्कि आएँ।’
‘त्यतिबेला म सानै थिएँ,’ शम्भुबहादुर भन्छन्, ‘बाको सबै काम विधवा भई आएकी दिदीले नै सघाइदिने भएकाले दिदीलाई नै राखेर फोटो खिचाइएको थियो।’
त्यसलगत्तै पुस १० गतेको डायरीले भन्छ–
‘धरिछन प्रसाद, राजालालकहाँ तस्वीर ली गै पाटन शंखमूलघाटमा तुल्सीमेहरजीलाई बुझाइ दिने भनी सानो ठूलोसमेत तस्बिर ४ दिँदा भोटाहिटी बस्ने लक्ष्मीप्रसाद प्रधान कपडा जुत्ता कारखानाका नाउँमा चलान गराई पठाई तहाँबाट बजारमा घुम्दै बेलुका ६ बजे घर आएँ।’
अर्थात्, त्यो तस्बिर वीरगन्जबाट पठाएर काठमाडौंमा तुलसीमेहरको हातमा पारिएको रहेछ।
तुलसीमेहरको हातमा पुगेलगत्तै त्यो तस्बिर प्रकाशन भएनछ। सुरुमा त्यसबारे छोटो समाचार मात्रै गोरखापत्रमा छापिएको रहेछ।
१९८३ पुस २७ गतेको गोरखापत्रमा यसो भनिएको छ–
‘वीरगन्जमा गएको मार्ग २७ गतेका दिन १ बजेका टायममा यही बस्ने तुलसीबहादुर श्रेष्ठले सूर्यमती भन्ने वर्ष १२ की आफ्नी छोरीलाई आफ्नै घरअगाडि यसै सालमा रोपिएका कपास बारीमा राखी श्री चन्द्रकामधेनु चर्खाबाट धागो कात्न लगाई फोटो खिचाएको रहेछ।’
अध्येताहरूका अनुसार त्योताका गोरखापत्रमा चर्खासँग जोडिएका विभिन्न गतिविधिका समाचारले असाध्यै प्राथमिकता पाउने गरेका थिए।
यसरी पुस २७ गते काठमाडौंमा छापिएको गोरखापत्र माघ १ गते वीरगन्ज पुग्दा तुलसीबहादुरको डायरी यसो भन्छ–
‘आज सबेरै ४ बजे उठी गिताको छठ्ठा अध्यायको प्रथम स्लोक पाठ गरी तेसपछि छ बजेदेखि सात बजेसम्म नित्यकर्म गरी चर्खा चलाई बस्दा यार (मित) मुनीलालका मानिस आई बोलाई लाँदा तहाँ एक तमसुक लेखी दस्तुर आठ आना ली घर आएँ। घर आई भात खाई चर्खैको काममा लागिरही ३ बजेका बखत श्रीपुर साहेबज्यूहरूकहाँ चर्खा धनु लगी ५ बजेसम्म काम गरी देखाउँदा राजाहरूबाट चर्खा पछि लिन पठाउला भनी मर्जी हुँदा घर आएँ साथमा सुकदेव पनि थियो।
घर आयापछि यै मितिमा गोरखापत्र आयाकोमा हेर्दा कपास खेतीको र छोरी सूर्जमतीका फोटो र वीरगन्जमा प्राप्त भयाका चन्दा र श्री चन्द्रकाम धेनुका मुद्दार्थ समेतका बारेमा लेख भै आयाको पढ्दा यस्मा महापवित्र चर्खाको कार्यमा सर्कारको पुरा विचार यहायता भयाको सम्झी बहुत आनन्द भयो। यो कार्य ईश्वरले बढाउन् र यो देश वस्त्रको सुखी हुन् भन्ने मेरो महा स्मरण भयो।’
तुलसीबहादुरले त्यसपछि उक्त गोरखापत्र लगेर वीरगन्जका विभिन्न जमघटहरूमा पढेर सुनाएको र यसले चर्खा अभियानलाई अब मद्दत पुग्नेमा दंग परेका सन्दर्भहरू उल्लेख गरेका छन्।
त्यसलगत्तैको डायरी भने महात्मा गान्धीको रक्सौल भ्रमणमा प्रवेश गरेको छ।
नील सत्याग्रहको दस वर्षपछि अर्थात् १९८३ माघ ९ गते गान्धी रक्सौल आएका थिए। त्यतिबेला मोतिहारी, बेतिया, रक्सौल लगायत स्थान आएर गान्धीले चम्पारण विद्रोहका सम्झना गरेको विवरण उनका जीवनी पुस्तकहरूमा पनि उल्लेखित छ।
त्यो घटनालाई तुलसीबहादुरको डायरीले भने यसरी लेखेको छ–
‘मेरा स्त्री, छोरी सूर्जमती, छोरा शम्भु, भतिजा गणेश औ सुकदेव, हिराकाजी, रतनकाजी, निजको आमासमेत साढे ६ बजे सभामा गै बसे। पौने सात बजे महात्मा (गान्धी) जी सभामा आए। मैले, सूर्जमती, गणेशले चलाया चर्खा र सुकदेवले चलायाको धनु हेरी बहुतै खुशी भै पछि सूर्जमतीले सुत लगी महात्माका गलामा लगाई प्रणाम गरे। त्यसपछि अरूहरूले पनि आफ्नो हातमा रहेका सुतका माला महात्माजीलाई हातमा दिई प्रणाम गरे।’
अर्थात् त्यत्रो जमातमा १२ वर्षीया सूर्यमती एक जनाले मात्र महात्मा गान्धीको गलामै माला लगाइदिएको उल्लेखबाट पनि उनी चर्खा अभियानमा त्यो स्तरको आत्मबल र हैसियत जुटाउन सफल भइसकेको झल्को मिल्छ।
‘मलाइ चाहिँ गान्धीले एकैछिन काखमा राखेका थिए,’ शम्भुबहादुर सम्झना गर्छन्, ‘त्यतिबेलै गान्धीजीले एउटा सुन्तला पनि मेरो हातमा थमाइदिए।’
यसरी अघि बढेको वीरगन्जको श्रेष्ठ परिवारको चर्खा अभियानले विक्रम सम्बत १९८४ वैशाख १३ गतेका दिन नेपाली इतिहासमै एउटा कोशेढुंगा राख्न सफल भयो। त्यस दिनको गोरखापत्रले उसको तेश्रो पृष्ठमा केही महिनाअघि समाचारमा उल्लेख गरेको तस्बिर प्रकाशन गरिदिएको थियो।
तस्बिरको क्याप्सनले भन्थ्यो–
‘श्री चन्द्र कामधेनु चर्खाद्वारा धागो कातिरहेकी वर्ष १२ की वीरगन्ज बस्ने सूर्यमती श्रेष्ठेनी’
नेपालको इतिहासमा कुनै पनि सर्वसाधारणको तस्बिर अखबारमा प्रकाशन भएको त्यो पहिलो घटना थियो।
यसलाई चार दशकपछि ‘पहिलो प्रेस फोटो’ का रूपमा इतिहासबद्ध गर्ने काम गृष्मबहादुर देवकोटाले २०२४ सालमा प्रकाशित उनको पुस्तक ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’ मा गरेका थिए।
त्यसो त गोरखापत्रमा त्यसभन्दा पहिले पनि १९८२ असारमा दुईपटक र १९८३ साउनमा एकपटक गरेर तीनपटक तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको तस्बिर प्रकाशित भइसकेको देखिन्छ।
‘तर, शासकको पोट्रेटका रूपमा रहेको त्यस तस्बिरलाई हामीले फोटो पत्रकारिताका रूपमा स्वीकारेनौं,’ यस सम्बन्धमा छानबिन गर्न राष्ट्रिय फोटो पत्रकार समूहबाट जिम्मेवारी पाएकी फोटो पत्रकार उषा तितिक्षु भन्छिन्, ‘एक त सही फोटो पत्रकारिता र त्यसमाथि सर्वसाधारणको अवस्था झल्काउने यो तस्बिर नै हामीले पहिलो फोटो पत्रकारिता ठहर गरेका छौं।’
जसरी सूर्यमती श्रेष्ठ (श्रेष्ठेनी) बारे अहिले आएर मात्र खुल्यो, त्यसैगरी यसका फोटोग्राफर को थिए भन्ने जानकारी चाहिँ अझै खुल्दैन।
‘त्यो बेला मेरो बाको निर्देशनमा कुनै भारतीय घुमुवा फोटोग्राफरले खिचेको हुनुपर्छ,’ शम्भु भन्छन्, ‘उनको बारेमा मलाई पनि जानकारी छैन।’
तुलसीबहादुरको डायरीमा भने उक्त तस्बिर धरिछनप्रसाद र राजालालकहाँबाट लिएर आएको उल्लेख छ। तर, त्यसैको आधारमा पुष्टि गर्न शम्भुले चाहेनन्।
लामो समय चर्खाको काममा अनवरत लागेका तुलसीबहादुरले पछि भीमशमशेर प्रधानमन्त्री भएका बखत काठमाडौंमा तुलसीमेहरलाई पक्राउ गर्दै चर्खाको काममा प्रतिबन्ध लगाएपछि सदाको निम्ति चर्खा अभियानबाट विदा लिएका थिए।
त्यसपछि केही समय तुलसीमेहरको आवतजावत पातलिए पनि पछि फेरि जीवनको अन्तिम क्षणसम्मै उनी आफ्नो परिवारसँग सामीप्यमै रहेको शम्भुले बताए।
यसरी नेपालको पहिलो प्रेस फोटोको मान्यता पाएको त्यस तस्बिर प्रकाशित भएकै मिति अर्थात् वैशाख १३ लाई आधार मानेर राष्ट्रिय फोटो पत्रकार समूहले बर्सेनि ‘फोटो पत्रकारिता दिवस’ मनाउँदै आएको छ।
त्यो तस्बिर गोरखापत्र छापिन थालेको २७ वर्षपछि मात्रै प्रकाशित भएको थियो। त्यो तस्बिर छापिएको १३ वर्षपछि मात्रै गोरखापत्रमा तस्बिर निम्ति उतिबेला आवश्यक पर्ने ‘ब्लक’ बन्न सुरू भएको थियो। गोरखापत्र छापिन थालेको एक सय १८ वर्ष पुगिसकेको छ।
त्यो तस्बिर छापिएपछि स्वयं सूर्यमतीको जीवनमा चाहिँ के परिवर्तन आयो?
‘दिदीको चर्चा निकै चलेको थियो,’ शम्भु सम्झन्छन्, ‘त्यतिबेलै मेरा दोस्रा भिनाजु (सूर्यमतीका दोश्रा पति) कदमबहादुर श्रेष्ठको हाम्रो घरमा आवतजावत बढ्न थाल्यो।’
सुरूमा साहेबज्यूहरूको कार्यालय हेर्ने वीरगन्जकै मुर्ली निवासी कदमबहादुर पछि मालमा जागिरे भए।
‘हाम्रो घरमा भिनाजुको आवतजावत गोरखापत्रमा छापिएको तस्बिरकै कारण भएको थियो वा कुनै अरू नै कारण थियो भन्ने चाहिँ म भन्न सक्दिनँ,’ शम्भु भन्छन्, ‘तर, त्यो घटनाको केही समयमै भिनाजुको आवतजावत र दिदीको बिहे भएको थियो।’
यो दोस्रो बिहेमा बाजा बजाउने काम चाहिँ गरिएन।
बिहेपछि सूर्यमतीले एउटा छोरा पाएकी थिइन्। ती छोराको पनि बाढी आएका बेला ठूलो नालीले बगाएर केटाकेटीमै मृत्यु भयो। त्यसबाहेक फेरि कुनै सन्तान भएनन्। कदमबहादुरको दोस्रो बिहेबाट भएका सन्तानको भने अहिले पनि वीरगन्जमै बसोबास छ।
कदमबहादुरको निधनपछि झनै एक्लिएकी सूर्यमतीको २०४५ सालमा ७४ वर्षको उमेरमा वीरगन्जमै निधन भएको थियो।