सरकारी कार्यालयको काम काजै ठप्प पारेर कर्मचारी घुम्न गएपछि शुक्रबार झापाको शिवसताक्षी नगरका दुइटा वडाका सेवाग्राही मारमा परेका छन्।
कर्मचारी मात्र होइन, जनप्रतिधि समेत ‘रिल्याक्स टुर’मा सहभागी भए। जनप्रतिनिधिसहितको कर्मचारी कार्यालयको कामै ठप्प पारेर टुरमा गएको नगरपालिकालाई भने थाहै छैन।
शिवसताक्षी नगरपालिकाको वडा नम्बर ११ मा भने एक जना खरदार सुरेन्द्र अर्यालमात्र कार्यालयमा भेटिए। उनी असिन–पसिन हुँदै दुवै वडाबाट संकलन हुने कर असुली गरिरहेका थिए ।
कर्मचारी नहुँदा पञ्जिकृतका सबै काम ठप्प भए भने, जनप्रतिनिधि नहुँदा नागरिकता सिफारिस, नाता प्रमाणितलगायत अन्य सिफारिसका कुनै काम हुन सकेनन्।
नगरको वडा नम्बर ९ का वडा अध्यक्ष छविलाल पाठक, सचिव निशा कोइरालालगायत अन्य कर्मचारी स्रोतका अनुसार तेह्रथुमको तीन जुरे गएको बताइएको छ ।
यस्तै वडा नम्बर ११ का वडा अध्यक्ष भैरवकुमार श्रेष्ठसहित सचिव नन्दिकेसर भट्टराईलगायत अन्य जनप्रतिनिधि र कर्मचारी लिएर तीनजुरे रिल्याक्समा घुम्न गए।
वडा नम्बर ११ का सचिव नन्दिकेशर भट्टराईले आफू व्यक्तिगत काममा धरान गएको बताए। यतिमात्रै होइन उनले जनप्रतिनिधिको समेत बचाउ गर्दै भने, ‘उहाँहरू वडाको कार्यक्रमका लागि बाहिर जानु भएको हो।’ तर, भट्टराई शुक्रबार बिहान कार्यालय समय अगावै वडा अध्यक्ष, अन्य जनप्रतिनिधि र कर्मचारी लिएर तीनजुरे गएको स्थानीय प्रत्यक्षदर्शीले बताए।
वडा कार्यलयमा जनप्रतिनिधि र कर्मचारी नहुँदा शुक्रबार २० जनाभन्दा बढी सेवाग्राहीले सरकारी कार्यालयबाट सेवा लिन सकेनन्।
पाँचथरबाट जग्गापासको सिफारिस लिन आएका खड्गध्वज आङथोवु वडा अध्यक्ष नभएकै कारण सेवा लिन पाएनन्।
उनले भने, ‘यो भन्दा चरम लापरबाही के हुन्छ ?’ कुनै कार्यालय बन्द हुँदा वा गर्दा सार्वजनिक सूचना जारी गर्नुपर्ने प्रावधान छ’, उनले भने, ‘बिनासूचना कार्यालयमा कर्मचारी र जनप्रतिनिधि नहुँदा सर्वसाधारणले सास्ती खेप्नु पर्यो यसको क्षति कसले व्यहोर्ने ?’
वडाका कर्मचारी काम काजै ठप्प पारेर घुम्न गएको नगरपालिका प्रशासनलाई थाहै छैन।
नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत विष्णुवहादुर अधिकारीले भने वडा नम्बर ९ की सचिव निशा दिनभर कार्यालयमा रहेको आफूलाई जानकारी भएको बताए पनि अन्यको बारेमा अनविज्ञता जनाए। तर, निशा पनि तीनजुरे घुम्न गएको पुष्टि भएको छ। ‘मसँग मोबाइलमा कुरा हुँदा उहाँले कार्यालयमै रहेको जानकारी दिनुभएको थियो। प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने, ‘यो विषयमा आइतबार के भएको हो, म आफैं बुझ्छु।’