गोरखा, बारपाक केन्द्र पारेर ७.८ म्याग्निच्यूडको भुइँचालो आएको बिहीबार चार वर्ष पूरा भएको छ।
यो चार वर्षमा प्राथमिकतामा परेको निजी आवास पुनर्निर्माण ५० प्रतिशत सकिएको छ। थप ३० प्रतिशत हाराहारी पुनर्निर्माण भइरहेको छ।
साढे तीन वर्ष कार्यकाल पूरा गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्पदा, शिक्षा, स्वास्थ्य, सरकारी भवन लगायत क्षेत्रमा पनि ५० प्रतिशत हाराहारी काम सकेको जनाएको छ।
भुइँचालोमा काठमाडौं उपत्यका र बाहिरका धेरै प्राचीन सम्पदा ध्वस्त भए। केही आंशिक क्षति भए। विश्वसम्पदा सूचीमा परेका सम्पदा पनि जोखिममा परे। पर्यटकहरूको आकर्षण केन्द्रहरू भग्नावशेष भए।
यीमध्ये केही मुख्य सम्पदा के-कति पुनर्निर्माण भइसके भन्नेबारे हामीले प्राधिकरणसँग सोधेका छौं।
रानीपोखरीः
पुनर्निर्माणकै विषयमा लामो समय विवादित रानीपोखरीमा भर्खरै काम सुरू भएको छ। भुइँचालोको तीन वर्षपछि गत माघ १४ गते रानीपोखरी, बालगोपालेश्वर मन्दिरलगायत उक्त क्षेत्रका पुरातात्विक संरचना बनाउने काम प्राधिकरणको काँधमा आएको हो।
भुइँचालो गएकै वर्ष माघ २ गते भुकम्प दिवस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी शिलान्यास गरेकी थिइन्। सुरूमा निर्माण जिम्मा पाएको काठमाडौं महानगरले पुरातात्विक सम्पदामाथि हेलचेक्र्याँइ गर्दै पटक/पटक निर्माणमा कंक्रिट प्रयोग गरेको थियो। यो विवाद साम्य पार्दै सरकारले रानीपोखरीका सबै पुरातात्विक संरचना पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको हो।
प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर ध्रुव पौडेलका अनुसार अहिले पोखरीको बाहिरी भाग सफा गर्ने काम सकिएको छ। सफा गरेको भागमा कालो माटोको लेप लगाउने काम थालिएको छ। पोखरीको बाहिरी भागको काम उपभोक्ता समितिमार्फत् भइरहेको छ।
पोखरीबीचको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणका लागि प्राधिकरणले डिजाइन र बजेट अनुमान गरिरहेको छ। यसको टेन्डर यो महिनाभित्रै आह्वान गरिने भएको डिभिजनल इन्जिनियर पौडेलले जानकारी दिए।
बालगोपालेश्वर गुम्बज (ग्रन्थकुट) र शिखर (मल्लकालीन) कुन शैलीमा बनाउने भन्ने विवाद पनि टुंगो लागेको छ। विज्ञहरूले शैलीलाई लिएर भइरहेको लामो विवाद सुल्झाउँदै प्रताप मल्लकालीन शैलीमै निर्माण गर्न सुझाएका थिए।
धरहराः
भुइँचालोले भत्काएको धरहरा अहिले धमाधम पुनर्निर्माण भइरहेको छ। यसको जिम्मा जिआइइटिसी रमन जेभीले कम्पनीलाई छ।
अहिले जमिनमुनिको फाउन्डेसन बनाउने, पाइलिङ गर्ने काम भइरहेको डिभिजनल इन्जिनियर पौडेलले जानकारी दिए।
‘धरहरामा जमिनमुनिको कामै मुख्य हो,’ पौडेलले भने, ‘अहिले त्यहाँबाट हुलाक, टक्सार सार्न पनि निर्माण कम्पनीलाई सहयोग गरिरहेका छौं।’
गजुरसहितको नयाँ धरहरा २२ तले हुनेछ। उचाइ करिब ७७ मिटर। भुइँचालोले भत्काएको धरहरा ९ तले थियो। नयाँ धरहरा पुरानोभन्दा शहिदगेटतिर १० मिटर अगाडि बन्ने उनल जानकारी दिए।
नयाँ धरहराको स्वरूप क्षतिग्रस्त धरहराको जस्तै भए पनि मोटाइ भने बढी हुनेछ। ४२ रोपनीमा फैलिने धरहरा नजिकै सङ्ग्रहालयसँगै मनोरम बगैंचा पनि निर्माण गरिनेछ। धरहरा निर्माणसँगै यसको छेउमा अत्याधुनिक ३ तले सवारी पार्किङ स्थल बनाइनेछ।
भुइँचालोमा बाँकी रहेको धरहराको भागलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास) ले छोपेर राखिने छ। धरहरा बनाउन ३ अर्ब ४५ करोड रुपैयाँ खर्च हुने पौडेलले जानकारी दिए। गत पुष १२ गते धरहराको फेरि शिल्यान्यास गर्दै औपचारिक रुपमा काम अगाडि बढेको हो।
काष्ठमण्डपः
पुनर्निर्माण विवादमै तीन वर्ष अल्झेको अर्को सम्पदा हो काष्ठमण्डप। भुइँचालोले पूर्ण क्षति भएको काष्ठमण्डप उपभोक्ता समिति मार्फत बनिरहेको छ। विस्तारै गति लिन थालेको काष्ठमण्डपमा चार वटा मूल थाम ठड्याइ सकिएको छ। बाँकी एक सय वटा थाम राख्न करिब तीन महिना लाग्ने समितिका सचिव गौतम डंगोलले जानकारी दिए।
काष्ठमण्डपको पहिलो तलामा ४, ३२, २८ र ३६ थाम हुनेछन्। त्यसमध्ये ३२ र ३८ वटा थाम राख्ने काम यही साताबाट सुरू हुँदैछ। त्यसपछि बाँकी थाम राखिनेछ। काष्ठमण्डप पुनर्निर्माणलाई नै चाहिने एक सय वटा ढुंगा पनि तयार भएका छन्।
‘हामीले अहिले पनि थामकै काम गरिरहेका छौं। पहिलो तलाका ९६ वटा थाममध्ये ३२ र ३८ को काम एक दुई दिनभित्रै सुरू हुँदैछ। बाँकी काम थाल्न भने दुई महिना लाग्छ,’ डंगोलले भने, ‘एउटै थाम बोक्न आठ जना मान्छे चाहिन्छ। समय त लाग्ने नै भयो।’
हनुमानढोका दरबार क्षेत्रको यो सत्तल पुनर्निर्माण निम्ति अहिलेसम्म दुई करोड २३ लाख रूपैयाँ सकिएको छ। काठमाडौं महानगरपालिकाको निगरानीमा काष्ठमण्डप निर्माण जिम्मा स्थानीयलाई दिइएको हो। महानगरले काष्ठमण्डप निर्माणका लागि पाँच करोड रूपैयाँ दिएको छ। गत वर्ष वैशाख ३१ गतेबाट यसको पुनर्निर्माण थालिएको हो।
तीन वर्षभित्र निर्माण सक्ने लक्ष्य लिइएको काष्ठमण्डप पुनर्निर्माण निम्ति करिब १९ करोड लाग्ने अनुमान छ।
भक्तपुर दरबार क्षेत्रः
भक्तपुर दरबार क्षेत्रमा ५५ प्रतिशत पुनर्निर्माणका काम सकिएको छ। दरबार क्षेत्रको पाटी, पौवा, ढुंगेधारा लगायत साना आयोजनाका काम नगरपालिकाले पुरातत्व विभागसँग समन्वय गरेर सकाएको छ।
दरबार क्षेत्र प्रवेशद्वार, केदारनाथ मन्दिर, नारायणका तीन वटा मन्दिर, सिद्धीलक्ष्मी मन्दिर बनिसकेको भक्तपुर नगरपालिकाका इन्जिनियर सूर्यभक्त खर्बुजाले बताए।
‘हामीले साना योजनाका धेरै काम सकाएका छौं। अब बहुवर्षीय योजनाका काम बाँकी छन्,’ इन्जिनियर खर्बुजाले भने, ‘सम्पदाको हकमा काम गर्न अलि गाह्रो पनि हुने रहेछ। सामान र कामदार भनेको समयमा पाइँदैन।’
उनका अनुसार भैरवनाथ मन्दिर पुनर्निर्माण असार मसान्तबाट सुरू हुनेछ। दरबार क्षेत्रको पाँच तले मन्दिरमा आंशिक क्षति भएको थियो। यो पनि आगामी आर्थिक वर्षबाट पुनर्निर्माण सुरु हुनेछ। बहुवर्षीय योजना अन्तर्गत नगरपालिका, भूमिसुधार भवन, कला संग्रहालय बनाउन बाँकी छ। आगामी आर्थिक वर्षमा यी सम्पदाको काम पनि अगाडि बढ्ने नगरपालिकाले जनाएको छ।
सम्पदा क्षेत्रमा उल्लेखनीय काम गरिरहेको भए पनि दरबार क्षेत्रको पुननिर्माण कहिले सकिन्छ भन्ने यकिन जवाफ नगरपालिकासँग छैन।
‘यति नै वर्षमा सकिन्छ भन्न त हामी सक्दैनौं। सम्पदाको काममा हतार गरेर पनि भएन। केही क्षेत्रमा विवाद पनि छ,’ इन्जिनियर खर्बुजाले भने।
नगरपालिका आफैं पनि पुनर्निर्माणको कामप्रति सन्तुष्ट छैन।
‘हामी सम्पदा क्षेत्र पुनर्निर्माणमा कति पनि सन्तुष्ट छैनौं,’ उनले भने, ‘५५ प्रतिशत काम संख्याको हिसाबमा मात्र भयो। ठूला योजनाका काम सन्तोषजनक छैन।’
हनुमानढोका दरबार क्षेत्रः
हनुमानढोका दरबार क्षेत्रको ८० प्रतिशत पुनर्निर्माण सकिएको छ। अमेरिकाको सहयोगमा २०७५ साल असारमै गद्दीबैठक जिर्णोद्धार सकिएको छ।
राणा प्रधानमन्त्री चन्द्रशमशेरले बेलायत भ्रमणपछि बेलायती वास्तुशैलीमा सन् १९०८ मा यो बैठक बनाउन लगाएका थिए। गद्दी बैठक पञ्चायत कालसम्म राजकीय कूटनीतिक भेटघाटस्थल थियो।
दरबार क्षेत्रकै काष्ठमण्डप पुनर्निर्माणले गति लिएको बेला नौतले दरबारपनि पुनर्निर्माण हुँदै छ। चीनको सहयोगमा बनिरहेको यो दरबार सन् २०२२ सम्म पुनर्निर्माण सक्ने योजना छ।
गत साउन ३१ गते चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पुनर्निर्माण शिलान्यास गरेका थिए। यसमा करिब १६ करोड रुपैयाँ लाग्ने अनुमान छ। यसमा चीनबाटै आएका प्राविधिक खटिएका छन्।
बाँकी साना धेरै मन्दिर निर्माण भइसकेको र केही बन्ने क्रममा रहेको पुरातत्व विभागका इन्जिनियर रोशन डंगोलले बताए।
पाटन दरबार क्षेत्रः
पाटन दरबार क्षेत्रमा ८० प्रतिशत पुनर्निर्माण सकिएको छ। दरबार क्षेत्रको कृष्णमन्दिर, उमामहेश्वर मन्दिर लगायतमा पुनर्निर्माण सकिएको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले बताए।
‘दरबार क्षेत्रको पुनर्निर्माणमा हामी सन्तुष्ट छौं। ८० प्रतिशत काम सकियो,’ प्रवक्ता महर्जनले भने। दरबार क्षेत्रको भिमसेन मन्दिर उपभोक्ता मार्फत बनाउने निर्णय भइसकेको छ। तलेजु भवानीको मन्दिर जापानी राजदूतावासको सहयोगमा उपभोक्ता मार्फत नै काम गर्ने गरी कुरा अगाडि बढेको महानगरले जनाएको छ।
बुंगमतीः
प्राधिकरणले बुंगमती पुनर्निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने काम थालेको छ। योसँग सम्बन्धित बजेट र कार्यक्रम पनि राखिएको छ। यस क्षेत्रको पुनर्निर्माण युरोपियन युनियनको सहयोगमा युएन ह्याविट्याटसहित प्राधिकरणको प्राविधिक टोलीले गर्ने गरी डिपिआरको काम सुरु भएको हो।
श्रीलंकन सरकारको सहयोगमा बन्ने रातो मच्छिन्द्रनाथ मन्दिरको करिब ३० प्रतिशत काम सकिएको छ। श्रीलंकन सरकारले मन्दिर पुनर्निर्माणमा पाँच करोड सहयोग गरेको छ। पुरातात्विक मापदण्ड बाहिर गएको भन्दै त्यहाँ पनि स्थानीयले विरोध जनाएका थिए। बीचमा धेरै पटक काम रोकिएको थियो।
सोही कारण बुंगमती पुनर्निर्माण पछि परेको प्राधिकरणले जनाएको छ।
भुइँचालो गएकै वर्ष माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीबाट पुनर्निर्माण अभियान थाल्दा प्रधानमन्त्री केपी शर्मा ओलीले बुंगमतीबाट सुरु गरेका थिए।
गोरखा दरबार
ऐतिहासिक गोरखा दरबार पुनर्निर्माण सुरू भएको २ वर्षसम्म जगमात्र बनेको छ। पुरातत्व विभागको बेवास्ता र ठेकेदारको लापरबाहीका कारण दरबार पुनर्निर्माण ढिलो भएको हो।
पुनर्निर्माणका लागि २०७४ कात्तिक २९ मा पचली सिवाको जेभी कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो। सोही वर्षको पुषबाट काम सुरू गरेको कम्पनीले २०७६ मंसिरसम्ममा सक्ने सम्झौता गरेको थियो। तर बितेका २ वर्षको प्रगति हेर्दा लक्ष्य भेट्न मुश्किल पर्ने देखिएको छ।
हालसम्म दरबारमा २० देखि ३० प्रतिशत मात्र काम भएको पुरातत्व विभागका प्रवक्ता राम बहादुर कुँवरले जानकारी दिए।
दरबारको जगमा भ्वाङ परेकाले यसलाई मिलाउनै समय खर्च भएको कुँवरको दाबी छ। बीचबीचमा निर्माण सामग्री र कामदार अभावले पनि सोचेअनुसार नभएको उनको जिकिर छ।
शाहवंशीय राजा राम शाहदेखि पृथ्वीनारायण शाहसम्मले राज्य गरेको समयको ऐतिहासिक दरबारलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्न ४ करोड ३७ लाखमा ठेक्का भएको थियो।
पुनर्निर्माण क्रममा यसअघिका काष्ठकलाका सामग्री र इँट्टा फेरि प्रयोग गर्न सुरक्षित स्थानमा राखिएको उनले बताए। केही बहुमूल्य र पुराना सरसामान भने दरबारको भग्नावशेषसँगै यत्रतत्र छरिएका देखिन्छन्।
राम शाहकोपालामा बिक्रम सम्वत् १६८६ मा बनेको गोरखा दरबार १९९० सालको भुइँचालोमा केही भएको थिएन। २०७२ सालको भुइँचालोमा भने चर्किएको थियो। दरबारलाई अहिले रडले घेरेर राखिएको छ।
पाँच वर्षका लागि गठन भएको प्राधिकरणले बाँकी योजना २० महिनाभित्र सिध्याउने जनाएको छ।
‘प्राधिकरणसँग स्पष्ट कार्ययोजना छ। त्यसैले तोकिएको समयमै सबै काम सकिन्छ,’ प्राधिकरणका सिइओ सुशिल ज्ञवालीले भने, ‘सबै काम प्राधिकरणको एक अंगले मात्र गर्ने होइन। भवनसम्बन्धी काम गर्न छुट्टै विभाग सरह केन्द्रीय आयोजना कार्यन्वयन इकाई छ। शिक्षा सम्बन्धी काम गर्न अर्को इकाई छ। पुरातत्व सम्बन्धी काम गर्न पुरातत्व विभाग छ। अनुदान व्यवस्थापन, निजी आवास र सडक लगायतका पूर्वाधारको काम गर्ने छुट्टै इकाई छ। यी सबै अंगहरूबाट काम भइरहेको छ। यसरी अवधिभित्रै काम सक्नेछौं।’