न इन्द्रजात्रा, न मच्छिन्द्रनाथ, न त बिस्काः।
हाँडीगाउँ मात्र यस्तो खास छ, जसलाई उखानले सिँगारेको छ — कहीँ नभएको जात्रा हाँडीगाउँमा।
उखान या त शृंगारमा बन्छ, या बिगारमा। बिगार, यानिकी खिसीट्यूरी।
यो उखान पनि कतै हाँडीगाउँ जात्राको खिसीट्यूरी गर्न बनेको त होइन?
नभए हेर्नुस् त,
नेताले कतै चर्तिकला देखाए, कहीँ नभएको जात्रा हाँडीगाउँमा !
अभिनेताले कतै बबाल मच्चाए, कहीँ नभएको जात्रा हाँडीगाउँमा !
बन्दाबन्दैको पुल यसै भत्कन्छ, कहीँ नभएको जात्रा हाँडीगाउँमा !
खन्दाखन्दैको सडक यसै छाडिन्छ, कहीँ नभएको जात्रा हाँडीगाउँमा !
दैनिक बोलीचालीमा उखानको यस्तो प्रयोग खिसीट्यूरी नभए के त?
कसैलाई उल्याउने कुरा जनजिब्रोले छिटो टिप्छ, यही उपक्रममा उखानको शृंगार पक्ष यसै हराउन त हराएन?
जवाफ जान्न सबभन्दा पहिला हाँडीगाउँ चिन्नुपर्छ, जसको नाउँ जोडेर यो उखान चल्यो।
हाँडीगाउँ चिन्न दुई हजार वर्ष पुरानो समयमा फर्कनुपर्छ।
मसँग ‘टाइम मेसिन’ चाहिँ छैन है। त्यो त वैज्ञानिकहरूको स्वैरकल्पना।
मसँग सम्पदाविद् सुदर्शनराज तिवारी छन्, जसलाई गहनापोखरीमै भेट्ने समय लिएको छु।
हाँडीगाउँको कुरा सुन्न गहनापोखरीभन्दा उपयुक्त ठाउँ अर्को कहाँ?
उनले दिउँसो ३ बजेको समय दिएका थिए। तीन बजेर एक मिनेट नजाँदै गहनापोखरीको गेटमा हाम्रो भेट भयो।
तिवारी इञ्जिनियरिङ अध्ययन संस्थानका पूर्वडिन हुन्। सहरी विकास इञ्जिनियरका रूपमा प्राचीन राजधानीको संरचना उनी राम्ररी उधिन्न सक्छन्।
त्यसमाथि सम्पदा अध्येता र यहीँका रैथाने।
उनका पुर्खा सवा सय वर्षअघि लमजुङको चितीबाट काठमाडौं चढेका थिए। लगभग पचास वर्ष रक्तकालीमा बसेपछि मध्यसहरबाट टाढा विशालनगर सरे। विशालनगर हाँडीगाउँनजिकै पर्छ।
तिवारीको जन्म यहीँ भयो। यहीँको भूगोल, इतिहास, रितिथिति, रहनसहन र जात्रापर्वमा हाहु गर्दै हुर्के। अहिले ६८ वर्षका छन्।
आफ्नो अनुभव र अध्ययनका आधारमा उनले हाँडीगाउँबारे किताब लेखेका छन्– ‘द ब्रिक एन्ड द बुल’। अर्को किताब ‘एनसिअन्ट सेटलमेन्ट्स अफ काठमाडौं भ्याली’ पनि हाँडीगाउँकै सेरोफेरोमा घुम्छ।
चैत अन्तिम साता। कालो बादल मडारिएर पानी पर्ला पर्लाजस्तो भएको त्यो चिसो दिनमा तिवारीलाई पछ्याउँदै गहनापोखरी फन्को मार्दा मैले पहिलो प्रश्न त्यही गरेँ, ‘हाँडीगाउँ जात्राका नाममा किन यस्तो उखान?’
‘त्यो उखानको अर्थ त मान्छेले नबुझेर अनर्थ लगाएका हुन्,’ तिवारीले गहनापोखरीतिर देखाउँदै भने, ‘अहिले गहनापोखरीको हालत भने कहीँ नभएको जात्रा हाँडीगाउँमा जस्तै छ।’
मेरा आँखा उनले हातको पाउर लाउँदै इसारा गरेतिर दौडिए।
पोखरी वरिपरि पातलो हरियो चउरमा टोलका भुराभुरी भुलिरहेका थिए। नजिकै कंक्रिटका सेता बेन्चहरूमा केही जोडी टाउको जुधाउँदै आफ्नै धूनमा मग्न थिए।
यो त राम्रै हो, यस्तो सार्वजनिक स्थलको उपयोग नै यसैका लागि।
जात्रा त के भने, प्राचीन इतिहास बोकेको परम्परागत पोखरी वरिपरि जम्मै सिमेन्ट ढलान। त्यतिले नपुगेर बीचमा सेतो फाउन्टेन। साँझ बेला यहाँ पानीको फोहोरा छाडिन्छ। लहरै बत्ती बालेर पोखरी झलमल्ल पारिन्छ।
‘पोखरी सिँगार्न खोजेको रे,’ तिवारीले मुख बिगार्दै प्रश्न गरे, ‘इतिहासलाई जस्ताको तस्तै राख्ने कि झिटीझम्टाले सिँगार्ने?’
‘सम्पदाको इत्ति पनि चेत छैन मान्छेमा,’ दाहिने हातका दुई औंलाको टुप्पो जोडेर इसारा गर्दा तिवारीको स्वरको ‘भोल्यूम’ एकाएक बढेको थियो।
यही पोखरीमा वैशाख ७ गते शनिबार गहना खोज्ने जात्रा हुँदैछ। त्यसैको पूर्वसन्ध्यामा फाउन्टेन हालेर स्वरुप बिगारेको भन्दै विरोध हुँदै आएको छ।
वडा कार्यालयको यो कदम स्थानीयलाई पनि चित्त बुझेको छैन।
जात्राको दिन पानीमा डुबेर टुँडालदेवी र भाटभटेनीको खट जुधाउनुपर्छ। जात्रालुहरू खट बोकेर होए होए गर्दै पानीमा चुर्लुम्म हाम्फाल्छन्। गहना खोज्छन्।
खट बोक्नेहरूको त्यत्रो भिडले अब कसरी पानीमा डुबुल्की मार्ला?
बत्तीको करेन्ट तलमाथि भइदियो भने के गर्ने लौ!
‘केही नै भएन भने पनि प्राचीन पोखरीलाई यस्तरी सिँगार्नु कहाँसम्म उचित हो?’ तिवारी झनै जंगिए, ‘के यो ‘फनपार्क’ को कृत्रिम पोखरी हो?’
‘के हो त?’ मैले उनलाई मूल प्रश्नमै फर्काएँ।
‘कम्तिमा दुई हजार वर्ष पुरानो इतिहास झल्काउने सम्पदा,’ तिवारीले शानका साथ भने, ‘समृद्ध हाँडीगाउँको समृद्धिको प्रतीक।’
किराँतदेखि लिच्छविकालसम्मै हाँडीगाउँ काठमाडौंको राजधानी थियो। राजधानीको गहना, गहनापोखरी।
मल्ल शासनको उदयपछि काठमाडौं, पाटन र भक्तपुर राज्य छुट्टियो। राजधानी पनि तीनतिर छरियो।
दाजुभाइमा राज्य बाँडिएकाले जात्रापर्व एकनास भए। रीतिथिति, रहनसहन एक भए। हाँडीगाउँले भने किराँतकालदेखिको जात्रा चलाउन छाडेन। त्यसैमध्ये एउटा यही गहना खोज्ने जात्रा।
हाम्रो ऐतिहासिक स्मरण मल्लकालदेखि सुरु हुन्छ। यसले हाँडीगाउँमा मनाइने जात्रा हामीलाई अनौठा लागे। काठमाडौं उपत्यकामै अन्त कहीँ नहुने जात्रा हाँडीगाउँमै किन? हामीले भेउ पाउन सकेनौं।
जब दिमागले उत्तर भेट्दैन, हामी उखान बनाउँछौं।
‘हाँडीगाउँ जात्राको उखान यही अलमलले जन्मायो,’ तिवारीले भने।
हामी चाहिँ अब उखानमा नअलमलिकन हाँडीगाउँको यात्रा गरौं है।
यो ठाउँको नाउँ खासमा हाँडीगाउँ नै होइन रहेछ।
‘किराँतकालमा यसलाई ‘अन्डीपृंग’ भनिन्थ्यो,’ उनले भने, ‘लिच्छविहरूले ‘अन्डीग्राम’ भन्न थाले।’
हाँडीगाउँको सत्यनारायण मन्दिरछेउ उत्खनन् गर्दा छैठौं शताब्दीको लिच्छविकालीन ढुंगेधारा फेला परेको छ। त्यसको टुटीमा ‘ओम अन्डीग्रामे’ भनेर लेखिएको छ। यो बिक्रम सम्बत् ५५० मा बनेको हो।
लिच्छवि राजा मानदेवका पालामा यो ठाउँलाई ‘मानेश्वर’ नामाकरण गर्न खोजिएको रहेछ। मनमानेश्वरीको मन्दिर यहीँ छ। यिनी लिच्छवि राजाहरूका इष्टदेवी। त्यो समयका केही शिलालेखमा ‘मानेश्वर’ नै लेखिएको पाइन्छ।
कतिपय निर्णय शासकले मोहर लगाएर मात्र कहाँ हुन्छ र, जनस्तरबाट अनुमोदन नभएसम्म। लोकतन्त्र भनेकै यही।
लिच्छविकालीन लोकतन्त्र हेर्नुस्, शासकहरूले राखेको नाम जनताले अस्वीकार गरिदिए।
एघारौं शताब्दीमा पनि ‘हरिपुर’ भन्ने नाम चलाउन खोजिएको तिवारी बताउँछन्। जनजिब्रोमा भने ‘अन्डीग्राम’ बाहेक अरू नाउँ झुन्डिँदै झुन्डिएन।
युग परिवर्तन भयो, 'अन्डीग्राम' अपभ्रंश हुँदै 'हाँडीगाउँ' बन्यो।
ग्राम भनेकै गाउँ। अन्डी मात्र जिब्रो बटारिएर हाँडी भयो।
यहाँ माटोका हाँडी बनाइने हुँदा हाँडीगाउँ भनिएको कहावत पनि छ, जुन सही नभएको तिवारी दाबी गर्छन्।
नाउँको नालीबेलीपछि हाम्रा पाइला हाँडीगाउँका चोकगल्लीतिर बढे।
गहनापोखरीलाई पछाडि पारेर अगाडि बढ्दै जाँदा उनी वैशाख ७ को जात्राबारे जानकारी दिँदै थिए।
उतिबेला लिच्छविहरूले एउटा शिलालेख जारी गरेका थिए। त्यसमा जात्रा मनाउन वार्षिक हजार पण (पैसा), बिजोर लत्ताकपडा, बिजोर गहना र तामाका २२ घडा दिनू भनिएको थियो, जुन अहिलेसम्म कायम छ।
तिवारीले एउटा कथा सुनाए–
उहिले यहाँ एक गरिब ब्राह्मण दम्पती बस्दा रहेछन् — भाट र भटेनी।
उनीहरूले साह्रै दुःख पाएका थिए, तर इमान–जमान राख्थे।
त्यहीँ एक धनी महाजन थिए। उनी एकदिन तीर्थको तयारीमा लागे। लामो यात्रामा निस्कनुअघि आफ्नो भएभरका सम्पत्ति बेचेर त्यस बराबर सुन किने। त्यसलाई काठको लठ्ठीमा दुलो पारेर लुकाए। र, त्यही ब्राह्मण दम्पतीको जिम्मा लगाए।
उनी तीर्थ गएको झन्डै एघार वर्षपछि ब्राह्मणी सुत्केरी भइन्। लाउन–खानै सकसमा बाँचेका उनीहरूले बच्चालाई तेल घस्ने पैसा कहाँ पाऊन्?
पोषिलो नपाएर टिठलाग्दो बच्चाको अनुहार हेर्दै बूढाबूढीले सल्लाह गरे, ‘यो मान्छे गएको ११ वर्ष भइसक्यो, अहिलेसम्म आएन। अब आउँदैन पनि होला। उतै बितिसके कि के थाहा?’
ब्राह्मणीले सोधिन्, ‘के गर्ने त?’
ब्राह्मणले भने, ‘हामी यो लठ्ठीभित्रको सुन बेचेर आफ्नो खर्च चलाऊँ।’
उनीहरू आफ्नो इमान सौदा गर्न गइरहेका थिए। मनमा धुकचुक थियो, तै अर्को उपाय थिएन।
दुर्भाग्यले, तीर्थ गएको बाह्रौं वर्षमा ती महाजन फर्केर आए। आफ्नो लठ्ठी खोजे।
ब्राह्मणले भने, ‘तिम्रो लठ्ठी त कीराले खाइदियो।’
महाजनले पत्याएनन्। रिसले आँखा राता पार्दै भने, ‘मेरो लठ्ठी कीराले खान्छ भने तिम्रो बच्चालाई पनि चिलले उडाएर लैजान्छ।’
त्यतिबेला उनीहरूले आफ्नो बच्चा तेल घसीवरी घाममा सुताएका थिए।
नभन्दै आकाशमा उड्दै गरेको चिल भुर्रर आएर बच्चालाई टपक्क टिपेर लग्यो।
उनीहरूले बलिन्द्रधारा आँशु झार्दै रोइकराइ गरे।
‘तिमीहरूले मसँग झूट बोल्यौ। तिमीहरूजस्तो धर्मात्माले आफ्नो इमान गुमायौ,’ महाजनले श्राप दिए, ‘तिमीहरूले धर्तीमा कहिल्यै टेक्न पाउन छैनौ।’
महाजनको श्रापले ब्राह्मण दम्पती संकटमा परे। उनीहरू आफ्नो बच्चालाई बचाइदिन टुँडालदेवीकहाँ हारगुहार गर्न गए।
टुँडालदेवी ती ब्राह्मणीकी आमा थिइन्।
ससुरालीमा सरसल्लाह भयो।
‘तिमीहरूले सुन बेचेर खाएँ भन्यौ भने झन् झूटो ठहरिने छौ,’ टुँडालदेवीले सुझाइन्, ‘बरु महाजनलाई सुन हरायो भन्नू, म भेटाइदिन्छु।’
भाटभटेनी मन्दिरले आजसम्म यो किम्बदन्तीका पात्र जोगाएर राखेको छ।
मन्दिरभित्र बाह्मण दम्पती र चिलले उडाउँदै गरेको बच्चाको प्रतीकस्वरूप तीनवटा ठूल्ठूला मूर्ति छन्। महाजनको श्राप लागेझैं भाट र भटेनीले भुइँ टेक्न पाएका छैनन्।
जात्रा क्रममा यी तीनै मूर्तिका सबै लुगा फुकालेर रङरोगन गरी टुँडालदेवीमा लगिन्छ। मुर्दा लगेजस्तो बाजा बजाउँदै लैजाने चलन छ। देउताहरूलाई यसरी नांगै लगेको हेर्न हुन्न भनेर बूढापाका भन्छन्।
टुँडालदेवी पुगेपछि भाट र भटेनीलाई आकाशमा झुन्ड्याएर राखिन्छ। ‘महाजनको श्राप लागेको रे,’ तिवारीले सुनाए।
त्यसपछि भाट, भटेनी र बच्चाको मूर्तिलाई पाँच टुक्रा कपडाले बेरिन्छ। भाट र भटेनीलाई दुई–दुई टुक्रा, बच्चालाई एउटा।
लिच्छविकालीन शिलालेखले भनेको बिजोर कपडा यही हो।
‘गहना पनि बिजोर हुन्छ,’ तिवारीले सुनाए, ‘भाट र भटेनीलाई दुइटा, बच्चालाई एउटा।’
‘अनि घडा?’
‘भाटभटेनीलाई टुँडालदेवी लगेपछि हाँडीगाउँलेहरू पूजा गर्न जान्छन्। जाँदा खर्पनमा २२ वटा माटाका घडा लैजाने चलन छ,’ उनले भने।
पूजापछि भाटभटेनी र टुँडालदेवीको रथ गहनापोखरी ल्याइन्छ। पोखरी फन्को मारिन्छ। पानीभित्र हुलेर रथ जुधाइन्छ। अनि गहना भेटियो भन्दै सजधजका साथ मन्दिर फर्केर मरेको बच्चा ब्युँताइन्छ।
‘लिच्छविकालदेखि चल्दै आएको यो जात्राको प्राण नै गहनापोखरी हो,’ तिवारीले भने, ‘पोखरी नै नरहे, जात्रा कसरी रहला?’
गहनापोखरी विनाशले उनी जति दुःखी छन्, हाँडीगाउँमा हालसालै सुरु भएको पुरातात्विक अनुसन्धानबाट उत्तिकै उत्साहित।
‘हामी यहाँ अहिलेसम्मकै ठूलो पुरातात्विक अन्वेषण गर्दैछौं,’ उनले खुसी हुँदै भने, ‘सफल भए गहनापोखरी मात्र होइन, हाँडीगाउँकै कथा जीवन्त हुनेछ।’
‘कस्तो अन्वेषण?’ मैले पनि उत्साहित हुँदै सोधेँ।
हाँडीगाउँको गर्भमा रहेका लिच्छविकालीन दरबारका अवशेष खोज्न करिब एक महिनाअघि ‘जिपिआर’ गरिएको उनले सुनाए।
जिपिआर, अर्थात् ग्राउन्ड पेनेट्रेसन राडार।
यो सर्वे निम्ति जमिन उत्खनन् गर्नुपर्दैन। सतहमाथि नै जिपिआर मेसिन सर्रर हिँडाइन्छ। त्यसले सतहभन्दा पन्ध्र फिट मुनिसम्मको दृश्य तस्बिरमा उतार्छ। त्यो गहिराइसम्म कुनै इँटा वा ढुंगे संरचना छ भने तस्बिरमा प्रस्टै देखिन्छ।
पुरातत्व विभाग र बेलायतको डुर्हाम विश्वविद्यालयले गरेको उक्त सर्वेमा बाल मन्दिरदेखि वृहस्पति स्कुल र वरिपरिको बाटोमा राडार घुमाएर तस्बिर खिचिएका छन्। त्यसको कम्प्युटर प्रशोधन हुँदैछ। पुरानो दरबारको अवशेष छ–छैन यकिन गरेपछि उत्खनन् सुरु गर्ने योजना छ।
‘राडारले कुनै पर्खालको अवशेष देखायो भने हामी एउटा निश्चित क्षेत्र छानेर उत्खनन् सुरु गर्छौं,’ उनले भने।
‘तपाईं आशावादी हुनुहुन्छ त?’
‘एकदमै।’
हाँडीगाउँमा लिच्छविकालीन अवशेषको खोजी यो पहिलोपटक होइन।
यसअघि सत्यनारायण मन्दिरछेउ इटालियन पुरातत्वविद्को टोलीले उत्खनन् गरेको थियो। त्यतिबेला ‘अंशुवर्मा’ लेखिएका इँटा र अन्य केही वस्तु फेला परे, दरबारको अवशेष भने भेटिएन।
अहिलेसम्म फेला नपरेको अवशेष अब पर्ला त? तिवारी किन यतिविधि आशावादी?
‘त्यतिबेला हामीले खोजेको ठाउँ नै गलत थियो,’ उनले हाँडीगाउँको नक्सांकन गर्दै भने, ‘अंशुवर्माको कैलाशकूट दरबार र मानदेवको मानगृह कहाँ पर्छ यकिन नै नगरी उत्खनन् गर्यौं। त्यसैले, नतिजा आएन।’
‘अहिले कसरी यकिन हुन्छ त?’
गहनापोखरीकै आधारमा दुवै दरबारको स्थान आकलन गरिएको उनले बताए।
सातौं शताब्दीमा चिनियाँ राजदूत ह्वाङ हुयेन नेपाल आएका थिए। त्यतिबेला लिच्छवि राजा नरेन्द्रदेवको शासन थियो। नरेन्द्रदेव विदेशी पाहुना आउँदा दरबारको कौसीमा लगेर पोखरी देखाउँथे।
‘चिनियाँ राजदूतले आफ्नो यात्रा वृत्तान्तमा वर्णन गरेको पोखरी यही हो,’ उनले भने, ‘यसबाट हामी दरबारको अवस्थिति आकलन गर्न सक्छौं।’
हाँडीगाउँको डबलीमा एउटा शिलालेख छ, जसअनुसार कैलाशकूट भवनमा पाँचवटा ढोका थिए — दक्षिण द्वार, पश्चिम, मानगृह द्वार, मध्यमा र उत्तर द्वार।
यहाँ मानगृह द्वार भन्नाले कैलाशकूटबाट मानगृह जाने ढोका हुनसक्छ। राजा र प्रधानमन्त्रीको दरबार जोड्ने ढोका।
यति मात्र होइन, चिनियाँ राजदूतको वर्णनअनुसार कैलाशकूट भवन साततले थियो। तीनवटा चोक थिए, जहाँ दस हजार मान्छे अटाउँछन् भनिएको छ। माथि छतबाट पानीको फोहोरा झरझर झरिरहेको थियो भन्ने वर्णन पनि छ।
‘हामीले सात तला माथिबाट पानी झर्दा कहाँसम्म फैलिन्छ भनेर हिसाब गरेका छौं,’ उनले कैलाशकूटको इञ्जिनियरिङ स्वरूप बुझाए।
यी सबै आधारमा त्यो दरबार गहनापोखरीको दक्षिणतिर पर्ने उनको ठम्याइ छ।
यसलाई पुष्टि गर्ने अर्को तथ्य मनमानेश्वरी देवी हो। त्यतिबेला मानगृह दरबारभित्र पर्ने गरी बनाइएको यो मन्दिर अहिले पनि छँदैछ।
‘यसले पनि हामीलाई कैलाशकूट र मानगृहको अवस्थिति पत्ता लगाउन सघाउँछ,’ उनले भने।
तर, लिच्छविकालमा साततला माथिबाट पानी झार्ने प्रविधि थियो भनेर पत्याउने किन नपत्याउने त?
‘यसमा शंकै छैन,’ तिवारीले नक्साल, भगवतीबहालमा फेला परेको शिलालेखबारे सुनाए।
लिच्छविकालीन उक्त शिलालेखमा बटुवाहरूलाई पानी खुवाउन ढुंगेधारा बनाइएको वर्णन छ। त्यसमा पानी नआएपछि इनार खनेर ‘सलिल उत्पादन यन्त्र’ बाट तानिएको उल्लेख छ।
‘सलिल भनेको खोला हो,’ उनले भने, ‘खोला उत्पादन यन्त्र भन्नाले इनारको पानी माथि तानेर खोलाझैं ढुंगेधाराबाट बगाउने तकनिक बुझ्नुपर्छ।’
हाँडीगाउँ डबलीको शिलालेखमा कैलाशकूट दरबारका कर्मचारीहरूको तलब पनि उल्लेख छ। त्यसमा राजाको तलब २५ पण लेखिएको छ भने २ पण तलब खाने एक कर्मचारीको वर्णन छ। त्यो कर्मचारी हो, ‘पानीया कर्मन्तिका’। अर्थात्, पानी तान्ने कर्मचारी।
‘यसले पनि अंशुवर्माकै पालामा सात तलामाथिसम्म पानी तानेर झरनाझैं झार्ने प्रविधि थियो भन्ने पुष्टि गर्छ,’ उनले भने।
तिवारीले हिँड्दै, अडिँदै यी सबै वर्णन गर्दा हामी हाँडीगाउँको मूलबस्ती छिरिसकेका थियौं।
गहनापोखरीबाट मूलबस्तीतिर बढ्दा हल्का उकालो आउँछ। त्यहाँ एउटा पुरानो पाटी छ। यहीँबाट प्राचीन अन्डीग्राम सुरु हुन्छ। यहाँ सहर छिर्ने प्रवेशद्वार थियो भन्ने तिवारीको भनाइ छ।
बाटो दाहिनेतिर कुमारको मन्दिर छ। यसलाई भगवतीका रूपमा पनि पूजा गर्ने चलन रहेछ। काठमाडौंमा यस्तो मन्दिर विरलै पाइन्छ। लिच्छविकालीन यो मन्दिरले उक्त ठाउँ कैलाशकूट भवनको एउटा कुना हुनसक्ने तिवारीले अनुमान लगाएका छन्।
त्यहाँबाट अलि अगाडि गुजमुज्ज पुरानो बस्ती देखाउँदै तिवारीले भने, ‘टुँडालदेवी जात्रा यो ठाउँमा आएपछि घर–घरबाट दहीचिउरा फाल्ने चलन छ। अहिले यहाँ श्रेष्ठ थरीहरू बस्छन्। पहिले तत्कालीन समयका दरबारिया भाइभारदार बस्थे।’
‘यो कुरा कसरी थाहा भयो?’
‘जात्रालुलाई दही–चिउरा खुवाउने हैसियत सबैको कहाँ हुन्छ र,’ उनले भने, ‘अहिले यहाँ जो बस्छन्, तत्कालीन लिच्छवि खलकसँग उनीहरूको नातासम्बन्ध थियो कि, के बेर?’
हाँडीगाउँको विशेषता के भने, यहाँको सहरी संरचना अहिले पनि ठ्याक्कै त्यही रूपमा छ, जस्तो लिच्छविकालमा थियो।
तिवारीका अनुसार लिच्छविहरू वर्गाकारमा सहर बसाउँथे। ठूलो वर्गलाई नौवटा साना वर्गमा बाँडिएको हुन्थ्यो। प्रत्येक वर्गको लम्बाइ र चौडाइ एक–एक किलोमिटर। हाँडीगाउँ अहिले पनि त्यस्तै छ। सिधा सिधा सडकले वर्गाकार बस्ती छुट्टयाएका छन्।
‘नाप्ने हो भने उन्नाइस–बीस मात्र फरक पर्ला,’ उनले भने।
सहरलाई तीन भागमा बाँड्ने किराँतकालीन चलनले भने लिच्छवि हुँदै मल्लकालसम्म निरन्तरता पाएको देखिन्छ। काठमाडौंलाई जसरी मल्लहरूले माथिल्लो, मध्य र तल्लो टोलमा बाँडेका थिए, हाँडीगाउँको विभाजन त्यस्तै थियो।
यहाँ अहिले पनि तल्लो टोललाई 'कोत्वा' भनिन्छ भने माथिल्लोलाई 'थँत्वा' र मध्यलाई 'दथुत्वा' भनिन्छ।
माथिल्लो टोलको बीच सडकमै भैरवको टाउको छ। यो काठमाडौंकै सबभन्दा पुरानो भैरव हुनसक्ने तिवारी बताउँछन्।
माथिल्लो टोल भनेको त्यतिबेलाका मूलमान्छे बस्ने ठाउँ हो। मूल मान्छे भन्नाले दरबारका प्रधानहरू। त्यही भएर भैरवको टाउको प्रतिस्थापन गरिएको मानिन्छ।
भैरवलाई किराँतकालीन राजाको स्वरूपका रूपमा लिइन्छ। इन्द्रचोकको आकाशभैरव पनि त्यसैको प्रतीक हो।
हाम्रा सहरी विकास योजनाकारहरूले विगतबाट केही सिक्ने हो भने हाँडीगाउँ राम्रो उदाहरण हुनसक्छ।
तिवारीका अनुसार त्यतिबेला सहरी संरचना ठ्याक्कै पैदलयात्रुलाई हेरेर डिजाइन गरिएको थियो। प्रशस्त हिँड्ने बाटा। ठाउँठाउँमा डबली र ढुंगेधारा। रथ घुमाउन मिल्ने फराकिलो घुम्ती।
हुन त मोटरगाडी नै नभएको युगमा बाटोघाटो पैदलयात्रुकै लागि त हो नि भन्ने प्रश्न पनि उठ्ला।
‘पछिल्लो समय संसारभरि बाटोघाटो बटुवाकै लागि हुनुपर्छ भन्ने अवधारणा प्रबल छ,’ तिवारीले भने, ‘हाम्रा योजनाकारले लिच्छवि र मल्लकालीन संरचनाबाटै धेरै कुरा सिक्न सक्छन्।’
अतीतलाई बिर्सेर हिँड्नु, हिँड्दै जानु पाइला मेट्दै जानु।
हामी हिँड्दा हिँड्दै हाँडीगाउँको डबलीमा पुग्यौं। यहाँ अंशुवर्माले छाडेका दुइटा शिलालेख तिवारीले देखाए।
फलामे जालीले घेरेर राखिएका ती शिलालेखमध्ये एउटामा देवथानहरूलाई तत्कालीन दरबारले चढाउने दानदक्षिणा उल्लेख छ भने अर्कोमा दरबारका कर्मचारीहरूले पाउने तलब तालिका।
सम्पदा चेत गुम्दै जाँदा यी शिलालेख पनि मासिन के बेर!
केहीअघि ट्रकले हानेर एउटा फुटाइदिएको थियो। धन्न जोडजाड परियो। कालोपत्रे थपेपिच्छे सडकको उचाइ बढ्दै जाँदा यसै पनि शिलालेख गाडीको टायरमै पर्न आँटिसके।
‘अब कि यहाँ सडक अग्लिन दिनुभएन, नभए शिलालेखलाई नै माथि उठाउनुपर्यो,’ तिवारीले भने, ‘यसबारे पुरातत्व र सडक विभागसँग छलफल गर्दैछौं।’
यो डबली हाँडीगाउँकै केन्द्र हो। पूर्वतिर ओरालो झरेपछि सत्यनारायण मन्दिर आउँछ, जहाँको मूर्ति तेस्रो शताब्दीको हो।
हामी अहिले चार नारायण भन्छौं, लिच्छविहरूले राजधानी बनाउँदा पाँच नारायण रहेछन्। काठमाडौंका चार कुनामा चार नारायण र पाँचौं नारायण दरबारअगाडिको यही मन्दिर।
इटालियन टोलीले उत्खनन् गरेको ठाउँ यही मन्दिरछेउ हो। लिच्छविकालीन ढुंगेधारा फेला परेको मन्दिरअगाडि हो।
यहाँ इशापूर्व दोस्रो शताब्दीका मूर्ति पनि फेला परेका छन्। किराँतकालीन ती देवीहरू एउटा खुट्टा भुइँमा झारेर अर्को पलेँटी मारेर बसेका छन्।
‘किराँतकालमा देवीहरूको बस्ने आसन यस्तै हुन्थ्यो,’ उनले भने।
जीउ मोटाघाटा र पेट पुट्ट लागेका यी देवीहरू ढुंगामा आड लाएका छन्। यिनले हाँडीगाउँको इतिहास कम्तिमा दुई हजार वर्ष पछाडि धकेल्ने तिवारी बताउँछन्।
इतिहासको विस्मृतिमा गइसकेको यही लिच्छवि कथालाई अबको अन्वेषणले जीवन्त तुल्याउला त?
‘म त आशावादी छु,’ तिवारीले छुट्टिने बेला दोहोर्याएर भने, ‘लिच्छविकालीन धरोहरहरू हाँडीगाउँको गर्भमा बन्द छन्। हामीले नै खोज्न सकेका छैनौं।’
उनले भनेजस्तै अबको पुरातात्विक अन्वेषणले ती धरोहर फेला पारे काठमाडौं उपत्यकाकै सबभन्दा वृहत प्राचीन खोज हुनेछ।
सायद, यो अतीतले हाँडीगाउँको वर्तमान र भविष्य पनि फेर्नेछ।
र, फेर्नेछ ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखानको मर्म।