सोलुखुम्बुका स्याङबोचे कार्की आजै ५२ वर्ष लागे। नयाँ वर्ष आएसँगै उनको उमेर पनि एक वर्ष उकालो लाग्छ। अर्थात् वैशाख १ गते उनको जन्मदिन। धुमधामसँग जन्मदिन मनाउने रहर त उनलाई पनि नभएको कहाँ होर, तर के गर्नु नगरी काम पुग्दैन खाना साँझ र बिहान!
जन्मदिन र नयाँ वर्षको खासै वास्ता नगरी आइतबार बिहान पनि कार्की सधैंझैं काममा गए। २६ वर्ष यही क्षेत्रमा काम गरेका उनलाई आजको दिन पनि खास केही विशेष थिएन किनकी काम उस्तै थियो।
उनी अहिले समिट एयरमा काम गर्छन्। तैपनि लुक्ला विमानस्थल आउने सबैजसो पाइलटले भनेका सानातिना काम गरिदिन्छन्।
आजै बिहान सल्लेरी पुगेर फर्किएको मनाङ एअरको हेलिकप्टर फेरि उड्ने तरखर गर्दै थियो। भित्र क्याप्टेन चेत गुरूङ एक्लै थिए।
‘पाइलट चेत सर हेलिकोप्टरभित्रै हुनुहुथ्यो। क्याप्टेन सरले झोला झिकिदेऊ न साइँला भन्नुभयो। सधैं हामी साथीहरूको काम मिलेर गरिदिने हो,’ उनले भने,‘म हेलिकप्टरमा पछाडि सामान झिक्दै थिएँ। जहाज घस्रेर आएर लागेछ, थाहा पाइनँ।’
आफूले काम गर्ने एअरलाइन्सको जहाज आफैंमाथि बज्रेपछि कार्की बेहोस भए।
आइतबार दिउँसो ग्रान्डी अस्पतालमा उपचार गराइरहेका कार्कीले सेतोपाटीसँग भने, ‘आधा घन्टापछि होसमा आउँदा म त डिलमूनि रैछु। दुइटा जहाज च्यातचुत भएछन्।’
स्याङ्बोचे डिलमूनि पुगेको उक्त घटनामा रामेछापको मन्थली उड्न लागेको जहाजले हेलिकप्टरलाई ठक्कर दिएको थियो।
धावनमार्गबाट चिप्लिएको जहाजको ठक्करबाट नेपाल प्रहरीका असईद्वय रामबहादुर खड्का, रूद्रप्रसाद श्रेष्ठर समिट एयरका कोपाइलट सुजित ढुंगानाको मृत्यु भएको छ।
यो पनि पढ्नुस् :
कार्कीले सुरूमा हेलीको पुच्छरमा केहीले लाग्यो भन्ने ठानेका थिए।
‘ड्याम्म हान्यो। के ले हान्यो हान्यो। म त्यही पक्लक्कै लडिछु,’ उनले भने, ‘मलाई पछारेर कान्लामुनि पुर्याएछ। होसमा आएपछि छामेको त दुख्यो।’
आफू होसमा आउँदा प्रहरीहरूले जहाजमा लागेको आगो निभाइरहेको उनले बताए।
‘म उठ्दा पुलिसहरू जहाजमा लागेको आगो मारिरहेका थिए। एउटा पुलिस पनि मरेछन्, अर्को बेहोस भएर लडिराखेको,’ उनले भने, ‘आगो मार्दै क्याप्टेन चेतसरलाई हेलिकोप्टरभित्रबाट झिक्दै गरेका थिए।’
करिब तीन दशक एअरलाइन्समै काम गरेका उनी यसअघि यस्तो दुर्घटनामा परेका थिएनन्।
‘पहिलो घटना नै यही हो। यसअघि फिस्टेलमा काम गरेको थिएँ,’ उनले भने, ‘अहिले समिटमै काम गर्छु। आफ्नै जहाजले ड्याम्म हान्यो।’
दुर्घटनामा घाइते भएका उनीसहित ४ जनाले तत्कालै श्री एयर लाइन्सको हेलिकप्टरबाट काठमाडौं ल्याइयो।
‘छाती दुखेको छ। अन्त पनि कता कता दुखेको थाहा छैन,’ कार्कीले भने,‘डाक्टरले दुइटा करङ भाँचिएको र फोक्सोमा अलिकति हावा पसेको भन्नुभएको छ। निको हुन्छ रे।’
कार्की दुर्घटनामा परेको काठमाडौं बस्ने उनकी छोरी र भतिजलाई समाचार पढेर थाहा पाएछन्।
‘मलाई यस्तो भएको घरपरिवारले थाहा पाइसक्यो। छोरीहरू र छोरा (दाइको छोरा) अस्पतालमा आइसक्यो,’ उनले भने।
एकैदिन पर्ने आफ्नो जन्मदिन र नयाँ वर्ष बेलुकी घरमा र साथीभाइ जमघट गरेर रमाइलो गर्ने उनको योजना थियो। दुर्घटनाले उनको योजना चक्नाचुर पारिदियो।
‘जन्मदिन बेलुकीपख मनाउने भन्ने थियो। नयाँ वर्ष पनि मान्ने भनेको। साथीहरू पनि थिए,’ उनले भने, ‘थोरै कर्मचारी भएकोले हामी बिदा बस्दैनौं। जन्मदिन/नयाँ वर्ष भए पनि काम गर्छौं।’
विदेशी यात्रु लिएर काठमाडौं उडान भर्ने तयारीमा हेलिकप्टरको ककपिटमै रहेका क्याप्टेन चेत गुरुङ पनि ग्राण्डीमै उपचाररत छन्। उनको ढाडमा समस्या छ भने गोडामा चोट लागेको छ।
‘स्टार्ट गरेर टेकअफ गर्दा चिप्लेर समिटको जहाज ममाथि आइपुग्यो,’ क्याप्टेन गुरुङले सेतोपाटीसँग भने, ‘उभिराखेको मान्छेलाई गाडीले हानेजस्तै भयो।’
गुरूङले आज बिहान काठमाडौंदेखि लुक्का उडान भरेका थिए। त्यसपछि उनले लुक्लाबाट ओर्सो भन्ने ठाउँमा विदेशीलाई रेस्क्युसमेत गरे।
यो पनि पढ्नुस् :
‘हेलिकोप्टर स्टाटमै थियो। विदेशी यात्रु काठमाडौं ल्याउनु पर्ने थियो तर यात्रुहरू हेलिकप्टरमा चढिसक्नुभएको थिएन,’ उनले भने, ‘म उड्ने तयारीमा ककपिटभित्र रहेको र उचाहिँ (समिट एअर) दौडने बेला चिप्लेर मैमाथि आइपुगेको हो।’
लुक्ला विमानस्थलको धावन मार्ग ओरालो भएकोले पनि चिप्लने सम्भावना बढी हुने उनले बताए।
‘सुरूमै थ्रेसहोल्डबाट स्पिड लिएर घुइँ गरेर चिप्लेको जहाज हेर्दाहेर्दै मैमाथि बज्रियो,’ उनले भने।
समिटको जहाजका पाइलटको दोष नभएको पनि उनले बताए।
‘यो टेक्निकल कुरा हो। चिप्लेर दुर्घटना भएको हो,’ उनले भने। उनको ढाडमा रहेको हड्डी चोइटिएको र गोडामा चोट लागेको छ।
ग्रान्डी अस्पतालका हेलिकोप्टर रेस्क्यु अफिसर माधव शर्माका अनुसार अस्पतालमा ल्याइएका पाँच जनामध्ये एक जना प्रहरीको निधन भएको र शव शिक्षण अस्पताल लगिएको छ।
चार जना घाइतेमध्ये क्याप्टेन चेतलाई मात्रै भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था छ अरूलाई आजै डिस्चार्ज गरिने अस्पतालले जनाएकोछ।