यसपालि मध्य चैतमा पनि काठमाडौं चिसै छ। हामी हेलम्बु जाँदा त झन् फागुनको आधाआधी थियो। भुइँमा हिउँको डल्ला पग्लिसकेकै थिएन।
हामी सिन्धुपाल्चोकको सेर्माथाङ, तार्के घ्याङ हुँदै मेलम्ची घ्याङ पुग्यौं। बेलुकी ६ बजे बास तय भयो।
‘सात बजे खाना पाक्छ है,’ होटलकी आमैले भनिन्।
‘सात होइन, आठ बजे खान्छौं है आमै,’ राति अबेरसम्म बस्ने बानी पारेका हामीले उत्तर दियौं।
आमैले सात बजेभन्दा बढी कुर्न नसक्ने बताइन्। त्यहाँका मानिस बेलुकी छिटो सुत्छन् र बिहान ढिलो उठ्छन् भन्ने हामीले थाहा पाइसकेका थियौं।
हामीले हतार गरे पनि भान्सामा पुग्दा आठ बजिसकेको थियो। होटलका बुबा खाना खाइवरी सुत्न लागिसकेका थिए। काठमाडौंमा पढ्ने नातिनी र आमै भने जागै रहेछन्।
'तपाईंहरू त कति छिटो सुत्नु हुँदो रहेछ?'
‘पाहुना भएर मात्र हो यति बेलासम्म बसेको,' आमैले जवाफ दिइन्, 'होइन भने सात बजेतिरै सुत्छौं।’
'बिहान चाँडै उठ्नुहुन्छ होला नि?'
'चिसोमा चाँडै उठेर के गर्नु? १० बजेतिर हो उठ्ने,' आमाले भनिन्।
हामीले मनमनै हिसाब गर्यौं।
बेलुकी ७ बजे सुतेर भोलिपल्ट १० बजेतिर उठ्ने भनेको लगभग १५ घन्टा।
सुनेर हामी दंग पर्यौं।
गाउँको यही चलनले एसइई परीक्षा बेला यहाँका विद्यार्थीलाई अनिवार्य छात्रावास राख्ने गरिएको त्यहाँका प्रधानाध्यापक पूर्ण गौतमले बताए।
‘एसइईको समयमा हामीले यहाँका सबै विद्यार्थीलाई छात्रावास अनिवार्य गरेका छौं,’ उनले भने, ‘घरका सबै छिटो सुत्छन्, ढिलो उठ्छन्। केटाकेटीहरू पनि अभिभावकझैं गर्छन्। त्यही भएर छात्रावास अनिवार्य गरेका हौं।’
मेलम्ची घ्याङभन्दा तार्के घ्याङमा अझ धेरै सुत्ने चलन रहेछ। बेलुका ६ बजे सुत्ने तार्के घ्याङ बिहान ११ बजेतिर बल्ल उठ्ने स्थानीय बताउँछन्।
हामी झन् छक्क। मनमनै दंग।
घरमा बिहान ९ बजे उठ्दा आमा भन्नुहुन्थ्यो, ‘तँजस्तो त कोही सुत्दैन होला!’
आमाले यहाँ ल्याउनुपर्यो एकचोटि त!
संसार यति तीव्र रफ्तारमा रहेका बेला काठमाडौंबाट नजिकको यो गाउँ किन यति धेरै सुत्छ? पिछडिएको र दुर्गम भनुँ भने योभन्दा दुर्गम गाउँ कति छन् कति नेपालमा!
हामीले यही प्रश्न स्थानीयलाई सोध्यौं।
सबैको एउटै जवाफ थियो, 'हावापानी चिसो छ, उब्जाउ भूमि छैन। अनि के गर्नु?'
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा पर्ने यो ठाउँ समुन्द्री सतहबाट एक हजारदेखि पाँच हजार मिटरसम्म उचाइमा पर्छ। मेलम्ची घ्याङको उचाइ २७ सय मिटर हाराहारी छ। धेरै चिसो भएकाले हामीले त्यहाँ दुईवटा सिरक खप्ट्याएर रात काटेका थियौं।
चिसो भए पनि स्थानीय ह्योल्मोहरूको भान्सा चिटिक्क सजिएको थियो। खाने, बस्ने, सुत्ने ठाउँ उत्तिकै सफाचट्, मनै लोभ्याउने।
हेलम्बु गाउँपालिका प्रवक्ता छिरिङ लामाका अनुसार यहाँ खेतीपाती खासै हुन्न। जाडो ठाउँ भएकाले मानिस कमै बस्छन्। धेरै रोजगारका लागि सहर जान्छन्। यहाँ बस्ने त बूढाबूढी र केटाकेटी मात्र। त्यही भएर उनीहरू धेरै सुत्ने लामाले बताए।
‘यहाँका मानिसको कामै हुँदैन। उठेर के गर्ने?’ उनले भने, ‘मेलम्ची घ्याङमा स्कुल छ। पर्यटक पनि आउँछन्। त्यही भएर मात्र हो। होइन भने तार्के घ्याङ र मेलम्ची घ्याङको सुत्ने समय उस्तै होला।’
जाडोमा शून्य डिग्रीसम्म झर्ने यहाँको तापक्रम गर्मीमा पनि खासै बढ्दैन। ह्योल्मो समुदायको बाहुल्य रहेको यो बस्तीमा आयआर्जनको मुख्य स्रोत पर्यटन हो। केहीले होटल चलाएका छन्। केहीले वर्षको दुई महिना (चैत र वैशाख) पर्यटक गाइड र भरिया काम गर्छन्। भर्खर भर्खर मात्र कच्ची बाटो पुगेको छ। त्यो पनि बर्खामा बन्द हुन्छ।
यहाँ आलु, करु (जौ प्रकारको अन्न) र मुला उत्पादन हुन्छ। सिमी पनि केही मात्रामा फल्छ। तर, फल्न लामो समय कुर्नुपर्छ। असोज, कात्तिकमा रोपेपछि फागुनमा मात्र उत्पादन हुन्छ।
यहाँका युवायुवती कामको खोजीमा काठमाडौंदेखि विदेशसम्म पुगेका छन्। पर्यटकीय क्षेत्र भएकाले धेरैलाई विदेशीले नै लगेको लामाले बताए।
उनका अनुसार साविकको ४ र ५ वडा रहेको तार्के घ्याङमा २०६८ सालमा ३ सय ७७ जनसंख्या थियो। अहिले त्यो पनि घट्दो क्रम छ।
‘आयस्रोतका लागि धेरै काठमाडौं बसेका छन्। टुरिष्ट गाइड गर्ने, भरिया गर्ने केहीलाई विदेशीले लगेका छन्। काम गर्न सक्ने र बुझ्ने बाहिर भएपछि बूढाबूढीलाई सम्झाउन गाहो,' उनले भने, 'त्यसैले गाउँपालिकाले सोचेको लक्ष्य हासिल नगर्ला जस्तो छ।’
धेरै आन्तरिक तथा बाह्य पर्यटक गोसाइकुण्ड यात्रा गर्दै यहाँ आउँछन्। धार्मिक पर्यटक पनि धेरै आउने प्रवक्ता लामाले बताए। ‘गुफा, गुप्त क्षेत्र धेरै छन्। यहाँ सम्भोटा लिपि बुझेका मानिस आउँछन्। ठूल्ठूला लामा गुरुहरू पनि आउनुहुन्छ,’ उनले भने।
यो क्षेत्रका सबै मानिस बुद्ध धर्म मान्छन्। माने, गुम्बा थुप्रै छन्। ती ठाउँ ध्वजापताकाले सजाइएको छ। २०७२ वैशाख १२ को भुइँचालोले लडेका घर उठ्न सकेका छैनन्। तै ध्वजापताका झकीझकाउ छ। करोडौं खर्चिएर बनाइएका साना–ठूला गरी दर्जनौं बौद्ध गुम्बा र स्तुप छन्। तिनलाई स्थानीयले नै मर्मत गरेर राखेका छन्।
पर्यटकीय क्षेत्रमा स्थानीयको बसोबास टिकाउन नसक्दा गाउँपालिकालाई विकास निर्माणका काम गर्न हम्मे परेको छ।
स्थानीयलाई यहीँ राख्न गाउँपालिकाले काठमाडौंमा बस्ने आफन्तसँग छलफल चलाएको छ। स्थानीयलाई कृषि र पर्यटन क्षेत्रमा लाग्न प्रेरित गर्न थुप्रै सुविधा दिने भएको छ।
‘त्यसै त जनसंख्या थोरै, त्यसमाथि पखेटा लागेका जति कि विदेश छन्, कि राजधानी,’ लामाले भने, ‘विकासका काम गर्न मान्छे चाहिन्छ। यहाँ मान्छे नै छैनन्। त्यही पनि हामीले राजधानीमा बस्नेसँग कुरा गरिरहेका छौं। सबै सकारात्मक छन्।’
गाउँपालिकाले किवी र स्याउ खेती विस्तार गर्ने योजना गरेको छ। गाउँमै होटल सञ्चालन गरेर बस्नेलाई खानेपानी, बत्ती र गोरेटो बाटो भए पनि व्यवस्था गरिदिने भएको छ।
गाउँपालिकाको यो योजना लागू भए अर्कोपटक तार्के घ्याङ वा मेलम्ची घ्याङ पुग्दा सम्साँझै भात खाएर ओछ्यानमा घुस्रनु नपर्ला कि!