नेपालका धेरैजसो गाउँमा कच्ची सडकसम्म आएर गोरेटा मिसिएका हुन्छन्। शताब्दीयौंदेखिको स्थानीय इतिहासले बुनेजस्ता लाग्ने ती बाटाहरू खेत र घरहरू वरपर घुमेका हुन्छन्।
बर्दिया जिल्लामा पर्ने भारतीय सीमा छोएको संघर्षनगर गाउँको अवस्था भने भिन्न छ।
एउटै फाँटमा बनाइएका कच्ची सडकका किनारमा घरहरू सोझो रेखामा पंक्तिबद्ध छन्। समकोण आकारमा बनाइएका खेत र बारीमा गाउँका किसान धान, गहुँ र तोरी उमार्छन्।
संघर्षनगर हालसालै बसाइएको गाउँ भएकाले यसको बनौट भिन्न देखिन्छ। लगभग दुई दशकपहिले कर्णाली नदीको पूर्वी किनारमा अवस्थित जंगल फँडानी गरेर नेपाल सरकारले मुक्त कमैयालाई जग्गा वितरण गरेको थियो। थारु समुदायका गरिब परिवार जमिन्दारबाट लिएका ऋण चुक्ता गर्न बँधुवा मजदुरका हैसियतमा कमैया बसेका हुन्थे।
सन् २००० मा कमैया मुक्ति आन्दोलनपछि मुक्त घोषणा गरिएका लगभग एक लाख कमैयामध्ये छ सय परिवारलाई संघर्षनगरमा बसाइएको थियो। परम्परागत अन्यायी थितिविरुद्धको संघर्षपछि उक्त बस्ती बसेकाले संघर्षनगर नाम रहेको हो।
फँडानीबाट बचेका जंगलले अद्यापी गाउँलाई घेरेको छ, मानौं गाउँलाई बाहिरी दुनियाँबाट अलग्ग राख्न खोजिएको होस्।
राष्ट्रिय सञ्चारमाध्यमले संघर्षनगरजस्ता गाउँका कथा हम्मेसी ल्याउँदैनन्। गत वर्ष भने गाउँनजिकै जंगलमा मृत फेला परेकी किशोरीका कारण संघर्षनगर केही पत्रिकाको न्युजफिडमा झुलुक्क झुल्केको थियो। प्रहरीले आत्महत्या दाबी गरे पनि मृत किशोरीका परिवार, साथी, शिक्षक र छिमेकीले उनको हत्या भएको बताउँछन्।
सन् २०१९ जनवरीदेखि हामीले उक्त घटनाबारे संयुक्त अध्ययन थाल्यौं। प्रहरीसँग अन्तर्वार्ता, सम्बन्धित स्वास्थ्यकर्मीसँग सोधपुछ, किशोरीका परिवार, मित्रहरू, शिक्षक, स्थानीय राजनीतिक नेता तथा नागरिक समाजका प्रतिनिधिसँग कुराकानीबाट उक्त अध्ययन थालियो।
मृत फेला परेकी किशोरीबारे गरिएको प्रहरी अनुसन्धानमा गम्भीर कमजोरी रहेको पत्ता लाग्न थाल्यो। नेपाल प्रहरीले शंकास्पद मृत्युबारे गर्ने समग्र अनुसन्धान पद्धतिमा खोट रहेको तथ्य फेला पर्यो। खासगरी निमुखा एवं सीमान्तकृत समुदायका पीडित रहेको अवस्थामा यस्ता कमजोरी बढ्ता हुने गरेका छन्।
२०७५ कात्तिक ११, आइतबारको घटना हो।
संघर्षनगर गाउँमा माटोले बनेको आफ्नो सानो घरमा सुतेकी चौध वर्षे प्रमिला थारु झिसमिसेमै उठिन्। मजदुरी गर्ने बाबुआमा फुलपतीया र बेजन्ती थारुलाई नउठाई उनी सुस्तरी बाहिर निस्किइन्।
बाबु फुलपतीया कामका सिलसिलामा धेरैजसो पूर्वी नेपालतिर हुन्छन् तर त्यसबेला दसैं मनाउन घर आएका थिए। दिदीहरू, २० वर्षे शर्मिला र १९ वर्षे उर्मिला साथै कान्छो भाइ ६ वर्षे सरोजको निद्रामा कुनै व्यवधान नआओस् भन्नेमा सचेत हुँदै उनी निस्केकी थिइन्।
गाउँनजिकै अमर सहिद श्रीदशरथ चन्द विद्यालयमा कक्षा ८ मा अध्ययनरत प्रमिला मिहिनेती विद्यार्थी थिइन्। दसैं विदाका कारण विद्यालय बन्द रहे पनि उनी सबेरै गणित विषयको ट्युसन पढ्न हिँडेकी थिइन्।
सडकको अर्को किनारमा बस्ने दौंतरी सहपाठी बबितालाई भेटिन्। उनीहरू दुवै पढ्न हिँडे।
लगभग पन्ध्र मिनेट हिँडेर जंगल छिचोलेपछि उनीहरू संघर्षनगरको पूर्वोत्तरमा अवस्थित राजापुरको बजार पुगे। बजारका गल्लीमा बिहान तंग्रिन सुरु गर्दै थियो। कतै स्टोभ बलेको सुनिन्थ्यो, कतै प्रेसर कुकरले सिटी फुक्न थालेको थियो भने कतै भाले बास्दैथे।
माथि टिनको छानो र तल बोराको पर्खाल लगाइएको फुटबल खेल्ने चौरको एक कुनामा उनीहरूको गणित ट्युसन चल्थ्यो। त्यही चौरमा अघिल्लो दिन हाट लागेको थियो। त्यो कामचलाउ कक्षाकोठाको अघिल्तिर उभिएर सुखराम थारु विद्यार्थीलाई हिसाब सिकाउँथे। त्यसका लागि आवश्यक कालोपाटी पनि झुन्ड्याइएको थियो।
प्रमिला, बबिता र अन्य विद्यार्थी सुखरामले सिकाएका हिसाब आफ्ना खातामा सार्न थाल्थे।
बिहानको दस बजे ट्युसन सकिएपछि प्रमिला संघर्षनगर फर्किइन्। घरमै सिलाइबुनाइको काम गर्ने शर्मिलासँग उनको भेट भयो। बाबुसँगै लागेर उर्मिला धान काट्न हिँडिसकेकी थिइन् भने बेजन्ती ज्यालादारी गर्न राजापुर गइसकेकी थिइन्।
दालभात खाएर बाह्र बजेतिर प्रमिला पनि खसीबाख्रा चराउन संघर्षनगर र कर्णाली नदीको बीचमा पर्ने जंगलतिर लागिन्। उनीसँगै छिमेकका केटाहरू ११ वर्षे जीवन थारु, १० वर्षे अरुण थारु र २० वर्ष माथिको सन्जोग थारु पनि जंगल गएका थिए। उनीहरू एकअर्कासँग राम्ररी परिचित थिए।
प्रमिलाको बाबुसँग नजिकको सम्बन्ध भएकाले सन्जोगले प्रमिलालाई भतिजी भन्थे। दसैंको पारिलो घाममा उनीहरूसँगै बाख्रा चराउन थाले।
केही बेर बाख्रा चराएपछि त्यो समूहले सँगै बसेर खाजा खाए। खाजामा रोटी थियो। केटाहरूभन्दा केही अलग्ग बसेर प्रमिलाले खाजा खाइन्। यसो गर्नु कुनै अनौठो थिएन। लजालु स्वभावकी प्रमिला अन्य केटी वा महिलाहरू नभएका बेला खासै बोल्दैन थिइन्।
दिउँसो लगभग दुई बजेतिर केटाहरूले नजिकैको कर्णालीमा पौडी खेल्न जाने निधो गरे। प्रमिला बाख्रा हेरेर जंगलमै बसिन्।
पौडी खेलिसकेर जंगल फर्कंदा केटाले बाख्रा चरिरहेको फेला पारे तर प्रमिला कतै गोचर भइनन्। केही पर अन्य गाउँलेहरू आफ्नै वस्तु चराइरहेका थिए। उनीहरूले पनि प्रमिलालाई नदेखेको बताए। केटाहरूले सोचे, कुनै काम परेर प्रमिला घर फर्किइन्। वा, दसैं बेला सडकमा देखाउने कुनै नाटक हेर्न दौडिइन्।
उनीहरू गाउँ फर्के र प्रमिलाका बाख्रा उनका घरमा छाडिदिए।
साँझ पर्न थालेपछि फुलपतीयाले सन्जोगलाई प्रमिलाबारे सोधे। सन्जोगले पौडीबाट जंगल फर्केदेखि नै आफूले प्रमिलालाई नदेखेको बताए।
आत्तिएका फुलपतीयाले पहिले गाउँमा र पछि सडकमा चलिरहेका दसैं कार्यक्रममा खोजे। प्रमिला कहीँ फेला परिनन्। त्यसपछि उनी एक्लै जंगलतिर खोज्न गए। जंगलमा समेत उनले छोरी फेला पारेनन्।
गाउँ फर्केर उनले थारु समुदायका पारम्परिक नेता अर्थात् ‘चौकीदार’ लाई प्रमिला हराएको बताए। राजापुरको कामबाट फर्किसकेकी आमा बेजन्ती लगायतको एउटा ठूलो समूह जंगल पसेर प्रमिलाको खोजी गर्न थाल्यो। गाउँलेले रात धेरै छिपिएसम्म जंगलमा धुइँपत्ताल खोजे, तर प्रमिला कतै भेटिइनन्।
अर्को दिन बिहान थप केही दर्जन गाउँले भेला भएर खोजी सुरु गरे।
बिहान दस बजेतिर प्रमिलालाई अन्तिमपटक देखिएको ठाउँबाट लगभग बीस मिनट दुरीमा दक्षिणपट्टि एउटा समूहले उनले लगाएका चप्पल फेला पारे।
चप्पल भेटिएको ठाउँबाट लगभग सय मिटर दुरीमा प्रमिला देखिइन्। भेलार रुखको होचो हाँगाबाट उनकै सेतो र गुलाबी रंगको दुपट्टामा बेरिएर झुण्डिएको अवस्थामा उनी फेला परेकी थिइन्।
संघर्षनगरबाट भारत पुगिने तर खासै मान्छे नहिँड्ने कच्ची बाटोबाट पाँच मिनेट दुरीमा अलिकति फँडानी गरेको ठाउँमा त्यो रूख उभिएको थियो, जहाँ प्रमिला झुण्डिएकी थिइन्।
त्यस दिन खिचिएको फोटोमा प्रमिला झुण्डिएको हाँगो लगभग पाँच फिट उचाइमा रहेको देखिन्छ। दुपट्टाको गाँठो र प्रमिलाको मुन्टो भने निकै तल, लगभग भुइँबाट तीन फिट उचाइमा झुण्डिएको देखिन्छ। खुट्टा र पाइतला पछिल्तिर लत्रेका छन्, कुर्कुच्चा केही उठेका छन्, घुँडाले भुइँ छोएका छन्।
योग आशनको भाषामा भन्दा कोब्रा–आशनमा जस्तो शरीरको पछिल्लो भाग धनुषाकारमा हलुका उठेको देखिन्छ। हात भुइँतिर लत्रेका छन्, औंलाले भुइँ छोएका देखिन्छन्। उनले अघिल्लो दिनदेखि लगाइरहेको निलो सुरुवाल, रातो कोट र रातै कुर्ता लगाएकी थिइन्। उनको कपाल, कुम र पिठ्युँमा सुकेका घाँस र केही दाना थिए।
उनको परिवारका अनुसार कम्मरमा बाँध्ने सुरुवालको खीप उखेलिएको थियो। सुरुवालको पछिल्लो भागमा लामो माटोका धर्सो देखिन्थ्यो।
प्रमिलाको घाँटीमा सुर्काउने लगाएको ठाउँबाहेक शरीरका अन्य भागमा पनि चोट थिए। दाहिने खुट्टाको बूढीऔंलामा ठूलो काँडाले घोचेर दुलो पारेको थियो। प्रहरीले दुपट्टा काटेर शरीर फर्काएर भुइँमा राख्दा खुट्टाको अघिल्लो भाग रगतमा डुबेको देखिन्थ्यो। गोलीगाँठा र औंलामा भएका डरलाग्दा घाउमा कमिला र कीरा सलबलाउन थालेका थिए। देब्रे आँखाको माथिल्लो भागमा कोरिएका र काटेका दाग देखिन्थे।
खबर पाएपछि राजापुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी तिलक भारती र उपप्रमुख इन्सपेक्टर बद्री ढकाल नेतृत्वको टोली छानबिनका लागि घटनास्थल पुग्यो। पहेँलो टेप लगाएर उनीहरूले घटनास्थल घेरे।
स्थानीय पत्रकार मीन अधिकारीले खिचेको भिडियोमा डिसएपी भारतीले भनेका छन्, ‘हामी यो घटनाबारे अनुसन्धान गर्छौं। घटनाको प्रकृति स्पष्ट छैन, तर हामी पोष्टमार्टमका लागि शव पठाउँछौँ। अनि दूधको दूध, पानीको पानी हुन्छ।’
शव परीक्षणका लागि लैजान ट्याक्टरको व्यवस्था गरियो। राजापुरको स्वास्थ्य केन्द्रका चिकित्सक लामो विदामा गएकाले पन्ध्र किलोमिटर पर कैलाली जिल्लाको सहर टिकापुर पुर्याइयो। मृत शरीरसँगै प्रमिलाका बाबु, थारु समुदायका नेता बड्घर राजु चौधरी, उनका सहयोगी विनोद थारु र दुई जना प्रहरी थिए।
एक घन्टाको यात्रापछि यो समूह टिकापुरको सरकारी अस्पताल पुग्यो। एकतले र चाक्लो जग्गामा फैलिएको उक्त अस्पताल टिकापुर बजारनजिकै छ। शव परिक्षण गर्ने कोठामा चिकित्सकसँगै प्रहरीहरू पनि पसे। शरीर लिएर संघर्षनगर फर्कनुअघि नै निरक्षर फुलपतीयालाई उनकी छोरीको पहिचान खुल्ने एउटा कागजमा औंठा छाप लगाउन भनियो।
भोलिपल्ट कात्तिक १३ गते बिहान मृत शरीर फेला परेको जंगलछेउको कर्णाली बगरमा प्रमिलाको शव गाढियो।
प्रमिलाको मृत्युपछिका दिनमा प्रहरी धेरैपटक संघर्षनगर पुग्थे। प्रहरीले परिवारका सदस्य र उनका साथीहरूलाई प्रमिलाको चालचलन र उनी कोसँग धेरै समय बिताउँथिन् भनेर सोधपुछ गर्यो। अरू कसैले उनलाई क्षति पुर्याउन चाहेको वा उनले आफैंलाई कुनै क्षति गर्न खोजेकोबारे जिज्ञासा राखे।
प्रमिलाको परिवारका अनुसार उनीहरूले प्रहरीलाई सबै सत्य बताए र आफूले जानेसम्मका सबै जानकारी दिए।
बिहीबार, कात्तिक १५ अर्थात् प्रमिलाको शरीर पुरेको दुई दिनपछि टिकापुरमा गरिएको शव परीक्षणको रिपोर्ट तयार भएको रेडियोले बताएको भन्दै एक छिमेकीले उर्मिलालाई सुनाए। प्रहरीले त्यो आत्महत्या भएको निष्कर्ष निकालेको थियो।
उर्मिलाले उक्त समाचार परिवारलाई सुनाइन्। शव परीक्षणको रिपोर्टबारे गाउँमा टिकाटिप्पणी सुरु भयो।
प्रहरीको निष्कर्षले प्रमिलाको परिवारलाई स्तब्ध तुल्यायो। प्रमिलाले आत्महत्या गरेको उनीहरूले पत्याउन सकेनन्। प्रहरीले परिवारसँग तुरुन्त सम्पर्क गरेन। उक्त निष्कर्षमा कसरी पुगियो भन्ने पनि बताएन। परिवारले प्रहरीको निष्कर्षका आधार बुझ्न संघर्ष गरिरह्यो।
सबै भौतिक प्रमाण हेर्दा त्यहाँ घम्साघम्सी भएजस्तो देखिन्छ। प्रमिलाका चप्पल सय मिटर वर फेला पर्नुले उनलाई खेदाइएको अनुमान लगाउन सकिन्छ। उनको शरीरमा टाँसिएका सुकेका पतिंगर र दाना, उनको कपडामा लागेको माटो आदिले उनलाई भुइँमा घिसारिएजस्तो देखिन्छ। उनको खुट्टा र अनुहारमा रहेका घाउ, कम्मरको उखेलिएको खिप लगायतले उनीमाथि यौन हिँसा भएको हुनसक्ने शंका उब्जिन्छ।
झुण्डिएका अवस्थामा प्रमिलाका खुट्टाले जमिन छोइरहेको देखिनुलाई उनको परिवारले अत्यन्तै शंकास्पद मानेको छ। शव परीक्षणका विज्ञहरू भने आत्महत्या गरेका मान्छेका पनि कहिलेकाहीँ त्यसरी खुट्टाले भुइँ छुने गरेको बताउँछन्। त्यस्तो अवस्थालाई विज्ञहरू ‘पार्सियल ह्यांगिङ्ग’ भन्छन्।
प्रमाणहरू एकातिर छन् भने अर्कातिर उनलाई जान्ने कसैले पनि उनले आत्महत्या गरिन् भन्ने विश्वास गर्न सक्दैन।
प्रमिलाकी दिदी शर्मिला भन्छिन्, ‘यस्तो केही गर्ने उसको कुनै सोचाइ थिएन। ऊ जहिल्यै हाँसिरहेकी हुन्थी। केटाहरूबारे कहिल्यै कुरा गरिन। ऊ पढाइमा ध्यान दिन्थी।’
अमर सहिद स्कुलका विज्ञान शिक्षक पर्मानन्द न्यौपाने प्रमिला केही लजालु भए पनि एकदमै ‘सामान्य’ विद्यार्थी रहेको बताउँछन्। उसको मृत्युभन्दा दुई दिनअघि उनले प्रमिलालाई देखेका थिए।
‘उसले कक्षामा कुनै अनौठो व्यवहार गरेको सम्झना छैन। त्यस दिन मैले उसलाई अतिरिक्त पठन सामग्री दिएको थिएँ, उसले त्यो घर लिएर गएकी थिई,’ उनले भने।
अमर सहिदमा आफूले पढाएको तीन वर्ष अवधिमा अरू कुनै आत्महत्याको घटना नभएको पनि उनले बताए।
प्रमिलाको मृत्यु भएको दिन उनीसँगै ट्युसन गएकी उनकी साथी बबिता थारुले प्रमिलामा कुनै अनौठोपन नदेखिएको बताइन्। त्यसैगरी बेपत्ता हुनुभन्दा केही घन्टाअघि भेटेका ट्युसन शिक्षक सुखराम चौधरी, ३१, ले प्रमिलाको हाउभाउ एकदमै सामान्य रहेको बताए।
समग्रमा प्रमिला राम्रो विद्यार्थी भएको र उनी खुसी देखिने गरेको चौधरी बताउँछन्।
सञ्चारमाध्यममा प्रमिलाको मृत्युले तुलनात्मक रूपमा कम ठाउँ पायो। घटना भएको समयमा तुरुन्त यो खबर छाप्ने एक मात्र राष्ट्रिय पत्रिका अन्नपूर्ण पोष्टले मृत्युको शंकास्पद प्रकृतिको कुनै उल्लेख नगरी आत्महत्या भएको बताएको थियो। स्थानीय रेडियो साथी एफएमले भने प्रहरीको भनाइ र परिवारको शंकालाई उत्तिकै स्थान दिएर दुई समाचार सामग्री प्रसारण गरेको थियो।
रेडियो साथीका व्यवस्थापक मीन अधिकारी, जसले डिएसपीसँग भिडियो–कुराकानी गरेका थिए, स्पष्ट भन्छन्, ‘यो आत्महत्या हो भन्नेमा मलाई विश्वास छैन। किनभने मसँग प्रमाण छन्।’
यसो भन्दै उनले प्रमिलाको चोटैचोट भएको शरीरको फोटो देखाए।
प्रहरीको आत्महत्या हो भन्ने निष्कर्ष सार्वजनिक भए पनि स्थानीय चिया पसल र हाटबजारमा प्रमिलाको हत्या भएको र सम्भवतः बलात्कार भएको हल्ला चल्यो। धेरै स्थानीय नागरिक अगुवा, स्थानीय नाटक समूहमा काम गर्ने व्यक्ति तथा महिला अधिकारको क्षेत्रमा काम गर्ने संस्थाले घटनाबारे चासो राखे।
कात्तिक १७ गते, शनिबारका दिन उनीहरूले इलाका प्रहरी कार्यालय राजापुरको नाममा एउटा खुलापत्र जारी गरे- ‘निज प्रमिलाको स्वास्थ्य परीक्षण रिपोर्टसमेत सार्वजनिक नगर्दा उनको बलात्कारसमेत भएको हुन सक्नेतर्फ संकेत हुँदासमेत हत्या र बलात्कार भएकोतर्फ प्रहरीको ध्यानाकर्षण हुन र अनुसन्धानको दायरा बढाउन जरुरी देखिन्छ।’
त्यसको भोलिपल्ट, कात्तिक १८, आइतबारका दिन, राजापुर बजारमा नागरिकहरू भेला भएर अनुसन्धान अघि बढाउन दबाब दिए।
उक्त कार्यक्रम दौरान खिचिएको भिडियोमा देखिएअनुसार त्यहाँ लगभग पाँच सय जना भेला भएका थिए। प्रमिलाका सहपाठीहरू समेत सम्मिलित उक्त भेलामा महिलाको उल्लेख्य उपस्थिति थियो। उनीहरूले नारा जुलुस गरेर प्रहरीलाई दबाब दिन खोजेका थिए।
त्यसलगत्तै अर्को दिन राजापुर प्रहरीले प्रमिलाको परिवारसँग बैठक गरेर शव परीक्षण प्रतिवेदनबारे बुझाउन कोशिस गर्यो। उक्त बैठकमा राजापुर नगरपालिकाका प्रमुख, नागरिक समाजका अगुवा एवम् स्थानीय राजनीतिक नेताहरूको उपस्थिति थियो।
प्रमिलाको केस हेरिरहेका डिएसपी भारती र इन्सपेक्टर ढकालले शव परीक्षण प्रतिवेदनले कुनै विवाद नरहने गरी स्पष्ट आत्महत्या हो भनेको छ भनेर बताए। शव परिक्षण गर्ने चिकित्सक नवराज शर्मा उक्त बैठकमा उपस्थित नभए पनि प्रहरीले परीक्षणको परिणाम निष्पक्ष र वैज्ञानिक रहेकोमा परिवारलाई आश्वस्त तुल्याउन खोजे।
हामीले ती अधिकृतहरूसँग शव परीक्षणबारे बुझ्न खोज्दा, उनीहरू बोल्न मानेनन्। ‘हामीलाई नसोध्नुस्, जिम्मेवार मान्छे डाक्टर हुन्। उनले झुण्डिएको भनेपछि झुण्डिएको हो,’ इन्सपेक्टर ढकालले भने, ‘हामी शतप्रतिशत ढुक्क छौं, यो आत्महत्या हो।’
इन्सपेक्टर ढकालले परिवारसँग प्रमिलाको बलात्कार नभएकोमा आफू ‘लगभग निश्चित’ भएको बताएका थिए। उनले प्रमिलाको मृत्यु हुँदा उनको महिनावारी भएको र प्रहरीले उनको सुरुवालबाट महिनावारी हुँदा लगाउने प्याड फेला पारेको बताए। प्रमिलाको महिनावारी भइरहेको बेला परेकाले उनी बलात्कृत हुन नसक्ने उनले दाबी गरे।
परिवारसँगको बैठक क्रममा प्रहरीले घटनास्थलमा फेला परेका प्रमाण परीक्षण गर्न घटना भएको चार दिनपछि अर्थात् कात्तिक १६ गते काठमाडौं पठाएको बतायो। शरीरको छेउमा भुइँमा भेटिएको रगत, प्रमिलाले लगाएको महिनावारी प्याड र शवबाट तानिएको रगत परीक्षणका लागि पठाएको बताइयो।
परीक्षणको परिणाम आएपछि परिवारलाई जानकारी दिने प्रहरीले आश्वासन दियो। यसबीच परिवारबाट धैर्य र सहयोग अपेक्षा रहेको प्रहरीले बतायो।
शव परीक्षणको परिणाममा परिवारको प्रशस्त सन्देह भए पनि थप परीक्षण भइरहेकोमा उनीहरू केही आशावादी थिए। थप परीक्षणको परिणाम पर्खन उनीहरू राजी भए।
काठमाडौंबाट उक्त परीक्षणको परिणाम आइपुग्न दुई महिना लाग्यो।
पुस २१ गते, शनिबारका दिन प्रहरीले प्रमिलाको परिवारलाई छलफलका लागि इलाका प्रहरी कार्यालय राजापुरमा डाक्यो। उक्त छलफलमा डिएसपी भारती र इन्सपेक्टर ढकालले प्रमिलाका महिनावारी प्याडमा पुरुषको वीर्य फेला नपरेको बताए। भुइँ, महिनावारी प्याड र शरीरबाट लिइएका नमूनामा समेत प्रमिलाको रगत मात्रै पाइएको जानकारी दिए।
प्रमिलाको मृत्यु आत्महत्या नै हो भन्ने आफ्नो निश्चयलाई यी परिणामले थप पुष्टि गरेको उनले बताए।
प्रमिलाले आत्महत्या गर्नुका कारण के हुनसक्छन् भन्नेबारे अनुसन्धान जारी राख्ने प्रहरी अधिकृतहरूले जानकारी दिए। कुनै नयाँ प्रमाण फेला परे उनीहरूले शंकास्पद मानिसलाई प्रश्न गर्ने बताए।
प्रमिलाको परिवार काठमाडौंको परीक्षणको पर्खाइमा बस्न थालेपछि यो मुद्दाबारे चलिरहेको स्थानीय अभियान मत्थर भयो। परिणाम आएपछि पनि प्रमिलाका लागि न्याय माग्ने अभियानले कुनै गति लिन सकेन।
प्रहरीलाई लेखिएको खुलापत्रमा हस्ताक्षर गर्नेमध्ये एक नागरिक समाजकी सदस्य शिवानी चौधरीले काठमाडौंमा कसरी परीक्षण गरियो भन्नेबारे आफूले धेरै नबुझे पनि परिणाम निर्णयात्मकजस्तो देखिन्छ भनिन्।
‘सबै प्रमाणहरूले हत्या होइन, आत्महत्या नै हो भनेपछि हामी केही पछि हट्यौँ,’ उनले भनिन्।
प्रमिलाको परिवार र गाउँलेहरूले यो सरकारी कथनमा विश्वास गर्न सकेनन्। प्रहरीसँगको छलफलपछि बेजन्तीले इन्सपेक्टरले बताएको ‘वैज्ञानिक’ प्रमाणबारे सोचिरहिन्। प्रहरीका तर्कहरू उनलाई अपूरा लाग्न थाले। हो, भुइँबाट लिइएको रगत, महिनावारी प्याडमा रहेको रगत र शरीरबाट लिइएको रगत मिल्यो। तर यतिले यो आत्महत्या हो भन्ने कसरी प्रमाणित गर्छ?
‘त्यहाँ अरू मान्छेको रगत किन हुनुपर्यो र ?’ बेजन्ती भन्छिन्, ‘जसलाई चोट पुर्याइएको हो, रगत त उसैको हुने हो। यो त स्वाभाविक छ।’
हामीले प्रमिलाका खुट्टा र शरीरका अन्य भागमा देखिएका चोटजस्ता प्रमाणबारे प्रहरीलाई सोधेका थियौं। इन्सपेक्टर ढकलाले ती घाउ रातभरि शव झुण्डिएकाले जंगली जनावर र किराले खाएर बनाएको हुनसक्ने बताए।
डिएसपी भारतीले प्रमिलाको शरीरमा लागेका घाँस, कपालमा लागेका दाना, उनका मैला लुगा र वरै छुटेको चप्पल इत्यादिका कारण उनी आफैं भएको बताए।
‘जो मान्छे सुसाइड गर्छ, त्यो मान्छे अलि डिप्रेसनजस्तो हुन्छ, मेन्टल डिस्टर्ब हुन्छ,’ उनले भने।
नजिकबाट बुझ्ने परिवार र साथीले बताएका प्रमिलाको व्यवहारसँग यो भनाइ मेल खाँदैन। कसैले उनलाई मैलो भएर बसेको, कपालमा घाँस लगाएको कहिल्यै देखेको छैन। कसैले पनि उनलाई असन्तुलित वा आत्महत्या गर्न सक्ने मान्छेका रूपमा बुझ्दैनन्। साथै, प्रमिलाको शव परीक्षण गर्ने चिकित्सकले प्रहरीले संकेत गर्न खोजेजस्तो परीक्षणको परिणामबारे आत्मविश्वास देखाउन सकेनन्।
सत्ताइस वर्षे डाक्टर नवराज शर्मा चस्मा लगाउँछन्। बोलीचालीमा फरासिला सुनिन्छन्। टिकापुर अस्पतालका कम उमेरका कर्मचारीमध्ये एक हुन् उनी।
पोखरास्थित मणिपाल कलेजबाट एमबिबिएस गरेर जनरल फिजिसियनका रूपमा काम गरिरहेको भए पनि उनले शव परीक्षणबारे कुनै तालिम लिएका छैनन्। नेपालमा यो सामान्य चलन हो। शव परीक्षण गर्न चिकित्सक नै चाहिन्छ तर यससम्बन्धी विशेष तालिम लिएको हुनुपर्ने आवश्यकता कानुनमा उल्लेख छैन।
नवजात शिशुहरू जाँच्दै गरेको साँघुरो जाँच कक्षमा उनले हामीसँग कुराकानी गर्दा पहिले प्रमिलाको केसबारे केही सम्झेनन्। उनको प्रतिवेदन सार्वजनिक भएपछि विरोध प्रदर्शन भएकोमा पनि उनी बेखबर थिए। उनलाई मृत शरीरको फोटो देखाएपछि भने उनले सम्झे।
शर्माले आफ्नो निष्कर्षबारे यसो भने, 'झुण्डिएर श्वासप्रश्वासमा अवरोध आएकाले मृत्यु भएको हो। तर यसको अर्थ आत्महत्या नै हो भन्ने हुँदैन। हत्या गर्न पनि झुण्ड्याउने गरिन्छ।' (हम्मेसी यस्ता घटना नहुने भए पनि त्यसलाई ‘होमिसाइडल ह्यांगिङ्’ भन्ने चलन छ।)
‘सुसाइड हो कि के हो भन्ने हामी पत्ता लगाउन सक्दैनौं पोष्टमार्टमबाट। त्यो हाम्रो जिम्मा होइन। हामी रिपोर्ट दिने हो, अनुसन्धान प्रहरीको हातमा हुन्छ,’ उनले भने।
डिएसपी भारती र इन्सपेक्टर ढकालले चिकित्सक शर्माको प्रतिवेदनले नै आत्महत्या हो भन्ने निष्कर्षमा पुर्याएको दाबी गरेका थिए। तर प्रहरीले नै आफूलाई आत्महत्या हो भन्ने निष्कर्षमा पुग्न सहयोग गरेको शर्माले बताए।
शर्माका अनुसार मृत्यु शंकास्पद हुँदा प्रहरीले नै शव परीक्षण गर्ने चिकित्सकलाई जानकारी दिने चलन छ। प्रमिलाको हकमा भने प्रहरीले यो सामान्य झुण्डिएर मरेको केस हो भनेको थियो। राजापुरका नगरप्रमुख शिवप्रसाद चौधरीले पनि डिएसपी भारतीसँग कुराकानीका आधारमा प्रहरीले सुरुदेखि नै यो लगभग आत्महत्याको केस हो भन्ने निष्कर्ष निकालेको हामीलाई बताएका थिए।
घटनास्थल निरीक्षण गरेर बनाएको प्रतिवेदन प्रहरीले चिकित्सक शर्मालाई दिएका थिए तर त्यसमा के लेखिएको थियो भन्ने स्पष्ट छैन।
शर्मा आफू प्रहरीसँगको कुराकानीमा भर परेको बताउँछन्। प्रमिलाको चोट लागेको खुट्टाको सम्झना नभएको तर उनको अनुहारमा देखिएका दागबारे प्रहरीलाई सोधेको सम्झन्छन्। प्रहरीले शवलाई रुखबाट निकालेर भुइँमा झार्दा चोट लागेको हुनसक्ने बताएको उनी सम्झन्छन्।
शर्माले सामान्य शव परीक्षण गर्न १५ मिनेट र जटिल अवस्था भए ४५ मिनेटसम्म लाग्ने तोकेर बताए। प्रमिलाको केस सामान्य भएकाले १५ देखि २० मिनेट लागेको उनले खुलाए। घाँटी चिरेर परिक्षण गरेको तर यौन हिँसा ठम्याउन आवश्यक कम्मरमुनिको भागको परीक्षण आफूले नगरेको उनले जानकारी दिए।
घटनास्थलमा खिचिएको फोटोबारे थप बुझ्न हामीले वरिष्ठ फोरेन्सिक विज्ञ डा. हरिहर वस्तीसँग सम्पर्क गर्यौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको शवालयभन्दा ठीक माथि उनको कार्यालय छ।
आफ्नो पेसामा निरन्तर व्यस्त रहेका वस्तीले हजारौं आत्महत्याका केस जाँच गरिसकेका छन्। उनका अनुसार राम्रोसँग शव परिक्षण गर्न एक घन्टाभन्दा बढी समय लाग्छ। महिनावारी हुँदैमा बलात्कारको सम्भावना नटर्ने भएकाले बलात्कार भए-नभएको पनि हेर्न जरुरी रहेको उनको धारणा छ।
प्रमिलाको अनुहारमा लागेको घाउ पनि शंकास्पद भएकाले त्यहाँ चिरा पारेर हेर्न जरुरी थियो। राजापुर प्रहरीले दाबी गरेजस्तो प्रमिलाको खुट्टामा भएका घाउ जनावरले खाएर होइन, घर्षणले भएको वस्तीले बताए।
बाहिर देखिने गरि कुनै ‘टिस्यु डेफिसिट’ नभएकाले मृत्युकै समयमा लागेका चोटहरू हुनसक्ने उनले अन्दाज गरे। प्रमिलाले आफैं पनि ती चोटहरू लगाएको हुनसक्ने सम्भावनालाई भने उनले नकारेनन्।
‘यस्तो पार्सियल ह्यांगिङ अवस्थामा कुनै काँचको टुक्रा वा त्यस्तो केही छ भने र मृत्यु हुने बेला ऐंठन भयो भने आफैं झुण्डिँदा पनि यस्ता चोट लाग्न सक्छन्। नभए यस्तो चोट लाग्ने सम्भावना हुँदैन,’ उनले भने।
घटनास्थलको फोटोमा कुनै धारिलो वस्तु देखिँदैन। झरेका पात, साना हाँगा, बुटा र जंगलको माटो मात्रै देखिन्छ।
प्रहरीको केन्द्रीय प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणका परिणामबारे पनि हामीले वस्तीसँग छलफल गरेका थियौं। मृत्यु भएको ठाउँमा फेला परेको रगत प्रमिलाको मात्रै भएको प्रहरीले उनको परिवारलाई बताएको थियो।
सत्य के हो भने, प्रयोगशालाले प्रमिलाको शरीर, महिनावारी प्याड र भुइँको रगत जाँच गरेर रक्तसमूह पत्ता लगाउन खोजेको थियो तर प्रतिवेदनमा भनिएको छ, ‘नमूना १, २ र ३ को रक्तसमूह पत्ता लागेन।’
‘यी परिणामको कुनै अर्थ छैन,’ वस्तीले भने।
घटना भएको र नमूना काठमाडौं पठाएकोबीच चार दिनको समय थियो, यसबीच रगत सडिसक्ने भएकाले रक्तसमूह पत्ता नलाग्नु कुनै अनौठो नभएको उनले बताए। प्रहरीले रगत सड्न नदिन 'प्रिजर्भेटिभ' राख्ने चलन यहाँ छैन।
त्यसमाथि रक्तसमूह परीक्षणले व्यक्ति पहिचान गर्न सघाउँदैन। बरु डिएनए परीक्षणले केही ठोस परिणाम ल्याउन सक्थ्यो। डिएनए परीक्षण भने गरिएन।
मृत्युबारे उनको धारणा सोध्यौं, वस्तीले हात उठाउँदै भने, ‘जे पनि हुनसक्छ।’
राजापुर प्रहरी भने प्रमिलाको मृत्युबारे गरिएको अनुसन्धानमा लापरबाही गरेको स्वीकार्दैन। इन्सपेक्टर ढकाल प्रमिलाको परिवार र अन्य अभियन्ताहरू ‘यो केसलाई कञ्चनपुरको निर्मला पन्तको केसजस्तो देखाउन प्रयत्न गरिरहेको’ बताउँछन्।
तेह्र वर्षीया निर्मला पन्त धेरै हिसाबमा प्रमिलाजस्तै थिइन्। विद्यालयमा अध्ययनरत, पढ्नमा रुचि भएकी, लजालु, गरिब परिवारकी पन्त एक साँझ कञ्चनपुरबाट बेपत्ता भइन्।
कञ्चनपुर संघर्षनगरबाट लगभग सय किलोमिटर दुरीमा पर्छ। बेपत्ता भएको अर्को दिन उनको अर्धनग्न शरीर उखुबारीमा फेला परेको थियो। यो घटनामा देखिएको नृशंसताका कारण यसले राष्ट्रिय चर्चा पायो। घटना चर्चित हुनुको अर्को कारण प्रहरीले घटना अनुसन्धानमा गरेको लापरबाही पनि हो।
गृह मन्त्रालयले गरेको अनुसन्धानमा जिम्मेवार प्रहरी अधिकृतले प्रमाण संकलनमा लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर भयो। स्थानीयबासीले भने प्रहरीले दोषी ठहर गरेको भए पनि उसलाई बचाउन खोजेको आरोप लगाए। आरोपबाट बच्न प्रहरीले मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई दोष स्वीकार्न लगाए।
सम्भवतः त्यसका लागि ती व्यक्तिलाई यातना दिइयो र डिएनए परीक्षणको परिणाम नआउञ्जेल तिनैलाई दोषी ठहर्याइयो।
यसैबीच प्रहरीविरुद्ध विरोध प्रदर्शन सुरु भयो। प्रहरीको गोली लागेर एक जनाको ज्यान गयो भने थुप्रै घाइते भए। अन्ततः अनुसन्धानमा संलग्न प्रहरीका एक इस्सपेक्टर र एसपीलाई कारबाही गरियो।
यही फागुनमा ६ जना अन्य प्रहरीलाई पक्राउ गरी घटना अनुसन्धानमा लापरबाही गरेकोमा अदालती सुनुवाइका लागि राखिएको छ।
इन्सपेक्टर ढकालले यी दुई घटनामा कुनै समानता नभएको बताए पनि पन्तको घटना प्रमिलाका लागि सान्दर्भिक ठान्नेहरू धेरै छन्।
साथी एफएमका पत्रकार मीन अधिकारी राजापुर प्रहरीले कञ्चनपुरको घटनाबाट त्रसित भएर कुनै खतरा मोल्न नचाहेको बताउँछन्। ‘बर्दियामा पनि त्यस्तै समस्या खडा गरिने त होइन? अप्ठ्यारो अवस्था आइपर्ने त होइन? राज्यलाई चुनौती हुने त होइन?’
प्रहरीले आफ्नो काममाथि ठूलो सार्वजनिक निगरानी नहोस् भनेर प्रमिलाको घटनालाई आत्महत्या भनेर सल्टाउन खोजेजस्तो देखिन्छ।
क्याम्ब्रिज विश्वविद्यालयमा अपराधशास्त्रमा विद्यावारिधि गर्दै गरेकी आस्था दाहाल दबाब दिन नसक्ने पीडित र तिनका परिवारको घटनामा अनुसन्धान गर्न नेपाल प्रहरीले खासै चासो नदिने बताउँछिन्।
आफ्नो अध्ययन क्रममा दुई वर्ष नेपाल प्रहरीको काम गर्ने तरिका नजिकबाट नियालेकी दाहालले प्रहरीले पीडित परिवारले लगाएका लुगा, तिनको शिक्षाको स्तर साथै नेपाली र अंग्रेजीमा उनीहरूको पकड आदिबाट उनीहरूको पहुँच अन्दाज गर्ने गरेको बताइन्।
‘तपाईं उच्च वर्गको हुनुहुन्छ भने बलियो च्यानल लगाउन सक्ने सम्भावना हुन्छ। अदालतमा मुद्दा दायर गरेर प्रहरीलाई अनुसन्धान गर्न बाध्य तुल्याउन सक्नुहुन्छ। प्रभावशाली वकिल लगाउन सक्नुहुन्छ। न्यायलयमा पहुँच हुन्छ। र, तिनै प्रहरीका बोससँग सोझो पहुँच पनि हुनसक्छ,’ उनले भनिन्।
प्रमिलाका आमाबाबु असाक्षर छन् र उनीहरू मुस्किलले मात्रै नेपाली बोल्न सक्छन्। उनीहरू आफ्नो मातृभाषा थारुमा कुराकानी गर्छन्। त्यसैले उनीहरूको कुनै पहुँच नभएको सहजै बुझ्न सकिन्छ।
राजापुरकी अभियन्ता शिवानी थारुले भनिन्, ‘पहुँच नभएको परिवारको छोरी हो, मुख्य कुरा। गरिब परिवारको छोरी भएको कारणले ऊसँग निरन्तर काम गर्ने मान्छे नै भेटिएन। नेतृत्व गर्ने मान्छे भएनन्।’
हामीले प्रमिलाको केस हेरिरहेका प्रहरी अधिकृतको पृष्ठभूमिबारे अनुसन्धान गर्यौं। त्यसबाट एउटा घटना अलि खास देखियो।
एक वर्षअघि डिएसपी भारती काठमाडौं दरबारमार्गस्थित महानगरीय प्रहरी वृत्तमा खटिएका रहेछन्। दरबार मार्गको प्रहरी बिट पुग्न प्रहरी अधिकृतमा ठूलो प्रतिस्पर्धा हुन्छ र यहाँ सरुवा पाउनेहरू प्राय: माथिसम्म पहुँच भएका हुन्छन् भन्ने मानिन्छ।
२०७४ माघ दोस्रो सातातिर दरबारमार्ग प्रहरी वृत्तमा एउटी महिलाले नजिकैको ल्यान्डमार्क होटलमा आफूलाई लागुऔषध दिएर चार जना पुरुषले बलात्कार गरेको आरोप लगाउँदै निवेदन दिइन्। प्रहरी वृत्तले उनको 'एफआइआर' (फस्ट इन्फर्मेसन रिपोर्ट) दर्ता गर्न अस्वीकार गर्यो।
एफआइआर अपराधबारे रिपोर्ट गर्न आवश्यक पहिलो जरुरी वैध कागजात हो। निवेदन दर्ता गर्न नमानेको प्रहरीले उल्टै आरोपित बलात्कारीहरूसँग मेलमिलाप पत्रमा हस्ताक्षर गर्न पीडित महिलालाई दबाब दियो। प्रहरीको यो रवैया सार्वजनिक भएपछि औपचारिक छानबिन थालियो। उक्त छानबिनबाट प्रहरीले बलात्कारीहरूबाट घटना सल्टाउन घुस लिएको प्रमाण फेला पर्यो।
छानबिनको नेतृत्व गरेका एक एसएसपीले घटनामा संलग्न इन्सपेक्टर लक्ष्मणसिँह ठकुरी, सब–इन्सपेक्टर चन्द्रबहादुर भण्डारी र डिएसपी भारतीलाई कडा विभागीय कारबाही गर्न सिफारिस गरे। भारतीले सोझै घुस लिएको कुनै प्रमाण सार्वजनिक नगरिए पनि उनलाई दरबारमार्गबाट महाराजगन्ज सरुवा गरियो।
प्रमिलाको मृत्यु हुनुभन्दा दुई महिनापहिले भदौतिर भारतीलाई राजापुर इलाका प्रहरी कार्यालय, बर्दिया सरुवा गरियो।
हामीले डिएसपी भारतीलाई दरबारमार्गको घटनामा उनको संलग्नताबारे जिज्ञासा राख्दा उनले केही बताउन चाहेनन्। भने, ‘मलाई त्यसबारे केही थाहा छैन। म त्यस बेला विदामा थिएँ।’
नेपालमा हुने आत्महत्याबारे गतिलो अभिलेख पाइँदैन। विश्व स्वास्थ्य संगठनले नेपालमा आत्महत्या दर प्रति एक लाख व्यक्तिमा ८.८ रहेको अनुमान गरेको छ। यसको अर्थ वर्षमा लगभग २ हजार ५ सय जनाले आत्महत्या गर्ने गरेका छन्। केही आत्महत्या भनिएका घटना विवादित हुने गरेका छन्।
नेपाली सञ्चारमाध्यममा आएका द्वन्द्व र मानवअधिकार उल्लंघनका घटनाको अभिलेख राख्ने 'नेपाल मोनिटर' नामक वेबसाइटमा उल्लेख भएअनुसार २०१७ जनवरीदेखि २०१९ फेब्रुअरीसम्म त्यस्ता ३० घटना छन् जसलाई आत्महत्या भनियो तर मृतकका परिवारले हत्या भएको आरोप लगाए।
यो तथ्यांकले देखाएभन्दा सम्भवतः धेरै बढी यस्ता घटना नेपालमा हुने गरेका छन्। भएका सबै घटना यस्ता डाटाबेसमा समावेश हुन आइपुग्दैनन्। उदाहरणका लागि, यो वेबसाइटका व्यवस्थापकको ध्यानाकर्षण नगर्दासम्म प्रमिलाको घटना पनि उल्लेख गरिएको थिएन। तीसमध्ये २५ घटना युवा उमेरकी महिला पीडित छन् भने २३ घटनामा शरीर झुण्डिएको अवस्थामा फेला परेका छन्।
केही घटनामा भने पीडितको परिवारले आफ्नो सन्तान वा आफन्तले आत्महत्या गर्नसक्छन् भनेर स्वीकार्न नसकेकाले विवाद भएको पाइन्छ। यीबाहेकका घटना भने शंकास्पद देखिन्छन्।
उदाहरणका लागि, सन् २०१८ जुनमा राजापुरनजिकै बर्दियाको बढैयातालमा कमलरी बसेकी ११ वर्षीया बालिका मालिककै घरमा झुण्डिएको अवस्थामा फेला परिन्। सुरुमा आत्महत्या भएको शंका गरे पनि बालिकाको परिवारले मालिकविरुद्ध प्रहरीमा उजुरी दियो र घरमालिक पक्राउ परे।
विज्ञहरूका अनुसार नेपाल प्रहरीले झुण्डिएका सबै घटनालाई अरू केही प्रमाणित नभएसम्म आत्महत्या नै ठहर गर्ने गरेको छ। केही घटनामा हत्याराले सुर्काउने लगाएर हत्या गर्ने गरेको पाइएको छ भने पहिल्यै अरू नै तरिकाले हत्या गरेर पछि शव झुण्ड्याइदिने गरेको पनि फेला परेको छ। पक्राउबाट बँच्न यस्ता उपाय अपनाउने गर्छन् अपराधीहरू।
२०१८ मार्चमा सुनसरीको एक जंगलमा दाउरा टिप्न गएका महिलाहरूको समूहले एउटी गर्भवती महिलालाई दुई पुरुषले रुखको हाँगामा झुण्ड्याउन प्रयत्न गरिरहेको फेला पारेका थिए। 'द काठमान्डु पोष्ट' मा प्रकाशित समाचारअनुसार दाउरा टिप्न गएको महिला समूहले ती गर्भवतीको उद्धार गरे जसलाई ती दुई पुरुषले बलात्कार गरेका थिए। बलात्कारका कारण पेटमा रहेको बच्चाको मृत्यु भएको थियो।
फोरेन्सिक विज्ञ वस्तीका अनुसार प्रहरीले शंकास्पद आत्महत्याका घटनाबारे अनुसन्धान गर्न जाँगर नचलाउनुमा अनुसन्धान गर्न दिइएको अधिकारलाई सन्तुलित तुल्याउने जमर्को नहुनु पनि एउटा कारण हो।
अमेरिकाजस्ता देशमा चिकित्सकीय जाँच गर्ने कार्यालयले सक्रिय भूमिका निर्वाह गर्छ। नेपालमा भने अनुसन्धानको सम्पूर्ण जिम्मा प्रहरीलाई दिइन्छ। वस्ती भन्छन्, 'फोरेन्सिक विज्ञानमा तालिम लिएका विज्ञ चिकित्सक हुन्थे भने तिनले प्रहरीलाई थप अनुसन्धान गर्न दबाब दिन सक्थे।'
अटोप्सी गर्ने दक्षता हासिल गरेका नेपालभरिमा जम्मा ५० जति मात्रै चिकिस्तक छन्। तीमध्ये धेरै काठमाडौंमा छन्। राजधानीका कलेजमा अध्ययनरत एमबिबिएसका विद्यार्थीले दुईहप्ते अटोप्सी तालिम लिन्छन् भने उपत्यकाबाहिरका शिक्षण अस्पतालमा कुनै तालिम दिइँदैन। यस्तो तालिम नलिएका चिकित्सकलाई ‘सहजै प्रभाव पार्न सकिने’ वस्ती बताउँछन्।
अपराधशास्त्रकी अध्येता दाहाल शंकास्पद मृत्युमा प्रहरीले राम्रो अनुसन्धान नगर्नुमा सरकारी वकिलले अनुसन्धानमा राम्रो भूमिका नखेल्नु अर्को कारण हो भन्छिन्।
‘हामीसँग त्यस्तो व्यवस्था छैन जहाँ सरकारी वकिलले प्रहरीलाई के गर्ने भनेर सुझाउन सकोस्,’ उनले भनिन्, ‘सरकारी वकिलको कार्यालय र प्रहरीले सँगै काम गर्न सके भने यस्ता गल्ती धेरै हुँदैन थिए। सरकारी वकिलले भन्ने थिए– यो शंकास्पद देखिन्छ, अझै अनुसन्धान गर्नुस्।’
प्रहरी र सकारी वकिलबीच विश्वासको वातावरण नभएकाले उनीहरूले सँगै काम गर्न सक्दैनन्।
नेपाल प्रहरीभित्र रहेको पितृसत्तात्मक संस्कार पनि समस्याको एउटा कारण हो भन्ने दाहाललाई लाग्छ। सन् २०१८ देखि नेपाल प्रहरीले १० प्रतिशत महिला प्रहरी लिने घोषणा गरेको भए पनि मौजुद तथ्यांकमा महिलाको उपस्थिति ८ प्रतिशत मात्रै देखिन्छ।
१९९६ मा देशका विभिन्न भागका प्रहरी कार्यालयमा बनाइएका महिला र बालबालिका सेवा केन्द्रले पीडित महिला र बालबालिकाको प्रहरीमा सहज पहुँच पुर्याउने भनिएको थियो। तर, यी इकाईमा गरिने कारबाहीलाई ‘सफ्ट पुलिसिङ’ का रूपमा बुझियो। यसमा गरिने अनुसन्धानलाई गम्भीरतापूर्वक लिइँदैन। जिल्लामा रहेका यस्ता अधिकांश इकाईमा महिला इन्सपेक्टर छैनन्, किनभने महिला इन्सपेक्टरको संख्या अत्यन्त थोरै छ।
'कलेक्टिभ क्याम्पेन फर पिस' नामक गैरसरकारी संस्थामार्फत् मानवअधिकार क्षेत्रमा काम गर्ने वकिल बद्री भुसालले सिँगै मुलुकलाई स्तब्ध बनाउने ठूला आपराधिक घटनामा पीडितहरू महिला छन् र यी सबै घटनामा प्रहरी अनुसन्धान गर्न पछि परेको बताए।
निर्मला पन्त र दरबारमार्गको बलात्कारका घटनाबाहेक सन् २०१२ को सीता राईको घटना पनि स्मरणीय छ।
विदेशमा काम गरेर फर्केकी महिला कामदारलाई लुट्ने र बलात्कार गर्ने घटनामा अध्यागमन विभागका केही कर्मचारी र एक प्रहरी जवानको संलग्नता भेटिएको थियो। त्यसमा उचित अनुसन्धान नहुँदा केही समयका लागि 'अकुपाई बालुवाटार' नामक आन्दोलन सुरु भएको थियो। त्यस्तै २००९ को घटनामा प्रहरी सुन्तली धामीलाई उनका सहकर्मी प्रहरीको समूहले बलात्कार गरेको थियो।
प्रहरी अधिकृतहरू दोषी पाइएका घटनामा कारबाही भएका छन्। नेपाल प्रहरीको मानव अधिकार इकाईका अनुसार अहिलेसम्म ५ सय ८६ प्रहरीलाई मानवअधिकार उल्लंघनका घटनामा कारबाही गरिएको छ। अधिकृतविरुद्धका उजुरीसमेत स्वीकार्ने गरी यो एकाई २००३ मा सुरु गरिएको थियो।
नेपाल प्रहरीका राष्ट्रिय प्रवक्ता एसएसपी उत्तम सुवेदी विभागीय कारबाहीमा अभियोग दर्ता गर्ने र दुर्व्यवहार गरेको पाइए निष्काशन गर्नेसम्म हुन्छ भने केही घटनामा घटुवा गर्ने, तलब रोक्का गर्ने, निलम्बन गर्ने र आरोपीको रेकर्डमा कैफियत उल्लेख गर्ने लगायत पर्ने बताउँछन्।
तथापि, अभ्यासमा भने विभागीय कारबाही मूलतः सामान्य सजायमा सीमित गरिने आलोचकहरू बताउँछन्।
दरबारमार्गको ल्यान्डमार्क होटलको घटनापछि डिएसपी भारतीलाई सरुवा मात्रै गरियो भने अन्य आरोपित अधिकृतलाई निलम्बन गरियो। त्यसमध्ये एकले राजीनामा दिए भने अर्का काममा फर्किसकेका छन्।
‘जागिरबाट निकाल्न लगभग असम्भव छ,’ अध्येता दाहाल भन्छिन्, ‘जवाफदेहिता स्थापित गर्न अत्यन्त कठिन छ। दुनियाँभरकै प्रहरीमा गोपनीयताको संस्कार हुन्छ र आफ्नालाई जोगाउने चलन पनि छ।’
यस वर्ष जाडो मौसमको एक चिसो बिहान प्रमिलाकी आमा बेजन्ती संघर्षनगरको उनको घरको भुइँमा बसिरहेकी थिइन्। उनका पति फुलपतीया मजदुरी गर्न काभ्रे गएका थिए। उनी धान रोप्ने बेला नभएसम्म उतै व्यस्त हुन्छन्। यता घरमा बचेका दुई छोरी र एक छोराको रेखदेख उनले गरिरहेकी थिइन्।
गोदना खोपिएको एउटा हात अर्को हत्केलामा राख्दै बेजन्तीले आफूलाई प्रहरीको अनुसन्धान सुरुआतदेखि नै गलत लागेको बताइन्। राजापुर प्रहरीले घटना भएको ६ महिनासम्म केस खुला रहने र नयाँ प्रमाण फेला परे कारबाही अघि बढ्ने बताएको उनले सुनाइन्।
त्यसको अर्थ २०७६ वैशाख मध्यसम्म केस चालू रहनेछ। त्यस बेलासम्म कुनै नयाँ प्रमाण फेला नपरे केस बन्द गरिनेछ।
इन्सपेक्टर ढकालले प्रमिलाको केस अब छिट्टै बन्द गरिने हामीलाई जानकारी दिए। तथापि, काठमाडौंस्थित केन्द्रीय प्रहरीका अनुसार आत्महत्याको अनुसन्धानका लागि दुई वर्षसम्म केस खुला हुन्छ र हत्याको हकमा २० वर्षसम्म केस बन्द हुँदैन। यस्तो समय–सीमा पूर्णतया हटाउनेबारे संसदमा समेत छलफल चलेको छ।
छोरी प्रमिलाको हत्या कसले गर्यो भन्ने परिवारलाई थाहा नभएको तर हत्या भएकोमा शंका नरहेको बेजन्ती बताउँछिन्।
आमाको भनाइमा सही थाप्दै ठूली छोरी शर्मिला भन्छिन्, ‘उनीहरूले राम्रो अनुसन्धान गरिदिऊन् भन्ने अपेक्षा मात्र हो हाम्रो, ताकि यस्तो घटना फेरि नदोहोरियोस्।’
(यो रिपोर्ट द रेकर्ड र द वायर पत्रिकामा अंग्रेजीमा प्रकाशित छ।)