करिब दुई साताअघि म बिहानी हिँडाइ सकेर घर फर्कँदै थिएँ। महावीरस्थान छिचोलेर माइस्थानतर्फ बढ्दैगर्दा बाटैछेउमा एउटा पुरानो परिचित अनुहार देखिए। उनी थिए वीरगन्जका पक्का राजभक्त पशुपति रौनियार। ८५ वर्षे उनी घरै अगाडि मेचमा बसेर मुख्यसडक हेर्दै टोलाइरहेका थिए।
मेरो सहरका पशुपति रौनियारले जीवनभर हरेक मौसममा जुन श्रद्धाका साथ राजसंस्थाप्रति आफ्नो प्रेमलाई अटल बनाएर बाँचे, त्यसले मलाई सदैव प्रभावित पार्दै आयो। स्कुल कलेज पढ्दाताका रिस उठ्थ्यो भने अहिले ठीक विपरीत उनको नडगेको आस्थाले घत लाग्न थालेको थियो।
त्यो पछिल्लो भेटमै पनि उनको कोटको देब्रे कुनामा पूर्व राजारानीको तस्बिर देखिन्थ्यो। मैले विनम्रतापूर्वक नमस्कार गरेँ र मोबाइल निकालेर उनको तस्बिर खिचेँ।
रौनियारले नियालेर हेरे र चिन्नेबित्तिकै आँखा रसिलो बनाए।
‘बाबु, दुई टुक कुरा मलाई बताइदिनुस्,’ उनले नमस्ते फर्काउँदै भने, ‘दुई-चार जना नेताबाहेक यो देशमा को खुश छ अहिले?’
मैले हिँड्ने हतारो देखाएँ।
‘म अरुको कुरा पनि गर्दिनँ,’ उनले मलाई रोक्नकै निम्ति फेरि बोले, ‘तपाईं बताउनुस्, के तपाईं खुश हुनुहुन्छ?’
म रौनियारका राजनीतिक प्रश्नको उत्तर फर्काउन इच्छुक थिइनँ। त्यसैले असाध्यै ढिलो भइसकेको अवगत गराउँदै नमस्ते गरेर अघि बढेँ।
यो भेटघाटको एक साता पनि नबित्दै शुक्रबार राती (चैत १५ गते) एउटा अप्रत्याशित समाचारले बिथोलिदियो। पशुपति रौनियारको निधन भएछ।
वीरगन्जले पछिसम्म सम्झना गरिरहने एक पात्र गुमाएको छ। एक साता बितिसक्दा पनि रौनियारका सम्झनाले पछ्याउन छाडेको छैन।
पछिल्लो सम्झना थियो वीरगन्जमा एकसाथ चलिरहेको नाकाबन्दी र मधेस आन्दोलनको। त्योताका म उतै बसेर रिपोर्टिङ गरिरहेको थिएँ। हरेक दिनजस्तो केही न केही नयाँ घटना भइरहेका थिए।
त्यस्तैमा एक दिन वीरगन्जमा राजावादीको पनि जुलुस निस्क्यो।
जुलुसमा धेरै सहभागिता त थिएन। भएकामध्ये पनि थोरै चिनिएका पुराना अनुहार देखिन्थे। त्यस्तैमा एक जनालाई मैले देखेँ, पशुपति रौनियार।
मैले धेरै राजभक्त भनिनेहरू चिनेको छु। तर, मलाई लाग्छ पशुपति रौनियार मोडलका राजभक्त थोरै मात्र छन्। त्यो जुलुसको केही दिनअघि मात्र राजपरिवारसँगका पुराना दिन सम्झने क्रममा उनी धुरुधुरु रोएका थिए। यो प्रसंग अलि पछि लेख्छु। पहिले केटाकेटी बेलाको सम्झना...
त्यो बेला चिरायू भनेको के हो, मधेसमा हुर्केको मलाई पनि थाहा थिएन। कक्षाका मेरा मधेसी साथी त अझ त्यस शब्दसँग जोडिने सम्पूर्ण वाक्यकै तारतम्य ठम्याउन सक्दैनथे।
तैपनि जब जब राजपरिवारका कुनै सदस्यको जन्मदिन आउँथ्यो वा कुनै सार्वजनिक महत्वको समारोह हुन्थ्यो, केही नारा भट्याउनै पर्थ्यो।
‘हाम्रो राजा हाम्रो देश– प्राणभन्दा प्यारो छ’
‘पञ्चायती व्यवस्था– अमर रहोस्’
‘श्री ५ वीरेन्द्र– चिरायू रहुन्’
रेलवे स्कुलको ब्यानरलाई दुईतिर दुइटा चिरिएका बाँसले उभ्याइएको हुन्थ्यो। जुलुसभरि हामी त्यो ब्यानरकै पछिपछि हिँड्थ्यौं। जुलुस सकिएपछि फेरि त्यो बाँसले बेरिएको कपडा पछ्याउँदै स्कुल फर्कन्थ्यौं। साथीहरूको हुलमा बजारको रमिता हेर्दै जुलुसमा निस्कनु यसकारण पनि रमाइलो लाग्थ्यो, किनकि जुलुस सकिनेबित्तिकै छुट्टी पाइन्थ्यो।
जुलुसभरि लाइन मिलाएर हिँड्नुपर्ने र तोकिएका नारामा चिच्याएर साथ दिनै पर्ने बाध्यता भने विरक्तलाग्दो हुन्थ्यो। त्यसमा कतै तलबितल नपरोस् भनेर हाम्रा छेवैमा सन्ठीका छडी बोकेका मास्टर हुन्थे। अलि लाउके किसिमका ठूला विद्यार्थीले पनि बेलाबेला छडी समात्ने जिम्मेवारी पाउँथे।
‘लाइन मिलाके, लाइन मिलाके’ भन्दै स्वाँट्ट स्वाँट्ट छडीले हिर्काइरहनु उनीहरूको एक मात्र काम हुन्थ्यो।
हामीलाई भने लाइनमा आफूलाई नियन्त्रित राखेर हिँड्न मुश्किल हुन्थ्यो। त्यस्ता जुलुसमा गाउँतिरका जमिन्दार र मुखिया हात्तीमा चढेर आउँथे।
ऊँटमा चढेका मान्छे पनि देखिन्थे। यस्ता अनेक झाँकी भएको ठाउँमा स्कुले केटाकेटी लाइनको अनुशासन नबिराएर हिँडिरहन के सक्नु? त्यसैले बुझ्दै नबुझेको कुरामा नारा लगाउँदै र हिँड्दै गर्दा पनि एकाध छडी भागमा पर्नु सामान्य हुन्थ्यो।
जुलुसमा हिँडिरहँदा अरू नारा त मिलेकै हुन्थ्यो। मेरा अधिकांश मधेसी साथीले त्यो ‘चिरायू’ चाहिँ मिलाएर भन्नै जान्दैनथे। उनीहरू ‘चिल्लाई रहून्’ भनेर नारामा साथ दिन्थे। ‘श्री ५ वीरेन्द्र– चिल्लाई रहून्।’
चिरायूलाई उनीहरूले आफ्नै अनुकूलतामा बुझेको शब्द अर्थात् ‘चिल्लाई रहून्’ को अर्थ चिच्च्याई रहून् (रहौं भन्न खोजेका) हुन्थ्यो।
चिरायूको अर्थ त हामीले पनि बुझेका थिएनौं। ‘धेरै बाँचून्’ भनिदिएका भए सजिलै बुझ्थ्यौं। त्यसैले यो नबुझेको शब्दमा भने हामी पनि अलमलिन्थ्यौं र ‘चिलाई रहून्’ भनिदिन्थ्यौं। केटाकेटीको कामै नबुझेको कुरालाई आफ्नै हिसाबले मिलाएर बुझ्न खोज्ने र कता के तारतम्य मिलेको पो छैन कि भनेर खितित्त हाँस्नु त हो। उनीहरू ‘चिल्लाई रहून्’ भनेर हाँस्थे, हामी कपाल कन्याउँदै ‘चिलाई रहून्’ भन्दै हाँस्थ्यौं।
हामीले जुन व्यक्तिहरूको मङ्गल कामना दोहोर्याइरहेका हुन्थ्यौं, उनीहरूलाई साक्षात् देख्न पाउनु असम्भवप्रायः थियो। राजा वा राजपरिवारका मानिस विरलै वीरगन्ज आउँथे। अहिलेजस्तो टेलिभिजन वा इन्टरनेटको जमाना थिएन। त्यसैले वीरगन्जमा देखिन्थे त केवल राजभक्त।
त्यस्ता धेरै राजभक्त उति बेला थिए। शक्ति र सत्ताको तापमा जोडिएका त्यस्ता राजभक्त अहिले अन्तै कतै आफ्नो दैनिकीको जोहो गर्न व्यस्त भइसकेका छन्। अझ उतिबेला महान मण्डले भएर परिवर्तनका आवाज दबाउनेहरू त अहिले ठीक विपरीत गणतन्त्रकै लाइनमा उभिइसकेका छन्। तर, कहिल्यै कसैलाई नरुवाएका पशुपति रौनियार भने पछिल्लो समयसम्म पनि एकोहोरो पक्का राजावादी बनिरहे।
हामी केटाकेटीहरू जुलुसमा हिँड्ने बेला राजभक्तहरू सबभन्दा अघिल्लो लहरमा हुन्थे। भक्त भएपछि भक्ति प्रदर्शन गर्न हानाथाप हुने नै भयो। कोही मञ्चमा चढेका हुन्थे। बुझिने–नबुझिने कुरा कुर्लेर भाषण गर्थे। सहरभरिले सबभन्दा बढी चिनेका राजभक्त रौनियार नै थिए, तर यस्तो भाषण गर्ने बेला उनी देखा पर्थेनन्।
‘मधेसी मान्छी, मलाई भाषण गर्न उति लुर (तरिका) आउँदैन,’ निकैपछि मैले पत्रकारका रूपमा भेट्दा उनले भनेका थिए, ‘मेरो मनमा राजाको तस्बिर छ। बस्, म त्यही बोकेर बाँच्ने मान्छी हुँ।’
राजाको सक्रिय शासनकालमा मञ्चतिर भाषण चलिरहँदा उनी तलै बसेका हुन्थे। बरु वक्तामध्ये कसैले च्याँठ्ठिएर कुनै कुरा बोलेको छ भने आफू पनि ताली ठोक्थे र हामी भुराभुरीतिर हेर्दै त्यसै गरी ताली ठोक्न उत्प्रेरित गर्थे। हामी कसेर ताली बजाइदिन्थ्यौं।
तिलावे नदीमा धेरै पानी बगिसक्दा पनि पशुपति रौनियारमा राजतन्त्रप्रति जुन लगाव र समर्पण थियो अहिले पनि त्यत्तिकै उत्साहका साथ उनी डटिरहेकै थिए।
मधेस आन्दोलनमा राजावादीको जुलुस निस्कनुभन्दा केही दिनमात्र अघि पनि म बिहानी हिँडाइ सकेर फर्किरहेकै थिएँ। मुख्य सडकमा महावीरस्थान छेवैको त्यो घर देखेँ। पहेँलो रङ पोतिएको त्यस घरको अग्रभागमा सदैव लेखिएको देखिन्थ्यो, ‘श्री ५ महाराजाधिराज सरकारको जयजयजय, श्री ५ बडामहारानी सरकारको जयजयजय।’
त्यसको पुछारमा ‘ड्यास’ दिएर अलि सानो अक्षरमा लेखिएको हुन्थ्यो– ‘सेवक पशुपति रौनियार’।
मैले त्यो भित्तातिर हेरेँ। ती हरफहरू लेखिएको स्थानमा रङको अर्को पत्र पोतिएर छोपिएको थियो। तैपनि खुइलिएका भागमा कताकति त्यो लाइन बाहिर निस्कन खोजिरहेको देखिन्थ्यो।
एकैछिनमा घरमालिक रौनियार देखा परे। वीरगन्जमा सक्रिय पत्रकारिता गर्दाताका उनी बारम्बार समाचार दिन मसँग भेटिरहन्थे। त्यसैले तत्कालै चिने। स्वागत गर्दै भित्र लगे। भित्ताभरि अहिले पनि राजा र राजपरिवारका तस्बिर टाँसिएका रहेछन्। एकाध वर्षअघि मात्र पूर्वराजा ज्ञानेन्द्र शाह वीरगन्ज आएका बेला उनकै घरअगाडि मोटरबाट ओर्लेर भेटेका रहेछन्। त्यो फोटोलाई भित्तामा प्राथमिकताका साथ राखिएको थियो।
‘घरबाहिरको नारा त मेटाउनुभएछ?’
मैले पस्दापस्दै सोधेँ ।
‘के भन्ने...,’ यति भनेर उनी एकछिन चुप बसे र फेरि बोले, ‘बाँच्नै पनि नदिने भए बाबु अब त।’
२०६२–०६३ को आन्दोलनका बेला एक हुल मानिसले उनको घरमा आएर त्यो नारा मेटिदिएका रहेछन्।
‘सुरुमा त मेरो घरमा ढुङ्गामुढा र तोडफोड मच्चाए,’ उनले भने, ‘सारा सहरका अघिल्तिर मेरो घरलाई तमासा बनाइदिए।’
त्यो आक्रोशित भिडले त्यसपछि रौनियारको खोजी गरेको रहेछ। उनीहरूको इच्छा रौनियारलाई कालोमोसो दलेर बजार घुमाउने थियो। तर, सहरका बूढापाका मिलेर ‘यिनले कसको के बिगारेका छन्? त्यसो नगर’ भनेपछि बल्ल छाडिदिएछन्।
‘म त मारी नै देलान् भनेर हाम्फाल्दै भागेको थिएँ,’ उनले त्यो बेलाको तकलिफ बताए, ‘छेउकै एकजना मारवाडी भाइको घरमा लुकेर बसेकाले बाचेँ।’
रौनियार भोलिपल्ट मात्र जसोतसो साहस बटुल्दै घर आइपुगे। भित्तामा लेखिएको राजारानीको जयजयकारमाथि कालो पोतो लगाएर भिड फर्केको थियो।
त्यसपछि उनलाई छरछिमेक सबैले फेरि त्यो नारा नलेख्न सुझाव दिए। उनले पनि लेखेनछन्।
बिहारको सिवान मीरगन्जबाट आएका सिदेनीराम रौनियारको छैटौं पुस्ता थिए पशुपति रौनियार।
त्योताका भारतबाट कोटाको कपडा नेपाल आउँथ्यो। रौनियार परिवारले त्यसैको कारोबारबाट व्यवसाय थाल्यो। त्यसैलाई पछ्याएर पछिसम्मै उनीहरूले कपडाकै बेचबिखन गर्दै आए।
‘म राष्ट्रवादी हुँ,’ वीरगन्जका एकाध मानिसका शिरमा मात्र देखिनथाल्दा पनि नउतारिएको ढाका टोपी मिलाउँदै रौनियारले भनेका थिए, ‘यो मुलुकमा बसेकै क्षणदेखि यताको राष्ट्रियता हाम्रो प्राण बन्यो।’
बसाइँ सरेर फरक समाजमा आएपछि त्यहाँ जे जस्तो रीतिथिति चलिरहेको छ त्यसैलाई समात्नुपर्ने हुन्छ। रौनियार परिवार सुरुदेखि नै यो मामिलामा सचेत थियो। पशुपतिका पालामा भने कुरा अलि बढी नै अगाडि बढ्यो।
त्यो बेला हिन्दू–मुसलमान विवादलाई लिएर रौतहटमा भुसाहा काण्ड भएको थियो। गाई काटिएको हल्ला चलेपछि दुवै समुदायबीच मारामार भइदियो। यो घटनाबारे जानकारी पाउनेबित्तिकै रौनियार पनि त्यहाँ पुगेछन्। जताततै जलेका घरहरूबाट धुवाँ निस्किरहेको थियो। केही मानिसको मृत्युसमेत भएको थियो।
तत्कालीन राजा महेन्द्र स्वयम् घटनास्थल पुगे।
मृतकका परिवारलाई भेटिसकेपछि राजा फर्कने तयारी गर्दै थिए। हेलिकप्टर चढ्नै लागेका बेला सामुन्ने परेर रौनियारले बोल्ने मौका पाइहाले। बोल्न त के सक्थे, जयजयकार गरिदिए।
रौनियार त्यो समय सम्झँदा त्यतिखेर पनि भावविह्वल भइसकेका थिए। पूर्वराजा महेन्द्रलाई सम्झेर एकछिन रोएपछि उनी सम्हालिए।
जे होस्, चिफ कमिस्नरलाई जाहेर गर्नू भनेर इसारा गर्दै त्यस दिन राजा हेलिकप्टरमा चढे। हेलिकप्टर उडिसकेपछि त्यहाँ उपस्थित प्रहरी, प्रशासनका ठूला हाकिमहरूले ‘तिम्रो तकदिर खुल्यो’ भनेर सुनाए। नभन्दै तकदिर खुलेकै रहेछ। केही दिनमै उनलाई राजदरबारको दौडाहामा हाकिम बनाइयो।
रौनियार यतिले पनि थामिएका थिएनन्। राजतन्त्रसँग सम्बन्धित गतिविधि नियाल्नु, सम्बन्धित ठाउँमा रिपोर्ट गर्नु मात्र उनको काम थिएन। उनी त तत्कालको तत्कालै एक्टिभिस्ट पनि बनिदिन्थे।
त्यस्तै भयो एकपटक २०२४ सालमा। मुख्य सडककै सुन्दर स्टोरमा झलमल्ल बलेको उज्यालो अनुहारकी एक महिला देखा परिन्।
रौनियारका अनुसार त उनी बडामहारानी रत्न नै थिइन्। जे होस्, सहरमा नौलो अनुहार त्यसमा पनि राजपरिवारको भावभङ्गिमा झल्किने देखा पर्नासाथ पशुपति रौनियारले दुईचार मान्छे तत्कालै जम्मा गरिहाले।
चर्को स्वरमा राजपरिवारको जयजयकार हुन थालेपछि वरपरका अन्य मानिस पनि भिडमा सामेल हुँदै जयजयकारमा आफ्नो आवाज मिलाउन थाले। पसलभित्र किनमेल गर्न आएकी महिला तत्काल आपत परेर भागाभाग अन्तै लागिन्।
रामजाने! ती महिला राजपरिवारकै थिइन् वा रौनियारले झुक्किएरै त्यत्रो तमासा लगाए। पछिसम्म पनि छिनोफानो भएन।
यस्तो थियो पशुपति रौनियारको राजभक्ति...
उनले २०२८ सालमै तत्कालीन राजा महेन्द्रबाट पहिलोपटक गोरखा दक्षिणबाहु चौथो पाए। त्यसपछि वीरेन्द्र र ज्ञानेन्द्रबाट समेत गरेर १४ वटा पदक तथा विभूषण पाइसकेका रहेछन्।
यो अस्वाभाविक थिएन। किनभने, हामी केटाकेटी छँदा वीरगन्जमा चिनेजानेका आफन्त जन्मोत्सवका बेला जहिल्यै गोरखा दक्षिणबाहुको विवरण छापिएको गोरखापत्र किनेर ल्याउँथे। सबभन्दा पहिले त आफूमध्ये कसैले पाए कि भनेर केलाउँथे। नपाएपछि कसकसले पाएछन् भनेर चर्चा गर्थे। एक हिसाबले कुरै काट्थे। यस्तो कुरा काट्ने बेला रौनियारको नाम कहिल्यै छुट्दैनथ्यो।
यस्ता राजभक्त रौनियारले वीरेन्द्रसँग असङ्ख्यपटक भेटघाटको मौका पाए।
‘के कुरा हुन्थ्यो त?’ मैले सोधेँ।
‘देश र जनताबारे सोधनी हुन्थ्यो,’ रौनियारले पनि रेडिमेड उत्तर दिए।
रौनियार राजा वीरेन्द्रभन्दा ज्ञानेन्द्रप्रति अनुगृहित रहेछन्। नहून् पनि किन? दुई वर्ष पहिले उनको घरैमा आइदिएका थिए। त्यसपछि पनि वीरगन्ज जतिपटक आए रौनियारको घरतिर पुगेर उनको कुशल मंगल सोध्न छुटाएनन्।
त्यो पहिलो घटना माईस्थान मन्दिरको पुनःस्थापनाको बेला थियो। २०७० साल असारमा। पहिले त पूर्वराजासँग रौनियारको मन्दिरमै भेट भएछ।
राजा आएका बेला रौनियारले आफ्नो घरलाई समेत ब्यानर झुन्ड्याएर झकिझकाउ पारेका रहेछन्। मन्दिरमा पूजापाठ सकिएपछि स्थानीय राणीसती धर्मशालामा मारवाडी समुदायका वरिष्ठ व्यापारीहरूले भेटघाट कार्यक्रम राखेका थिए। त्यसैका निम्ति जाँदै गरेका राजा रौनियारको घरअगाडिको सजावट देखेर रोकिएछन्। छेवैमा पुगेर ‘खोइ पशुपति?’ भनेर खोजी गरेछन्।
सुनेर रौनियार हस्याङफस्याङ कुद्दै आइपुगे। परिवारका सदस्यलाई लाइन लगाएर खुट्टा ढोग्न लगाए।
दङ्ग परेका पूर्वराजा ज्ञानेन्द्रले घरतिर हेर्दै सोधेछन्, ‘यो तिम्रो आफ्नै घर हो?’
रौनियारले टाउको हल्लाए। केही छिन बसेपछि ‘अब म जाऊँ?’ भनेर सोधेछन्।
‘म त बेहोसै थिएँ,’ रौनियार भन्छन्, ‘उहाँले दोहोर्याएर सोधेपछि मैले झुकेर नमस्ते गरेँ।’
राजतन्त्रप्रति श्रद्धाभाव राख्ने मात्र होइन, सामाजिक कामका हिसाबले पनि रौनियार यहाँ चिनिन्छन्। वीरगन्जमा रहेको स्काउट भवन निर्माणमा मुख्य योगदान उनैको थियो। गौशाला रोडस्थित त्यो जग्गाको बन्दोबस्तदेखि भवन निर्माणसम्म उनको व्यक्तिगत प्रयासबाटै सम्पन्न भएको थियो।
बीचमा केही समय गणतन्त्रको हावा लागेर स्काउटले समेत रौनियारलाई बेवास्ता गरेता पनि पछिल्लो समय सच्च्याएको थियो। भर्खरै उक्त भवनमा राखिएको शिलालेखमा रौनियारका नाम सम्मानका साथ उल्लेखित छ भने शुक्रबार अन्त्येष्टीका बेला पनि स्काउट टोली पुगेर उनको शवमाथि झण्डा ओढाएको थियो।
जतिबेला राजतन्त्र थियो, पशुपति रौनियारका दिन थिए। कतिसम्म भने विभिन्न पदक र तक्मा दिलाइदिन सहरका एकसे एक प्रभावशाली व्यक्तिहरू उनको पछि लागेका हुन्थे।
‘त्यो बेला पदक दिलाइपाउन मसँग कसले भनसुन गरेनन्?’ रौनियारले भनेका थिए, ‘अहिले पनि एकसे एक मै हुँ भन्नेहरू त्यति बेला राजतन्त्रको नजिक देखिन अनेक प्रयत्न गर्थे।’
पदकको सबैभन्दा ठूलो चिट्ठा भने वीरेन्द्रको वंश विनाश भएपछि ‘वीरेन्द्र–ऐश्वर्य सेवा पदक’ र ज्ञानेन्द्र राजा भएका बेला ‘गद्दी आरोहण पदक’ बाँड्ने बेलामा खुलेको थियो।
त्यो बेला वीरगन्जका मात्रै ८६ जनालाई गद्दी आरोहण पदक दिलाएको रौनियार स्मरण गर्छन्।
‘त्यसमा पनि ५५ जना त पत्रकारै थिए,’ उनी भन्छन्, ‘राजभक्त दाबी गर्दै उनीहरूले मलाई बिन्ती गरेपछि सबैको नाम टिपेर पठाइदिएको थिएँ।’
रौनियारले यसरी पदकबाट सुशोभित गराइदिएबापत के पाउँथे त?
उनी भन्छन्, ‘म सबैलाई भन्थेँ, ‘आपसे इसके लिए कुछ मागे है? नहीं। हमको कुछ नहीं चाहिए। जब राजावादी घन्टाघरसे जुलुस निकालेंगे आपको इसमे सरिक होना है। सब लोगोंको दौरा सुरुवाल लगाके चलना है। वहीँपर तक्मा लगादिया जाएगा।’
राजपरिवारकै बडाइ हुने विभिन्न कार्यक्रमको आयोजनामा आर्थिक बन्दोबस्त मिलाउने र पत्रकारका हकमा बढीसे बढी समाचार लेख्ने दायित्व बोकाउनु बाहेक आफूले यस्ता पदक वितरण गराइदिएबापत कुनै फाइदा नलिएको उनको कथन थियो।
रौनियारले कुराकानीका क्रममा केही रोचक खुलासा पनि गरेका थिए। उनका अनुसार गद्दी आरोहण र वीरेन्द्र–ऐश्वर्य पदक बाँड्ने बेला उनले ठूलै सूची दरबारमा पठाएका थिए।
तर, पदक लिन उनी काठमाडौं पुग्दा मागेजति पाइएन। त्यस्तो बेला त्यत्तिकै वीरगन्ज फर्कनु मनासिब हुँदैनथ्यो। उनले काठमाडौंकै एउटा पसलमा गएर थप पदक बनाउन पैसा खर्च गरे। यसरी बल्ल वीरगन्जमा भनेजति सबैलाई पदकले सुशोभित पारिदिन सम्भव भएको रहेछ।
‘कसैलाई खुसी कसैलाई निराश पार्नु ठीक हुन्थेन,’ उनी भन्छन्, ‘त्यसैले आफैंले बजारमा पैसा खर्च गरेर पदक बनाइदिएको थिएँ।’
यस्ता थिए रौनियार।
वीरगन्जको भिडभाडमा अब पशुपति रौनियार देखिने छैनन्। सम्भवत मैले खिचेको यो तस्बिर नै रौनियारको अन्तिम तस्बिर होला।
मलाई त्यसदिन केही समय थामिएर रौनियारको मनका कुरा नसुनेकोमा छटपटि भइरहेको छ।
उनको आत्मालाई शान्ति मिलोस्। अलविदा इमान्दार राजभक्त।