कसिस्मा मिजार दुई वर्ष पुगेर तीन लाग्न दुई दिन मात्र बाँकी थियो।
बाबु सुन्दर र आमा कविता आफ्नो पहिलो सन्तानको ‘बर्थ डे’ मनाउने तयारी गर्दै थिए। त्यही बेला यस्तो बज्रपात भयो, उनीहरूले छोरीको 'बर्थ डे' कहिल्यै मनाउन पाएनन्।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पछ्याउँदै हिँड्ने सुरक्षाकर्मीसहितको पछुवा गाडीले ठक्कर दिँदा कसिस्माको ज्यानै गयो।
त्यो २०७१ वैशाख १३ को दिन थियो।
शनिबार भए पनि सुन्दर र कविताले पसल खोलेका थिए। काठमाडौं–३५, सुविधानगरमा जुत्ता–चप्पल सिउँथे सुन्दर। कविता त्यहीँ लुगा सिउँथिन्।
साँझ सात बजेको थियो। उनीहरू पसल बन्द गर्ने तरखरमै थिए। त्यही बेला बच्चाको जुत्ता किन्न दुई जना ग्राहक छिरिहाले।
कसिस्मा आमाको कुर्ताको फेर समात्दै के–के बोलिरहेकी थिइन्, कविता ग्राहकलाई जुत्ता देखाउनतिर लागिन्।
‘मामु, यो जुत्ता त मलाई ठिक हुने रहेछ,’ कसिस्माले तोतेबोलीमा बोलेको अन्तिम वाक्य यही हो।
उनी कुन बेला कुर्ताको फेर छाडेर उम्किइन्, कुन बेला सडकमा पुगिन् कवितालाई पत्तै भएन। आधा मिनेट नबित्दै पसलअगाडि गाडीको चर्को आवाज आएपछि बल्ल उनी झल्याँस्स भइन्। वरिपरि हेरिन्, कसिस्मा थिइनन्।
माधवकुमार नेपालको सुरक्षामा हिँड्ने पछुवा गाडीले दिएको ठक्करले ज्यान गुमाएकी कसिस्मा मिजार। यो तस्बिर खिच्दा उनी दुई वर्षकी थिइन्। तस्बिरः मिजारको पारिवारिक संकलन/सेतोपाटी‘छोरी खै!’
उनी ग्राहकलाई पसलभित्रै छाडेर अत्तालिँदै बाहिर निस्किइन्।
कसिस्मा सशस्त्र प्रहरी बलको बा१झ ९५३५ नम्बरको गाडीको चक्कामुनि लडिरहेकी थिइन्। कविताले छोरीलाई उठाइन्। टाउकोबाट भल्भल्ती रगत बगिरहेको थियो।
दुर्घटनापछि भ्यानबाट ओर्लेका सशस्त्र प्रहरीका जवानहरू कसिस्माको हालत देखेर हत्तपत्त चढे। जसरी हुइँकिएर आएका थिए, त्यसरी नै भागे। घाइतेलाई उठाएर अस्पताल लैजाने सामान्य मानवताधरि देखाएनन्।
‘कान्तिपुर अस्पताल पचास मिटर टाढा थियो, छोरीलाई त्यहीँ लग्यौं,’ करिब पाँच वर्षअघिको घटनाको विस्तार लगाउँदै मिजार दम्पतीले मंगलबार दिउँसो सेतोपाटीसँग भने, ‘त्यहाँ उपचार सम्भव नभएको डाक्टरले बताए।’
मिजार दम्पती कान्तिपुर अस्पतालकै एम्बुलेन्स लिएर न्युरो अस्पताल, बाँसबारी पुगे।
भर्ना गरेको डेढ घन्टामै डाक्टरले कसिस्मालाई मृत घोषणा गरे।
हुर्कंदै गरेकी छोरीको उज्यालो अनुहार सम्झेर होला, मिजार दम्पतीको अनुहार अँध्यारो भयो। आँखा रसाए। भक्कानो फुट्न मात्र सकेन।
'त्यसपछि प्रहरीले छोरीको शव टिचिङ अस्पताल लग्यो। हामीलाई कोठा फर्काइदियो,' आमा कविताले भनिन्, 'भोलिपल्ट बानेश्वर प्रहरीले बिहानै डाक्यो।'
माधवकुमार नेपालको सुरक्षामा हिँड्ने पछुवा गाडीले दिएको ठक्करले ज्यान गुमाएकी कसिस्माकी आमा कविता र बाबु सुन्दर मिजार। तस्बिरः नारायण महर्जन/सेतोपाटीउनीहरू पुग्दा बानेश्वर वृत्तमा भीडभाड थियो।
‘त्यहाँ पुगेपछि थाहा लाग्यो, माधवकुमार नेपालको स्कर्टिङमा हिँडेको गाडीले ठक्कर दिएको रहेछ,’ सुन्दरले भने, ‘प्रहरीलाई त देखेका हौं, तर कहाँको के, थाहा थिएन।’
उनका अनुसार पसल अगाडि घुमाउरो बाटो थियो। तीव्र गतिमा आएको गाडीले घुम्तीमा आफ्नो लेन नाघेर पसल किनारमै खेलिरहेकी कसिस्मालाई ठक्कर दिएको थियो।
त्यति बेला कांग्रेस-एमाले सरकार थियो। एमालेका वामदेव गौतम गृहमन्त्री थिए। प्रहरी वृत्तमा छलफल चलिरहेकै बेला उनीहरूलाई गृह मन्त्रालय डाकियो।
उनीहरू गृह पुगे।
'मन्त्रीज्यूले सहानुभूति देखाउनुहोला भन्ठानेको त उल्टै हामीलाई हप्काउन थाल्नुभयो,' तत्कालीन गृहमन्त्री गौतमसँगको भेट सम्झँदै सुन्दरले भने, ‘बच्चालाई सडकमा किन छाडेको, यस्तो लापरबाही गर्ने भन्दै गाली गर्नुभयो।’
‘सरकारी गाडीले दुर्घटना गराए केही हुँदैन। क्षतिपूर्ति दिने व्यवस्था केही पनि छैन। अब हेरौं के हुन्छ,’ गौतमको भनाइ उद्धृत गर्दै सुन्दरले भने।
गौतमको कुरा सुनेर सुन्दरका नौनारी गले।
‘मेरी छोरी सडकको बीचमा पुगेर ठक्कर खाएको भए पनि चित्त बुझाउन सक्थेँ,' उनले भने, 'यतापट्टिको आधाभन्दा बढी साइड मिचेर आएको गाडीले छोरी मार्यो, गल्ती बाबुआमाकै? ठूलाले जे भन्दा हुँदो रहेछ।’
गृहको गलफत्ती यस्तै कुरामा सकियो। प्रहरीले किरिया खर्च भन्दै २५ हजार रुपैयाँ थमायो।
मिजार दम्पती त्यसपछि छोरीको शव लिएर पशुपति आर्यघाट पुगे। अन्तिम संस्कार त गरे, तर कोठामा फर्किन मन मानेन।
उनीहरू ललितपुरको लुभूस्थित घर गए।
काजकिरिया सुरू भएको दुई दिनमा बानेश्वर प्रहरीबाट फोन आयो।
‘कहाँ हुनुहुन्छ?’ प्रहरीले सोध्यो।
‘हामी त लुभूमा छौं, घरमा,’ सुन्दरले भने।
‘ए ...।’
‘यहाँ पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नजिकै छन् भने भेट्छु भन्नुभएको थियो, टाढा हुनुहुँदो रहेछ, छोडिदिनुस् है,’ प्रहरीले भन्यो।
त्यसपछि मिजार परिवारलाई सान्त्वना दिन कोही पुगेनन्। न नेपाल, न उनका सहयोगी।
कसिस्मालाई गाडीले ठक्कर दिएको घटना सुनाउँदै कसिस्माका आमाबाबु। तस्बिरः नारायण महर्जन/सेतोपाटी‘ठूला मान्छेलाई फुर्सद पनि भएन होला,’ आमा कविताले भनिन्।
काजकिरिया सकियो। उनीहरू दस दिनपछि पसल खोल्न आए।
'धेरै दिन छोरीकै झझल्को आइरह्यो। पसलमा छुकछुक गर्दै यताउता हिँडिरहेकी छोरीकै अनुहार आँखाअगाडि आइरहने। मान्छे कोही बोल्दा पनि कसिस्माले मम्मी, बाबा... भनेको हो कि जस्तै लाग्ने,' मिजार दम्पतीले भने।
मन थाम्नुबाहेक विकल्प थिएन उनीहरूसँग।
‘बानेश्वर वृत्तका प्रहरीहरू आउँथे, भाउजू हाम्रो गाडी हैन, सशस्त्रको गाडीले मारेको हो भन्दै फर्किन्थे,’ कविता भन्छिन्।
करिब दुई सातापछि जेठ २ गते जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई क्षतिपूर्तिबापत ५ लाख रुपैयाँ दियो। जेठ ४ गते प्रहरीले सवारी ज्यानसम्बन्धी मुद्दा जिल्ला अदालतमा लग्यो।
ठक्कर दिने गाडीका चालक कपिल खड्काले अदालतमा इन्कारी बयान दिए।
‘मैले सवारी साधन लापरबाहीपूर्वक चलाएको थिइनँ। अगाडिबाट ठक्कर दिएको हैन, बालिका आफैं पछाडिको चक्कामा आएर ठोक्किन पुगेको हो,’ उनले बयानमा भनेका छन्, ‘भवितव्यमा परी दुर्घटना भएको हुँदा त्यसैबमोजिम सजाय होस्।’
अदालतले १५ दिन कैद र एक हजार रुपैयाँ जरिवाना फैसला गर्यो।
त्यति बेलासम्म प्रहरीले कपिललाई पन्ध्र दिन थुनामा राखिसकेको थियो। उनी अदालतबाट छुटे।
मुद्दा फैसला भएपछि माधवकुमार नेपालका एक सहयोगी सुन्दरलाई भेट्न आए। उनले साथमा दुई लाख रुपैयाँ ल्याएका रहेछन्। सुन्दरको हातमा पैसा थमाउँदै भने, ‘जे भयो, त्यसलाई बिर्सनुहोस्, हाम्रो तर्फबाट क्षतिपूर्ति रकम लिनुस्।’
नाबालक कसिस्माको ज्यान गएको पाँच वर्ष पूरा हुन लागेको छ। छोरीको झझल्कोले अझै छाडेको छैन। भिआइपी स्कर्टिङमा हिँड्ने पछुवा गाडीले लेन मिचेर चलाएको देख्दा सुन्दरको कन्सिरी तात्छ।
केही दिनअघि पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पछुवा गाडीले बानेश्वरमा स्कुटरलाई ठक्कर दिएको घटनाले उनीहरूको पुरानो घाउ फेरि बल्झाइदियो।
कसिस्माकी आमा कविता। तस्बिरः नारायण महर्जन/सेतोपाटी‘त्यो घटना सुनेर हामीले छोरी कसिस्मालाई सम्झियौं,’ दुवैले भने, ‘धन्न यसपालि ठूलो दुर्घटना भएन।’
‘कानुन पालनामा हामी सर्वसाधारणभन्दा नेताहरू बढी जिम्मेवार हुनुपर्ने हो। उहाँहरूले कानुन पालना गरे पो सर्वसाधारणले महशुस गर्छन्। यहाँ त उल्टो छ, जनतालाई कानुन, नेताले भने कानुन मानून्, नमानून्,' सुन्दरले भने।
पछुवा गाडी हाँक्ने प्रहरीहरू गैरजिम्मेवार भएकामा पनि उनले आक्रोश व्यक्त गरे।
‘प्रहरी भएपछि त घटनाको उद्धार र उपचारमा सक्रिय हुनुपर्ने, तर स्कर्टिङमा हिँडेको गाडीले मान्छे हानेपछि जिम्मेवारी लिन पनि मान्दैनन्,' उनले भने, ‘मेरो छोरीको पालामा त्यही भयो, यसपालि पनि त्यही।'
'मेरी छोरी ढलेको ठाउँबाट पचास मिटर छेउमा अस्पताल थियो, कम्तीमा उठाएर त्यहाँ लगिदिएको भए समयमै उपचार पाएर छोरीको ज्यान बच्थ्यो कि!' सुन्दरले भने।
यो घटनाको करिब डेढ वर्षपछि उनीहरूको छोरा जन्मियो। छोरा प्रिन्स अहिले तीन वर्षका भए। सुविधानगरकै फूलबारी मन्टेश्वरी स्कुलमा पढ्न थालेका छन्।
२०७३ जेठमा उनीहरूले त्यो ठाउँबाट अलि पर पसल सारे। त्यहाँ दुई वर्ष पुगेपछि फेरि सुविधानगरकै अर्को ठाउँमा पसल सारेका छन्।
‘अहिले पनि त्यो ठाउँ पुग्दा छोरीको सम्झना आउँछ,' कविताले भनिन्, 'मेरी छोरीलाई जस्तो कसैलाई नहोस्।'
पछुवा गाडी हाँक्ने प्रहरीहरू गैरजिम्मेवार भएकामा आक्रोश व्यक्त गर्दै सुन्दर र कविता भन्छन्- हाम्री छोरीलाई जस्तो कसैलाई नहोस्। तस्बिरः नारायण महर्जन/सेतोपाटी