ऐतिहासिक तथा प्राचीन वस्तुहरू हेर्न तपाईं संग्रहालय घुम्नु हुन्छ। एउटै संग्रहालयमा सबै किसिमका प्राचीन वस्तुबारे जानकारी पाइन्न।
अझ हाम्रा त धेरै प्राचीन वस्तुहरू देशबाहिर पुगेका छन्। संसारका विभिन्न देशका संग्रहालयमा सजिएका छन्।
हराएर वा बेचिएर देशबाहिर पुगेका हाम्रा पुरातात्विक सामग्रीबारे हामीले कसरी थाहा पाउने? कुन सामग्री कस्तो हो? कहाँ छ?
यसैको जानकारी दिने उद्देश्यले अनलाइन संग्रहालय सञ्चालनमा आएको छ– ‘ग्लोबल नेपाली म्युजियम’।
यो नेपालकै पहिलो अनलाइन संग्रहालय भएको सञ्चालक रोशन मिश्र बताउँछन्।
तारागाउँ संग्रहालयका निर्देशक समेत रहेका रोशनले इन्टरनेटबाटै संसारमा छरिएका नेपाली पुरातात्विक सामानहरूबारे जानकारी उपलब्ध गराउने उद्देश्यले यो वेबसाइट सञ्चालनमा ल्याएका हुन्। यसमा विभिन्न देशमा रहेका नेपाली मूर्तिकला, रेखाचित्र, समकालीन कला, सांस्कृतिक वस्तु, चित्र र पाण्डुलिपिको तस्बिरसहित विस्तृत जानकारी उपलब्ध छ।
कुनै समय हाम्रा मठमन्दिरका मूर्ति तथा बहुमूल्य सामग्रीहरू अवैध रूपमा देशबाहिर बिक्री भएका थिए। अहिले पनि कतिपय त्यस्ता सामग्री बेचबिखन भइरहेका छन्। नेपालका ती प्राचीन धरोहर कहाँ बेचिए र कुन देशको संग्रहालयको शोभा बनेका छन् भन्ने कसैलाई थाहा छैन। सरकारले समेत यसको खोजबिन गर्ने कोशिश गरेको छैन।
हराएका ती मूर्तिका तस्बिर एकत्रित गरेर त्यसबारे जानकारी यो अनलाइन संग्रहालयबाट लिन सकिने रोशन बताउँछन्।
‘लोप हुँदै गएका हाम्रा पुरातात्विक सामग्रीको अस्तित्व जोगाउन भनेर हामीले यो अनलाइन संग्रहालय सञ्चालनमा ल्याएका हौं,’ उनी भन्छन्, ‘सरकारको यसको सुरक्षाका लागि कुनै कदम नउठाएका बेला हामी अनलाइनमार्फत् ती सामग्रीबारे युवा पुस्तालाई परिचय दिने कोशिश गरेका छौं।’
यसबाट युवापुस्तालाई देशको प्राचीन सांस्कृतिक धरोहर देख्न र त्यसबारे जानकारी लिन पाउने उनले बताए।
वेबसाइटमा मूर्तिकला, रेखाचित्र, समकालीन कला, सांस्कृतिक वस्तु, चित्र, पाण्डुलिपि र तस्बिर गरी छवटा वर्ग छुट्टयाइएको छ। त्यसमा अन्तर्राष्ट्रिय संग्रहालयहरूमा राखिएका १९ औं शताब्दी अगाडिका नेपाली वस्तुहरूको विस्तृत विवरण पाइन्छ।
जस्तै, यहाँ १४ औं शताब्दीतिरको धातुको शिवजीको मूर्तिबारे देख्न सक्नुहुन्छ। यो मूर्तिका पाँच अनुहार छन्। अमेरिका, न्युयोर्कको रुबिन म्युजियम अफ आर्टमा सजिएको छ। नेपालबाट त्यहाँसम्म पुगेका यस्ता थुप्रै मूर्तिबारे जानकारी ग्लोबल अनलाइन म्युजियममा छन्।
बेलायतस्थित चर्चित संग्रहालय ‘द ब्रिटिश म्युजियम’ र न्युयोर्कस्थित 'मेट्रोपोलिटन म्युजियम अफ आर्ट्स' मा रहेका धेरै नेपाली सामग्रीबारे पनि वेबसाइटमा जानकारी छ।
'ब्रिटिश म्युजियमसहित अरू पच्चीस संग्रहालय र संस्थासँग प्राचिन नेपाली सामानहरू छन्,' रोशनले भने ,'यी सबैको विवरणको जानकारी पाउन हामी नेपालीलाई सहज छैन। यसले गर्दा नेपाली संस्कृति र त्यसको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ।'
विमानस्थल र सीमामा सुरक्षा व्यवस्था भए पनि हाम्रा धेरै मूर्तिकला र अरू प्राचीन सामग्री सहजै विदेशिने क्रम अझै पनि रहेको उनी बताउँछन्। यसरी हाम्रा सामान विदेश पुर्याउने गिरोह धेरै होसियार हुन्छन्।
‘बेचिएका मूर्तिकला र साँस्कृतिक वस्तु १८ इन्चभन्दा अग्ला हुँदैनन्’ ,रोशन भन्छन्, ‘लुकाएर लान सजिलो हुन्छ। अनि साना भए पनि धेरै पैसामा बिक्री हुन्छन। यसैले धेरै यो धन्दामा सक्रिय छन्।’
विदेशका संग्रहालयमा सजिएका कतिपय मूर्ति मठमन्दिरबाट पूजा गर्दागर्दै चोरिएका छन्। त्यत्तिकै विदेशी संग्रहालयलाई बेचिएका ती मूर्ति आजसम्म रातो टीकाको दाग छ। काजकिरियामा अतिआवश्यक वस्तुहरू पनि आज विदेशी संग्रहालयमा छन्।
कुनैबेला बज्राचार्य परिवारको पूजाआजामा पुजारीले टाउकोमा अनिवार्य मुकुट लगाउनुपर्थ्यो। अचेल कहीँ पनि देखिँदैन। त्यस्तो कुनै वस्तु हुन्थ्यो भन्ने पनि धेरैलाई थाहा नहुन सक्छ। खोज-अनुसन्धान क्रममा उक्त मुकुट ‘द ब्रिटिश म्युजियम’ मा भेटिएको रोशनले जानकारी दिए।
कतिपय सामान भने प्रयोगकर्ताहरू आफैंले बिक्री गरेको पनि हुन सक्ने उनी बताउँछन्। हाम्रा बहुमूल्य पुरातात्विक वस्तुहरू अरू भूमिमा सजिएको देख्दा दुःख लागे पनि ती सामान नेपालभन्दा त्यहीँ सुरक्षित हुने उनको भनाइ छ।
‘अहिले नेपालमा संग्रहालयको स्थिति दयनीय छ,’ उनले भने, ‘प्रर्दशनीमा राखिएको सामानको राम्रो हेरचाह छैन। कति अलपत्र छन्। कति बेवास्ता भएका छन्। कतिको आवश्यकता अनुसार स्याहारसम्भार नै छैन। ती सामान बोल्न सक्ने भएको भए पक्कै यहाँ बस्दिनँ भन्थे होलान्।’
नेपालमा राजा महाराजाको सम्झनामा राखिएका बस्तु पनि बिग्रिँदै, हराउँदै गइरहेको छ। तर उनीहरूले विदेशी पाहुना आउँदा उपहार दिएका मूर्ति, चित्रकला लगायत सामान अझै सुरक्षित छन्। विदेशीहरूले आ-आफ्ना देशका संग्रहालयमा ती सामानको सुरक्षा गरेका छन्। नेपालमा हेरचाह बिना राखेर बहुमूल्य सामानको महत्व घटाउनुभन्दा नेपालको संस्कृति र पहिचान चर्चासहित अन्तर्राष्ट्रिय संग्रहालयमै ती सामानले न्याय पाउने उनी बताउँछन्।
'हाम्रा सामान यहीँ रहेको राम्रो हो, तर हामीले तिनका लागि के गर्न सकेका छौं,' उनले भने, 'हामीसँग अहिले भएका पुरातात्विक बहुमूल्य सामानको अवस्था दयनीय छ। त्यसैले उता पुगेका सामानहरूको कम्तीमा जगेर्ना भएको छ। विदेशी संग्रहालयमा नेपालको ११औं शताब्दीको पाण्डुलिपि प्रर्दशनीमा राखिएको देख्दा मन खिन्न हुन्छ। तर त्यसले संसारभरि नेपालको संस्कृति चिनाउने काम गरेको देख्दा गौरव पनि महशुस भइरहेको छ।'
त्यही गौरवलाई उनले आधुनिकीकरण गर्ने प्रयास गरेका हुन्, अनलाइन संग्रहालयमार्फत्। सबै मान्छे विदेश पुग्दैनन्। सबै संग्रहालय पुग्दैनन्। पुगेका सबैले सामान नियाल्न सक्दैनन्। तर इन्टरनेटबाट ती सामानबारे जानकारी लिन सबैले सक्छन्। रोशनको प्रयास यही हो।
यसनिम्ति रोशनले नेपाली सामानहरू राखिएका संग्रहालयसँग बारम्बार सम्पर्क गरेका छन्। ती संग्रहालयसँग कुरा गरी जानकारी संकलन गरेका छन्। संसारमा कहाँ-कहाँ नेपाली सामान छन् भन्दै खोज्नु सहज काम होइन। तर संग्रहालयमै काम गरेको अनुभव र साथीहरूको सहयोगबाट उनले सफलताको बाटो देखिसकेका छन्।
उनले सञ्चालन गरेको यो अनलाइन संग्रहालयले हामीलाई घरै बसीबसी विदेशमा छरिएका हाम्रा पुरातात्विक सामग्रीबारे जानकारी त दिन्छ नै, यसले हाम्रो अभिलेख पनि मजबुत बनाउने उनी बताउँछन्।