पूर्णिमाको चन्द्र अर्थात् बुधबारको रात सुरु हुनेबित्तिकै गहवाको महावीर मन्दिरमा भजन सुरु भइसकेको थियो।
महिलाहरूको टोलीले सुरु गरेको त्यो भजन अबेरसम्मै चल्यो। त्यसपछि अखडा सम्हाले पुरुषहरूले। अधिकांश मातिएका पुरुष टोलीको उपस्थितिसँगै गीतको आवाज चर्कियो र ‘टेम्पु’ पनि तीव्र भयो।
राम खेले होली, लछुमन खेले होली
लंका सहरमे रावण खेले होली
अर्थात्, होलीको रंगमा सबै रंगमंगिएका हुन्छन्, कोही अछुतो रहँदैनन्।
एकछिनको ‘सांगीतिक हंगामा’ पछि दस बजे आसपास त्यो टोलीले गहवाका गल्लीहरू घुम्न सुरु गर्यो। वीरगन्ज सहरकै जग हाल्ने गहवा माईको मन्दिर अर्थात् माइस्थानमा उनीहरू गाउँदै बजाउँदै पुगे। त्यसपछि पनि लश्कर अघि बढ्दै गयो।
बिहानैदेखि बजारभरि बेच्न राखिएको समदको मुठो बोक्दै घर-घरबाट मानिसहरू निस्कँदै त्यसै हुलमा मिसिन थाले।
अन्तिममा गहवा भएर जाने तत्कालीन रेल्वेको किनारमा रहेको खुला मन्दिरमा थुपारिएको समद एकैपटक हुर्रहुर्र गर्दै बल्न थाल्यो। गीतको अवाज झनै चर्को हुँदै गयो। ‘जोगिरा सररर’ को भाकामा अनेक रोचक लाइन हाल्दै सामूहिक गीत गुञ्जिन थाले।
गहवा मात्र होइन, यस्ता दृश्य सहरभरि टोलटोलमा देखिएको थियो।
त्यसैमध्ये अर्को थियो, घडिअर्वा पोखरी छेवैको बरमबाबा मन्दिर।
अधिकांश मारवाडी परिवारको उपस्थिति रहेको त्यहाँ घडिअर्वा टोलकै ७२ वर्षीय दरोगा साह पनि थिए। दशकौंदेखि होली बेला गीत गाउँदै आएका दरोगाले त्यहाँ पनि समद जल्दै गर्दा गीत सुनाए।
‘होरी खेलत राम अवधमे हो
होरी खेलत
केकरा हाथे कनक पिचकारी
केकरा हाथे अबिर सोभे
होरी खेलत राम अवधमे हो’
‘समद जलाउने बेला गीत गाउनुको आफ्नै महत्व छ,’ भोलिपल्ट घरमा पूजा थाल्नुअघि सेतोपाटीसँग कुरा गर्दै दरोगा भनिरहेका थिए, ‘त्यो समद भनेको आगोमा नजल्ने वरदान पाएकी असुर कन्या होलिका जल्दै गरेको क्षण हो।’
उतिबेला भक्त प्रह्लादलाई बचाउने बेला धर्मको पक्षमा रहेकाहरू एकातिर र असुरहरू अर्कातिर बसेर उनीहरुको आफ्नै मान्यताका गीत गाएका थिए भन्ने मान्यता छ।
‘त्यस्तो बेला हामीले धर्मको पक्षमा गीत गाएर होलिका जल्दै गरेको क्षणलाई उत्सवका रूपमा मनाएका हौं,’ दरोगा भन्छन्, ‘त्यही उमंगको गीत हो समद जलाउँदाको क्षण गाइने।’
होलीमा धर्मको गीत गाउनु भनेको सत्यको पक्षमा आफूलाई उभ्याउनु हो भन्ने दरोगाको सोचाइ छ।
त्यस्तो बेला हिन्दु धर्मशास्त्रले उल्लेख गरेकै अनेक घटना र देवीदेवताका बयान गरेर गाएका गीत गुञ्जाउँदा त्यो काम पूरा हुन्छ भन्ने मान्यता यो परम्परा पछ्याउनेहरू राख्छन्।
यसरी समद जलाउने काम सम्पन्न भएपछि भोलिपल्ट बिहानै खरानीको थुप्रोमा पुगेर मानिसले सिक्का र कौडी खोज्न सुरु गर्छन्। जलेका अन्न (धान, चना आदि) टिपेर प्रसादका रूपमा खाइन्छ। बल्दै गरेका कोइला ल्याएर धुवाँ निकाल्दै घरमा धुप-धुपौरो गर्ने काम पनि हुन्छ।
कौडी र सिक्का बिहानै आउनेले छानेर लगिसक्ने भएकाले ढिलो पुग्नेले भेट्दैनन्। त्यस्तो अवस्थामा पहिल्यै निकाल्नेहरूले बिक्रीमा राखेका हुन्छन्। चालीस रुपैयाँमा पाइने कौडीको मूल्य त्यसरी आगोबाट निकाल्दा डेढ सय रुपैयाँसम्म पर्ने भइसकेको हुन्छ।
‘आज बिहान म पुगेर खोज्दा पाइनँ,’ दरोगा भन्दै थिए, ‘त्यहीँबाट निकालेका एक जनाले तीनवटा चिति कौडी प्रत्येकको डेढ सयका दरले बिक्रीमा राखेका थिए।’
दरोगाले किनेनन्। अरूले भने त्यही मूल्य पनि तिरेरै लगेछन्।
त्यस्ता सिक्का र कौडीलाई घरको पूजा कोठामा राखेर पूजा सम्पन्न भएपछि बल्ल होली मनाउन सुरु हुन्छ। होली सकिएपछि ती सिक्का र कौडीलाई आफ्नो पैसा राख्ने गल्ला, बाकस वा दराजमा राख्दा शुभ हुन्छ भन्ने मान्यता रहँदै आएको दरोगा बताउँछन्।
यसपालिको होलीको अर्को एउटा पाटो भनेको मधेसमा तीन दिनसम्मै चल्नु हो।
पहिलो दिन बुधबार अर्थात् पूर्णिमाको दिन यहाँ बसोबास गर्दै आएका पहाडिया समुदायले होली मनाए। साता दिनदेखि नै होलीका विभिन्न गतिविधिमा सरिक हुँदै आएका मधेसी समुदायले पनि कतिपय ‘होली मिलन समारोह’ मा आफूलाई सरिक गराए।
मधेसी होली त पूर्णिमाको रात होलिकाको दहन भइसकेपछि अर्थात् समद जलिसकेपछि मात्रै मनाइने हो। त्यसमा पनि एउटा विडम्बना भइदियो। बिहीबार अर्थात् मधेसी समुदायका अधिकांशले माछामासु वा मदिरा सेवन नगर्ने दिन होली परिदियो।
मीठो मसिनो खानै पाइएन वा झुमेर रमाइलो गर्नै पाएनन् भने त्यो के को होली?
त्यसैले तिथिले दिएअनुसार बिहीबार सबैले घरघरमा होलीको पूजा गरे पनि यसपाला बिहीबार बार्ने मधेसी समुदायले शुक्रबार मात्रै होली मनाउने भएका छन्।
‘पूजापछि सामान्य किसिमले रंग खेल्ने काम आजै हुन्छ,’ दरोगा भनिरहेका थिए, ‘तर, घरघरबाट निस्केर रमाइलो गर्ने काम शुक्रबार मात्र हुने भएको छ।’
यति भनिसकेपछि दरोगाले अर्को होली गीत पनि भाका हालेर सुनाए–
‘कुद पडे जमुनामे कन्हैया
लडिका हो गोपाल
कुद पडे जमुनामे’
दरोगाले कहिलेदेखि होली गीत गाउन थालेका हुन्?
‘मैले गाएको त कहिलेदेखि भन्ने?’ उनी हाँस्न थाले र भने, ‘जहिलेदेखि होली खेलेँ, त्यही बेलादेखि हो।’
कुनै समय दरोगासँग साथमा गाउने टन्नै समकालीनहरू थिए। ‘अब त धेरैजसो मरिसके,’ उनले थकथकी मान्दै अहिले बाँचेका साथीहरूको नाम औंलामा गन्न थाले, ‘जोगिन्दर, रामटहल, रामआश्रेय चाहिँ बाँचेका छन्।’
उनीहरूले पनि हिजोआज गाउनमा खासै रुचि राख्न छाडेको उनले उल्लेख गरे।
‘पुरानो समय त दुवारी (ढोका) मै मानिसले विछ्यौना लगाएर गाना बजाना गर्थे,’ उनले भने, ‘त्यस्तो गाउने बजाउने काम होलीको दिनभन्दा आठ-दस दिन पहिल्यैदेखि सुरु हुन्थ्यो।’
त्यति अगाडिदेखि किन?
‘उमंग हो उमंग,’ उनको अनुहारमा हल्का रंग थपियो, ‘उमंगमा गाएपछि त्यसले अगलबगलका सबैलाई उस्तै माहोलमा ढाल्ने त हो।’
दरोगाका अनुसार उनीहरूले धान्दै आएको परम्परा अहिलेको भागमभागको दुनियाँभन्दा बेग्लै हुन्।
‘हामी काम पनि उत्तिकै गर्थ्यौं,’ उनले थपे, ‘रमाउने बेला दिल खोलेर उत्तिकै रमाउँथ्यौं।’
दरोगाले गाउने गीतहरू सबै श्रुतिपरम्पराबाटै आएका हुन्। पहिले अघिल्लो पुस्ताले गाउँथे। त्यसपछि अर्को पुस्ता गर्दै उनीसम्म आइपुग्यो।
‘मेरै बुबा पनि होलीको बेला खुब मजाले गाउनु हुन्थ्यो,’ उनले भने, ‘त्यही हेर्दाहेर्दै मैले पनि सिकेको हुँ।’
दरोगाले बाबुबाट सबैथोक पाए। होलीमा यसरी दिल खोलेर गाउने गुण मात्र नभई जीविकोपार्जनको आधार पनि उनलाई बाबुले नै दिएका हुन्।
‘बुबाको काम भनेकै वीरगन्ज प्रवेश गर्ने विन्दुमा बाटैमा बसेर देहातबाट आउने सामान किन्ने र त्यसलाई बजारमा ल्याएर बेच्ने थियो,’ उनले थपे, ‘मसुरी, रहर, चना जे जे आउँथ्यो किन्नुहुन्थ्यो र बेच्नुहुन्थ्यो।’
बुबासँगै लागेर हिँड्दा दरोगाले पनि स्वतः त्यो काम सिके।
‘गर्दै गएपछि बुबाजस्तो बजारमा ल्याएर खुला ठाउँमा बेच्नुभन्दा मैले रानीघाटमा एउटा किरानाको दोकानै खोलेँ,’ उनले भने, ‘बितेको दस वर्षदेखि मैले पसल सन्तानलाई जिम्मा लगाएर घरैमा बस्न थालेको छु।’
उनको एक मात्र छोरी छिन् र पसल ज्वाइँले सम्हालेका छन्।
‘यो होलीमा गीत गाउने परम्परा मेरो पुस्तामा आएर टुंगिएको छ,’ उनले भने, ‘म पछिका पुस्तामा निरन्तरता पाएन।’
अहिलेका सबैजसोले जे गरिरहेका छन्, त्यही उनीहरूले पनि गरेकाले दरोगालाई त्यसको निम्ति कुनै गुनासो पनि छैन।
दरोगाले जीवनमा वीरगन्जबाहेक देहातको होली मात्र देखेका छन्।
‘देहातका होलीमा अहिले पनि पुरानो परम्परा धान्ने काम भइरहेको देख्छु,’ उनी भन्छन्, ‘त्यता नयाँ पुस्ताले पनि होलीका गीत गाइरहेका छन्।’
वीरगन्ज र यतै वरपरको देहातबाहेक अन्त कतैको होली आजसम्म नदेखेकाले अरूतिर र यहाँको होलीमा के फरक छ भन्ने दरोगालाई थाहा छैन। रंगले मात्रै होली मनाइँदैन भन्ने चाहिँ उनी ढुक्कै सुनाउँछन्।
‘होली त मान्छेको मियाँज (मुड) मा चढिरहेको हुन्छ,’ उनी भन्छन्, ‘रंगले त सघाउने मात्र हो।’
अहिले होलीको वास्तविक रंग उड्दै गएको उनको ठम्याइ छ।
‘यसरी गाउने परम्परा पनि लगभग हराएरै गइसक्यो,’ उनले भने, ‘खाली रंग खेलेर र दारु पिएर रमाउने काम मात्रै भइरहेको छ।’
उनको भनाइमा होलीमा सबैभन्दा बढी बिगार रक्सीले गरिरहेको छ।
‘हाम्रो समयमा रक्सी हातै लगाउँथेनौं,’ उनले थपे, ‘ह... बरु, सबका सब भांग पिएर रमाउँथ्यौं।’
होलीमा भांग नै पिउनुपर्ने उनको सोचाइ छ।
‘अचेल जसरी भांगको ठाउँ रक्सीले लिएको छ, त्यसैगरी हामीले गाउने गीतहरू पनि डेक (रेकर्ड गीत बजाउने) मा बज्ने गीतहरूले लिँदै गएको देख्छु,’ उनले दिक्दारी व्यक्त गरे, ‘आजभोलिका लडिकाहरू पनि त्यसैमा रमाइरहेका छन्।’
त्यसो त होलीको गीतमा देवीदेवताको उल्लेख मात्र हुँदैन। मातेकाहरू यौनजन्य प्रसंगमा चुस्की लिँदै ‘छेडछाडवाला गीत’ पनि गाउने गर्छन्। अझ बढी त त्यही देखिन्छ।
‘यसरी छेडछाडको गीत गाउने पनि पुरानै प्रचलन हो,’ दरोगाले सुनाए, ‘मैले नगाए पनि मेरा समकालीनहरूले गाउँथे।’
त्यस्ता गीतको पनि स्तर खस्केर हिजोआज बिगारिदिएको उनको गुनासो छ।
दरोगाको जीवन अनुभवमा होली उही भए पनि समयसँगै यसको रंगरूप उड्दै गएको छ।