खुला सीमाको नाजायज फाइदा उठाउँदै हुने गरेको भारतीय पशु तथा पंक्षीजन्य कुखुरा, अण्डा र मासुको तस्करी पूर्ण प्रतिबन्ध लगाउन नेपाली कुखुरा पालक किसान र व्यवसायीले नाकामै विरोध प्रदर्शन गरेका छन्। झापा जिल्ला कुखुरा व्यवसायी सङ्घको आह्वानमा सयौं किसान तथा व्यवसायीले भारतीय कुखुराको तस्करी रोक्न माग गर्दै शनिबार काँकडभिट्टा नाकामा विरोध प्रदर्शन गरेका हुन्।
विरोधका सहभागीहरुले भारतीय कुखुरा भित्र्र्याउन पाइँदैन, किसान मास्न पाइँदैन, भारतीय कुखुराको तस्करी बन्द गर, तस्करीमा संलग्नलाई कारबाही गर लेखिएका प्लेकार्ड बोकेर नारा लगाएका थिए। काँकडभिट्टा माविको प्राङ्गणबाट शनिबार दिउँसो निस्किएको जुलुसमा सहभागी व्यवसायीले बजार र नाका परिक्रमा गर्दै नाराबाजी समेत गरे। विरोधपछि मेची बस व्यवसायी कम्पनीको सभाहलमा सरोकार राख्ने निकायसँग व्यवसायीले अन्तरक्रिया गरेका थिए।
अन्तरक्रिया कार्यक्रममा बोल्दै झापा जिल्ला कुखुरा व्यवसायी सङ्घका अध्यक्ष विवेक निरौलाले भारतीय कुखुराको तस्करी बेलैमा नरोक्ने हो भने त्यसबाट मुलुकले नै ठूलो क्षति व्यहोर्नुपर्ने बताए। भारत सरकारले बर्डफ्लु नियन्त्रण गर्न सक्दिन भनेर भनिसकेको अवस्थामा लुकाइछिपाइ कुखुरा र अण्डा भित्रिँदा नेपालमा रोग भित्रिने उच्च जोखिम भएको अध्यक्ष निरौलाको तर्क थियो।
नेपालमा २०६४ सालमा काँकडभिट्टामै पहिलोपल्ट बर्डफ्लु देखा परेको र त्यो रोग भारतबाटै भित्रिने कुखुराबाट आएको स्मरण गराउँदै रोग लाग्न दिनुभन्दा पहिले नै राज्य, सचेत नागरिक र आम व्यवसायी मिलेर कुखुराको अवैध आयात ठप्प बनाउनु पर्ने उनले जोड दिए। उनले भारतीय कुखुराको अबैध आयातका कारण कुखुरा पालन गरिरहेका हजारौं किसानहरुको व्यवसाय नै धरासयी भएको र ऋण काढेर गरेको लगानी डुब्ने अवस्था सिर्जना भइरहेको गुनासो गरे। नाकामा रहेको प्रहरी र प्रशासनलाई भारतबाट कुखुरा, अण्डा र मासु आयातमा पूर्णतः रोक लगाउने सरकारी निर्णयको कार्यान्वयन गर्न अध्यक्ष निरौलाले सम्बद्ध पक्षलाई आग्रह गरे।
कार्यक्रममा मेचीनगरका नगरप्रमुख विमल आचार्य र सहायक प्रजिअ माधव पोखरेलले भारतबाट तस्करी भएर भित्रिने कुखुरा र पंक्षीजन्य बस्तुले बर्डफ्लु भित्राउने जोखिम बढेको र नेपाली पोल्ट्री व्यवसायलाई धराशायी बनाइरहेको स्वीकार गर्दै तस्करी नियन्त्रणमा लाग्ने प्रतिबद्धता जनाएका थिए। पोल्ट्री व्यवसायका कारण नेपालमा १५ लाख रोजगारी सिर्जना भएको र ८० अर्ब लगानी भइसकेको चर्चा गर्दैै पोखरेलले स्वदेशी व्यवसायको सुरक्षा गर्न र बर्डफ्लु भित्रिन नदिन प्रशासन कडाइका साथ लाग्ने बताए। उनका अनुसार झापा प्रशासनले भारतबाट कुखुरा र अण्डा भित्र्याउने दुई जनालाई मुद्धा लगाइएको र विगत २ महिनामा १२ क्वीन्टल मासु नाकामा बरामद गरिएको जानकारी दिए।
नेपाल भेटनेरी एसोसिएसन प्रदेश १ का कोषाध्यक्ष सीताराम यादवले अन्तरक्रिया केही होटल र व्यवसायीहरुले नै सस्तो मूल्यको लोभमा परी भारतबाट कुखुरा र मासु लुकाइछिपाइ भित्र्याउने गरेको दावी गरे। प्रहरी र प्रशासनले कडाई गर्ने हो भने नाकाबाट भारतीय कुखुराको तस्करी ठप्प हुने जनाउँदै उनले अहिलेकै अवस्थामा तस्करी भइरहने हो भने कुनै पनि बेला बर्डफ्लु भित्रिने चेतावनी दिए। बर्डफ्लुबाट हालसम्म विश्वमा ७ सय ४७ जना मानिसको मृत्यु भइसकेको र यो रोग कुखुराबाट मानिसमा र मानिसबाट मानिसमा सर्न सक्ने सङ्क्रामक भएको यादवले बताए।
कतिपय स्थानमा व्यवसायी आफैंले तस्करी गरेर भारतिय कुखुरा नेपाल भित्र्याउने गरेका छन्। खास गरी पश्चिम वंगालसँग जोडिएको करिब ११८ किलोटिर इलाम र झापाको दुरीमा यस्तो समस्या देखिएको स्वयम् व्यवसयीले बताउँदै आएका छन्। भारतबाट नेपाल भित्र्याइएका कुखुरा नेपालका फर्ममा हालेर रातारात नेपाली कुखुरा वनाउने गरेको स्वयम् व्यवसायी बताउँछन्।