बिक्रम सम्वत् १९९७–९८ तिरको कुरा हो।
म त्रिचन्द्र कलेज पढ्थेँ। विषयगत हिसाबले कक्षा लिँदा बीचमा खाली हुन्थ्यो। खाली समय बिताउन जाने ठाउँ कहीँ थिएन। अहिले पो त्रिचन्द्र कलेज सहरको बीचैमा पर्छ। त्यो बेला यही ठाउँ सहरभन्दा अलि पर पर्थ्यो। चिया पिएर बस्न छेउछाउमा पसलधरि थिएन।
त्रिचन्द्र परिसरमा डुलेरै बिताउनुपर्थ्यो।
वीर पुस्तकालय घन्टाघरमुनि थियो। त्यहाँ दरबन्दीका पण्डितहरू दिनभर घाम तापेर बस्थे। घाममै ल्याएर किताब सुकाउँथे। पुस्तकालयमा विद्यार्थीलाई पस्ने अनुमति थिएन।
पुस्तकालयकै पछाडि ‘नेपाली भाषा प्रकाशिनी समिति’ थियो। त्यसमा बालकृष्ण सम अध्यक्ष थिए। हामी मानविकी ब्लकका विद्यार्थी विज्ञान ब्लकमा जाँदा वा विज्ञानका मानविकीमा आउँदा बाटैमा त्यो पुस्तकालय र समिति पर्थ्यो। ठाउँ नपुगेर होला, विज्ञान ब्लकका निम्ति पछिल्तिर नयाँ विस्तारित भवन तयार पारिएको थियो।
त्यो नयाँ भवनमा ‘भाषानुवाद परिषद’ अड्डा राखियो। यसमा बालकृष्ण समकै दाजु पुष्करशमशेरको नेतृत्व थियो। परिषदमा एकथरीले संस्कृतबाट नेपालीमा अनुवाद गरेर किताबहरू तयार पार्थे। अर्काथरीले मौलिक साहित्य त्यहीँ बसेर सिर्जना गर्थे।
‘नेपाली भाषा प्रकाशिनी समिति’ मा त हामी पस्ने कुरै आएन। बाहिरैबाट यसो चिहाएर हिँड्थ्यौं।
‘भाषानुवाद परिषद’ मा महाकवि लक्ष्मीप्रसाद देवकोटा बस्थे। त्यहाँ राष्ट्रकवि माधवप्रसाद घिमिरे, पण्डित बद्रीनाथ भट्टराई, श्यामदास बैष्णवलगायत अन्य कर्मचारी थिए।
त्यो समूहले नै ‘भाषानुवाद परिषद’ गठन हुनुअघि पुष्करशमशेरकै अध्यक्षतामा दुइटा खण्डमा ‘अंग्रेजी नेपाली कोष’ तयार पारेको थियो। त्यो बेला किताब छाप्ने काम जोरगणेश प्रेसले यतै गर्थ्यो। बाइन्डिङ गर्न भने कोलकाता लैजानुपर्थ्यो। कोलकाताबाट छापेर ल्याएपछि नै पुष्करशमशेरले ‘भाषानुवाद परिषद’ खडा गरेका थिए।
देवकोटालाई भने मौलिक कृति सिर्जना गर्न बेग्लै व्यवस्था थियो। देवकोटाले त्यहीँ बसेर ‘शाकुन्तल’ लेखेका थिए। देवकोटाका साफी गर्ने श्यामदास वैष्णव त्यहीँ थिए।
यस्तो अवस्थामा हामी विद्यार्थीका निम्ति कक्षा नभएका बेला डुल्दै विभिन्न गतिविधि हेर्ने थलो त्यही ‘भाषानुवाद परिषद’ थियो। त्यहीँ हामीबीच चिनजान भयो। संगत बढ्दै गयो। संस्कृत साहित्य पढेपछि मात्रा र छन्द थाहै थियो। अब सानोतिनो कविता पनि लेख्न थालेँ।
त्यस्तै बेला माधवप्रसाद घिमिरेसँग भेट भएको थियो। त्यहीँ देवकोटा र पुष्करशमशेर पनि भेटिए।
आफ्नो कार्यथलोमा फुर्सदमा बसिरहेका यी व्यक्तिहरू हामी घुम्दै पुग्ने विद्यार्थीलाई देखेपछि सोधपुछ गर्थे। बसाएर कुरा गर्थे। त्यही क्रममा कक्षामा अंग्रेजी किताबका कथा पढ्दापढ्दै ‘आँट गरेँ भने मै पनि लेख्न सक्छु कि!’ भन्ने सोच पलाउँथ्यो।
मैले केटाकेटीका लागि कविता लेखेर सुरू गरेको थिएँ। मातृभाषा नेपाली नभए पनि कोशिस गरेँ। एक हिसाबले सिकारूकै रूपमा। कविताको शीर्षक ‘लामा’ थियो। अनुष्टुप छन्दमा लेखेको थिएँ। त्यो पढ्दा आफूलाई राम्रै लाग्यो। आफूभन्दा जान्ने अरूलाई हेर्न लगाएर मूल्यांकन गराउनु उचित हुने भन्ठानेर आफ्ना रचनाहरू देवकोटा र माधव घिमिरेलाई सुनाउन थालेँ।
चिनजान भएपछि घर पनि सोधियो। घिमिरे त्यो बेला पकनाजोलमा नेवारको घरमा डेरा बसेका रहेछन्। मलाई घरैमा गएर भेट्न र आफ्ना रचना देखाउँदै सिक्न मन थियो। एउटा विदाको दिन पकनाजोलस्थित उनको घर पुगेँ। त्यो बेला श्रीमती गौरी नै थिइन्। घरको चोटामा बसेर कुरा गर्थ्यौं।
मेरो नेपाली व्याकरण उति मिल्थेन। त्यसैले कतैकतै घिमिरेजी आफैंले सच्च्याइदिन्थे। पछि घिमिरेजीले कपुरधारामा आफ्नै घर बनाए। तर, पकनाजोल डेरामा जत्ति मेरो आउजाउ त्यो घरमा भएन। निकै पछि अरनिकोको किताब लेखेपछि उपहारस्वरुप दिन एकपटक गएको थिएँ।
त्यसैगरी देवकोटालाई पनि मैले एउटा कविता सुनाएको थिएँ। सुनेपछि उनले ‘ए जोशीजी, ल एउटा बालकविता म पनि भन्छु, तपाईं लेख्नुस्’ भने।
म कापी टिपेर लेख्न थालेँ। देवकोटा ओहोरदोहोर गर्दै कविता भन्न थाले। उनको विशेषतै त्यही थियो। उनी ओहोरदोहोर गर्दागर्दै छन्दमा फररर बोल्दै गए।
त्यो वसन्त तेलगा छन्दमा थियो। चौध-चौधवटा अक्षर मिलाएर लेखिनुपर्ने भएकाले अलि गाह्रो। उनले खरायोले सिंहलाई इनारमा खसालेको लोककथालाई बालकवितामा ढालेर सुनाए।
कविता सकिएपछि देवकोटा टक्क अडिए। र, मतिर हेर्दै सोधे, ‘ठीक भो?’
मैले टाउको हल्लाएँ।
‘ल त्यसो भए हेरौं अब,’ देवकोटाले भने।
उनले त्यो कविता मलाई नै दिएर पठाएका थिए। तर, महाकविको त्यस्तो महत्वपूर्ण सम्पत्ति मैले जोगाएर राख्न सकिनँ।
देवकोटासँग मेरो अर्को पनि सम्झना छ।
एकदिन म त्रिचन्द्र कलेजतिरै गइरहेको थिएँ। कलेजको ढोकैबाट देवकोटा निस्कँदै गरेको देखेँ। त्यो बेला नोटको चलन थिएन। सबै सिक्कामै व्यवहार हुन्थ्यो। ठूलो रकम लेनदेन भएको छ भने भारी नै बोकेर हिँड्नुपर्थ्यो। देवकोटा त्यसैगरी भारी बोकेरै निस्केका थिए।
अञ्चलाधीश कार्यालयको पर्खालनजिकै मेरो र देवकोटाको जम्काभेट भयो।
एउटा हातले पैसाको भारी थैलो समातेका थिए। अर्को हातले च्यापेको चुरोट घरि मुखमा हाल्दै, घरि त्यही कपडाको थैलो समात्दै थिए।
‘ओहो! के हो यस्तो?’ मैले सोधेँ।
त्यसै दिन कुनै किताब लेखेबापत पाएको पैसा उनी सम्हाल्दै हिँडेका रहेछन्। कोही भरियालाई बोकाए नि हुन्थ्यो भन्ने लाग्यो। देवकोटाले त्यसरी पैसाको भारी सकिनसकी उठाएको देखेपछि मैले सोधेँ, ‘म सघाइदिऊँ कि?’
उनी मानेनन्। आफैं बोकेर हिँडे।
त्यो बेला अहिलेजस्तो बाटोमा मान्छे ठेलमठेल हुने समय थिएन। लुटपाट पनि हुन्थेन। चुरोट तान्दै, हातमा भारी बोकेर महाकविजी परैसम्म गएको हेरिरहेँ।
मान्छेहरू भन्थे, यसरी पैसा बोकेर हिँडेका देवकोटा प्रायः बाटोभरि पुरानो ऋण तिर्दै जान्थे। तिर्दातिर्दै बाटैमा पैसा सक्थे रे!
यसरी देवकोटा, पुष्करशमशेर र माधव घिमिरेका घरमा मेरो आउजाउ सुरू भएको थियो।
देवकोटाको घर जाँदा पनि चोटामै बसेर कुराकानी हुन्थ्यो।
त्यस्ता देवकोटा पछि २०१३ सालतिर केआइ सिंह प्रधानमन्त्री भएका बेला शिक्षा सहायक मन्त्री बनाइए।
त्यो थाहा पाउनेबित्तिकै म खुसी हुँदै उनलाई भेट्न गएँ। घरमा त टनाटन मान्छे। पूरै चहलपहल थियो। मन्त्री बनाइए पनि देवकोटालाई भने शिक्षा मन्त्रालय कहाँ छ भन्ने थाहै रहेनछ। एकैछिनमा उनका ज्वाइँ साइकल चलाएर त्यहाँ आइपुगे। ज्वाइँलाई पनि थाहा भएन।
म जनसंख्या अड्डाको जागिरे थिएँ। मेरो कार्यालय वसन्तपुरमा भए पनि बेलाबेला सिंहदरबार गइरहनुपर्थ्यो। थुप्रै चोक भएको सिंहदरबारको पहिलो चोकमा शिक्षा मन्त्रालय थियो। मैले उनीहरूलाई सुनाएँ, 'सिंहदरबारभित्र त्यो मन्त्रालय भवन देखेको छु।'
त्यसपछि देवकोटाजीले भने, ‘लौ जाऔं उसो भए।'
त्यसपछि मोटरमै चढेर देवकोटाजी, उहाँका ज्वाइँ र म मैतिदेवीबाट सिंहदरबार पुगेका थियौं। पछाडिको सिटमा देवकोटाजी र म सँगै बसेका थियौं। बाटामा हामीबीच केही विशेष कुराकानी भएन। उही सधैंजस्तै सामान्य भलाकुसारी मात्र।
त्यसपछि मन्त्री हुन्जेल हाम्रो भेटघाट भएन। उनी आफ्नै काममा व्यस्त भए। म आफ्नै काममा।
त्यसो त उनको कार्यअवधि पनि छोटै थियो। उनी फेरि साहित्य साधनामै फर्किए। प्रज्ञा प्रतिष्ठानमै समेटिए।
एकपटक देवकोटा रुस छेउछाउको कुनै कम्युनिस्ट मुलुकमा साहित्यिक डेलिगेसनमा गएका थिए। त्यसरी जाँदा उनले स्वीकृति लिएनछन्। यही कारण प्रज्ञा प्रतिष्ठानले उनको तलबै रोकिदिएको थियो। उपकुलपति बालचन्द्र शर्मा थिए।
त्यति बेला सबैको सहानुभूति महाकविप्रति थियो। उनी बिरामी थिए। तर कसैले केही गर्न सकेनन्। त्यो घटनाले महाकविको एकेडेमीसँग अलि नराम्रो भएको थियो।
एकेडेमीमा सबभन्दा लामो र प्रभावकारी उपस्थिति माधव घिमिरेको रह्यो। कुलपतिसम्मै भए। म २०२६ सालमा पहिलोपटक एकेडेमीमा सहप्राज्ञ बनाइँदा घिमिरे प्राज्ञ थिए। एकेडेमीमै भए पनि हामी फरक विभागमा थियौं। हामीबीच त्यति व्यवहार भएन। तर, भेटघाट बेला आत्मीयता प्रकट हुन्थ्यो नै।
म लामो समय लमजुङतिर खटिएर त्यो ठाउँ बुझेको मानिस थिएँ। त्यसैले पनि होला, पुस्तुनका घिमिरेसँग आत्मीय थिएँ।
एकेडेमीमा हुँदा सूर्यविक्रम ज्ञवालीको एउटा सन्दर्भ मलाई सबभन्दा बढी याद आउँछ। मभन्दा पहिले ज्ञवाली सदस्यसचिव थिए। त्यसपछि मेरो सदस्यसचिव कार्यकालमा उनी कुलपति भए। त्यतिबेलै सर्वोच्च अदालतमा चलिरहेको उनीविरुद्धको मुद्दामा भएको फैसलाले तहल्का मच्चिएको थियो।
उनी सदस्यसचिव भएकै बेलामा हरहिसाबको कुरा लिएर त्यो मुद्दा चलेको थियो। कुलपति भएपछि ज्ञवालीविरुद्ध फैसला भइदियो। त्यो धेरै ठूलो रकमको कुरा थिएन। त्यस्तै चार-पाँच हजार होला। तर, कुलपतिजस्तो मान्छेलाई असाध्यै अप्ठ्यारो भयो।
तत्कालीन प्रधानन्यायाधीश रत्नबहादुर विष्टले गरेको फैसला थियो त्यो।
त्योताक एकेडेमीमा एक जना गणेशलाल सुब्बा नामका असाध्यै चलखेल गर्ने मान्छेको जगजगी थियो। पदले सुब्बा लेखिए पनि उनी नेवार थिए। नायब सुब्बा भए पनि लेखाको सबै काम उनैले हेर्थे। ती गणेशलालले नै लटरपटर काम गरेर ज्ञवालीलाई फसाएका थिए। ज्ञवाली विद्वान अनि सोझा थिए। उनको आनीबानी सबैलाई थाहा थियो।
उता गणेशलाल सुब्बा भइकन पनि असाध्यै फूर्तिफार्ती देखाउने। टिलिक्क लुगा लगाउँथे र असाध्यै महँगा चुरोट पिउँथे। डुमोरिया, क्राइबेनदेखि पाँच सय पचपन्नसम्म। त्यस्ता चुरोट माथिल्लो पदका मान्छेलाई पिउन दिएर खुसी बनाउने काम पनि गर्थे।
कसैले सदस्यसचिव छाडेका बेलामा बुढा र सोझा ज्ञवालीजीलाई त्यो पदको जिम्मेवारी दिइएको थियो। त्यही बेला उनको नामबाटै गणेशलालले बदमासी गरिदिए।
एकेडेमीका संरक्षक राजा हुन्थे। महालेखाले हिसाबकिताब जाँच्थ्यो। त्यसरी जाँच्दा ज्ञवालीको बेरूजु देखियो। म सदस्यसचिव हुँदा सर्वोच्चमा मुद्दा चलिरहेकै थियो। अदालतले कानुनी हिसाबले नै हेर्ने भयो। फैसला ज्ञवालीविरुद्ध भइदियो। त्यति मात्र नभएर सामाजिक रूपमा पनि ज्ञवालीलाई लान्छित गर्ने काम भयो। उनको नुर गिर्यो। उनी विषाद जस्तो अवस्थामा पुगे।
म सदस्यसचिव भएकाले ज्ञवालीजी त्यो भोगाइ मसँग बाँड्न आए। मलाई यो सारा बदमासी गणेशलालको हो भन्ने स्पष्टै थियो। तर, गर्न के सकिन्थ्यो?
म विशेष प्रहरी र महान्यायाधिवक्ता भेट्न गएँ।
‘ओहो... यसमा त पुनरावेदन गर्ने कामै नगर्नुस्,’ उनीहरुले मलाई भने, ‘यतातिर लाग्नुभयो भने ज्ञवालीलाई उल्टो बढी सजाय हुन्छ।’
तै मेरो मनले मानेन। ज्ञवालीजी जस्तो मान्छेमाथि अन्याय भयो भनेर मनमा उथलपुथल भइरह्यो। कानुनले समात्ने गरी कागजपत्रमा जेजस्ता कुरा भए पनि एकेडेमीको सत्यतथ्य यस्तो हो भनेर भेटघाट र छलफल जारी राखेँ।
‘यो दार्जिलिङको बुढो त्यसरी जथाभावी गर्ने मान्छे नै होइन,’ मैले भनेँ, ‘एकेडेमीकै एउटा मान्छेले फसाइदिँदा निर्दोषले सजाय पाउन थालेका छन्।’
त्यही क्रममा अलिकता सकारात्मक संकेत देखियो। अनि फेरि सर्वोच्चमा पुनरावेदन गरियो।
त्यतिबेला नयनबहादुर खत्री न्यायाधीश थिए। उनले ज्ञवालीलाई मुद्दा जिताइदिए।
यसरी नखाएको विष लाग्नबाट एक जना भद्र प्राज्ञ जोगिए।
ज्ञवालीजी र त्यतिबेला एकेडेमीका अरू धेरै साथी अब यस दुनियाँमा छैनन्। अहिले माधवजी र म छौं। उहाँ सय वर्ष पुग्नुभएको बेला मलाई असाध्यै खुसी लागेको थियो। म उहाँको स्वस्थ जीवनको कामना गर्छु।