राउटे समुदायका पाँच जनाले पहिलो महिनाको तलब पाएका छन्। फागुन ११ गते पारासामाजिक कार्यकर्ताको रूपमा जागिर पाएका राउटे मुखिया, पूर्वमुखिया तथा युवा अगुवासहित पाँच जना राउटेहरुलाई बुधबार पहिलो महिनाको तलब दिइएको हो।
राउटे मुखियाहरू सूर्यनारायण शाही, दिलबहादुर शाही, बिरबहादुर शाही, पूर्व मुखिया मैनबहादुर शाही र अगुवा युवा प्रकाश शाहीलाई १ हजार ५ सयका दरले तलब भुक्तान गरिएको हो। उनीहरुको तलब मासिक १ हजार ५ सय तोकिएको थियो।
चेकमार्फत तलब बुझेका राउटेहरुले वीरेन्द्रनगरस्थित मेघा बैंकमा पुगेर आफैं चेक साटेका थिए।
उनीहरूले आफ्नो समुदायमा मदिरा प्रयोग र बेचबिखन बन्द गर्ने, सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रका काठ जथाभावी नकाट्ने, बालबालिकालाई औषधि खुवाउने तथा व्यक्तिगत सरसफाइमा लाग्न सहयोग गर्ने जिम्मेवारीसहित फागुन ११ गते नियुक्ति पत्र दिइएको थियो।
सामाजिक सेवा केन्द्र (सोसेक) र दैलखेको गुराँस गाउँपालिकाले उनीहरुलाई मासिक तलबको व्यवस्था गरेका छन् ।
केही समयअघि दैलेखको गुराँसेमा बसेको राउटे समुदाय अहिले सुर्खेतको लेकवेशी नगरपालिकाभित्र पर्ने भेरी नदी किनारमा बस्दै आएका छन्। राउटे नेपालको एकमात्र फिरन्ते जाति हो ।
जंगली जनावरको शिकार तथा जंगली फलफूल खाएर जीवन गुजारा गर्दै आएको राउटे समुदाय पछिल्लो समय भने आधुनिकतातर्फ प्रवेश गर्न थालिसकेका छन्। अहिले उनीहरु बजारमा गएर रूपैया माग्ने, होटलमा मदिरा सेवन गर्ने, सार्वजनिक सवारी साधन प्रयोग गर्ने गरिसकेका छन्।
आमाको मृत्यु भएपछि नुहाउन हुँदैन भनेर जीवनभर ननुहाउन राउटेहरू सरसफाईमा समेत ध्यान दिन थालेका छन्। औषधिमा विश्वास नगर्ने उनीहरु अहिले सामान्य चोटपटकमा पनि औषधि खोज्ने गरेका छन्।