गाउँमै मायाप्रिती बसेका केटा र केटी। युवक पढ्न सहर जान्छ। धोका दिन्छ।
उता, गाउँकी प्रेमिका विरहमा खोलाछेउ एक्लै गाइरहेकी हुन्छे-
‘फूलको थुँगा बहेर गयो, गंगाको पानीमा
कहिले भेट होला हे राजै, यो जिन्दगानीमा’
नेपाली चलचित्रको प्रथम चरण अर्थात् ‘ब्ल्याक एन्ड ह्वाइट’ युगको सिनेमा हो, 'मनको बाँध'।
राष्ट्रकवि माधव घिमिरेको शब्द, नातिकाजीको संगीत र तारादेवीको स्वर रहेको यो कालजयी गीतमा अभिनय गर्ने मुख्य नायिका अर्थात् ‘गाउँकी केटी’ यतिबेला नेपाली दर्शकले सम्झन पनि नसक्ने गरी ‘पुरानो’ भएकी छन्। दसकौंपछि गत साता काठमाडौंको एक सार्वजनिक कार्यक्रममा उनी देखापरिन्। त्यो पनि पलेँटी शृंखलामा 'मनको बाँध' सिनेमाकै उही ‘फूलको थुँगा’ प्रस्तुत भइरहेका बेला।
सुरुमा त दर्शकदीर्घामा उपस्थित महिलाको अनुहार नायिका सुषमा शाहीसँग मिलेजस्तो लाग्यो।
‘के सुषमा शाही काठमाडौं आएकी हुन्?’
अनुहारको झल्को मिल्यो भन्दैमा झन्डै पच्चीस वर्षदेखि पाकिस्तान बस्दै आएकी सुषमा यिनै हुन् भनेर पत्याइहाल्न गाह्रो भयो।
‘उनी सुषमा नै हुन्,’ तत्कालै पुष्टि भयो, ‘एउटै छोराको पहिलो सन्तान अर्थात् नाति हेर्न उनी यतिबेला काठमाडौं आएकी छन्।’
बाल्यकालका सम्झना स्मृतिबाट निस्केर आँखामा दौडिन थाले। विशेषगरी सुषमा नायिका र सहनायिका बनेकी 'बदलिँदो आकाश' र 'कान्छी' जस्ता उतिखेरका चर्चित सिनेमाहरू।
त्यसपछि सुषमालाई प्रत्यक्ष देख्दाको क्षण।
नेपाली सिनेमा भर्खर रंगीन बन्न थाल्दा हामीकहाँ कति थोरै नायिका थिए भने उनीहरूको संख्या गन्न एउटै औंलाको काप पर्याप्त हुन्थ्यो। त्यसैमध्ये एक सुषमा शाही। अग्लो शरीर, पश्चिमा रौनकको अनुहार अनि खैरा आँखा।
दोस्रो दिनै मण्डिखाटारको फराकिलो घरछेउ सुषमा शाही मेरो सामुन्ने थिइन्। समय फेरिएछ, फेरिएछिन् उनी पनि।
अनुहारको रंगलाई बजारका कस्मेटिक्सले मुश्किलसाथ धानिरहेको देखिन्थ्यो। टलक गुमाएका आँखा चाहिँ टल्किने चश्माले छोपेको थियो।
बुट्टा काटिएको सुहाउँदो कुर्ता सुरुवाल शरीरको आकृति पछ्याउँदै उसैगरी ढल्किएको थियो, जस्तो पाकिस्तानी सिरियल वा गजल कार्यक्रममा देखिने सालिन ज्यानहरू।
म सोझै चालीस वर्षभन्दा पहिले रिलिज भएको 'मनको बाँध' बाटै प्रारम्भ भएँ। सबैभन्दा पहिले त त्योताका नायिकाहरू छानिन्थे कसरी भन्ने जिज्ञासा थियो।
‘त्यो सिनेमाको प्रस्ताव कसरी आएको थियो?’ मैले सोधेँ।
‘त्यसभन्दा पहिलेको सिनेमा 'परिवर्तन' मा मैले बहिनीको भूमिका गरेको थिएँ,’ सुषमाले भनिन्, ‘मनको बाँध बनाउँदा मलाई मुख्य हिरोइनकै निम्ति बोलाए।’
उनका अनुसार बोलाउने मानिस थिए, चेतन कार्की।
त्यतिबेला सुषमा नेपालगन्जस्थित घरमै बसिरहेकी थिइन्। केही समयमै एसएलसी दिनुपर्ने थियो। एकदिन अचानक फोन आयो। 'परिवर्तन' सिनेमामा काम गर्दादेखि आफूले असाध्यै श्रद्धा गरिरहेका ‘चेतन दाइ’ को आवाज सुनेपछि सुषमा दंग परिन्।
कार्कीले लामो कुरा नगरिकनै सिनेमा खेल्न काठमाडौं बोलाइहाले। सुषमा चाहिँ के कस्तो भूमिका हो भनेर जिज्ञासु भइछन्।
‘बस् आ जाओ तुम्,’ कार्कीले भनेछन्, ‘जो मै कहुँगा वही करना है तुम्हे।’
‘ठीक है दादा,’ पारि लखनऊको प्रभावमा उर्दू मिश्रित हिन्दी बोलेरै हुर्किएकी सुषमाले भनिछन्, ‘मै आ रही हूँ।’
सुषमाको आँखा मतिर पर्यो र भन्दै गइन्, ‘उसको बाद दादाले जे भनिस्यो बस् मैने उही गरिदिएँ। केही पुछताछ नगरेरै काठमाडौं आइहालेँ।’
यसबीच पाकिस्तानको प्रभावले नेपाली लबजमा अझ गाढा प्रभाव मिसाइसकेको रहेछ।
जे होस्, काठमाडौं आएपछि त नायिका नै उनी रहिछन्। उनले अभिनय गरेको 'परिवर्तन' हिरा सिंहको निर्देशनमा र 'मनको बाँध' प्रकाश थापाको निर्देशनमा बनेको चलचित्र भए पनि यी दुवैमा कार्कीको मुख्य सक्रियता रहेको सुषमा सम्झना गर्छिन्।
यसरी सिनेमाको नायिकासम्म जोड्ने काम अघिल्लो नेपाली सिनेमा 'परिवर्तन' ले गरेको थियो। त्यो पहिलो सिनेमामा जोडिँदाको सन्दर्भ भने बेग्लै छ।
‘त्योताका हरेक वर्ष फागुन ७ गतेका दिन काठमाडौंमा लोकनृत्य प्रतियोगिता हुन्थ्यो,’ उनले भनिन्, ‘त्यसमा भाग लिन भेरी अञ्चलबाट मेरी दिदी कल्पना र म नेपालगन्जदेखि छानिएर बर्सेनि आउँथ्यौं।’
कुरा गर्दागर्दै सुषमालाई कल्पना दिदीबारे केही बताउने इच्छा भयो।
‘तपाईं चिन्नुहुन्छ उहाँलाई?’ उनले सोधिन् र फेरि थपिन्, ‘तपाईं शिवानीसिंह थारुलाई चिन्नुहुन्छ?’
मेरा आँखा चम्किए। उनले पनि उत्तिखेरै थपिहालिन्।
‘कल्पना दिज्जू शिवानीको आमा हो,’ उनैले भनिन्, ‘फत्तेसिंह थारु (पञ्चायतकालीन प्रभावशाली नेता) की श्रीमती।’
छ दिदीबहिनीमध्ये दुईको परिचय भइसकेपछि अर्को एक जनालाई पनि उनले जोड्न चाहिन्।
‘कलाकार वीरेन्द्र हमाललाई चिन्नुहुन्छ?’ उनले फेरि अर्को परिचित नाम लिँदै थपिन्, ‘मेरो ठूलो दिदी शान्तिको छोरा हो ऊ।’
सुषमाका अनुसार उनीहरूको प्रेरणाको मुख्य स्रोत उनै वीरेन्द्र हमालका पिता महेन्द्रबहादुर हमाल थिए, जसले नृत्य टोलीलाई बर्सेनि नेपालगन्जदेखि काठमाडौंसम्म ल्याउँथे।
यसरी नाच्न काठमाडौं आएकी दस-एघार वर्षीया सुषमाको प्रस्तुति देख्नासाथ उतिबेला 'परिवर्तन' सिनेमाको निम्ति बहिनीको भूमिकामा लिइएको रहेछ। र, 'परिवर्तन' पछि 'मनको बाँध'।
लगालग बनेका सिनेमा भए पनि यी दुईमा आकाश जमिनको अन्तर रहेको सुषमाले बताइन्।
‘परिवर्तन सूचना प्रसार विभागले बनाएको थियो र हामीलाई कोलकातामै लगेर सेटमा सुटिङ गराइएको थियो,’ उनले थपिन्, ‘जबकि मनको बाँध बनाउने बेला भर्खर स्थापना भएको शाही नेपाल चलचित्र संस्थानले उसको यो पहिलो सिनेमाको निम्ति नेपालमै सेट तयार पारेको थियो।’
सुषमाको सम्झनाअनुसार 'मनको बाँध' बनाउन्जेलसम्म सिनेमामा काम गर्ने प्राविधिकहरू सबै कोलकाता र मुम्बईबाटै आएका थिए। सिनेमाका अधिकांश दृश्य ‘इनडोर सेट’ मै छायांकन गरिएका थिए, जसलाई चलचित्र संस्थानमै उभ्याइएको रहेछ।
‘आउटडोर चाहिँ पोखरा र तातोपानीतिर गएर गरेका थियौं,’ उनले थपिन्, ‘क्लाइमेक्समा तातोपानीकै दृश्य थियो।’
मलाई ‘फूलको थुँगा’ गीतको जिज्ञासा जाग्यो।
‘त्यो त यहीँ चोभार गणेशस्थानमा सुटिङ भएको थियो,’ उनले भनिन्, ‘त्यो फूलको थुँगा बहेर जाने भनेपछि जहाँ बगाइएको नदी थियो, त्यो त्यहीँ चोभारको बागमती हो।’
धेरै नेपालीलाई मनपर्ने गीत ‘फूलको थुँगा’ सुषमालाई पनि जीवनमै सबैभन्दा मनपरेको गीतकै सूचीमा रहेछ।
‘सुरुमा त सुटिङको बेला सुन्नेबित्तिकै खिचिहाल्नुपर्ने भएकाले अर्थ खोज्ने र गीतमा रमाउने मौकै मिलेन,’ उनले थकथकी मान्दै भनिन्, ‘डाइरेक्टरले जे जे भन्नुभयो सोझै त्यही मात्र गरेँ।’
पछि गीतको गहिराइमा डुब्दै जाँदा सुषमालाई त्यही भावअनुसार अभिनय गर्न पाएको भए अझ राम्रो गर्नसक्थेँ भन्ने परेको रहेछ।
‘भन्नुको मतलब त्यो बेला आफूले अभिनय गर्ने गीत सेटमा सुटिङभन्दा पहिले सुन्न पनि पाइन्थेन?’ मैले सोधेँ।
‘अहिलेजस्तो हो र?’ उनले भनिन्, ‘त्यो बेला नाच्न लागेको गीत क्यासेटमा सुन्ने चलनै थिएन।’
अर्थात्, त्यहीँ सुन्ने र त्यहीँ तत्काल अभिनय गरिहाल्ने अनि वर्षौं लगाएर रिलिज भएपछि बल्ल हेर्ने।
‘यो गीत चाहिँ कतिसम्म पनपर्छ भने,’ उनले भनिन्, ‘आज पनि जतिपटक सुन्यो, मलाई त्यतिपटकै नयाँ गीत सुनेजस्तो लाग्छ। कहिल्यै पुरानो भएन।’
कुराको बीचमै सुषमाले ठट्टा गरिन्।
‘हेर्नुस् त, हामी पुरानो हुँदै जाँदा रहेछौं,’ उनले भनिन्, ‘हामी जोडिएका राम्रा गीतहरू सधैं जवान हुँदा रहेछन्।’
'मनको बाँध' सुटिङको क्षण सम्झना गर्दा अहिले पनि सुषमालाई रमाइलो लाग्छ।
‘स्कुलमा पढिरहेकी केटी अचानक सबै रमाइला र मिलनसार मानिसहरू एकैठाउँ खानेबस्ने र काम गर्ने माहोलमा आइपुगेकी थिएँ,’ उनले थपिन्, ‘मानौं, धेरै दिनसम्म पिकनिक चलिरहेको थियो।’
त्यसमाथि सदैव अभिभावकको भूमिका निर्वाह गरेका चेतन कार्कीको साथ छँदै थियो।
‘ग्रामीण छोरी मानिस कस्तो हुन्छ भन्ने त मैले व्यवहारमा जानेकी थिइनँ,’ उनले भनिन्, ‘प्रकाश थापा र चेतन दादाले कथा सुनाएर जे जस्तो निर्देशन दिनुभयो, मैले त्यही काम गर्दै गएँ।’
स्कुलमा पढ्दा धेरै मञ्चहरूमा नृत्य गर्दै आएको र नाटकहरूमा पनि काम गरेकाले सुषमालाई यो नौलो परिवेश खासै गाह्रो लागेको थिएन।
‘पछि पछि त मलाई अभिनयभन्दा डान्स गाह्रो लाग्न थाल्यो,’ उनले भनिन्, ‘डान्समा धेरै मेहनत गर्नुपर्थ्यो। अभिनय एकैपटकमा ओके हुन्थ्यो।’
त्यो बेला फेरि अहिलेजस्तो डिजिटल जमाना थिएन। रिल किनेर ल्याउनुपर्थ्यो। असाध्यै महँगो र टाढाबाट ओसार्नुपर्ने भएकाले महत्वपूर्ण पनि। यस्तोमा बिनारिहर्सल निर्देशकले एकैचोटि सेटमा संवाद बोल्न लगाउँथे। त्यसलाई तुरुन्तै टिपेर निर्देशकले भनेजस्तै गरिदिनसक्ने मानिस सिनेमाका लागि उपयोगी हुन्थे।
‘नेपालगन्जको हुर्काइले मेरो नेपाली सुरुदेखि नै अलिक प्रस्ट थिएन,’ उनले कमजोरी पनि खुलाइन्, ‘डाइलगमा चाहिँ मलाई अलिक गाह्रो हुन्थ्यो।’
नेपाली चलचित्र उद्योगकै ‘लिजेन्ड’ प्रकाश थापाको त्यो पहिलो सिनेमा भए पनि उनमा पर्याप्त आत्मबल देखिएको सुषमा सम्झना गर्छिन्।
‘बकाइदा एक्टिङ गरेरै सिखाउनु हुन्थ्यो,’ थपिन्, ‘र, ‘देखो ऐसे ऐसे बोलना है’ भन्नुहुन्थ्यो।’
जे होस्, 'मनको बाँध' छायांकन सकेर सुषमा नेपालगन्ज फर्किइन्। त्यसपछि धेरै वर्ष बितिसकेको थियो। सिनेमाहरू पनि उति बनेनन्।
यसैबीच नेपालगन्जमै टीकाबहादुर शाहीसँग उनको बिहे भयो। बिहेपछि शाही दम्पती काठमाडौं बसोबासका लागि आइपुगे।
शाही खेलकूद क्षेत्रमा आबद्ध थिए भने सुषमाले राष्ट्रिय नाचघरमा जागिर खान थालिन्।
‘नाचघरमा काम गर्दा नारायणगोपाल र गणेश ‘रसिक’ महाप्रबन्धक हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘नारायणगोपाल मलाई असाध्यै मनपर्ने गायक भए पनि हामी नृत्यतर्फ भएकाले खासै सम्पर्क भएन।’
बरु त्यो बेला हरिप्रसाद रिमाल निर्देशक थिए। त्यसैगरी सुभद्रा अधिकारी, भुवन चन्द, विमला श्रेष्ठजस्ता चर्चित महिला सुषमाका साथी भए।
त्यो ताका नाचघरमा नियमितजस्तो नाटक पनि चल्थे।
‘अधिकांश गीति नाटक हुन्थे, जसमा कलाकारले नृत्य पनि गर्नुपर्थ्यो,’ सुषमाले भनिन्, ‘त्यसैले मैले पनि अभिनयको मौका पाएकी थिएँ।’
उनलाई मनबहादुर मुखियाको ‘क्रसमा टाँगिएको जिन्दगी’ र हरिप्रसाद रिमालको ‘मसान’ मा अभिनय गर्दाको क्षण अझै याद छ।
यो क्रम चल्दाचल्दै एकदिन सुषमालाई फेरि शाही नेपाल चलचित्र संस्थानबाट फोन आयो।
‘बदलिँदो आकाश’ नामबाट अर्को नेपाली सिनेमा बन्न लागेको रहेछ।
संस्थानकी महाप्रबन्धक श्रीमती टीका सिंहले नै सुषमालाई कार्यालयमा बोलाएकी थिइन्।
‘पुगेपछि त मलाई क्यामराअगाडि उभ्याएर अडिसन लिन खोज्नुभयो,’ उनले भनिन्, ‘जबकि, दुईवटा सिनेमामा खेलिसकेको हिरोइनजस्तो मानिसले किन अडिसन दिनुपर्ने?’
सुरुमा सुषमाले प्रतिवाद गर्न खोजिन्। महाप्रबन्धक पनि अडानमा बसिन्।
त्यतिबेलै अडिसन निम्ति अर्की नायिका गौरी मल्ललाई पनि बोलाइएको थियो। त्यतिन्जेल मल्ल नेपाली चलचित्रमा आइसकेकी थिइनन्। सुषमा अडिसन निम्ति तयार भइन् र संस्थानले उनैलाई नायिकामा छनौट गर्यो।
यसका निर्देशक पनि नयाँ थिए, लक्ष्मीनाथ शर्मा।
यसअघि दुई निर्देशकसँग काम गरिसकेकी सुषमाका निम्ति शर्मा चलचित्र नै पढेर आएका पहिलो निर्देशक थिए। शर्माले पुनाबाट यो विषयमै उच्च शिक्षा लिएर आएका थिए। नायक थिए, त्यतिबेलाका सुपरस्टार शिव श्रेष्ठ जसलाई उनले पहिलोपटक सुटिङको सेटमै भेटेकी थिइन्।
‘शिव फिल्म इन्डस्ट्रीकै असाध्यै असल मानिस हो,’ सुषमा भन्छिन्, ‘त्यसैले त्यो बेलादेखि अहिलेसम्म हामीबीच पारिवारिक सम्बन्ध चलिरहेकै छ।’
उतिबेलाका तमाम सिनेमाहरूजस्तै 'बदलिँदो आकास' को पनि कथा दोहोरिरहने किसिमको र सरल थियो। चितवनतिरकी एउटी युवती पढ्न सहर आउँछिन्। सहरकै केटोसँग प्रेम हुन्छ, जसलाई बाबुआमाले मान्दैनन्।
‘बदलिँदो आकासमा मलाई उल्लेखनीय लागेको कुरा चाहिँ यो सिनेमा खेल्ने बेला सबै प्राविधिक नेपाली थिए,’ सुषमा भन्छिन्, ‘नत्र यसअघिको सिनेमामा सबै कोलकाता र मुम्बईका मानिस देखिन्थे।’
'बदलिँदो आकास' बेला पर परदेखि सुटिङ हेर्न ओइरिने मानिसको भीड पनि सुषमालाई अहिले सम्झँदा रमाइलो लाग्छ।
‘त्यो बेला चितवनको एउटा गाउँमा सुटिङ चल्दा नारायणघाट मात्र नभई, पर हेटौंडा र वीरगन्जदेखि हेर्ने मानिस आएका हुन्थे,’ उनी भन्छिन्, ‘जतिसुकै भीड भए पनि उनीहरू सबैले कलाकारलाई असाध्यै श्रद्धा गर्थे।’
बदलिँदो समयसँगै सिनेमाले यस्ता कुरा गुमाएजस्तो सुषमालाई लाग्छ।
‘बदलिँदो आकास’ ले खासै ठूलो तहल्का मच्चाएन। तहल्का त त्यसपछिको ‘कान्छी’ ले मच्चायो।
बिएस थापाको निर्देशनमा बन्दै गरेको त्यस सिनेमाका निम्ति पनि उनै चेतन कार्कीले सुषमालाई निम्त्याएका थिए।
‘त्यसमा गाउँकी केटीको भूमिकामा मुख्य नायिका शर्मिला मल्ललाई राखिएको थियो,’ सुषमाले भनिन्, ‘म चाहिँ अन्तिममा हिरोसँग बिहे गर्ने मुम्बईकी आधुनिक केटी हुन्छु।’
सुरुमा त सुषमाले संकोच मानिन्। तर, चेतन कार्कीले यो भूमिका उनलाई असाध्यै सुहाउने भएकाले मौका नछोड्न सल्लाह दिएछन्। उनले स्वीकार गरिन्।
‘कान्छीको सुटिङ बम्बैमा चल्दा धेरै रमाइलो भएको थियो,’ उनले भनिन्, ‘त्यो सिनेमाको त्यही नै सम्झना छ मलाई।’
यसरी नेपाली भाषाका थोरै सिनेमामा काम गरे पनि सुषमासँग नेपाली चलचित्र जगतका एक से एक निर्देशकसँगको अनुभव रह्यो। परिवर्तनका हिरा सिंह, मनको बाँधका प्रकाश थापा, बदलिंदो आकाशका लक्ष्मीनाथ शर्मा र कान्छीका बिएस थापा।
‘मलाई सबै डाइरेक्टरहरू राम्रो लागेको थियो,’ उनी भन्छिन्, ‘प्रकाश थापा र बिएस थापालाई चाहिँ म असाध्यै राम्रो डाइरेक्टर मान्छु।’
दुईमध्ये एक जना छान्नुपरे?
‘यी दुईमध्ये एक छान्नुपरे बिएस थापा भन्छु,’ उनले थपिन्, ‘उहाँ अझ बढी ‘प्रोफेसनल’ हुनुहुन्थ्यो।’
सुषमाका अनुसार सिनेमा बनाउन स्पष्ट भिजन र स-साना ‘डिटेल’ मा पनि मिहिन मेहनत गर्ने खुबी बिएस थापाको थियो।
सिनेमाको हकमा सुषमालाई सबैभन्दा मनपरेको आफ्नो सिनेमा 'मनको बाँध' नै हो।
‘मनको बाँध नेपाली फिल्म दुनियाँकै पहिलो चरणको सिनेमा थियो, ब्ल्याक एन्ड ह्वाइट,’ उनले भनिन्, ‘त्यसले एकदम धेरै व्यवसाय नगरे पनि मलाई त्यही मनपर्छ।’
'बदलिँदो आकास' कै सेरोफेरोमा नेपालमा त्यतिबेला संयुक्त लगानीको चलचित्र बन्ने श्रृंखला सुरु भएको थियो। यसमा पाकिस्तान, बंगलादेश, श्रीलंका र नेपालको सहभागिता थियो। चारै मुलुकका लगानीकर्ताले संयुक्त पैसा हालेर सिनेमा बनाउने र आ–आफ्नो भाषामा ‘डबिङ’ गर्दै चलाउने रणनीतिअनुसार त्यो लहर भित्रिएको थियो।
त्यसरी बन्ने संयुक्त लगानीका सिनेमालाई करमुक्तसमेत गरिएकाले लगानीकर्ताहरू थप प्रोत्साहित भएका थिए।
केही समय हलचल मच्चाएर थामिएको त्यो संयुक्त लगानीको सिनेमाले नेपालका दुई जना उतिबेला चलेका कलाकारलाई भने पाकिस्तानमा पर्याप्त मौका दिएको थियो। उनीहरू थिए, नायक शिव श्रेष्ठ र नायिका सुषमा शाही।
उनीहरू दुवै पाकिस्तानमा व्यस्त भए र नेपालमा हराए। तै शिव श्रेष्ठ समयमै फर्किए र यता फेरि आफ्नो यात्रा जारी राखे।
सुषमा भने फर्किइनन्।
संयुक्त लगानी भित्रिएपछि सबैभन्दा पहिले बनेको चलचित्र थियो ‘हामी एक हौं।’ तर, सुषमाको संलग्नता यो सिनेमाबाट सुरु भएको थिएन।
‘हामी एक हौंका निर्देशकले मलाई बोलाएर एउटा डान्सको निम्ति प्रस्ताव राखेका थिए,’ सुषमाले भनिन्, ‘मैले डान्समा मात्र त गर्दिनँ भनेर ठुकराइदिएँ।’
त्यो समय नेपाली हिरोइन भनेकै मिनाक्षी आनन्द र आफू मात्र सक्रिय रहेको बेला त्यस किसिमको भूमिकामा सीमित हुन सुषमालाई मनपरेन।
‘कोही अच्छा सा रोल हो तो बताइए,’ उनले भनिछन्, ‘सिर्फ डान्स तो मै नहीँ करुंगी।’
सुषमाका अनुसार पछि त्यो नृत्य अर्की नवनायिका मिथिला शर्माले गरेकी थिइन्।
त्यसपछि भने सुषमालाई संयुक्त लगानीको सिनेमामा नायिकाको प्रस्ताव आउन सुरु भयो।
सन् १९९६ मा पहिलोपटक उनी सिनेमा सुटिङकै निम्ति पाकिस्तान पुगेकी थिइन्।
पाकिस्तानमा उनको माग बढेपछि पाकिस्तानी एकल लगानीकै सिनेमामा पनि उनलाई प्रस्ताव आउन थाल्यो। लगत्तै उनी पाकिस्तानी सिनेमाको सुटिङ निम्ति बेलायत पनि पुगिन्।
‘संयुक्त लगानीमा भने सुरुमा कहलिएका निर्माता र निर्देशकहरू नै आएका थिए,’ उनी सम्झना गर्छिन्, ‘पछिपछि चाहिँ सस्तो किसिमले काम गर्ने मानिस मिसिन थाले र तल्लो स्तरका कामहरू गरेर सब बिगारिदिए।’
सुषमाका अनुसार केही वर्षमै यस्ता संयुक्त लगानीका सिनेमाबाट गतिला मानिस सबैले हात झिक्न थाले। त्यसैगरी संलग्न मुलुकहरूले पनि करमुक्तको प्रावधान हटाइदिएपछि यो ठप्पै भयो।
त्यस्तो बेला यता नेपालमा थोरै संख्यामा सिनेमा बन्नुकै कारण सुषमालाई आफू ‘फेल’ भइरहेको महशुस हुन थाल्यो।
‘आजजस्तो नेपालमा धेरै सिनेमा बन्ने अवस्था भइदिएको भए म बेग्लै हिसाबले सोच्थेँ होला,’ सुषमाले भनिन्, ‘त्यस्तो केही नभएको स्थितिमा मैले विकल्प खोजेँ र पाकिस्तानमा देखिएको मेरो मागअनुसारै म उतै व्यस्त भएँ।’
पाकिस्तानी चलचित्रहरूमा खेल्न सुरु गरेको दस वर्ष नबित्दै सुषमा उतै बसोबास गर्न थालिन्।
‘पाकिस्तान गएपछि अलिक समय हिरोइन भएरै खेलेँ,’ उनी भन्छिन्, ‘त्यहाँ विशेषगरी पञ्जाबी सिनेमाहरू बन्थे, जसमा मेरो माग बढी थियो।’
केही समय त्यस्ता सिनेमामा खेलेपछि सुषमा आफैंले पाकिस्तानी सिनेमा बनाउन सुरु गरिन्।
उनले बनाएको पहिलो पाकिस्तानी सिनेमा ‘हसिना नम्बरी’ थियो।
‘मैले आजसम्म नायिका भएर २० भन्दा बढी सिनेमामा खेलेँ,’ उनी भन्छिन्, ‘आफूले समेत बनाएको सिनेमा जोड्दा पुग नपुग पचास हुन्छ।’
पाकिस्तान रहँदै नेपालमा श्रीमानको निधन भएपछि आफूले उतैका एक निर्माता-निर्देशकसँग सम्बन्ध जोडेको र उनैको कामलाई निरन्तरता दिँदै पाकिस्तानी चलचित्र निर्माण र निर्देशन गर्दै आएको सुषमाले स्पष्ट पारिन्।
पाकिस्तानको लाहौरमा बसोबास गरेर उतैको सिनेमा बनाउनमा व्यस्त सुषमाले बीचमा एकपटक फेरि संयुक्त लगानी ब्यूताउँन खोजिन् र राजेश हमाललाई नायक लिएर करिब १४ वर्षअघि ‘तिमी मेरी हौ’ बनाइन्।
‘त्यो सिनेमा नेपालमा त के भयो थाहा छैन,’ उनी भन्छिन्, ‘पाकिस्तानमा भने ठ्याम्मै चलेन। मेरो ठूलो लगानी डुब्यो।’
सुषमाका अनुसार शिव श्रेष्ठ चलेको हिसाबले नेपालबाटै अर्को नायक पनि चल्छन् होला भन्ने उनको अनुमान थियो।
‘तर, यता खुबै चलेका राजेश हमाललाई पाकिस्तानी दर्शकले ठ्याम्मै मनपराएनन्,’ भन्छिन्, ‘मेरो अनुमान फेल खायो।’
सुषमाका अनुसार उनी स्वयंलाई पनि अब पाकिस्तानमा भीडले चिन्दैन।
‘बरु शिव श्रेष्ठलाई अहिले पनि चिन्ने जमात ठूलो छ,’ उनी भन्छिन्, ‘खूद पाकिस्तानी सिनेमाको समय पनि अब धेरै बदलिसक्यो।’
सुषमाका अनुसार लाहौरमा जुन पुरानो फिल्म इन्डस्ट्री थियो त्यो सबै खतम भइसकेको छ।
‘टिभीमा काम गरेका भर्खरका केटाकेटीहरूले अर्कै किसिमले राम्रो सिनेमा बनाउन थालेका छन्,’ उनी भन्छिन्, ‘हाम्रो समयका निर्माता-निर्देशकदेखि कलाकार र प्राविधिकसम्म सबै घरै बस्नुपर्ने नौबत आइसक्यो।’
तैपनि सुषमाले लत्तो छाडेकी थिइनन्।
‘मैले प्रायः काम गर्ने निर्देशक इकबाल कश्मिरीलाई राखेरै नयाँ केटाकेटीहरू समेटेर पनि फिल्म बनाउने कोशिस गरेँ,’ उनले थपिन्, ‘तर, उनीहरूसँग तौरतरिका नै मिलेन। त्यसमा पनि असफल भएँ।’
सिनेमाले आफूलाई बीचमा पर्याप्त सम्पत्ति जोडिदिएको भए पनि पछि त्यही सिनेमाको लतले धेरै नोक्सान गरिदिएको उनले जानकारी दिइन्।
त्यसो भए अब उनको योजना के छ?
‘म केही वर्षमै पाकिस्तानबाट प्याकअप गरेर फर्किने तयारीमा छु,’ उनले भनिन्, ‘अब नेपाल आएर अवकाशको जीवन बिताउँछु।’
बरु उनलाई आजभोलि पाकिस्तानमा भन्दा नेपालमै सिनेमाहरू कम लागतमा स्तरीय बनिरहेको लाग्न थालेको छ।
त्यसो भए नेपाल आएपछि फेरि सिनेमा खेल्ने इच्छा छ?
‘नेपाली सिनेमा उद्योगले फेरि पनि मेरो आवश्यकता देखेछ भने किन नखेल्ने?’ उनले भनिन्, ‘पक्कै खेल्छु।’
(तस्विरहरू: निशा भण्डारी)