अमेरिकी विश्वविद्यालयमा तीन दशकदेखि इतिहासका प्राध्यापक गौतमबज्र बज्राचार्यलाई नेपालका महत्वपूर्ण मूर्तिहरू बेवास्ता गरिएको देख्दा तिनको चोरी नभएकामा अनौठो लाग्छ।
‘काठमाडौं पुरातात्विक अध्ययन अन्वेषणका लागि ठूलो खानी हो,’ नयराज पन्तको गुरुकुलका विद्यार्थी बज्राचार्य हालै हामीसँगको भेटमा भन्दै थिए, ‘विश्वभरका अध्येताले आँखा लगाउने बहुमूल्य मूर्तिहरू यहाँ जताततै मिल्किएका देख्छु।’
झन्डै पाँच दशकअघि अध्ययन निम्ति नेपाल आएकी अमेरिकी अनुसन्धाता मेरी स्लसरको संगतबाटै बज्राचार्यले यी मूर्तिको महत्व गहिरिएर बुझ्न पाएका थिए।
‘मेरी स्लसर काठमाडौंको आफ्नो कामलाई ‘सर्फेस आर्कियोलोजी’ (सतही पुरातत्व अध्ययन) भन्थिन्,’ बज्राचार्यले सुनाए, ‘अन्तजस्तो उत्खनन् गर्न नपर्ने महत्वपूर्ण मूर्तिहरू यहाँ जताततै भुइँमै लडिरहेका भेटिन्थे।’
बज्राचार्यले चार दशकअघि स्लसरसँगै हिँड्दा फोहोरको डंगुरमाथि देखेको अत्यन्त महत्वपूर्ण मूर्ति अहिले पनि त्यस्तै अवस्थामा भेटेको बताए।
‘हामीलाई बताउनुस् न,’ हामीले भन्यौं, ‘त्यसको रिपोर्टिङ गर्छौं।’
जवाफमा बज्राचार्य एकछिनसम्मै हाँसे।
यो पनि हेर्नुहोस्:
‘तपाईंहरूलाई भन्नै मिल्दैन,’ उनले थपे, ‘बरु मानिसले त्यसको महत्व थाहा नपाएकै बेस, त्यो सुरक्षित त रहन्छ।’
यस्ता जानकारी सार्वजनिक हुनेबित्तिकै सरकारले तत्काल सुरक्षा दिन नसके चोरीको डर बढ्ने उनको भनाइ थियो।
बज्राचार्यले हामीलाई निराश भने बनाएनन्। उनी हामीलाई आफूसँगै पशुपति लैजान तयार भए, जहाँ एउटा महत्वपूर्ण मूर्ति देखाउन चाहन्थे।
त्यस दिन सिमसिम पानी परिरहेको थियो। चिप्लो बाटोमा हिँड्नुपर्दा आत्तिएका ७८ वर्षे बज्राचार्य भन्दै थिए, ‘चालीस वर्षपछि पशुपति आएको।’
उनी त्यहाँ वरपरका दृश्य रुचिपूर्वक हेर्दै थिए।
‘धेरै कुरा फेरिएछन्,’ भने, ‘तर, महत्वपूर्ण चिजहरू यथावतै छन् है!’
हामी आर्यघाट हुँदै बढिरहँदा लश्करै अन्त्येष्टी भइरहेको थियो।
‘नेपाल रहँदा झन्डै साढे चार दशकअघि मेरी कान्छी हजुरआमाको मृत शरीर देखेको थिएँ,’ उनले भने, ‘त्यसपछि आज देख्दैछु।’
गौतम बुद्धले भनेका थिए रे, ‘मेरो शिक्षा लिन आउनुअघि मसानघाट गएर एकपटक रोइरहेका परिवारको मुख हेर। यो संसार भनेको के हो? त्यहीँ जान्ने छौ।’
आर्यघाटमा हामीसँगै हिँडिरहेका गौतम बज्राचार्य भने पश्चिमा समाजमा यस्तो दृश्यको प्रभाव कम भेटिने सुनाउँदै थिए।
कुरा गर्दागर्दै एकठाउँ बाकसबाट निकाल्दै गरेको तन्नेरीको शव देखियो।
‘वैदेशिक रोजगारमा गएका धेरै युवाहरू आजभोलि यसैगरी शव बनेर फिर्ता आउने गरेका छन्,’ मैले अर्थ्याएँ, ‘यो संख्या दिनप्रतिदिन बढ्दै छ।’
त्यो शवछेउ एउटी भर्खरकी युवती छाती पिटेर रोइरहेकी थिइन्। बज्राचार्य एकछिनसम्म त्यहीँ उभिएर हेर्न थाले। उनका आँखा रसाए।
‘मलाई पनि त्यहीँ उभिएर उनीसँगै रुन मनलाग्यो,’ अगाडि बढ्दै गर्दा उनले भने, ‘यो मैले देखेको फेरिएको नेपाल रहेछ।’
हामी सरासर माथि उक्लियौं। बागमती पुलछेउ फराकिलो परिसरमा लडिरहेका ती मूर्तिहरू हामीले निकै अघिदेखि देख्दै आएका हौं। तीमध्ये एक मूर्ति सामुन्ने पुगेपछि बज्राचार्य टक्क अडिए। त्यसलाई नजिकबाट नियाले। मुनि लेखिएका असाध्यै धमिला अक्षर पढ्ने कोशिश गरे। घरि आँखीभौं खुम्च्याए त घरि मुसुक्क हाँसे।
‘सर यो शिवलिंग हो?’ मैले सोधेँ।
‘हेर्दा त्यस्तो देखिए पनि यो शिवलिंग होइन,’ उनले भने, ‘यसलाई पार्थिवशिला भनिएको छ।’
अहिले पनि पशुपति आउने भक्तजनले यसलाई शिवलिंग नै ठानेर पूजा गर्छन्। त्यो मूर्तिकै निम्ति पशुपति आइपुगेका उनले अगाडि भने, 'योसँग शैव सम्प्रदायकै कुनै सम्बन्ध छैन।'
‘यो मूर्तिको इतिहास शिवलिंग आउनुभन्दा पनि पुरानो छ,’ उनले थपे, ‘उब्जनीको देउता पूजा गर्ने बेला यो स्थापना गरिएको हो।’
बज्राचार्यका अनुसार यो लिच्छविकालीन मूर्ति हो। उनकै काका धनबज्र बज्राचार्यले आफ्नो पुस्तकमा पहिलोपटक यसको उल्लेख थिए। आफूले तयार पार्न लागेको पछिल्लो पुस्तकमा फेरि यसलाई समेट्न गतिलो तस्बिर नभएकाले पशुपति आउनुपरेको उनले जानकारी दिए।
उनले होटलको कोठाबाट लगेको टिलिक्क सेतो तौलियाले कयौं घामपानी र धुलोधुवाँ झेलेको त्यो मूर्तिलाई सरक्क पुछे। अनेक कोणबाट त्यसको तस्बिर खिच्न थाले।
‘पशुपति परिसरमा बाहिरै रहेको यो मात्र मूर्ति होइन,’ उनले थपे, ‘यस्ता धेरै प्राचीन महत्वका मूर्ति यहाँ जताततै छन्।’
पशुपतिबाहिर पनि आफू पुग्न नसकेका धेरै ठाउँमा महत्वपूर्ण मूर्ति भेटिने गरेको उनले जनाए।
‘म त हिजोआज फेसबुक आर्कियोलोजीमा लागेको छु,’ उनले भने, ‘सम्पदाप्रति सचेत नयाँ पुस्ताले अनौठा मूर्तिहरू भेटिनेबित्तिकै फोटो खिचेर फेसबुकमा हालिहाल्छन्।’
त्यस्ता कतिपय मूर्ति नेपालबाट असाध्यै सामान्य तवरले पोष्ट गरिने भए पनि अमेरिकाका विश्वविद्यालयहरूमा त्यसले हलचल मच्चिने गरेको बज्राचार्यले जानकारी दिए।
केही दिनअघि एक स्थानीय तन्नेरीले चाँगुनारायणमा भेटेको मूर्तिलाई 'लिच्छविकालीन गणेशको मूर्ति' भन्दै फेसबुकमा हालेका थिए। त्यसमा लेखिएको लिपिले लिच्छविकालीन भन्ने देखाए पनि इतिहासका प्राध्यापक मिलनरत्न शाक्यले त्यो लिपिमै प्रश्न उठाइदिए।
फेसबुक पनि पछिल्लो समय यस्ता अध्येताहरूको निम्ति नयाँ कुरा पत्ता लगाउने र बहस गर्ने थलो बनेको रहेछ।
‘नेपालमै दोस्रो शताब्दीको जय वर्माको मूर्ति भेटिएको बेला मैले पढाउने विस्कन्सिन विश्वविद्यालयमा खैलाबैला मच्चिएको थियो,’ उनले भने, ‘इटालियाली र अमेरिकी अध्येताहरूले त्यसबारे चरणबद्ध रूपमै प्रवचनहरू राखेका थिए।’
यस्ता महत्वपूर्ण पुरातात्विक मूर्ति भेटिएको जानकारी नेपालकै कतिपय सरोकारवाला निकायभन्दा पहिले अमेरिका पुग्ने गरेको बज्राचार्यले बताए। उनका अनुसार खबर पुग्नेबित्तिकै विश्वविद्यालयहरूमा छलफल चल्छ। छानबिन अघि बढ्छ।
जय वर्माको मूर्ति भेटिनेबित्तिकै त्यसलाई भारतको मथुरामा भेटिएको दोस्रो र तेस्रो शताब्दीका कलाकृतिसँग तुलना गरेर विश्लेषण गरिएको थियो।
‘मथुरामा अफगानिस्तानतिरबाट आएका कुशान राजाहरूले मरेका अघिल्ला राजाको त्यसरी सालिक बनाएर राख्ने प्रचलन थियो,’ बज्राचार्य भन्छन्, ‘ग्रिक रोमनसँग मिल्ने कुशान गान्धारण त होइन, कुशान मथुरा शैलीसँग हामीले त्यो मूर्तिको तुलनात्मक अध्ययन गरेका थियौं।’
त्यससँग जय वर्माको मूर्ति कतै मिलेको त कतै नमिलेको बज्राचार्यले जानकारी दिए।
‘त्यो कालखण्डका भारतीय मूर्तिको अनुहारमा नभेटिने भावुकता नेपालमा जय वर्माको मूर्तिमा देखियो,’ बज्राचार्य भन्छन्, ‘यदि त्यो नेपाली कलाकारले उतिबेला आफैंले विकास गरेको शैली हो भने निकै महत्वपूर्ण कुरा थियो।’
जय वर्माको मूर्ति भेटिएको ठाउँमा अझ राम्ररी उत्खनन् गरिनुपर्नेमा त्यत्तिकै छाडेर घर बनाउन दिइएको उनलाई पटक्कै चित्त बुझेको छैन। मूर्ति भने राष्ट्रिय संग्रहालयमा राखिएको छ।
‘वास्तवमा इतिहासको सत्य पछ्याउने नै पढ्नेले अभिलेख हेरेर र कला इतिहासका विद्यार्थीले रूप हेरेर विश्लेषण गरेपछि हो,’ उनी भन्छन्, ‘बाहिरी दुनियाँमा बहुमूल्य हुने गरेका यस्ता सम्पत्तिप्रति हामी पनि गम्भीर हुनुपर्छ।’
त्यस निम्ति केटाकेटीदेखि नै नागरिकहरूलाई सम्पदाको महत्व बुझाउनुपर्ने उनको भनाइ छ।
‘इटालीमा निम्नमाध्यमिक तहबाटै विद्यार्थीहरूलाई यस्ता कुरा पढाउने गरिन्छ,’ उनी भन्छन्, ‘हामीकहाँ पनि कम्तीमा स्कुले विद्यार्थीलाई आफूकहाँ भएका ऐतिहासिक महत्वका विषयवस्तु देखाउने र घुमाउने अनिवार्य परम्परा थालिनुपर्छ।’
केटाकेटीलाई सम्पदाको महत्व सिकाउने हो भने उनीहरू जत्तिको राम्रो संरक्षणको काम अरू कसैले नगर्ने बज्राचार्यको दाबी छ।
नेपाली कलाको इतिहासबारे अहिले काठमाडौं विश्वविद्यालयबाहेक कतै पढाइ नभइरहेको उनले बताए। यसलाई सबैतिर व्यापक पार्नुपर्ने तर्क उनले अघि सारे।
‘त्यसपछि बल्ल हाम्रो सम्पदाको महत्व बुझ्ने पुस्ता तयार पार्न सजिलो हुन्छ,’ उनी भन्छन्, ‘पुरातत्व विभागले एक्लै लागेर यो सम्भव छैन।’
अहिले पनि आफ्नो सम्पदाको स्वामित्वभाव बोक्ने मामिलामा काठमाडौंभन्दा पाटनका स्थानीयबासी बढी सचेत देखिएको अनुभव उनले सुनाए।
इतिहासका यी प्राध्यापक नेपाल आएकै बेला हामीले त्रिभुवन विश्वविद्यालयमा इतिहास पढ्ने विद्यार्थी नै नभएको जानकारी गरायौं।
‘सबैभन्दा मुख्य कारण त मलाई अवसर नहुनु नै हो जस्तो लाग्छ,’ उनले भने, ‘इतिहासका प्राध्यापक भएकाहरूलाई समेत काठमाडौंमा पढाएर बाँच्न गाह्रो छ, जबकि धेरैले त त्यो मौका पनि पाउँदैनन्।’
‘हामीले सबै भाषा वंशावलीहरूको प्रमाण लाग्दैन भन्दै आएका छौं,’ उनले थपे, ‘नेपालमै पाइने सामग्रीका आधारमा अन्तका समेत राखेर तुलना गर्दै लेख्ने चलन अझै आएको छैन।’
जर्मनीमा पढेर आएपछि त्यो काम इतिहास संशोधन मण्डलकै महेशराज पन्तले थोरबहुत गरे पनि अरूबाट नभइरहेको उनले बताए।
‘अर्को सबैभन्दा डरलाग्दो कुरा, नयाँ पुस्ताका इतिहासकारहरू ज्यादै राष्ट्रवादी भइरहेका छन्,’ उनले थपे, ‘राष्ट्रवादी भएपछि देखिएको प्रमाण पनि छाड्नुपर्ने गरी एकदमै पूर्वाग्रही बनाइदिन्छ।’
यो राष्ट्रवादले भारतमा पनि इतिहास बिगार्ने काम गरिरहेको बज्राचार्य बताउँछन्।
‘इतिहास र महात्म्य दुई फरक कुरा हुन्,’ बज्राचार्य भन्छन्, ‘पुर्खाका गल्ती छोपछाप पारेर राम्रा काम मात्रै देखिने गरी उल्लेख हुने महात्म्य पढेर काम लाग्दैन।’
नेपालमा इतिहासका नाममा महात्म्य पढाइ हुनुले पनि विद्यार्थीमा यसप्रति चाख घटेको हुनसक्ने बज्राचार्य अड्कल काट्छन्।
‘मोलाहिजा नराखी राम्रो काम भएको छ भने पालना गर्ने र भूल भएको छ भने दोहोरिन नदिने गरि बाटो देखाउन सक्नु वा पढ्नु-पढाउनु नै इतिहास हो,’ बज्राचार्य भन्छन्, ‘नाम इतिहास राख्ने तर गरिएका गल्तीहरू छोपछाप गर्नतिर लाग्ने हो भने त्यो कामै लाग्दैन। बरु उल्टो खराब हुन्छ।’
विदेशतिर कम्प्युटर विज्ञान वा न्युक्लियर विज्ञान पढ्नेलाई पनि मानविकीको एउटा कुनै विषय लिन अनिवार्य गर्दा इतिहास विषयले विद्यार्थी पाइरहेको बज्राचार्य जानकारी दिन्छन्। उनका अनुसार नेपालमा पनि विश्वविद्यालयहरूले त्यो उपाय अवलम्बन गरेर संख्या बढाउन सक्छन्।
‘विस्कन्सिन विश्वविद्यालयमा मेरो भारतीय कला इतिहास कक्षामा यही अनिवार्यताले उल्लेख्य विद्यार्थी जुट्थे,’ बज्राचार्य भन्छन्, ‘उता पनि कामै नपाइने भएकाले इतिहासमै विद्यावारिधि गर्ने असाध्यै कम हुन्थे।’
विदेशमा प्राचीन मूर्ति वा सम्पदा कसरी सुरक्षित राख्ने गरिन्छ?
हाम्रो यो प्रश्नमा बज्राचार्यले भने, ‘उनीहरूले त म्युजियममै राख्छन्, बरु म्युजियमहरू असाध्यै व्यवस्थित हुन्छन्।’
नेपाली मूर्तिहरूका हकमा म्युजियम पनि समाधान नहुने बज्राचार्य बताउँछन्।
‘हाम्रा मूर्तिहरू मन्दिरमै राख्ने गरी बनेका हुन्छन् जसलाई म्युजियमले न्याय गर्न सक्दैन,’ उनले भने, ‘मन्दिरबिनाको मूर्ति कन्टेक्स्टबाटै बाहिर जान्छ।’
उनले एउटा रोचक अमेरिकी अनुभव सुनाए।
एकपटक अमेरिकाको रुबिन म्युजियममा प्रदर्शनी चलिरहेको थियो। त्यतिबेला नेपाली मूर्तिहरू राखेको ठाउँ घुम्न आएका नेपालीहरूले पैसा चढाएर गएका रहेछन्। अझ कसैकसैले त अक्षता र फूल पनि चढाएर गइदिएछन्।
पुरातात्विक कलाबाट इतिहास पढ्नेभन्दा त्यसबाट आउने पैसाको मोहजालले हाम्रा मूर्तिहरू विदेशिँदा यस्तो विडम्बनापूर्ण अवस्था देखिने गरेको बज्राचार्य सुनाउँछन्।
‘हामीलाई देश नखुलेको भनेर अर्थ्याउँदै राखिएका मूर्ति नेपालकै हो भनेर थाहा पाउँदा पाउँदै केही गर्न सकिँदैन,’ उनी भन्छन्, ‘यस्तोमा म्युजियमहरूमा काम गरिरहँदा बेलाबेला चित्त दुख्छ।’
आफूले काम गरिरहेको म्युजियममा मूल्य राखेर मूर्ति प्रदर्शित भइरहेको देख्दा धेरैपटक बज्राचार्यको मनमा ‘मेरो कुन चाहिँ मन्दिरबाट यसलाई कसले चोरेको होला’ भनेर मन खाइरहेको हुन्थ्यो। तर, गर्न केही सकिन्न थियो।
बज्राचार्यका अनुसार राजा महेन्द्रले विदेशी कूटनीतिक नियोगका प्रमुखहरूलाई नेपालको पुरातात्विक महत्व प्रवर्द्धन गर्ने हिसाबले कतिपय कलाकृति उपहारस्वरुप दिएका थिए। त्यस्ता उपहार तिनका परिवारले पछि संग्रहालयहरूलाई बेचेको अवस्थामा फेला परेका थिए।
यसरी सुरु भएको पुरातात्विक वस्तु बाहिर जाने परम्परामा पछि भने किनबेचै हुन थाल्यो। यसमा राजपरिवारकै सदस्यहरू संलग्न भएको जानकारी आफूले अमेरिकीहरूबाट पाएको बज्राचार्य बताउँछन्।
‘जानेर गरे वा नजानेर गरे ठ्याक्कै भन्न सक्दिनँ,’ बज्राचार्यले अमेरिकीहरूबाट पाएको जानकारीका आधारमा सुनाए, ‘त्यसरी मूर्ति ओसार्ने मानिसलाई कुनै चेकजाँच नहुने गरी विदा गर्न तत्कालीन एक अधिराजकुमार नै विमानस्थल पुग्ने गरेको सूचना पाएको थिएँ।’
बज्राचार्यका अनुसार अन्तर्राष्ट्रिय स्तरमै प्रभाव राख्ने नेपालका प्राचीन मूर्तिहरू कहाँ र कस्तो अवस्थामा छ भन्ने जानकारी लैनसिंह बांग्देलले राखेका थिए। उनले नेपालबाट चोरी भएर गएका मूर्तिहरूको पुस्तक तयार पारेकै आधारमा पनि विदेशबाट धेरै मूर्ति फर्काउन सकिएको थियो। पिताको त्यो गुण छोरी डिना बांग्देलमा पनि भएकोमा अब त्यत्तिको जानकारी राख्ने मानिस अरू कोही भएजस्तो बज्राचार्यलाई लाग्दैन।
‘यहाँका मानिसलाई त पूजा गरिरहेको मूर्ति नै पुरुष हो कि स्त्री भन्ने पहिचान छैन,’ उनले भने, ‘जयबागेश्वरीको मूर्ति नै राजाको सालिक हुनुपर्छ भन्ने मेरो ठम्याइ छ, जसलाई पछि हातहरू थपेर जयबागेश्वरी नामाकरण गरिएको हुनुपर्छ।’
बज्राचार्यले त्यो मूर्तिमुनि लेखिएको शिलालेख पढेका रहेछन्, जसमा कसैको नामै लेखिएको थियो। त्यसलाई अहिलेसम्म राम्ररी अध्ययन नगरिएको उनले बताए।
‘त्यसैगरी कुम्भेश्वरमा एउटा मूर्ति छ, जुन विष्णुको हो,’ उनी भन्छन्, ‘तर, त्यसलाई अजिमा भनेर पूजा गरिँदै आएको छ।’
पशुपतिबाट फर्कंदै गर्दा पर एउटा धर्मशालाजस्तो देखियो।
‘यतैतिर कतै जन्मिएका, हुर्किएका एक जना मानिस यतिबेला बेलायतमा महत्वपूर्ण प्राध्यापक छन्, दिवाकर आचार्य,’ बज्राचार्यले मतिर हेर्दै सोधे, ‘चिन्नुहुन्छ?’
मैले अनभिज्ञता जाहेर गरेँ।
उनी अक्सफोर्ड विश्वविद्यालयमा संस्कृत पढाउने प्राध्यापक रहेको बज्राचार्यले बताए।
‘नेपालमा नेपालकै धेरै महत्वपूर्ण कुरा जानकारी हुँदैन,’ बज्राचार्यले थपे, ‘कुनै समय भारतीय राष्ट्रपति सर्वपल्ली राधाकृष्णन अक्सफोर्डको जुन ओहोदामा थिए, त्यही महत्वपूर्ण ओहोदामा रहेर सेवा गर्दैछन् आचार्य।’
कुनै समय बज्राचार्यलाई उनका गुरु नयराज पन्तले नेपालका कुनै पनि विश्वविख्यात विद्वान छैनन् भनेर सुनाएका रहेछन्।
‘अहिले आएर बल्ल दिवाकर आचार्य त्यो ठाउँमा पुगेका छन्,’ बज्राचार्यले भने, ‘आज गुरु बाँच्नुभएको भए दंग पर्नु हुने थियो।’
बज्राचार्यसँग छुट्टिएपछि मैले इन्टरनेटमा आचार्यबारे खोजी गरेँ। संस्कृत पढ्ने संसारभरिका विद्वानले गर्ने अक्सफोर्डको त्यो प्रतिस्पर्धामा आचार्य छनौट भएर दुई वर्षदेखि सेवारत रहेछन्।
सबै तस्बिर: गिरीश गिरी/सेतोपाटी